+
नेपाली फुटबल :

फुटबल खेल नहुँदा खेलाडी, प्रशिक्षक, रेफ्रीलाई कस्तो असर पर्छ ?

२०८३ भदौ  ४ गते १६:३० २०८३ भदौ ४ गते १६:३०

मैदानमा खेल नै नभएपछि नेपाली फुटबल अहिले शून्य मात्र होइन ‘माइनस’ मै पुगिसकेको अवस्था छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले अखिल नेपाल फुटबल संघलाई निलम्बन गरेपछि नेपाली राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक र रेफ्रीहरू निष्क्रिय बनेका छन्।
  • खेलाडीहरूले नेपाली फुटबल बचाउन सार्वजनिक भिडियोमार्फत अपिल गरेका छन् र मैदान फर्कने समय अनिश्चित छ।
  • विशेषज्ञहरूका अनुसार लामो निष्क्रियताले खेलाडीको फिटनेस, मानसिक स्वास्थ्य, कोचिङ र रेफ्रीको क्षमतामा असर पुर्‍याउँछ।

हिजो आज नेपाली फूटबल खेलाडीको दैनिकी सम्पुर्ण रुपले फेरिएको छ। न त नियमित खेल छ न त अभ्यास नै । पहिले उनीहरूमा जुन खालको जोश थियो अहिले त्यो अवस्था छैन। यसको एउटै मात्र कारण छ; न उनहरूले देशको लागि खेल्न पाएका छन् न नै क्लबको लागि।

नेपाली फुटबल खेलाडीहरू यतिखेर बंगलादेशमा हुने साफ च्याम्पियनसिपदेखि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि धमाधम तयारीमा व्यक्त रहनुपर्ने समय हो । तर वास्तविकता त्यस्तो छैन ।

मैदानमा खेल नै नभएपछि नेपाली फुटबल अहिले शून्य मात्र होइन ‘माइनस’ मै पुगिसकेको अवस्था छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि बेरोजगार बनेका नेपाली राष्ट्रिय टिमका खेलाडीहरूले केही दिनअघि नेपाली फुटबल बचाउन भन्दै सार्वजनिक रुपमै भिडियोमार्फत अपिल गरेको दृश्य निकै कारुणिक ।

अहिले खेलाडीहरूको एउटै इच्छा छ फेरि मैदान उत्रेर खेल्नु । तर त्यो चाहना कहिले पूरा हुन्छ त्यसको कुनै टुङ्गो छैन ।

मैदान फर्कने टुङ्गो नलाग्दा अहिले नेपालका खेलाडी मात्र नभएर प्रशिक्षक रेफ्री लगायत यससँग सम्बन्धित सम्पुर्ण व्यक्तिहरू बेरोजगार जस्तै बनेका छन् र फेरि नियमित रुपमा फुटबल कहिले सुरु होला भनेर प्रतिक्षा गर्नु बाहेक अर्को विकल्प छैन । फिफाबाट एन्फा निलम्बनमा परे पछि न खेलाडीले खेल्न पाएका छन् न त मैदान बाहिरका फुटबल सम्बन्धित अन्य गतिविधि नै भएका छन् ।

खेलाडीका लागि खेल भनेको आम्दानी र करिअरको विषय मात्र होइन । उनिहरू वर्षौंसम्म प्रशिक्षण गर्छन्, मेहनत गर्छन् र खेलका लागि आफूलाई तयार गर्छन् । त्यसैले खेल खेल्न पाउनु उनीहरूको लागि एउटा पर्वजस्तै हो । मैदानमा उत्रिनु, आफ्नो टिमका लागि खेल्नु र आफ्नो क्षमता देखाउनु नै खेलाडीको सबैभन्दा ठूलो प्रेरणा हो।

अहिले फुटबल खेलाडीहरू कोही एकेडेमी चलाउने त कोही अन्य विकल्प रोज्ने अवस्थामा पुगिसकेका छन् ।

यस्तै महिला टिमका करिब एक दर्जन खेलाडी अहिले विदेशमा लिग खेलिरहेका छन् । पुरुषतर्फ पनि केही खेलाडि भुटान र बंगलादेशमा खेलिरहेका छन् र तर यो रहर भन्दा पनि बढी बाध्यता नै हो ।

यस बाहेक केही खेलाडी भारतको विभिन्न स्थानमा हुने स्थानिय स्तरको खेप फुटबल खेलिरहेका छन् ।

***

खेलाडी जतिधेरै मैदानमा उत्रिन्छ, त्यति नै उसको अनुभव र क्षमता बढ्दै जान्छ । तर नियमित प्रतियोगिता नै नहुँदा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसरसमेत गुमाउँछ ।

विशेषगरी महिला फुटबलका लागि यो अवस्था झन् गम्भीर छ ।

महिला फुटबललाई अगाडि बढाउन नियमित प्रतियोगिता अत्यन्तै महत्वपूर्ण छ । उनीहरु जति धेरै खेल खेल्छन, त्यति नै अनुभव बढ्छ, नयाँ खेलाडीहरू आउँछन्, प्रतिभाहरू विकास हुन्छन् र फुटबलमा करिअर बनाउने नयाँ पुस्ताको आत्मविश्वास पनि बढ्छ ।

