+

गल्फका राहुल र तेन्जिङले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने

२०८३ साउन  ४ गते २०:५१ २०८३ साउन ४ गते २०:५१

दुई खेलाडीले २०औं एसियन गेम्सको तयारी स्वरुप एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली गल्फ खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ थाइल्यान्डको एएसए गल्फ एकेडेमीमा विशेष प्रशिक्षणका लागि आइतबार प्रस्थान गरेका छन्।
  • राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको सहयोगमा सञ्चालित यो प्रशिक्षण २०औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।
  • राहुल विश्वकर्माले एसियाली खेलकुदमा आफ्नो पहिलो लक्ष्य बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु रहेको बताएका छन्।

४ साउन, काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन् । यो प्रशिक्षण आगामी २०औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाडीलाई बिदाइ गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न आग्रह गरे । उनले आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए ।

नेपाल गल्फ संघ (एनजीए) को पहलमा सञ्चालन भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) को आर्थिक सहयोगमा सम्भव भएको हो । एनजीएका अध्यक्ष टाशी घलेले राखेप र एनओसीप्रति आभार व्यक्त गर्दै ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि एसियाली खेलकुदलाई लक्षित गरी तयारी भइरहेको र यस प्रशिक्षणले राहुललाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

राहुल यस वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका तीन पुरूष नेपाली गल्फरमध्ये एक हुन् । उनले विश्वस्तरीय गल्फ एकेडेमीमा प्रशिक्षण पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सर्ट गेम सुधारमा विशेष ध्यान दिने बताए । एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु आफ्नो पहिलो लक्ष्य रहेको उनको भनाइ छ ।

तेन्जिङ भने नेपाल गल्फ संघको अनुरोधमा प्रशिक्षणमा सहभागी भएका हुन् भने उनको सम्पूर्ण खर्च परिवारले व्यहोरेको छ । उनले प्रशिक्षणले आफ्नो खेल जीवनको अर्को चरणका लागि महत्वपूर्ण अनुभव दिने विश्वास व्यक्त गर्दै सर्ट गेम र स्कोरिङ क्षमतामा सुधार गर्ने लक्ष्य रहेको बताए। उनका तत्कालीन लक्ष्य नेपालमा प्रतिस्पर्धा जारी राख्दै भविष्यमा डीपी वर्ल्ड पीजीटीआईमा खेल्ने रहेको छ ।

एनजीएका अनुसार तेन्जिङका पिता तथा पूर्वराष्ट्रिय एमेच्योर गल्फर टासी छिरिङले राहुलको थाइल्यान्ड बसाइ खर्चमा समेत सहयोग गरेका छन् । साथै, राष्ट्रिय टोलीका अन्य सदस्य सदभाव आचार्य अमेरिका र व्यावसायिक गल्फर सुवाष तामाङ भारतमा प्रशिक्षणरत छन् भने महिला गल्फर तारा कार्की चित्रकार नेपालमै प्रशिक्षण गरिरहेकी छन् ।

गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय