News Summary
Generated by OK AI. Editorially reviewed.- क्यान्सरपीडित अर्थविद् डा. देवेन्द्रराज पाण्डेले ८७ वर्षको उमेरमा निधन हुनुअघि देशको अर्थतन्त्र र राजनीतिक अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको थियो ।
- डा. पाण्डेले रास्वपा नेतृत्वको नयाँ सरकारप्रति आशा र आशंका दुवै व्यक्त गर्दै लोकतान्त्रिक मूल्य-मान्यता र प्रेस स्वतन्त्रताको रक्षामा जोड दिनुभएको थियो ।
- पञ्चायतकालमा अर्थसचिवबाट राजीनामा दिएका डा. पाण्डेले आजीवन नागरिक आन्दोलनको अगुवाइ गर्दै मुलुकको लोकतान्त्रिक र आर्थिक विकासमा सक्रिय योगदान पुर्याउनुभएको थियो ।
२७ चैत २०८२ को बिहानै डा. देवेन्द्रराज पाण्डेले फोन गर्नुभयो । भेटघाट र फोनमा कुराकानी नभएको लामै समय भइसकेको थियो । सुरुमै मैले सोधेँ- डाक्टरसाब स्वास्थ्य कस्तो छ ?
उहाँले जे उत्तर दिनुभयो, ‘मलाई त ‘लैजाने रोग’ लाग्यो जनार्दनजी, स्वास्थ्य ठिक छैन नि ।’ (त्यो विल्कुलै अनपेक्षित थियो ।)
‘ओहो के भन्नुभाको डाक्टरसाब त्यस्तो ?,’ विस्मित भएर मैले भनेँ ।
‘धेरै भो नभेटेको । आउनुस् न एक पटक । न्यास्रो लागेर फोन गरेको,’ उहाँले भन्नुभयो ।
‘भोलि शनिबार छ, आउँछु,’ भनेँ । ५९ सेकेन्ड बोलिएछ डा. पाण्डेसँग । तर त्यसपछि उहाँलाई नभेटुन्जेलका करिब ३० घन्टा मन अधैर्य भइरह्यो ।
मनमा आयो- उहाँलाई पक्कै क्यान्सर भयो होला । उपचार हुँदै होला । कति धेरै मानिसहरू क्यान्सरको उपचारपश्चात् निको भई दीर्घजीवन बाँचेका छन् । उहाँ पनि केही वर्ष त पक्कै रहनुहोला ।
भोलिपल्ट पाण्डेलाई भेट्न म र श्रीमती दुवै जना उहाँको निवास विशालनगर पुग्यौँ ।
उहाँ पहिले जस्तै हँसिलो हुनुहुन्थ्यो, दृढ आवाज र आत्मविश्वासी । ३-४ मिनेट निरन्तर बोलेपछि भने श्वास बढ्थ्यो । र, बोल्न केही आराम गर्नुपर्थ्यो ।
त्यसको केही दिनअघि मात्रै उहाँमा प्यांक्रियाजको क्यान्सर पत्ता लागेको रहेछ । तर ८७ वर्षको वृद्ध वयमा गम्भीर उपचार गरेर यो रोग निको हुुँदैन भन्ने बोध उहाँलाई थियो ।
‘अब मेरो धेरै दिन छैन । केही समयअघि मेरो दाजुलाई पनि यही क्यान्सर भयो । रोग पत्ता लागेको तीन महिनामै उहाँ जानुभयो । यो यस्तो रोग रहेछ, लागेको थाहा नहुने, बाहिर धेरै लक्षण पनि नदेखिने तर छिट्टै गाल्ने,’ उहाँले सहज स्वरमा भन्नुभयो, ‘त्यसैले यो उमेरमा शल्यक्रिया गर्ने, किमोथेरापी दिने जस्तो गम्भीर उपचार गर्न मैले नै मानिनँ ।’

उहाँलाई थाहा थियो, अब आफ्नो आयु बढीमा तीन महिना हो । त्यसअघि नै पनि बिदा लिनुपर्ने हुन सक्छ । भयो पनि त्यस्तै । तर उहाँलाई आफ्नो स्वास्थ्य र उमेरको कुनै चिन्ता थिएन ।
देश र अर्थतन्त्रको भविष्यका बारेमा भने उहाँलाई ठूलो चिन्ता थियो । चुनावपछि भर्खरै नयाँ सरकार बनेको थियो । सुनामी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेका थिए ।
यिनीहरूले साँच्चै लोकतन्त्र र विकासलाई बलियो बनाउलान् कि नबनाउलान् भन्ने चासो उहाँमा थियो ।
‘बिरामी भएर धेरै दिन देशमा के भइरहेको छ भन्ने अपडेट लिन पाएको छैन । ‘बालेन बाबु’ नयाँ प्रधानमन्त्री बनेका छन् । यिनीहरूले राम्रो काम गर्ने लक्षण छ कि छैन ?,’ उहाँको प्रश्न थियो ।
जनताले ठूलो भरोसा गरेर नयाँ दल र नयाँ मानिसहरूलाई जनमत प्रदान गरेकाले नयाँ सरकारले जनताको भरोसालाई जोगाइदिए हुन्थ्यो भन्ने चासो थियो ।
लोकतन्त्रका मूल्य-मान्यता, प्रशासनिक तथा न्यायिक प्रक्रियाहरूमाथि धावा नबोलिएदिए हुन्थ्यो भन्ने चाहना थियो । ‘यिनीहरूले के गर्छन्, कस्तो परिणाम ल्याउँछन्, त्यो त मैले देख्न नपाउने भएँ, तर परिपक्व ढंगले काम गरेर परिणाम ल्याइदिए हुन्थ्यो,’ उहाँ भन्नुहुन्थ्यो ।
उहाँले सोधेका प्रश्नको मैले जाने जति उत्तर दिएँ । ‘यिनीहरूको नियतमा अहिल्यै खोट त देखिन्नँ । केही समय शंकाको सुविधा दिनुपर्यो । तर यो अपूर्व बहुमतले लोकतन्त्रमाथि नै प्रहार गर्छ कि, स्थापित विधि र प्रक्रियाहरूको अवमूल्यन हुन्छन् कि, भन्ने डर चाहिँ छ । सरकारले प्रक्रियाहरू मिच्न थालेको, आलोचना नसहेको देखिँदैछ,’ त्यस दिन उहाँसँगको लामो संवादका क्रममा आफूले भनेका कुराको सार यस्तो थियो भन्ने म सम्झन्छु ।
त्यसको केही समयपछि त्यस्तै आसयको कुरा उहाँले ट्विट पनि गर्नुभएको थियो- रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउँदिनँ । तर यिनीहरू सफल हुन सकुन् भन्ने चाहन्छु । यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति । … सरकार सफल बनाऊ, आफू सफल बन, मुलुक सफल बनाऊ ।’
हामी जन्मनुअघि नै डा. पाण्डे नेपालको अर्थसचिव बनेर राजीनामासमेत दिइसक्नुभएको थियो । पञ्चायत सुरु हुँदाकै बखतमा सरकारी सेवामा प्रवेश गरेका पाण्डेले २०३७ सालमा अर्थसचिवबाट राजीनामा दिनुभयो ।

उहाँले पञ्चायती व्यवस्थाविरुद्ध विद्रोह गरेर राजीनामा गरेको धेरैको बुझाइ छ, तर त्यस्तो थिएन । ‘आफ्नो पूरै सरकारी जागिरको करिअर पञ्चायतअन्तर्गत बिताएको एउटा जागिरेले कहाँको व्यवस्थाविरुद्ध विद्रोह गर्थें र । त्यसबेला सरकारको नेतृत्वसँग कुरा मिलेन । त्यही भनेर छोडेको हुँ,’ उहाँले एक पटक भन्नुभएको थियो । त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापासँग विवाद भएपछि उहाँले जागिर छोड्नुभयो ।
त्यसपछिका दिनमा २०४६ को आन्दोलनका बेला प्रजातन्त्रको पक्षमा र २०६२–६३ को आन्दोलनमा गणतन्त्रको पक्षमा अग्रपंक्तिमै रहेर आन्दोलनको मोर्चामा रहनुभयो । २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जोडबल गरेरै उहाँलाई अर्थमन्त्री बनाउनुभयो । तर डा. पाण्डे नेपाली कांग्रेस बन्नुभएन । बरु त्यही बेला वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै ‘लोक दल’ नामक नयाँ पार्टी गठन गर्नुभयो ।
पहिलो जनआन्दोलन र दोस्रो जनआन्दोलनबीचको १५ वर्षको अवधिमा उहाँ नेतृत्वको वैकल्पिक राजनीति त सफल भएन नै, जनताका आकांक्षा पूरा गर्न तत्कालीन मूलधारका राजनीतिक दल पनि असफल भए ।
जनताको त्यही असन्तुष्टि बुझेका तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि डा. पाण्डे त्यसको विरुद्धमा नागरिकको आवाज बोकेर सडकमा आउनु भयो । त्यसअघि उहाँ आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण तथा लोकतान्त्रिक अभियानमा निरन्तर सक्रिय हुनुहुन्थ्यो ।

जनताले राजनीतिक दलहरूलाई पटक्कै विश्वास नगरेको त्यो समयमा पाण्डेको नेतृत्वमा भएको नागरिक आन्दोलनले नै सडकमा लोकतन्त्रको आवाजलाई मर्न दिएन । विस्तारै यही अभियानमा नागरिकहरू गोलबद्ध भए, राजनीतिक दलहरू पनि त्यही छाता ओड्न आइपुगे । र, त्यो संयुक्त आन्दोलनले निरंकुश राजतन्त्रलाई फालेर मुलुकलाई गणतान्त्रिक बनायो । त्यो आन्दोलनको सबैभन्दा ऊँचो अनुहार डा. पाण्डेकै थियो । आन्दोलन सफल भएपछि उहाँले कुनै पद लिनु भएन, चाहनु भएको भए जुनसुकै पद उहाँका लागि सायद खाली थियो । तर लिनु भएन ।
देशमा गणतन्त्र आएको २० वर्ष पनि तिनै पुराना दलले रोटेपिङ जसरी देशलाई घुमाएर जनतालाई विकास नदिएपछि भने डा. पाण्डे साँच्चै निराश हुनुहुन्थ्यो । सुरुसुरुमा यी त नयाँ हुन्, केही गर्छन् कि भनेर उहाँले माओवादीसँग ठूलै आशा राख्नु भएको थियो । तर त्यो पनि क्षणिक भयो ।
त्यसैले २१ फागुनको चुनावमा रास्वपाले ठूलो बहुमतका साथ चुनाव जितेपछि उहाँमा निश्चय नै खुसी थियो । दुई कुराले उहाँ उत्साही हुनुहुन्थ्यो सायद । तीन दशकअघि आफूले सुरु गरेको वैकल्पिक राजनीति कुनै न कुनै स्वरूपमा अघि बढेकोमा– खासगरी दुई दशकदेखि तीन दलका नाममा केही नेताले चलाएको आलोपालो सिन्डिकेट अन्त्य भएकोमा ।
यो सरकार बनेको दुई-तीनपछि नै उहाँले ट्विट गर्नुभएको थियो, ‘रास्वपाका केही नेताहरू, सांसद समेतका, कुरा टेलिभिजनमा सुन्दा सुनिरहुँ जस्तो लाग्ने, विषयवस्तुको पूरा ज्ञान छ, परिणाममुखी काम गर्न हुटहुटी छ, देशको मायाले विकास गरिछाड्छु भन्ने अठोट पनि छ । ओछ्यानमा थला परेको म वृद्ध, रुग्ण नागरिकलाई त झन् यस्तो सुन्न पाउँदा अरू के चाहियो र ?’
तर, सरकारले फरक विचार राख्नेलाई निषेध गर्नुहुन्न भन्नेमा उहाँ बडो सचेत हुनुहुन्थ्यो । ‘सरकारले आलोचकलाई निषेध गरेको हो भने यसमा मेरो कडा विरोध छ,’ सोही बेला उहाँले लेख्नुभएको थियो । सरकारका लागि आलोचना कति महत्वपूर्ण हो भन्ने त्यसले स्पष्ट पार्छ ।
तर, नयाँ सरकारका पछिल्ला गतिविधिले केही समयमा नै उहाँमा निराशा पैदा गरेको देखिन्थ्यो । उहाँले जेठको १२ गते उहाँले लेख्नुभयो, ‘सञ्चार, पत्रकारहरूलाई तर्साउन, अवान्छित मानसिक दबाब दिन छोड । कला, साहित्यलाई नियन्त्रण गरेर आफैँ विष खान खोजेझैं नगर । लोकतन्त्रलाई उन्नत बनाउन मिहिनेत गर । सबैभन्दा उत्तम कुरा हाम्रो व्यक्तिगत र सामूहिक स्वतन्त्रता हो र मर्यादित जीवन बाँच्ने अधिकार हो ।’
प्रधानमन्त्री बालेन शाहले देशको सीमाबारे दिएको उरन्ठेउलो अभिव्यक्तिले उहाँलाई चिन्तित बनाएको थियो । बालेनको अभिव्यक्तिलाई विषयान्तर गर्न सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको अपरिपक्व टिप्पणीलाई कोट गर्दै उहाँले लेख्नुभएको थियो, ‘पुरानालाई बिग्रन समय लाग्या थियो, यिनलाई त केही महिना पनि लागेन । हैट ।’
मृत्यु अत्यन्तै नजिक छ भन्ने आभासका बीच पनि उहाँ ट्विटरमा सक्रिय रहनु भयो । समसामयिक विषयमा लेखिरहनु भयो । कहिलेकाहीँ आफूलाई र आफ्नो कमजोर स्वास्थ्यलाई आफैँले व्यंग्यात्मक हिसाबले पनि प्रस्तुत गर्नुहुन्थ्यो ।
त्यहीबीच प्रधान सम्पादक बसन्त बस्नेतले २४ जुनको बिहानै अचानक भन्नुभयो, ‘किन-किन डा. पाण्डेलाई एक पटक भेटिहालौं जस्तो लागेको छ, जाऊँ ।’

क्यान्सर लागेपछि केही महिनामै डा. पाण्डेको स्वास्थ्य स्थिति कमजोर भएको थियो । वजन अत्यधिक घटेको रहेछ । ओछ्यानबाट उठेर हिँड्न पनि नसक्ने भइसक्नुभएको थियो । तर हामीसँगको कुराकानीमा पनि उहाँलाई आफ्नो स्वास्थ्य र शरीरको चिन्ता थिएन । देशमा अहिले के भइरहेको छ । बालेनले सरकार कसरी चलाइरहेका छन् । लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको छ कि छैन भन्नेमै थियो ।
आफ्नो सामर्थ्य पुगेका दिन प्रदेशसभा खारेज गर्ने रास्वपाले बताएको छ, के गर्ला त ? भन्ने प्रश्न थियो । आफ्नो व्यावसायिक क्षेत्रमा राम्रो काम गर्नेबित्तिकै राजनीतिमै जानुपर्ने विकृतिको रूपमा देखिएकोमा उनमा चिन्ता थियो ।
‘राम्रो डाक्टर भएपछि, राम्रो इन्जिनियर भएपछि पनि फेरि उसलाई नेता नै बन्नुपर्ने, यही हो समस्या,’ उहाँ बताउनुहुथ्यो ।
तर, वर्तमान सरकार वा अन्य कसैले पनि राम्रो गर्यो वा नराम्रो गर्यो भनेर उहाँमा कुनै पूर्वाग्रह थिएन । ‘म निरपेक्ष छु, मेरो कुनै धारणा– खुसी पनि छैन, दु:खी पनि छैन । चासो मात्रै छ,’ उहाँको ऋषिवाणी थियो ।
एउटा राष्ट्रका रूपमा नेपालका आउने दिनहरू कस्ता होलान् भन्नेबारेमा उहाँमा अर्कै किसिमको चासो र चिन्ता पनि थियो ।
८७ वर्षको उमेरमा पनि उहाँ नेपाली क्रिकेटको असाध्यै ठूलो फ्यान हुनुहुन्थ्यो । नेपालले खेलेका कुनै पनि खेल नबिराई हेर्ने, हरेक खेलाडी चिन्ने र तिनका कमजोरी र बलियो पक्ष थाहा पाउने । विश्वकप क्रिकेटमा बेलायतसँग नेपालले झन्डै जितिसकेको खेल हार्दा एक जना खेलाडीको भुलचुकले गर्दा हार्नुपर्यो, बेलायतले जित्यो भन्ने कमेन्ट गर्नुभएको थियो ।
नेपाल क्रिकेट संघमाथि अख्तियारले छानबिन गरिरहेको सन्दर्भमा उहाँले क्यानलाई ‘ट्रान्सपरेन्सी र एकाउन्ट्याबिलिटी प्रदर्शन गर्न नचुक्नू, खेलाडीलाई खेलमै फोकस हुने वातावरण प्रदान गर्नू भन्ने सुझाव दिनुभएको थियो ।
सरकारले अनुसन्धानमा आधारित नीति निर्माण गर्नुपर्छ भन्ने मान्यता उहाँले आजीवन राख्नुहुन्थ्यो । सरकारले विगतदेखि अहिलेको सरकारलाई पनि गतिला सल्लाहकार राखेर उनीहरूको सल्लाहमा काम गर्न सुझाव दिइरहनु भयो ।
सन् २०१९ तिर हुनुपर्छ, एउटा भेटमा उहाँले भनेको म अहिले पनि सम्झन्छु- पहिलापहिला ऋषि हुन्थे र राजा हुन्थे । ऋषि भन्थे, राजा गर्थे । अहिले सबै राजा भए, ऋषि कोही भएनन् । त्यही भएर ज्ञानको अभाव भयो, अज्ञानता व्याप्त भयो । (यहाँ ऋषि भनेर सल्लाहकार वा अनुसन्धानकर्तालाई र राजा भनेर सरकारलाई संकेत गर्नु भएको हो) ।
८० वर्षको उमेर काट्दा पनि उहाँ अध्ययन र काममा सक्रिय हुनुहुन्थ्यो । ‘म कहाँ बुढो भएको छु र ?’ भन्नुहुन्थ्यो । युवाहरूसँग नियमित अन्तर्क्रिया गर्न औधी मन पराउनु हुन्थ्यो ।
पाण्डेको व्यक्तित्व विराट थियो । तर उहाँसँग भेटघाट र कुराकानी गर्दा कहिल्यै पनि त्यो दुरी महसुस हुन दिनु हुन्नथ्यो । देशप्रति चिन्तन र चिन्ता गर्ने युवापुस्ता कम हुँदै गएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो– नेपालमा पनि कोही डाक्टर बनाउने, इन्जिनियर बनाउने, सीए बनाउने शिक्षा भयो, केही काम नलाग्ने अर्थात् चिन्तन–मनन गर्ने शिक्षामा पनि जोड गर्नुपर्यो ।
शाखा अधिकृतदेखि सचिवसम्म अर्थ मन्त्रालयमा रहँदा उहाँले खासगरी वैदेशिक सहायताका क्षेत्रमा काम गर्नु भएको थियो, मन्त्रालयको वैदेशिक सहायता महाशाखाको प्रमुख भएर लामै काम गर्नुभयो ।
नेपालमा वैदेशिक सहायताको प्रभावकारितामा उहाँको ठूलो प्रश्न थियो । उहाँले यस क्षेत्रमा लेखेका निबन्धहरूको संकलन गरेर मार्टिन चौतारीले ‘लुकिङ एड डेभलपमेन्ट एन्ड डोनर’ भन्ने पुस्तक प्रकाशित गरेको छ ।
छोटो समय नेपालमा काम गरेका वा नेपालमा कामै नगरेका विदेशीहरूले नेपालको विकास समस्या बुझ्दैनन् भन्ने उहाँको धारणा थियो । सहायताका नाममा राज्य सञ्चालनमा नै विदेशीहरूलाई सहभागी गराउनु हुँदैन भन्ने उहाँको मान्यता थियो ।
‘म सचिव हुँदा मेरो उपसचिवलाई भेट्ने हैसियत नभएकाहरू प्रधानमन्त्रीसँग हात मिलाउन थाले,’ १० वर्षअघि एउटा अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो । वैदेशिक सहायता नेपालको एउटा उद्योग नै बनेकोमा उहाँको चिन्ता थियो ।
नेपालको विकासलाई नागरिकको दृष्टिबाट हेर्नुपर्ने उहाँको धारणा थियो । तर नेपालको पहिलो मानव विकास प्रतिवेदन सन् १९९८ उहाँको नेतृत्वमा लेखिएको थियो । सो टिममा डा. पोषराज पाण्डे र डा. युवराज खतिवडा हुनुहुन्थ्यो । ‘डा. पाण्डेको नेतृत्वमा काम गर्नु मेरो करिअरकै महत्वपूर्ण कुरा भयो, उहाँ अद्भूत क्षमताको मान्छे हो,’ डा. पोषराजले सम्झनु भयो ।
सन् १९५० पछि नेपाल किन विकासमा असफल हुनपुग्यो भनेर उहाँले ‘नेपाल्स फेल्ड डेभलपमेन्ट’ भन्ने पुस्तक लेख्नुभएको थियो, जुन पुस्तक डा. पिताम्बर शर्माको भूमिकासहित केही वर्षअघि नयाँ संस्करण छापिएको थियो । यो पुस्तकको कभर एक्समा सेयर गर्दै उहाँले १ जुलाईमा लेख्नुभएको थियो, ‘मेरो चुच्चे नक्सा, कुरा फच्या ।’
प्रतिक्रिया 4