+
+
Shares

कांग्रेस नेता : बीपीलाई मान्छन्, एकअर्कालाई मान्दैनन्

बीपीप्रति श्रद्धा व्यक्त गर्ने शब्द फरक-फरक भए पनि सबैको निष्कर्ष एउटै छ- बीपी नेपाली लोकतन्त्रका आधारस्तम्भ हुन् । तर उनै बीपीको राजनीतिक विरासत बोकेको कांग्रेस यतिबेला विभाजनको डिलमा उभिएको छ ।

केशव सावद केशव सावद
२०८३ साउन ५ गते २१:५०

५ साउन, काठमाडौं । ‘बीपी कोइराला भन्ने वित्तिकै तपाईंलाई के सम्झना आउँछ ?’

नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूलाई सोधिएको यो प्रश्नको जवाफ फरक-फरक आयो । कसैले उनलाई ‘लोकतन्त्रको उन्नायक’ भने, कसैले ‘देशका लागि नझुक्ने व्यक्तित्व’ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको पूर्वसन्ध्यामा सोधिएको प्रश्नको जवाफमा कसैले उनलाई ‘स्वतन्त्रताको पर्याय’ का रूपमा सम्झिए त कसैले ‘समाजवादी नेता’ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बीपीलाई ‘देशका लागि कहिल्यै नझुक्ने र १०० वर्ष पछिसम्मको दृष्टिकोण दिने व्यक्तित्व’ का रूपमा व्याख्या गरे ।

‘एउटा असल, कहिल्यै नझुक्ने, देशका लागि १०० वर्ष पछिका लागि पनि दृष्टिकोण दिएको व्यक्तित्व,’ उनले अनलाइनखबरको जिज्ञासाको जवाफ दिए ।

बीपी कोइराला

महामन्त्री गुरुराज घिमिरेका नजरमा बीपी कोइराला नेपालको इतिहासलाई ऐतिहासिक र अद्वितीय मोड दिने नेपाली राजनीतिका दुर्लभ पात्र हुन् । ‘नेपाली राजनीतिको एउटा त्यस्तो पात्र, जसले नेपालको इतिहासलाई ऐतिहासिक र अद्वितीय मोड दिनुभयो,’ उनले भने ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले बीपी कोइरालालाई ‘नेपालमा लोकतन्त्रको जग बसाल्ने सक्षम नेता’ का रूपमा सम्झिइन् । ‘नेपालमा लोकतन्त्रको जग बसाल्ने सक्षम लिडर,’ उनले भनिन् ।

केन्द्रीय सदस्य प्रतिमा गौतमले बीपी कोइराला भन्ने वित्तिकै ‘उनका लोकतान्त्रिक मूल्य, समाजवाद र राष्ट्रिय एकताको आदर्श’ सम्झनामा आउने प्रतिक्रिया दिइन् ।

‘बीपी कोइरालालाई सम्झनु भनेको उहाँका लोकतान्त्रिक मूल्य, समाजवाद र राष्ट्रिय एकताको आदर्शलाई व्यवहारमा उतार्दै जनताको सेवामा समर्पित हुनु हो,’ उनले भनिन् ।

कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी नेतृ निमा गिरीले बीपीलाई ‘समाजवादी नेता, साहित्यकार र अन्तर्राष्ट्रिय व्यक्तित्व’ भनिन् । ‘समाजवादी नेता, साहित्यकार र एउटा इन्टरनेसनल लिडर,’ अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले भनिन् ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले ‘बीपी कोइराला भन्ना साथ स्वतन्त्रताको भावना आउने’ बताए भने युवा नेता शंकर तिवारीले ‘लोकतन्त्रको उन्नायक’ का रूपमा बीपीलाई सम्झिए । सुर्खेत–२ का क्षेत्रीय सदस्य नन्दकुमार गौतमले बीपीलाई ‘समाज सुधारक नेता’ को संज्ञा दिए ।

बीपीप्रति श्रद्धा व्यक्त गर्ने शब्द फरक–फरक भए पनि सबैको निष्कर्ष एउटै छ–बीपी नेपाली लोकतन्त्रका आधार स्तम्भ हुन् ।

तर, उनै बीपीको राजनीतिक विरासत बोकेको कांग्रेस यतिबेला गम्भीर आन्तरिक विवादको डिलमा उभिएको छ ।

झण्डै फुटको संघारमा रहेको कांग्रेसका संस्थापन र इतर समूहले बीपीको ४४औं स्मृति दिवसलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी मनाउने तयारी गरिरहेका छन् ।

एउटै नेता, एउटै विचार र एउटै इतिहासलाई सम्मान गर्ने दाबी गर्ने कांग्रेसभित्र उनकै स्मृति दिवसमा अलग–अलग मञ्च तयार हुनुलाई कांग्रेसभित्र बढ्दो दूरीको संकेतका रूपमा हेरिएको छ ।

कांग्रेसले जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित साउन ६ र ७ गते देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ ।

कांग्रेस उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार काठमाडौं उपत्यकामा जलवायु परिवर्तन र नयाँ राजनीतिक अभियानलाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरिने छ ।

उनले बुधबार बिहान ६ बजेदेखि ललितपुरस्थित यूएन पार्कबाट पाँच किलोमिटर ‘ग्रिन रन’ प्रतियोगिता आयोजना गरिने जानकारी दिए । बुधबार नै जावलाखेलमा ‘जलवायु परिवर्तन र नेपाल : प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ विषयमा ‘ग्रिन टेबल’ संवाद आयोजना हुँदैछ ।

यस्तै संवाद आयोजना हुने स्थलमै २० जनाभन्दा बढी कलाकारले जलवायु संकटलाई चित्रण गर्ने ‘लाइभ पेन्टिङ’ गर्ने छन् । कांग्रेस सभापति गगनकुमार थापाले क्यानभासमा पहिलो स्केच बनाएर कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रमको सूची छ ।

बीपी स्मृति दिवसको दोस्रो दिन कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

यही कार्यक्रममा कांग्रेस सभापति थापाले ‘जरा अभियान’ पछि पार्टीको अर्को नयाँ अभियान सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । तर पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा कांग्रेसको संस्थापन इतर समूह भने उपस्थित हुने छैन ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन नसक्दा कांग्रेस भित्रको शक्ति संघर्ष झन् तीव्र बन्दै गएको छ ।

विशेष महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयन र संगठन पुनर्संरचना लगायतका विषयमा सहमति जुट्न नसक्दा महाधिवेशनपछि पनि विवाद निरन्तर चर्किँदै गएको हो ।

बीपीले जीवनभर पार्टीभित्र विचार, बहस र लोकतान्त्रिक अभ्यासलाई महत्व दिए पनि उनकै नाममा राजनीति गर्ने कांग्रेसका नेताहरू एउटै मञ्चमा उभिन नसक्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय संस्थापन इतर समूहले छुट्टै भेला, परामर्श र शक्ति प्रदर्शनलाई तिव्रता दिएको छ । जसका कारण पार्टी भित्रको ध्रुवीकरण थप स्पष्ट बन्दै गएको देखिएको छ ।

दुवै समूहका केही नेताहरूले विवाद समाधानका लागि वार्ता र सहमतिको पहल आवश्यक रहेको बताए पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । तर कांग्रेसको संस्थापन पक्षले भने विवाद समाधान गरेर अगाडि बढ्ने रटान छाडेको छैन ।

मंगलबार मात्रै कांग्रेस उपसभापति शर्माले पार्टीमा देखिएको विमतिलाई सबैको सम्मान रहने गरी समाधान गरिने प्रक्रिया दिए । ‘जे–जे विषयमा पार्टीभित्र विमति, गुनासा होलान् । तिनलाई सबैको सम्मान रहने गरी समाधान गर्छौं,’ उनले भने ।

अर्कोतिर, निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेको संस्थापत इतर समूह भने पार्टीभित्र एकता हुने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्षमा पुगिसकेको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा साउन १ गते बसेको समूहको बैठकपछि नेता मीन विश्वकर्माले पार्टी एकता हुने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालिएको बताएका थिए ।

त्यसअघि असार २४ मा सम्पन्न इतर समूहको तीन दिने बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

उक्त बैठकपछि नेता विश्वकर्माले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिएका थिए ।

सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने इतर समूहको भनाइ थियो ।

तीन दिनसम्म चलेको बैठकमा धारणा राख्ने नेताहरूले आवश्यक परे विकल्पमा जान पनि तयार रहनुपर्ने धारणा राखेका थिए । ‘यदि, यी कुराहरू कुनै पनि मानिएनन् भने हामी विकल्पमा जान पनि तयार हुनुपर्छ भनेर हिजो–अस्तिकै जसरी धारणा आए,’ नेता विश्वकर्माले भनेका थिए ।

कांग्रेसमा पछिल्लो समय सदस्यता अद्यावधिक, महाधिवेशनसम्बन्धी तयारी तथा संगठनात्मक विषयलाई लिएर मतभेद बढ्दै गएको थियो । यही विवादका बीच इतर समूहले पार्टी एकतालाई केन्द्रमा राख्दै सहमतिमार्फत निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

तर, नेतृत्वले सहमतिका लागि प्रयास नगरेको भन्दै इतर समूहले पछिल्लो बैठकबाट पार्टी एकता हुने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको बताइएको छ ।

इतर समूहले पार्टीमा एकता कायम हुन नसक्ने देखिएपछि आगामी रणनीति तय गर्न साउन मसान्तभित्रै राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरिसकेको छ । साउन ६ गते ४४औं बीपी स्मृति दिवसमा राष्ट्रिय भेलाको मिति घोषणा गरिने नेता विश्वकर्माको भनाइ छ ।

दुवै समूहका बीचमा देखिएको अविश्वास, आरोप-प्रत्यारोप र समानान्तर गतिविधिका कारण कांग्रेस विभाजनको संघारमा पुगेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

यही चर्चाका बीच संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवस (साउन ६) मा संस्थापन इतर समूहले समानान्तर कार्यक्रमको तयारी गरेको छ ।

प्रजातन्त्रका लागि कठोर संघर्ष गरेका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस यस पटक कांग्रेस भित्रको आन्तरिक ध्रुवीकरण बीच मनाइँदै छ ।

साउन ६ गते इतर समूहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भेला बोलाएको छ । भेलाबाट राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपी कोइरालाको ६ साउन २०३९ मा निधन भएको थियो । उनकोे जन्म २४ भदौ १९७१ मा भएको हो । २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा बीपी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?