+
लिग २ क्रिकेट :

घरेलु मैदानको लयलाई बाहिरी कन्डिशनमा पनि कायमै राख्ने लक्ष्य

२०८३ साउन  ४ गते १७:२७ २०८३ साउन ४ गते १७:२७

घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यसै लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड्स पुगेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ ।
  • साउन ५ देखि सुरु हुने प्रतियोगितामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोटको यात्रा जीवित राख्ने लक्ष्य लिएको छ ।
  • कप्तान रोहित पौडेलले टोलीको फिटनेस र लय कायम राख्दै शीर्ष चारमा पर्नु नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।

४ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यात्रा फेरि एकपटक निर्णायक मोडमा आइपुगेको छ ।

घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यसै लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड्स पुगेको छ ।

साउन ५ देखि नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा लगातार दुई शृङ्खलामा प्रभावशाली प्रदर्शन गरेपछि अब नेपालका लागि वास्तविक परीक्षा विदेशी परिस्थितिमा हुनेछ ।

ठीक दुई महिनाअघि नेपाल लिग–२ अंकतालिकाको सातौं स्थानमा थियो । २० खेलबाट पाँच जित मात्र निकालेको नेपाल १२ अंकसहित संकटपूर्ण अवस्थामा पुगेको थियो । त्यसबेला शीर्ष चारमा पुग्ने सम्भावना निकै कठिन देखिएको थियो ।

तर कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेका आठ खेलमध्ये छ खेल जित्दै नेपालले १२ महत्त्वपूर्ण अंक जोड्यो र अंकतालिकामा पाँचौं स्थानमा उक्लियो । त्यससँगै शीर्ष चारको सम्भावना फेरि बलियो बन्यो ।

अब भने नेपालको बाँकी यात्रा घरभन्दा बाहिर हुनेछ । नेदरल्यान्ड्सपछि नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अर्को शृङ्खला खेल्नेछ । त्यसैले आगामी आठ खेलले नेपाल शीर्ष चारभित्र पर्छ वा पर्दैन भन्ने धेरै हदसम्म निर्धारण गर्नेछन् ।

घरेलु मैदानमा नेपालको सफलताको आधार सन्तुलित टोली प्रदर्शन थियो । बलिङ पहिलेझैँ मजबुत रह्यो भने ब्याटिङमा पनि उल्लेखनीय सुधार देखियो । विशेषगरी शीर्षक्रमले निरन्तर योगदान दिन थालेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउने मात्र होइन, लक्ष्य पछ्याउँदा पनि आत्मविश्वास देखाउन थाल्यो ।

इशान पाण्डेको आगमनपछि शीर्षक्रममा देखिएको बाँया–दायाँ संयोजनले पनि नेपालको ब्याटिङलाई थप सन्तुलित बनाएको थियो । कप्तान रोहित पौडेलदेखि मध्यक्रमका ब्याटर र बलरहरूसम्मले सामूहिक रूपमा जिम्मेवारी पूरा गर्दा नेपालले अमेरिका र स्कटल्यान्डजस्ता बलिया टोलीलाई समेत दबाबमा राख्न सफल भयो ।

नेपालले अघिल्लो लिग–२ चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको थियो । यसपटक पनि त्यस्तै पुनरागमनको कथा दोहोर्याउने अवसर छ, तर त्यसका लागि विदेशी भूमिमा पनि घरेलु प्रदर्शन दोहोर्याउनु अपरिहार्य हुनेछ ।

कप्तान रोहित पौडेलले पनि विश्वकप छनोट र ओडीआई स्टाटसका लागि शृङ्खला धेरै महत्त्वपूर्ण भएको बताउँदै राम्रो प्रदर्शन गर्ने बताए । ‘लास्ट दुई सिरिज एकदमै राम्रो भएको छ, अब हुने नेदरल्यान्ड्स सिरिजमा हामी केन्द्रित छौं’ रोहितले भने, ‘हाम्रो लक्ष्य एकदिवसीय विश्वकप खेल्नु छ, हामी त्यही अनुसार खेल्छौं ।’

यस्तै नेपाली टोलीका पेस बलर सोमपाल कामीले अब हुने शृङ्खला धेरै महत्त्वपूर्ण रहेको र शीर्ष ४ भित्र पर्नेगरी नतिजा दिने बताए । ‘हाम्रो जुन लय छ हामीले त्यसलाई कायमै राख्नुपर्छ, किनभने हाम्रो लक्ष्य शीर्ष चारमा फिनिस गरेर ओडीआई स्टाटस जोगाउने र विश्वकप छनोटमा पुग्नु नै हो’ सोमपालले अनलाइनखबरसँग भने ।

नेदरल्यान्ड्समा सुरु हुने यो शृङ्खला नेपालका लागि केवल अंक जोड्ने अवसर मात्र होइन, विश्वकप छनोटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षा पनि हो ।

