५ साउन, बारा । नेपाली कांग्रेसका दुई पक्षबीच मंगलबार बाराको कलैयामा झडप भएको छ । कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मा थमाएका मनोज भट्टको समूहबीच झडप भएको हो ।
कलैयास्थित पार्टी कार्यालयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएपछि दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन् । झडपको कारणबारे दुवै पक्षले एक–अर्कालाई दोषारोपण गरेका छन् ।
कांग्रेस बाराका कार्यवाहक सभापति मनोज भट्ट समूहले मंगलबार दिउँसो कार्यसमितिको बैठक आह्वान गरेको थियो । उक्त बैठक पार्टी कार्यालयमा हुननदिने उद्देश्यसहित निलम्बित सभापति राजेश यादव समूहले सोही स्थानमा महिला संघको भेला गरेको थियो ।
कार्यवाहक सभापति भट्टले अर्को समूहले जानाजान अर्को कार्यक्रम गरेर विवाद गरेको आरोप लगाए । उनले पार्टी कार्यालय कब्जा गर्ने यादवको मनसायका विरुद्ध कांग्रेसका कार्यकर्ताले विरोध जनाएको दाबी गरे । पार्टीको बैठकलाई बिथोल्ने उद्देश्यले रातारात महिला संघको कार्यक्रम डिजाइन गरेर पार्टीको आधिकारिक समूहलाई रोक्न खोज्दा झडपको अवस्था बनेको उनको दाबी छ ।
‘हामीले मंगलबारको बैठकबारे सोमबार सार्वजनिक सूचना जारी गरेका थियौं, तर रातारात उहाँहरूले अर्को कार्यक्रम डिजाइन गर्नुभएछ’, भट्टले भने ।
उता निलम्बित सभापति यादवले भने आफू नै जिल्ला सभापति रहेको बताउँदै महिला भेला बिथोल्न मनोज भट्ट समूहका केही मानिस आएर विवाद गरेको आरोप लगाए ।
पार्टीको केन्द्रीय कार्यसमितिले भट्टलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपनि यादवले आफ्नो निलम्बनलाई अवैधानिक भन्दै सभापतिकै हैसियतमा पार्टीका गतिविधि चलाइरहेका छन् ।
कलैयामा झडपको स्थिति आउनुमा आफू नभइ भट्ट समूह जिम्मेवार रहेको यादवको भनाइ छ । ‘हामी कसैसँग झडप गर्न गएका होइनौं, पार्टी कार्यालयमा भइरहेको कार्यक्रम बिथोल्न आउनेलाई पार्टीका कार्यकर्ताले रोकेका हुन्’, यादवले भने ।
विशेष महाधिवेशनपछि कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएका भट्ट १४ औं महाधिवेशनबाट निर्वाचित उपसभापति हुन् । सभापति यादव र भट्ट १४ औं महाधिवेशनमा पनि अलग गुटबाट निर्वाचित भएका थिए । पछिल्लो समय एउटै समूहमा रहेर सह–महामन्त्री फरमुल्लाह मंसुरसँग शक्ति संघर्षमा लागेका यादव र भट्टलाई फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि विकसित घटनाक्रमले फेरि छुट्याएको हो ।
जिल्ला सभापति यादव विशेष महाधिवेशनको विपक्षमा थिए । उनलाई २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार हराउन लागेको आरोपमा केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण दिएनन्, स्पष्टीकरण नदिएपछि केन्द्रीय समितिले सभापतिबाट निलम्बन गर्दै उपसभापति भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
आजको झडपमा जिल्ला प्रहरी कार्यालय बाराबाट तत्काल प्रहरी टोली पुगेपछि स्थिति बेकाबु हुन दिएन ।
स्थिती नियन्त्रणमा आएपछि कार्यवाहक सभापति भट्ट कार्यालयभित्र प्रवेश गरेर केहीबेर सम्बोधन गरेका थिए । तर, बैठक भने बस्न सकेन ।
प्रतिक्रिया 4