+
+
Shares

जब लेखकहरू लेख्न सक्दैनन्…

विगतमा थुप्रै लेखकहरूले ‘राइटर्स ब्लक’ बाट छुटकारा पाउन विभिन्न अनौठा, मनोवैज्ञानिक तथा व्यावहारिक उपायहरू अपनाएका थिए ।

ऋतेश ऋतेश
२०८३ साउन २४ गते १०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध लेखकहरूले आफ्नो सिर्जनात्मक यात्रामा भोग्ने मानसिक अवरोध र लेखनमा आउने कठिनाइलाई नै ‘राइटर्स ब्लक’ भनिन्छ ।
  • हार्पर ली, हर्मन मेलभिल र जर्ज आर.आर. मार्टिनजस्ता लेखकहरूले अत्यधिक सफलताको दबाब र आलोचनाका कारण सिर्जनात्मक शून्यताको सामना गरेका थिए ।
  • लेखकहरूले आफ्नो सिर्जनात्मकता ब्युँताउन कडा अनुशासन, शारीरिक काम वा निश्चित अनुष्ठानहरू अपनाएर लेख्ने बानीलाई निरन्तरता दिने गरेका छन् ।

नोबेल पुरस्कार विजेता लेखक ‘ग्याब्रियल गार्सिया मार्खेज’ लाई सुरुवाती चारवटा कृति लेखिसकेपछि लाग्न थालेको थियो, अब उनीसँग लेख्नका लागि केही नयाँ कुरा बाँकी छैनन् । उनी एक प्रकारको मानसिक तथा सिर्जनात्मक शून्यतामा फसेका थिए ।

सन् १९६१ मा मार्खेजका एक साथीले उनलाई ‘जुआन रुल्फो’ को उपन्यासिका ‘पेद्रो पारामो’ पढ्न दिए । त्यस पुस्तकले मार्खेजको जीवन सधैंका लागि परिवर्तन गरिदियो । उनले पछि अन्तर्वार्तामा पनि भनेका थिए, ‘मलाई ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्युड’ लेख्ने साहस र शैली ‘जुआन रुल्फो’ को ‘पेद्रो पारामो’ पढेपछि आएको हो ।’

मेक्सिकन साहित्यका स्तम्भ जुआन रुल्फोले आफ्नो जीवनकालमा केवल दुईवटा पुस्तक लेखे- एउटा ‘एल यानो एन यामास’ (१९५३) कथा सङ्ग्रह र अर्को उपन्यासिका ‘पेद्रो पारामो’ (१९५५) । यी दुई कृतिले ल्याटिन अमेरिकी साहित्यमा ठूलै योगदान दिए । त्यसपछिका ३० वर्ष ‘जुआन रुल्फो’ पूर्णरूपमा मौन रहे । यसरी मौनतामा कैद भएको देखेर उनलाई थुप्रै पत्रकार, पाठक तथा प्रशंसकहरूले प्रश्न गर्न थाले । उनीसँग सबैका लागि एउटै रेडिमेट जवाफ हुन्थ्यो, ‘मलाई मेरो काकाले कथाहरू सुनाउनुहुन्थ्यो । अब उहाँ हुनुहुन्न, त्यसैले मसँग लेख्नका लागि कुनै कथा छैन ।’

त्यो एउटा ठट्टा मात्र थियो । वास्तवमा उनी आफ्ना पाठकहरूलाई भन्न चाहन्थे, उनको सिर्जनाको स्रोत सुकिसकेको छ; उनी त्यो समय एउटा भयानक मानसिक तथा सिर्जनात्मक रिक्ततासँग जुधिरहेका थिए ।

उनी १९५६-५८ ताका अर्को उपन्यासिकामा काम गर्दै थिए । त्यो लगभग २० वर्षपछि उनको मृत्युपछि मात्र प्रकाशित भयो । उनले मेक्सिको सिटीको परिवेशमा एउटा अर्को उपन्यास पनि लेखेका थिए, जुन आफैँले नष्ट गरे । उनी आफ्नो लेखाइप्रति धेरै नै आलोचनात्मक थिए । ‘पेद्रो पारामो’ ले साहित्यजगतमा एकप्रकारले जादुई यथार्थवादको जग बसालेको थियो, त्यस उपन्यासिकाको संरचना यति जटिल र उत्कृष्ट थियो, रुल्फो आफैँलाई पनि त्यसलाई उछिन्न सकेनन् ।

त्यसपछि सरकारी जागिर एउटा यस्तो ओत भइदियो, जहाँ उनलाई महान् लेखक हुनुपर्ने कुनै दबाब थिएन । त्यसैले, उनले आफ्नो जीवनको अन्तिम २५ वर्ष एउटा साधारण कर्मचारीको रूपमा पर्दा पछाडि बसेर अरूका लेखहरू सम्पादन गर्दै बिताए ।

जब कुनै लेखकले आफ्नो मूल्यवान समय र उर्जा खर्चिएर गरेको सिर्जनालाई संसारले नराम्रोसँग आलोचित गर्छ, तब उसको आत्मविश्वास कहिल्यै नजोडिनेगरि भाँचिन पुग्छ ।

जब कुनै लेखकले एउटा उत्कृष्ट कृतिको सिर्जना गर्छ, हामी त्यस लेखकबाट अर्कोपटक त्योभन्दा राम्रो कामको अपेक्षा गर्छौँ । लेखक आफैँलाई पनि लाग्न थाल्छ, अब मैले जे लेख्छु, त्यो पहिलेको जत्तिकै महान् अथवा त्योभन्दा उत्कृष्ट हुनुपर्छ । उनीहरू अपेक्षाको बोझ र असफलताको डरले थिचिंदै जान्छन्; यसरी अधिकांश लेखकहरू पहिलेको आफ्नै कृतिसँग प्रतिस्पर्धा गर्छन्, जसले सिर्जनात्मक स्वतन्त्रतालाई निमोठ्ने गर्छ ।

त्यसको अर्को उदाहरण हो- लेखक ‘हार्पर ली’, जसलाई उपन्यास ‘टु किल अ मोकिङबर्ड’ ले अमर त बनायो, तर त्यसले उनीभित्रको स्वतन्त्र लेखकलाई सधैँका लागि एउटा पिँजडामा कैद गरिदियो । उनी कहिल्यै आफूले पाएको विशाल सफलताको छायाबाट बाहिर निस्कन सकिनन् ।

उनी कुनै समय एउटा विमान सेवामा ‘रिजर्भेसन क्लर्क’ का रूपमा काम गर्थिन् । लेख्न मन हुँदा-हुँदै पनि त्यो बेला उनीसँग समय र स्रोतको अभाव थियो । जब उनी आर्थिक चिन्ताबाट मुक्ति भइन्, उनले आफूभित्र लुकेको कथा बाहिर ल्याइन् – ‘टु किल अ मोकिङबर्ड’ को रूपमा । तर, त्यही स्वतन्त्रताले दिलाएको सफलतापछि उनी यस्तो दबाब र सिर्जनात्मक शून्यतामा पुगिन्, जहाँबाट निस्किएर अर्को कृति लेख्न उनलाई लगभग ५० वर्ष कुर्नुपर्‍यो ।

उनले दोस्रो पुस्तक लेख्न नसक्नुको कारण पहिलो किताबको लेखन प्रक्रियामा भोगेको चरम मानसिक संघर्ष र त्यसले ल्याएको अकल्पनीय सफलताको दबाब हो भनेर धेरैले स्वीकार्ने गर्छन् । उनी स्वयंले पनि भनेकी थिइन्, ‘मलाई लाग्छ, म फेरि कहिल्यै त्यस्तो सफलता दोहोर्‍याउन सक्दिनँ । त्यसैले लेख्नुको अब के अर्थ ?’

लेखनका लागि एकान्त र शान्ति चाहिन्छ । तर, सफलताले लेखकलाई सधैं चाहेको जस्तो मनस्थिति र स्थान दिन सक्दैन, धेरैजसो लेखकहरू लेख्ने भोकभन्दा सफलता जोगाउन लागी पर्छन्; त्यसैले धेरैजसो समय सफलता नै सिर्जनात्मक यात्राको अन्त्यको कारण बनिदिन्छ ।

तर, कहिलेकाहीं भने बाहिरी संसारको कठोरताले पनि लेखकलाई कलम बन्द गर्न बाध्य बनाउँछ । जब कुनै लेखकले आफ्नो मूल्यवान समय र उर्जा खर्चिएर गरेको सिर्जनालाई संसारले नराम्रोसँग आलोचित गर्छ, तब उसको आत्मविश्वास कहिल्यै नजोडिनेगरि भाँचिन पुग्छ । यसरी अस्वीकारको डर र सफलताको अभावले पनि कहिलेकाहीं लेखन यात्रामा पूर्णविराम लाग्ने गर्छ । यसको गतिलो उदाहरण हो- अमेरिकन लेखक ‘हर्मन मेलभिल’ ।

उनले विश्वप्रसिद्ध कृति ‘मोबी-डिक’ लेख्नका लागि आफ्नो सम्पूर्ण मानसिक र शारीरिक शक्ति खर्च गरेका थिए । उनी उक्त उपन्यासप्रति एकदमै आत्मविश्वासी थिए । उनी दिनको १५ घण्टा लेख्थे । उनको आँखामा समस्या थियो, ढाड दुख्ने रोग थियो । आर्थिक रूपमा पनि टाट पल्टिसकेका थिए । उनलाई लागेको थियो, यो पुस्तकले उनलाई विश्वकै महान् लेखक बनाउनेछ र सबै दुःख अन्त्य हुनेछन् ।

सन् १८५१ मा जब ‘मोबी-डिक’ प्रकाशित भयो, परिणाम उनको अपेक्षाभन्दा बिल्कुलै उल्टो आयो । समीक्षकहरूले उपन्यासलाई बकवास र पागलपनले भरिएको भनी आलोचना गरे । कतिपयले त लेखकको मानसिक अवस्थामाथि नै प्रश्न उठाए । उपन्यास व्यवसायिक रूपमा निकै नराम्रोसँग फ्लप भयो, उनको जीवनकालमा त्यसका थोरै प्रतिहरू मात्र बिक्री भए । जुन उपन्यासका लागि उनले आफ्नो आत्मा निचोरेका थिए, त्यसैलाई संसारले अस्वीकार गरिदिएपछि उनी गहिरो डिप्रेसनमा पुगे ।

उनले त्यसपछि पनि प्रयास गरिरहे, तर झन्झन् असफलताको स्वाद चाखिरहे । अन्ततः उनले निर्णय गरे- यदि संसारले मलाई पढ्न चाहँदैन भने, अब म लेख्दिनँ ।’ उनले उपन्यास र गद्य लेखनबाट सधैँका लागि विश्राम लिने निर्णय लिए । बाँकी जीवन एक प्रकारको साहित्यिक निर्वासनमा बिताए । आफ्नो परिवार पाल्नका लागि उनले सन् १८६६ मा न्यूयोर्कको बन्दरगाहमा भन्सार निरीक्षकको रूपमा १९ वर्ष काम गरे । संसारले उनलाई बिर्सिसकेको थियो, धेरैलाई त उनी मरिसकेजस्तो लाग्थ्यो । उनले त्यस अवधिमा केही कविताहरू लेखे, तर ती कहिल्यै चर्चामा आएनन् । उनीभित्रको त्यो विद्रोही उपन्यासकार मरिसकेको थियो ।

राइटर्स ब्लक तब मात्र आउँछ, जब हामी पहिलो प्रयासमै उत्कृष्ट लेख्न खोज्छौं । यस्तो अवस्था र समस्याबाट मुक्त हुन नराम्रै भएपनि लेखिरहनुपर्छ ।

मेलभिलको मृत्यु सन् १८९१ मा भयो । मृत्यु हुँदा न्युयोर्कका पत्रिकाहरूले उनको नाम समेत गलत छापेका थिए । यसको झन्डै तीस वर्षपछि समीक्षक तथा पाठकहरूले ‘मोबी-डिक’ लाई पुन: पढ्न थाले । आज ‘मोबी-डिक’ लाई अंग्रेजी साहित्यको महान् उपन्यासमध्ये एक मानिन्छ र मेलभिललाई प्रतिभाशाली लेखक।

