+

इटालीको प्रशिक्षक बन्ने चर्चामा पेप ग्वार्डिओला

२०८३ साउन  ५ गते १३:४२ २०८३ साउन ५ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व फुटबलका सफल प्रशिक्षक पेप ग्वार्डिओलालाई इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनाउने विषयमा छलफल अघि बढेको छ।
  • इटालियन फुटबल महासंघका प्रतिनिधिले बार्सिलोना पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म वार्ता गरेका छन्।
  • ग्वार्डिओला नियुक्त भएमा उनी सन् १९६० को दशकयता इटाली टोली सम्हाल्ने पहिलो गैर-इटालियन प्रशिक्षक हुनेछन्।

५ साउन, काठमाडौं । विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ ।

स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल गरेका थिए ।

यदि ग्वार्डिओला नियुक्त भए उनी सन् १९६० दशकपछि इटाली राष्ट्रिय टोली सम्हाल्ने पहिलो गैर–इटालियन प्रशिक्षक बन्नेछन् । यसअघि रोबर्टो मान्चिनी र आन्द्रेआ पिर्लो पनि प्रशिक्षक पदका दाबेदार मानिएका छन् ।

५५ वर्षीय ग्वार्डिओलाले गत मे महिनामा म्यानचेस्टर सिटीसँगको सफल १० वर्षे यात्रा टुंग्याएका थिए । उनले सिटीलाई २० उपाधि दिलाएका थिए, जसमा ६ प्रिमियर लिग, ३ एफए कप, ५ लिग कप, ३ कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग, १ युइएफए सुपर कप र १ फिफा क्लब विश्वकप समावेश छन् ।

यसअघि उनले बार्सिलोना र बायर्न म्युनिखलाई पनि घरेलु तथा युरोपेली फुटबलमा ऐतिहासिक सफलता दिलाएका थिए ।

ग्वार्डिओलाले प्रशिक्षक बन्नुअघि इटालीको सिरी एमा पनि खेलेका थिए । उनले सन् २००१ देखि २००३ सम्म ब्रेसिया र रोमाबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी इटालियन भाषा पनि धाराप्रवाह बोल्छन् ।

सन् २०२१ मा युरोपियन च्याम्पियन बनेको इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल रह्‍यो ।

फिफा विश्वकप २०२६ को युरोपियन छनोट प्लेअफमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षक जेन्नारो गाट्टुसोले अप्रिलमा पद छाडेका थिए ।

पेप ग्वार्डिओला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय