News Summary
Generated by OK AI. Editorially reviewed.- मेची राजमार्गको राजदुवाली खण्ड एक महिनादेखि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दाले खाद्यान्न तथा ग्यास आपूर्तिको चरम अभाव झेल्नुपरेको छ ।
- सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले एक हप्ताभित्र साना गाडी सञ्चालन गर्ने गरी पानी व्यवस्थापन र बायोइन्जिनियरिङको काम भइरहेको बताउनुभयो ।
- पुवा र जोगमाई खोलामा भारतले बेलिब्रिजका लागि आवश्यक सामग्री समयमा नपठाउँदा वैकल्पिक मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिम मोल्न बाध्य छन् ।
२९ साउन, राजदुवाली (इलाम) । माईखोलाको पानी धमिलो थियो भने गति तीव्र । जलविद्युत् आयोजनाले पानी लैजाने भएकाले हिउँदमा सुख्खा हुने माईखोला वर्षामासमा उर्लिने गर्छ ।
मेची राजमार्गको पुल नजिकै केही एस्काभेटर र मजदुर काम गरिरहेका देखिन्थे । चर्को गर्मीमा उनीहरू बिहानैदेखि काममा खटिन्थे । त्यो भन्दा पनि कठिनाइ त प्रचण्ड गर्मीमा गरुङ्गो झोला बाकेर उकालो–ओरालो गरिरहेका यात्रुलाई थियो ।
मेची राजमार्गमा पर्ने राजदुवाली खण्डको सडक अवरुद्ध भएको एक महिना भयो । सडक भासिएको छ । सडकको बीचबीचमा पानी निस्किएको छ । विभिन्न ठाउँमा सडक लच्किएको देखिन्छ । राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङका बासिन्दाले सास्ती भोग्नु परिरहेको छ ।
‘पोहोर र यसपालि यो बाटोले साह्रै दु:ख दियो । झ्यार्र पानी पर्छ, फेरि घाम चर्किन्छ । सिमल गोलाइको बाटो मर्मत नगर्दासम्म यहाँ आउने–जानेको लर्को हुन्थ्यो । पानी पर्यो भने त्यहाँको डाइभर्सन बिगारिहाल्छ,’ राजदुवाली नजिकै लामो समयदेखि व्यवसाय गर्दै आएका विक्रम लामाले भने, ‘पहिला यस्तो थिएन । खोइ के भयो, बर्सेनी दु:ख हुन्छ । यो सडकको भविष्य के हुने हो भन्ने चिन्ता छाएको छ ।’

राजदुवाली खण्डले यो क्षेत्रका बासिन्दालाई सास्ती दिएको छ । पछिल्लो समयमा पानी कम भएकाले विकल्पका बाटोहरूमा साना फोरह्विल गाडी गाडीहरू कुदिरहेका छन् । खोलामा बाढी आउनासाथ डाइभर्सन बिग्रिन्छ । सुरक्षाकर्मीहरू यात्रुलाई सहजीकरण गरिरहेका हुन्छन् । बिरामीलाई बोकेर बाटो कटाउनु पर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।
पहिले यो ठाउँमा यस्तो समस्या नहुने स्थानीय चन्द्रबहादुर भण्डारीको भनाइ थियो । ‘हामीले थाहा पाउँदा यो ठाउँमा समस्या थिएन । तीन वर्ष भयो निकै समस्या देखिएको,’ भण्डारीले अनुभव सुनाए, ‘हाइड्रो सुरुङबाट पानी छिर्यो भन्छन् । खोइ के हो कुन्नि ?’
भण्डारीले भन्ने जस्तै विगतमा लामो समयसम्म सडक अवरुद्ध हुँदैनथ्यो । सानोतिनो समस्या परे पनि हप्ता तथा महिना दिनसम्म राजमार्ग अवरुद्ध हुँदैनथ्यो । २०८१ सालमा ३ दिन यहाँ सडक अवरुद्ध भएको थियो । २०८२ असोजमा १४ दिन सडक अवरुद्ध भएको थियो । यो पल्ट एक महिनादेखि गाडी चलेको छैन ।
गाडी अवरुद्ध हुँदा पूर्वी पहाडले खाद्यान्न, ग्यास लगायतका अति आवश्यक वस्तु आपूर्तिमा समस्या भोग्नु परेको छ ।

‘एक हप्तामा सानो गाडी चलाउने प्रयासमा छौँ’
गाडी सुचारु गर्न तीव्र गतिमा काम भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ‘हामी दीर्घकालीन समस्या समाधान गर्ने प्रयासमा छौँ । दिनरात काम गरिरहेका छौँ । अवस्था सामान्य रह्यो भने एक हप्तामा सानो गाडी कुद्ने बनाउँछौँ । ठूलो गाडी चल्न भने केही समय लाग्छ,’ सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले भने, ‘टेवा पर्खाल लगायतका काम गरिरहेका छौँ । ग्याविनको स्विप वाल बन्दैछ । आरसीसी वाल बनाउने काम सकिएको छ ।’
उनका अनुसार जताजतै पानी निस्किएर समस्या भएको हो । पानी निकाल्ने सहितका प्रविधि प्रयोगका लागि काम भइरहेको छन् । ‘पानी व्यवस्थापनका लागि ९ वटा इनार बनाउँछौं । बायोइन्जिनियरिङको काम पनि हुनेछ,’ भट्टराईले भने, ‘विज्ञबाट अध्ययन र नियमित परामर्श दिने काम भएको छ । दाउन्ने र लमजुङमा पनि यो प्रविधिमा सफल भएको छ ।’ राजदुवाली खण्डलाई स्तरोन्नति गर्न साढे दुई करोड जति खर्च हुने बताइएको छ ।
विकल्प गतिलो भएन
राजदुवालीमा मेची राजमार्ग अवरुद्ध भएपछि दुई वटा वैकल्पिक बाटो प्रयोग गरिएको थियो । सिमलगोलाइ–तिलकेनी र कञ्चनजङ्घा–केचन सडकखण्डलाई विकल्पमा लिए पनि यहाँको सडक कच्ची भएकाले गाडी कुदाउन निकै सास्ती पर्ने गरेको छ । खोलामा पुल नभएकाले बाढी आएका बेला बनाएका डाइभर्सनमा समेत क्षति गर्ने गरेको छ ।
सिमलगोलाइ–तिल्केनी १२ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सरकारले ४५ लाख रुपैयाँ बजेट दिएको थियो । त्यो बजेटबाट ग्राबेल मर्मत सम्भारको काम भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

जोगमाई खोलाको बेलिब्रिज गत वर्षको बाढीले बगाएका कारण डाइभर्सन बनाइएको छ । तर खोलामा बाढी आएसँगै डाइभर्सन बिग्रिने गरेको छ । यो वर्षायाममा धेरै पटक डाइभर्सन मर्मत गरिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
कञ्चनजङ्घा–केचना सडकखण्डअन्तर्गत बाटोमा पर्ने पुवा खोलामा पुल छैन । बेलासेमा भासिएको पुलमा बेलिब्रिज राखिए पनि पुवामा डाइभर्सनको भर छ । पाँच वर्ष अगाडि कालोपत्रेको ठेक्का लगाइए पनि समयमा काम नहुँदा सास्ती छ । ठेकेदारले राम्रोसँग काम नगर्दा बर्खामा सडक लथालिङ्ग छ ।
यो इलाम सदरमुकामबाट झापा झर्ने छोटो बाटो हो । ९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि खड्का कृष्ण, सक्षम जेभीले ठेक्का लिए पनि समयमा काम नगरिदिँदा पूर्वी पहाडका बासिन्दाले सास्ती भोगेका छन् ।
भारतले बेलिब्रिज पठाएन
भारतको सहयोगमा पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज जडान गर्ने कुरा भए पनि हालसम्म काम सुरु हुन सकेको छैन ।
भारतले बेलिब्रिजको सामान नपठाउँदा काम अघि बढ्न नसकेको बताइएको छ । भारतले पुवाखोलाका लागि सात ट्रक सामान पठाए पनि अझै करिब १० ट्रक समान आउन बाँकी छ । समान आएपछि भारतबाट प्राविधिक जडान गर्न आउने कुरा थियो । यस्तै, जोगमाई खोलाको बेलिब्रिजको समान पनि आएको छैन ।
केञ्चना–कञ्चनजङ्घा सडकको बेलासेको माईखोलामा पुल बनाउनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । ११० किलोमिटर लामो पुल बनाउन २३ करोड ९४ लाख रुपैयाँमा ठेक्का खुलाइएको थियो ।

प्रतिक्रिया 4