मेलभिलले अन्तिम समयमा लेखेको उपन्यासिका ‘बिली बड’ उनको मृत्युपछि मात्र भेटिएको थियो । उक्त पाण्डुलिपिले उनीभित्रको लेखक जिउँदै रहेको प्रमाणित गरेको थियो, तर बाहिरी संसारको कठोरताले गर्दा उनले बाहिर निस्कने साहस गुमाएका थिए ।

जब कलाकारको सिर्जनाले उचित सम्मान पाउँदैन, आफ्नो त्यस कर्मबाट पेट भर्न सक्दैन, तब उसमा कहिल्यै नमेटिनेगरि सिर्जनात्मक अर्थहीनताको भावना पैदा हुन्छ ।

हाइ फ्यान्ट्यासी श्रृंखला ‘ए सङ अफ आइस एन्ड फायर’ का सर्जक ‘जर्ज आर.आर. मार्टिन’ को ‘अ डान्स विथ ड्र्यागन्स’ प्रकाशित भएको लगभग १४ वर्ष भइसकेको छ, तर त्यसको अर्को भाग ‘द विन्ड्स अफ विन्टर’ अहिलेसम्म पाठकहरूको हातमा परेको छैन ।

उनले निर्माण गरेको ‘ए सङ अफ आइस एन्ड फायर’ श्रृंखला यति विशाल र जटिल भइसकेको छ, त्यसमा सयौँ पात्र, कैयौँ घटना, दर्जनौँ उप-कथाहरू छन् । हरेक पात्रको काम र निर्णयले अर्को सयवटा घटनालाई प्रभावित गर्छ, जसलाई सुल्झाउनु कुनै गणितीय समीकरण हल गर्नुजस्तै कठिन अहिले मार्टिनलाई भएको छ ।

आफूले थुप्रैपटक लेखेका सयौँ पानाहरू, कथा गलत दिशामा भड्किएको हुँदा नष्ट गरेर सुरूदेखि लेख्नुपर्ने कठिन अवस्थामा रहेको मार्टिन आफैँले स्वीकार गरेका छन् ।

मार्टिनको लेखन शैली गार्डेनर प्रकारको छ । उनी कथाको खाका पहिल्यै बनाउँदैनन् । पहिले बीउ रोप्छन् अनि कथालाई आफैँ बढ्न, हुर्किन दिन्छन् । अहिले उनी आफैंले बुनेको जालमा अल्झिएका छन् । उनले त्यसलाई ‘द मिरीनीज नट’ भन्ने गर्छन्, जहाँ कैयौं पात्रहरूको समय र घटनाक्रम एकैसाथ मिलाउनुपर्ने उनलाई ठूलो चुनौती छ । एउटा सानो गल्तीले पूरै श्रृंखला बिग्रिन सक्छ ।

जब एचओबी ले ‘ए सङ अफ आइस एन्ड फायर’ श्रृंखलामा आधारित रहेर टिभी-सिरिज बनायो, मार्टिनमाथि दबाबको अर्को नयाँ तह थपियो । सिरिजको अन्तिम सिजनलाई धेरै फ्यानहरूले मन पराएनन् । मार्टिन अब यस्तो दबाबमा छन्, उनले पुस्तकमा दिने अन्त्य सिरिजको भन्दा धेरै राम्रो र फरक हुनैपर्छ । विश्वभरका करोडौँ फ्यानहरूको अपेक्षाले उनको आन्तरिक सम्पादकलाई यति बलियो बनाइदिएको छ, उनी आफूले लेखेका पानाहरू चित्त नबुझेर बारम्बार नष्ट गर्ने वा फेरि लेख्ने गरिरहन्छन् ।

‘हार्पर ली’ जस्तै, मार्टिनलाई पनि अत्यधिक सफलताले लेखनबाट टाढा पुर्‍याएको छ । अहिले उनी केवल लेखक मात्र होइनन्, ‘निर्माता’ पनि हुन् । उनी ‘हाउस अफ द ड्र्यागन’, ‘अ नाइट अफ द सेभेन किङ्गडम्स’ जस्ता सिरिज, भिडियो गेम र अन्य विभिन्न प्रोजेक्टहरूमा व्यस्त छन् । लेखनका लागि चाहिने जुन एकान्त र एकाग्रता हुन्छ, त्यो अहिलेको उनको व्यस्त जीवनशैलीमा पाउन निकै कठिन छ ।

जब कुनै काम धेरै ठूलो र डरलाग्दो देखिन्छ, मस्तिष्कले त्यसलाई सुरू गर्नै डराउँछ । मार्टिनले थुप्रै अन्तर्वार्तामा स्वीकार गरेका छन्, कतिपय दिन उनी केही नलेखी बस्छन् । अहिले ७७ वर्ष पुगिसकेका मार्टिनलाई आफ्नो स्वास्थ्य र आफूले रचेको दुनियाँलाई सही र राम्रो तरिकाले अवतरित गर्ने चिन्ता छ ।

त्यस चिन्ताले ग्रसित उनी कहिलेकाहीँ झन् बढी हतास महसुस गर्छन्, जसले सिर्जनात्मक प्रवाहलाई अझ अवरोध पुर्‍याउने काम गर्छ । अहिले उनी आफ्नै सिर्जनाको विशालताले थिचिएका छन् । उनले आफ्नै हातले बनाएको त्यो साहित्यिक महल यति भीमकाय भइसकेको छ, अब त्यसका ढोका र झ्यालहरू मिलाउन उनलाई आफैँलाई डर लागिरहेको छ ।

यसरी इतिहास, अतीत र वर्तमानलाई खोताल्ने र हेर्ने हो भने यस्ता थुप्रै लेखकहरू उदाहरणका रूपमा भेटिन्छन्, जो विभिन्न कारणले मानसिक तथा सिर्जनात्मक रिक्ततामा फसेका थिए र फसिरहेका छन् ।

यो यस्तो अवस्था हो, जसमा लेखकले नयाँ कुरा लेख्न नसक्ने, सिर्जनात्मक क्षमतामा कमी महसुस गर्ने वा लेख्न खोज्दा शब्दहरू नै नफुर्ने अनुभव गर्छन् ।

यस्तो किसिमको मनोवैज्ञानिक पर्खाल तथा सिर्जनात्मक खडेरीलाई ‘राइटर्स ब्लक’ भन्ने गरिन्छ । सामान्य अर्थमा, आफूसँग लेख्ने इच्छा र शिल्प हुँदाहुँदै पनि मानसिक रूपमा अवरोध सिर्जना भई लेख्न नसक्नु नै ‘राइटर्स ब्लक’ को लक्षण हो; यस्तो अवस्था केही घण्टा, केही दिन वा कहिलेकाहीँ महिनौं, वर्षौँसम्म पनि रहन सक्छ ।

जब उनलाई कथाको प्लट फुर्र्दैनथ्यो, उनी भान्सामा गएर थुप्रिएका जुठा भाँडाहरू माझ्न थाल्थिन् । उनको विचारमा, त्यसो गर्दा हात व्यस्त रहन्छन्, तर मस्तिष्क स्वतन्त्र हुन्छ ।

मनोवैज्ञानिक दृष्टिकोणबाट यसलाई बुझ्ने हो भने, यो लेखकको चेतना र अवचेतन मनबीचको द्वन्द्व हो । हाम्रो मस्तिष्कमा दुईवटा पक्ष हुन्छन्, एउटा सिर्जनात्मक पक्ष र अर्को आलोचनात्मक पक्ष । जब आलोचनात्मक पक्ष धेरै शक्तिशाली हुन्छ, त्यसले विचार जन्मिनुअघि नै त्यसको समीक्षा गर्न थाल्छ, जसले गर्दा लेखकमा ‘सेल्फ-सेन्सरसिप’ सुरु हुन्छ र ऊ लेख्नलाई डराउँछ ।

सन् १९४७ मा अस्ट्रियाली मनोविश्लेषक ‘एडमन्ड बर्गर’ ले ‘राइटर्स ब्लक’ शब्दको प्रतिपादन गरेका थिए । त्योभन्दा अघि लेखकहरूले लेख्न नसक्नुलाई ‘ईश्वरीय कृपा नभएको’ वा ‘मुड नचलेको’ भनेर टार्ने गर्थे । यस्तो अवस्थालाई इतिहासमा कहिले दैवी शक्ति त कहिले मानसिक समस्याको रूपमा हेरिने गर्थ्यो, तर बर्गरले यसलाई ‘न्यूरोटिक’ समस्याको रूपमा परिभाषित गरे ।

उनका अनुसार, यो समस्या बाहिरी कारणमा नभएर लेखकको अवचेतन मनभित्र लुकेको हुन्छ । यसरी लेखकहरूमा हुने छटपटी र रिक्ततालाई एउटा वैज्ञानिक नाम दिएर यसको गम्भीरता बुझाउन उनले ‘राइटर्स ब्लक’ शब्दको पहिलोपटक प्रयोग गरेका थिए ।

उनले ‘राइटर्स ब्लक’ लाई लेखकले आफ्नो मस्तिष्कलाई आफैँलाई लगाएको ताल्चा भनेर अर्थ्याएका थिए, उनका अनुसार, जबसम्म लेखकले आफ्नो विगत र अवचेतन मनका डरहरूलाई बुझ्दैनन्, तबसम्म त्यो ताल्चा खुल्दैन । यद्यपि आजका मनोवैज्ञानिकहरू बर्गरका सबै कुरासँग सहमत छैनन्, तर ‘यो एउटा मानसिक अवरोध हो’ भन्ने उनको जगमा नै आजको आधुनिक परिभाषा उभिएको छ ।

‘राइटर्स ब्लक’ कुनै रोग होइन, तर यसले लेखकदेखि विद्यार्थीसम्म हरकोहीलाई प्रभावित पार्न सक्छ, यस्तो अवस्थालाई इतिहासमा जे-जसरी भनिए, बुझिए पनि आज यसलाई लेखन-प्रक्रियाको एउटा पाटोको रूपमा बुझ्ने गरिन्छ । तर, यो एउटा अस्थायी अवस्था मात्र हो ।

संसारका ठूला तथा महान् लेखकहरूले पनि यसको सामना गरेका थिए र छन् । त्यसैले, यसलाई स्वाभाविक रूपमा लिएर निरन्तर लेखिरहनु नै यसको सबैभन्दा ठूलो र प्रभावकारी समाधान हो । भनिन्छ नि, लेखनको दुश्मन ‘खराब लेखाइ’ होइन, बरू ‘नलेख्नु’ अथवा ‘नलेखी बस्नु’ हो ।

लेखन मानसिक कसरत हो, त्यसैले ‘राइटर्स ब्लक’ बाट मुक्त हुनु भनेको एउटा मानसिक युद्ध जित्नुसरह हो । विगतमा थुप्रै लेखकहरूले यस अवस्थाबाट छुटकारा पाउन विभिन्न अनौठा, मनोवैज्ञानिक तथा व्यावहारिक उपायहरू अपनाएका थिए ।

नोबेल पुरस्कार विजेता लेखक ‘अर्नेस्ट हेमिङ्वे’ ले राइटर्स ब्लकबाट बच्न एउटा नियम बनाएका थिए । उनी सधैँ लेख्दा-लेख्दै कथाको यस्तो ठाउँमा अथवा बिन्दुमा पुगेर रोकिन्थे, जहाँ उनलाई ‘अब के हुन्छ’ भन्ने प्रष्टसँग थाहा हुन्थ्यो । उनी कहिल्यै पनि आफू पूर्णरूपमा रित्तिएर कलम राख्दैनथे । त्यसले गर्दा भोलिपल्ट बिहान उठ्नेबित्तिकै उनलाई ‘कहाँबाट सुरू गर्ने ?’ भन्ने अन्योल हुँदैनथ्यो । उनले आफ्नो संस्मरण ‘अ मुभेवल फिस्ट’ मा यसबारे लेखेका छन् ।

लेखक ‘ग्राहम ग्रीन’ ले राइटर्स ब्लकलाई जित्न आफूलाई कडा अनुशासनमा बाँध्ने गर्थे । उनी जस्तोसुकै होस् हरेकदिन ठिक ५०० शब्द लेख्थे, त्यति शब्द पुगिसकेपछि मात्र कलम रोक्थे । त्यो समय र अवस्थामा उनले लेखनलाई अभ्यासको रूपमा लिन्थे । उनी भन्ने गर्थे, ‘लेखन एउटा पेशा हो, त्यो मुडमा भर पर्ने काम होइन । डाक्टरले मुड चलेपछि मात्र बिरामी हेर्छु भन्न पाउँदैन भने लेखकले चाहिँ किन पाउने ?’

विश्वकै सर्वाधिक बिक्री हुने मध्येकी एक उपन्यासकार ‘अगाथा क्रिस्टी’ ले भने त्यस्तो अवस्थामा निकै व्यवहारिक तरिका अपनाउने गर्थिन् । जब उनलाई कथाको प्लट फुर्र्दैनथ्यो, उनी भान्सामा गएर थुप्रिएका जुठा भाँडाहरू माझ्न थाल्थिन् । उनको विचारमा, त्यसो गर्दा हात व्यस्त रहन्छन्, तर मस्तिष्क स्वतन्त्र हुन्छ । उनले आफ्ना अघिकांश कथाका प्लटहरू भाँडा माझ्दै गर्दा फेला पारेकी हुन् भनेर थुप्रैपटक सुनाएकी पनि थिइन् । उनी भन्थिन्, सधैँ टेबलमा घोत्लिनुभन्दा शारीरिक काममा लाग्दा मस्तिष्कमा नयाँ विचारको ढोका खुल्छ; त्यसले लेखनलाई सजिलो बनाउँछ ।

‘ह्यारी पोर्टर’ की लेखिका ‘जे.के. रोलिङ’ ले पनि थुप्रैपटक राइटर्स ब्लकको सामना गरेकी थिइन्, विशेषगरी चौथो पुस्तक ‘ह्यारी पोटर एण्ड द गोब्लेट अफ फायर’ लेख्दा । त्यो समयमा उनी विभिन्न तालिकाहरू, नक्साहरू, केही न केहीका आकृतिहरू, संरचनाहरू बनाउँदै बस्ने गर्थिन्; कुन च्याप्टरमा कुन पात्रले के गर्छ र कस्तो रहस्य खुल्छ भन्ने कुरालाई पहिले कागजमा केही खाका बनाएर कोर्थिन् ।

उनी मान्छिन्, जब मस्तिष्क अल्मलिन्छ, त्यसलाई सही बाटो देखाउन एउटा नक्साको आवश्यकता पर्छ । उनी भन्ने गर्छिन्, ‘लेखन भनेको भावना र कथा मात्र पोख्नु होइन, एउटा संरचना पनि बनाउनु हो ।’

प्रख्यात अमेरिकी कवयित्री ‘माया एन्जेलो’को कथा भने बेग्लै थियो । जब शब्दहरू फुर्दैनथे, तब उनी जे मनमा आउँछ त्यही लेख्थिन्; यसरी उनी कयौँ दिनसम्म अर्थहीन वाक्यहरू मात्र लेखेर बस्थिन् । उनको तर्क गज्जबको छ – जब तपाईं निरन्तर रूपमा खराब लेख्नुहुन्छ, तब तपाईंको भित्री सम्पादक थाक्छ र अन्तत: सिर्जनात्मकताले फरक बाटो पाउँछ । सिर्जनात्मकता कहिल्यै खर्च गरेर सकिंदैन, त्यसलाई जति धेरै प्रयोग गर्यो त्यो त्यति नै बढ्दै जान्छ ।

त्यस्तै लेखक ‘चार्ल्स डिकेन्स’ हरेकदिन दिउँसो बाह्र बजेसम्म लेख्थे, त्यसपछि लन्डनका गल्लीहरूमा झन्डै प्रन्धदेखि बीस माइलसम्म पैदल हिँड्थे । त्यसक्रममा उनी गल्लीका मान्छेहरू तथा घटनाहरूबाट आफ्ना कथा-कृतिका निमित्त नयाँ पात्र र संवादहरू पाउँथे । एउटा लेखकका लागि अध्ययन र अवलोकन नै राइटर्स ब्लक तोड्ने सबैभन्दा प्रभावकारी हतियार हो भन्ने उनी विश्वास गर्थे ।