‘पछिल्लो समय नेपाली महिला फुटबल राम्रो हुँदै गएको थियो । छोरीहरूले पनि फुटबल खेल्न सक्छन्, खेलबाट आफ्नो भविष्य बनाउन सक्छन् भन्ने विश्वास परिवारहरूमा बढ्दै थियो । परिवारको समर्थन पनि विस्तारै बढिरहेको थियो,’ महिला टिमका एक सदस्य भन्छिन् ।

तर फेरि लामो समयसम्म घरेलु प्रतियोगिता रोकियो भने हामीले विगतमा भोगेको अवस्थामै फर्किनुपर्ने खतरा हुन्छ । ‘छोरीले फुटबल खेलेर के हुन्छ र ?’ भन्ने सोच फेरि बलियो हुन सक्छ । त्यसले नयाँ पुस्ताका धेरै प्रतिभाशाली खेलाडीहरूलाई खेलमा आउनबाट रोक्न सक्छ ।’

त्यसैले अहिले कसलाई दोष दिने भन्नेभन्दा पनि सम्बन्धित सबै पक्ष एक ठाउँमा बसेर सकेसम्म छिटो समाधान निकाल्नुपर्छ भन्ने ति खेलाडीको बुझाई रहेको छ ।

यो विषय कुनै एक खेलाडीको मात्र समस्या होइन । यो नेपाली फुटबलको भविष्यसँग जोडिएको विषय हो ।

‘हामी खेलाडीका लागि फुटबल केवल एउटा खेल होइन । फुटबल हाम्रो प्यासन हो, हाम्रो सपना हो र हाम्रो उत्सव हो । मैदानमा उत्रिएर आफ्नो देश, आफ्नो क्लब र आफ्नो टिमका लागि खेल्नु नै हाम्रो सबैभन्दा ठूलो खुसी हो,’ उनि भन्छिन।

उनि भन्छिन चाँडो घरेलु फुटबल सञ्चालन हुने वातावरण बनाउन सबै सम्बन्धित पक्षले गम्भीरतापूर्वक पहल गर्नुपर्छ । खेलाडीलाई मैदान चाहिन्छ, नयाँ पुस्तालाई अवसर चाहिन्छ र नेपाली फुटबललाई निरन्तरता चाहिन्छ ।

विराज महर्जन र विकेश कुथुले सञ्चालन गरेको फुटबल क्याम्प

फिटनेसमा असर

लामो समयसम्म अभ्यास नगर्दा वा निष्क्रिय रहँदा खेलाडीको समग्र फिटनेस अत्यधिक कमजोर हुने फिजियोथेरापिस्ट सुरज भुसाल बताउँछन्। ‘यस्तो अवस्थामा मुटु तथा रक्तसञ्चार प्रणालीको सहनशीलता (कार्डियोभास्कुलर एन्ड्युरेन्स) घट्छ,’ भुसाल भन्छन्।

उनका अनुसार मांसपेशीको लचिलापन र शक्ति द्रुत गतिमा ह्रास हुन्छ। यसबाहेक, लामो विश्रामपछि मैदान फर्किँदा चोटपटकको जोखिम उल्लेख्य रूपमा बढ्छ। अनुसन्धानले देखाएको छ कि खेलकुदका ३० प्रतिशत चोटपटक १ देखि ३ हप्ताको निष्क्रियतासँग जोडिएका हुन्छन्।

त्यसैगरी, तालिम छाडेको करिब दुई हप्तापछि कोषहरूमा हुने माइटोकोन्ड्रियल गतिविधि (ऊर्जा उत्पादन) तीव्र गतिमा घट्न थाल्ने अध्ययनहरूले देखाएका छन्। यसले अन्ततः शरीरका तन्तुहरूलाई क्षति पुर्‍याउन सक्छ, गम्भीर रोगहरू निम्त्याउन सक्छ र अत्यधिक थकान गराउँछ।

फुटबल एक निश्चित अन्तरालमा खेलिने उच्च तीव्रताको खेल हो, जसका लागि ऊर्जा उत्पादन गर्न एरोबिक र एनएरोबिक दुवै प्रक्रिया आवश्यक पर्छ। साथै यो प्राविधिक, रणनीतिक र मानसिक पक्षमा पनि निर्भर हुन्छ। फुटबलमा एरोबिक क्षमता अत्यन्त महत्त्वपूर्ण मानिन्छ, जसले अधिकतम क्षमताको ७० देखि ८० प्रतिशत योगदान पुर्‍याउँछ।

सुरज भुसाल

प्रशिक्षण छाडेको केही दिनभित्रै एरोबिक क्षमता ५ देखि १२ प्रतिशतसम्म ह्रास आउन सक्छ। यसले गर्दा शारीरिक गतिविधिको समयमा शरीरले अक्सिजन लिने, शरीरभरि पुर्‍याउने र प्रयोग गर्ने क्षमता कम हुन्छ, जसले गर्दा खेलाडीहरू पहिलेभन्दा छिट्टै थाक्छन् र उनीहरूको सास फुल्छ। व्यावहारिक रूपमा भन्नुपर्दा, खेलाडीको मुटु, फोक्सो, रक्तनली र मांसपेशीले पहिलेको जस्तै सहज रूपमा व्यायाम वा खेल सहन सक्दैनन्।

