News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने सुपर-६० क्रिकेट लिगमा भ्यान्कुभर एंकर्सबाट खेल्ने भएका छन्।
- युवराज सिंहको नेतृत्वमा सञ्चालित यो फ्रेन्चाइज प्रतियोगिता १० ओभरको हुने र यसमा छ वटा टोलीको सहभागिता रहने बताइएको छ।
- भ्यान्कुभर टोलीले दीपेन्द्रको विस्फोटक ब्याटिङ र बलिङले आफ्नो टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने क्यानडा सुपर–६० क्रिकेट लिगमा भ्यान्कुभर एंकर्सबाट खेल्ने भएका छन् ।
भ्यान्कुभरले सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई टोलीमा स्वागत गर्दै उनलाई विश्वस्तरीय अलराउन्डरका रूपमा वर्णन गरेको छ । क्लबले दीपेन्द्रको विस्फोटक ब्याटिङ, उपयोगी बलिङ र उत्कृष्ट खेल कौशलले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।
दीपेन्द्र हाल नेपाली क्रिकेटका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । पछिल्ला वर्षहरूमा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई धेरै महत्वपूर्ण जित दिलाएका छन्। विशेषगरी टी–२० क्रिकेटमा उनको आक्रामक ब्याटिङ र प्रभावकारी अफस्पिन बलिङले अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको छ ।
क्यानडा सुपर–६० नयाँ फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । १० ओभरको खेल हुने यस प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू रहेका छन् ।
यो प्रतियोगिताको नेतृत्व भारतका पूर्व स्टार अलराउन्डर युवराज सिंहले गरिरहेका छन् ।
आयोजकका अनुसार विश्व क्रिकेटका चर्चित खेलाडीसँगै उदाउँदा प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो।
भ्यान्कुभर टोलीको नाम प्रतियोगिताको आधिकारिक वेबसाइटमा भने भ्यान्कुभर किङ्स उल्लेख छ ।
प्रतिक्रिया 4