कृति ‘लेस मिसेरेबल्स’ का लेखक ‘ह्युगो’ को तरिका भने अलि रोचक थियो । जब उनी लेख्न अल्छी गर्थे वा लेखनमा अवरोध महसुस गर्थे, उनी आफ्ना सबै लुगाहरू कामदारलाई दिएर बाहिरबाट कोठा थुन्न लगाउँथे । उनीसँग केवल एउटा ओढ्ने पछ्यौरा मात्र हुन्थ्यो । बाहिर निस्कने कुनै लुगा र उपाय नभएपछि उनी बाध्य भएर टेबलमा बस्थे र लेख्न सुरू गर्थे ।

अर्का लेखक ‘निल गेइमन’ ले भने राइटर्स ब्लकलाई एउटा प्राविधिक समस्याको रूपमा हेर्न गर्छन्; उनी मान्छन्, लेख्ने क्रममा जब कलम रोकिन्छ, त्यसको मतलब केही गल्ती पक्कै भएको छ । त्यस्तो हुँदा उनी केही पाना पछाडि फर्किएर कथालाई अर्कै मोड दिन थाल्छन् । उनी युवा तथा नयाँ लेखकहरूलाई आफ्ना मास्टर-क्लासमा भन्ने गर्छन्, ‘नराम्रो लेख्न कहिल्यै डराउनुहुँदैन; नराम्रो लेखिएको पानालाई सुधार्न सकिन्छ, तर खाली पानालाई सुधार्न सकिंदैन ।’

धेरैजसो सफल लेखकहरूले एउटै कुरा दोहोर्याउँछन् – ‘राइटर्स ब्लक तब मात्र आउँछ, जब हामी पहिलो प्रयासमै उत्कृष्ट लेख्न खोज्छौं । यस्तो अवस्था र समस्याबाट मुक्त हुन नराम्रै भएपनि लेखिरहनुपर्छ ।’

अर्का नोबेल विजेता लेखक ‘टोनी मोरिसन’ का लागि लेखन एउटा पवित्र अनुष्ठानजस्तै थियो । उनी बिहान उज्यालो नहुँदै उठ्थिन्, कफी बनाउँथिन् र घाम झुल्केको हेर्थिन् । जबसम्म सूर्य राम्रोसँग उदाउँदैन, तबसम्म उनी कलम समाउँदिनथिन् ।

उनका अनुसार त्यो प्रक्रियाले मलाई ‘म को हुँ’ भन्ने सामान्य पहिचानबाट मुक्त गरेर ‘म एक लेखक हुँ, मैले लेख्नुपर्छ’ भन्ने दुनियाँ र मनोदशामा लैजान्छ । उनले नयाँ लेखकहरूलाई आफ्नो एउटा सिर्जनात्मक अनुष्ठान बनाउन सल्लाह दिने गर्थिन्, ताकी त्यसले मस्तिष्कलाई अब लेख्ने समय भयो भनेर संकेत गरोस् ।

जब लेखक ‘मार्क ट्वेन’ उपन्यास ‘द एडभेन्चर्स अफ हकलबेरी फिन’ लेख्दा-लेख्दै बीचैमा अड्किएका थिए, उनले उक्त पाण्डुलिपिलाई दराजमा थन्काएर सात वर्षसम्म त्यसलाई छोएनन् । पछि जब उनी फेरि त्यो पाण्डुलिपिमा फर्के, उनको मस्तिष्कले कथामा नयाँ दिशा भेट्टाइसकेको थियो ।

केही नलेखेको अथवा लेख्न नसकेको अवस्था र समयमा पनि लेखकका अवचेतन मनले कथामा काम गरिरहेका हुन्छन् । त्यसैले सबै लेखकहरूले एउटै कुरामा जोड दिएका थिए र दिने गर्छन् – ‘राइटर्स ब्लक हुनु भनेको सिर्जनात्मकताको अन्त्य हुनु होइन, त्यो केवल अध्ययन, अनुसन्धान, अवलोकन, आराम गर्ने समय हो । शब्दहरू नफुरे लेख्ने तरिका बदल्नुपर्छ, लेख्ने उद्देश्य कहिल्यै बदल्नुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?