दीर्घकालीन निष्क्रियतालाई ध्यान नदिएमा खेलाडीहरू उच्च रक्तचाप, सुगर र मुटुसम्बन्धी सरुवा नहुने रोगहरूको जोखिममा पर्ने भुसाल बताउँछन्।

‘नियमित प्रशिक्षण र प्रदर्शन खेलाडीको कर्तव्य हो। यो दिनचर्यालाई बेवास्ता गर्दा मानसिक स्वास्थ्यमा पनि असर पर्छ,’ भुसाल स्पष्ट पार्छन्।

मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार फुटबल खेलाडीहरूका लागि यो खेल उनीहरूको पहिचानको महत्त्वपूर्ण हिस्सा बनेको हुन्छ। मानिसहरूले उनीहरूलाई खेलकै कारण चिन्छन्, त्यसैले लामो समय खेलबाट टाढा रहँदा उनीहरूमा पहिचानको संकट (आइडन्टिटी क्राइसिस) उत्पन्न हुन सक्छ।

‘खेल उनीहरूको प्राथमिकता हो, र अरूका कारण सिर्जना भएको अनिश्चितताले चिन्ता (एन्जाइटी) बढाउन सक्छ,’ क्लिनिकल साइकोलोजिस्ट हशाना श्रेष्ठ भन्छिन्, ‘यदि उनीहरूसंग खेलबाहेकको अरु विकल्प छैन भने उनीहरु निराश हुन सक्छन्, जसले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ।’

‘खेलाडीलाई मात्र असर पर्ने होइन’

नवीन न्यौपाने

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपाने लामो समयको निष्क्रियताले खेलाडीलाई मात्र नभई प्रशिक्षक र रेफ्रीहरूलाई पनि असर गर्ने बताउँछन्। यस्तो विश्रामले संलग्न सबैलाई शारीरिक, मानसिक, आर्थिक र भावनात्मक रूपमा क्षति पुर्‍याउँछ।

‘सक्रिय अभ्यास बिना कोचिङ सीपमा ह्रास आउँछ,’ न्यौपाने भन्छन्। उनी थप्छन्, फुटबल टिमवर्कमा निर्भर हुन्छ। लामो विश्रामले खेलाडीहरूबीचको समन्वय बिगार्छ, जसले अन्ततः समग्र टोलीको प्रदर्शनलाई असर गर्छ।

यदि निलम्बन कायम रहेमा नेपालका रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट प्रतिबन्धको सामना गर्नुपर्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ एलिट रेफ्रीका लागि हरेक सेप्टेम्बरमा वार्षिक रेफ्री कोर्स आयोजना गर्छ, तर निलम्बन नहटे नेपाली रेफ्रीहरू यसबाट वञ्चित हुनेछन् ।

‘एएफसी कोर्सले नयाँ एलिट रेफ्रीहरूका लागि उच्चस्तरीय तालिम प्रदान गर्छ। यसलाई गुमाउनु हाम्रा रेफ्रीहरूका लागि ठूलो क्षति हुनेछ,’ फुटबल रेफ्री प्रकाशनाथ श्रेष्ठ भन्छन् ।

यस वर्ष नेपालका दुई नयाँ एलिट रेफ्री मलेसियामा आयोजना हुने उक्त कोर्समा सहभागी हुने तय भएको थियो, तर वर्तमान परिस्थितिका कारण उनीहरूको सहभागिता अनिश्चित बनेको छ ।

प्रकाश नाथ श्रेष्ठ

नेपाली रेफ्री प्रज्वल क्षेत्रीले पछिल्लो साफ गेमको फाइनलमा रेफ्रीको भूमिका निभाएका थिए। निलम्बन फुकुवा नभए स्थानीय रेफ्रीहरूले आगामी क्षेत्रीय प्रतियोगिताहरूमा भाग लिन पाउने छैनन् ।

श्रेष्ठका अनुसार खेल सञ्चालनबाट लामो समय टाढा रहँदा रेफ्रीको निर्णय क्षमतामा असर पर्न सक्छ। उनी स्मरण गर्छन्, ‘कोभिड-१९ महामारीपछि लामो विश्राम लिएर मैदानमा फर्कँदा रेफ्रीहरूको निर्णय गर्ने क्षमता प्रभावित भएको थियो।’

अध्ययनहरूले पनि श्रेष्ठको भनाइलाई पुष्टि गर्छन्। कोभिड-१९ महामारीको समयमा फुटबल रेफ्रीहरूमाथि गरिएको अनुसन्धानले लामो समयको अवरोधले उनीहरूको तयारी, विशेष गरी निर्णय लिने तालिमलाई प्रभावित बनाएको र रेफ्रीको गुणस्तरमा कमी आएको महसुस गराएको देखाउँछ ।

एन्फा विवाद नेपाली फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय