News Summary
Generated by OK AI. Editorially reviewed.- भिजेका लुगा राम्ररी नसुकाउँदा ढुसी पलाउने, ब्याक्टेरिया बढ्ने तथा छालाको एलर्जीको जोखिम रहन्छ।
अहिले मनसुनको समय छ । दिनहुँजसो झरी परिरहेको छ । हरेक दिन पानी परिरहँदा कपडा धोएपछि सुकाउने कुराले धेरैलाई तनाव दिइरहेको हुन्छ । छिनमै घाम लाग्ने र छिनमै पर्ने हुँदा निकै झन्झट व्यहोर्नुपरिरहेको हुन्छ ।
घाम नलाग्ने र हावामा आर्द्रता धेरै हुने भएकाले कपडा धुँदा पनि नसुक्ने समस्या यो समयमा हुन्छ ।
धोएका कपडा समयमा नसुक्दा तिनीहरू गन्हाउन थाल्छन् । लुगामा ढुसी पर्न थाल्छ र ब्याक्टेरियाको वृद्धिको जोखिम पनि बढाउँछन् । यस्तो अवस्थाका कपडा लगाउँदा छालाको एलर्जी, फंगल संक्रमण र दागहरूको समस्या निम्त्याउन पनि सक्छ ।
यस समयमा, हावामा आर्द्रता उच्च हुन्छ । यही कारण लुगामा भएको पानी छिट्टै वाफमा परिणत हुन सक्दैन । वरपरको हावा पहिले नै ओसिलो हुँदा, यसले लुगाबाट निस्कने ओसिलोपनलाई सजिलैसँग अवशोषित गर्न सक्दैन । यसले लुगा सुकाउने गतिलाई सुस्त बनाउँछ ।
मनसुनको समयमा कपडा सुकाउने सही तरिका के हो त ?
लगातर झरी परिरहेको समयमा कपडा धुन परेको छ भने सकेसम्म बेस्सरी निचोरेर सुकाउनुपर्छ ।
यस्तो समयमा सबैभन्दा कपडा सुकाउन उपयुक्त ठाउँमा भनेको घरको बाल्कोनी अर्थात बार्दली हो । बाल्कोनी खुल्ला हुने भएकाले यहाँ हावा राम्रो पास भइरहेको हुन्छ । यसो हुँदा लुगालाई छिटो र राम्ररी सुक्न मद्दत मिल्छ । दिनमा कुनै समय एकैछिन घाम लागिहाल्यो भने पनि बाल्कोनीमा हुँदा घाम परेको खण्डमा कपडा छिटो सुक्छ । घाम लागेको बेला कपडा सुकाउने र फेरि पानी पर्न सुरु गरेपछि निकालिहाल्नुपर्ने झन्झट हुँदैन ।
राम्रोसँग निचोरिएको कपडालाई पङ्खाको प्रयोग गरेर पनि सुकाउन मिल्छ । यदि घरमा एसी छ भने त्यसमा ड्राइमोड लगाएर कपडा सुकाउन सकिन्छ । कोठाको झ्यालमा सुकाउने अर्को विकल्प हो । तर झ्यालमा हावा भित्रबाहिर पास भने भएको हुनुपर्छ ।
आपतकालीन अवस्थामा विशेषगरी पातला कपडालाई हेयर ड्रयरको सहायताले सुकाउन सकिन्छ । तर कपडा थोरै ओसिलो लुगा हुनुपर्छ । धेरै पानी भएको कपडा हेयर ड्रयरले सुकाउन सकिँदैन । सिन्थेटिक वा कमजोर कपडा बनेका लुगाहरू यसमा सुकाउनु हुँदैन ।
कतै ठाउँ नभए बाथरुममा पनि सुकाउन सकिन्छ । तर यहाँ पहिले नै उच्च आर्द्रता हुन्छ । कमजोर भेन्टिलेसन समेत सानो छ भने त कपडा सुक्न लामो समय लाग्छ । यसो हुँदा कपडाबाट गन्ध आउने र ढुसी पर्ने सम्भावना पनि रहन्छ ।
कोठाभित्र कपडा सुकाउँदा के-के कुरामा ध्यान दिने ?
वर्षाको समयमा यदि बाल्कोनी छैन या त्यहाँ कपडा सुकाउने मिल्दैन भने घरभित्र कपडा सुकाउनु नै मुख्य विकल्प हो । यदि घरमा राम्रो भेन्टिलेसन छ भने, कपडा सुकाउँदा केही फरक पर्दैन ।
बन्द कोठामा भिजेको लुगा सुकाइन्छ भने कोठाभित्रको आर्द्रता बढ्छ । यसले फंगस र ब्याक्टेरियाको वृद्धि निम्त्याउन सक्छ । यसले लुगा गन्हाउने, ढुसी आउने हुन सक्छ ।
राम्रो हावा पास हुँदैन भने भिजेको लुगाबाट निस्किएको ओसिलोपन कोठाको भित्ता र छतमा जम्मा हुन्छ । यदि यो लामो समयसम्म जारी रह्यो भने, यसले भित्ताहरूमा ओसिलोपन हुने, भित्ता बिग्रिने हुन सक्छ । साथै कोठामा ढुसी पलाउने र गन्ध आउने हुन्छ ।
भित्र कपडा सुकाउँदा गर्नुहुँदैन यस्ता गल्ती
–भिजेको लुगा राम्ररी ननिचिकन झुण्ड्याउने ।
–कपडा सुकाउँदा धेरै कोचेर तथा खप्टिएर टांग्ने ।
–भेन्टिलेसनबिना बन्द कोठामा लुगा सुकाउने।
–लुगा पूर्णरूपमा नसुकिकनै झिकेर थन्क्याउने ।
–वासिङ मेसिनमा धुएका कपडालाई घण्टौंसम्म मेसिनमै छोड्ने।
–ओसिलो ठाउँमा लुगा सुकाउने।
–लुगा धेरै दिनसम्म एउटै ठाउँमा झुण्ड्याउने ।
प्रतिक्रिया 4