यस शृङंखलाअघि नेपालले फिटनेसमा पनि काम गरेको कप्तान रोहितले बताएका छन् । ‘हामीले केही समय स्किल अनि अधिकांश समय फिटनेसमा बढी काम गरेका छौं, त्यसैले तयारी राम्रो नै भएको छ’ उनले भनेका छन् ।

कन्डिशन मिल्दो जर्सीमा अभ्यास खेल

विदेशी शृङ्खलाअघि नेपालले तयारीका रूपमा जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्यो । नेपालले दुवै खेल जित्न पनि सफल रह्‍यो ।

पहिलो खेलमा पहिले ब्याटिङ गरेर जर्सीलाई २५१ रनको लक्ष्य दिएको नेपाल ८१ रनले विजयी भएको थियो । त्यस खेलमा कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखले शानदार बलिङ प्रदर्शन गरेका थिए ।

दोस्रो खेलमा २८३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल प्रभावित भएपनि नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भयो । यी दुवै जितले विदेशी परिस्थितिमा पनि नेपाली टोलीले लय समातिरहेको संकेत दिएका छन् ।

यद्यपी अभ्यास खेल र लिग–२ का प्रतिस्पर्धी खेलबीच ठूलो अन्तर हुनेछ । नेदरल्यान्ड्सको मौसम, सीम र स्विङलाई सहयोग गर्ने पिच तथा घरेलु टोलीको अनुभव नेपालका लागि चुनौती बन्न सक्छ । अर्कोतर्फ नामिबिया पनि अंकका लागि संघर्षरत टोली भएकाले प्रत्येक खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

कप्तान रोहित पौडेलले जर्सीमा हुने अभ्यासले आगामी शृङ्खलाका लागि धेरै मद्दत पुग्ने बताए । ‘हाम्रो आगामी सिरिजका लागि त्यो दुई अभ्यास खेल राम्रो तयारीको रूपमा हुनेछ’ कप्तान रोहितले भने ।

खेलाडीको लय

विशेषगरी घरेलु शृङ्खलाबाट नेपाली खेलाडीहरू राम्रो लयमा देखिएका छन् । ओपनिङ ब्याटर कुशल भुर्तेल केही खेलमा ड्रप भएपछि उनले गरेको पुनरागमन उत्कृष्ट रहँदा पहिलोपटक मौका पाएका इशान पान्डेले पनि राम्रो प्रदर्शन गर्दा नेपालले घरेलु शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

कुशल भुर्तेलले पछिल्ला ५ ओडीआई खेलमा एक शतकसहित २०२ रन बनाएका छन् । जर्सीसँगको अभ्यास खेलमा पनि उनले एक शतक र एक अर्धशतक बनाए ।

इशान पान्डेले ३ ओडीआई खेलमा ८४, ५५ र २०* को स्कोर बनाएका छन् । जर्सीसँगको अभ्यास खेलमा उनले ९० रन बनाएर लय राम्रो रहेको संकेत दिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ८ खेलमा १ शतक र ३ अर्धशतक सहित ३८४ रन बनाएका छन् । उनले ११ विकेट पनि लिएका छन् ।

बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछानेले पछिल्ला ८ खेलमा १९ विकेट लिएका छन् । जर्सीसँगको अभ्यास खेलमा पनि सन्दीपसहित करण केसी, हेमन्त धामीले विकेट लिए ।

सन्दीपले सन् २०२५ को जुन १० देखि यता खेलेका १३ खेलमा लगातार विकेट लिइरहेका छन् ।

यसले नेपाली खेलाडीहरू पछिल्लो समय राम्रो लयमा रहेको देखिन्छ ।

विपक्षी टिमको अवस्था

लिग २ अंकतालिकामा हाल नेपाल दुई विपक्षीको बीचमा छ । नेदरल्यान्ड्स नेपालभन्दा माथि छ भने नामिबिया नेपालभन्दा तल छ ।

तालिकाको तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २८ खेलबाट ३२ अंक छ भने पाँचौं स्थानमा रहेको नेपालको समान खेलबाट २८ अंक छ ।

सातौं स्थानमा रहेको नामिबियाको २८ खेलमा २२ अंक छ । नेपालले यी चारमध्ये कति खेल जित्छ र नेदरल्यान्ड्सले कति खेल गुमाउँछ भन्ने कुराले अंकतालिकामा नेपालको कति स्थान सुधार हुन्छ भन्ने निर्धारण गर्नेछ ।

***

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित लिग २ शृङ्खला मंगलबारदेखि सुरु हुँदैछ । नेपालले भोलि मंगलबार नै नामिबियासँग पहिलो खेल खेल्नेछ भने ७ साउनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

त्यसपछि नेपालले ११ साउनमा नामिबिया अनि १३ साउनमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय