+
+
Shares

बडिमालिकामा यसपटकको पूजा १ भदौबाटै

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक भिड हुने भएकोले अगाडिबाट नै सुरु गरिने बताएका छन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ साउन २४ गते ११:४७

२४ साउन, बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरमा यस वर्ष १ भदौबाट मेला तथा पूजा सुरु हुने भएको छ । बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक भिड हुने भएकोले अगाडिबाट नै सुरु गरिने बताएका छन् ।

बडिमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । पुजारी पाध्यायले बडिमालकामा मुख्य पूजाका साथै अन्य समयमा पनि धेरै जना पुग्ने गरेकोले तिर्थालुहरूको सहजताका लागि अगावै पूजा सुरु गरिने बताए ।

गत वर्ष पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा मुख्य पूजा साउन २३ गते भए पनि १४ गतेदेखि नै नवाह लगाएर पूजाआजा सुरु गरिएको थियो ।

बडीमालिकामा लाग्ने हरेक वर्षको मेलामा देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरू पुग्ने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडिमालिका जाने परम्परा छ । गत वर्ष करिब ४५ हजार बढी भक्तजन बडिमालिकाको दर्शनका लागि पुगेका थिए ।

पछिल्लो समय बडिमालिकाको प्रचारप्रसार तथा पर्यटकहरूको आकर्षण बढ्दै गएको स्थानीय चन्द्र थापाले बताए । गत वर्ष नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा कलात्मक बडिमालिका माताको मन्दिर निर्माण गरेकाले पनि विशेष आकर्षणको केन्द्र बनेको छ ।

प्रधानमन्त्री बालेन शाहले शाहले चुनावी अभियानका क्रममा धनगढीमा बडिमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको स्थानीयको भनाइ छ ।

यस्तै, बडिमालिकामा फोन नेटवर्कको अभावमा त्यहाँ पुग्ने पर्यटक तथा भक्तजनहरूलाई समस्या हुने गरेको भन्दै यस वर्षको मेला अगावै त्यस क्षेत्रमा टेलिकम टावर राख्न काम भइरहेको बडिमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताए ।

समुद्री सतहबाट ४ हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको संगम पनि हो । पहिले प्रचारप्रसारको कमीले गर्दा बडिमालिकामा धेरै भक्तजन नआए पनि पछिल्ला वर्षहरूमा पनि प्रचारप्रसार बढेसँगै दर्शन गर्न तथा अवलोकनका लागि त्यहाँ पुग्नेको संख्यामा वृद्धि भइरहेको नगर प्रमुख खड्काले बताए ।

हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटकहरू बडिमालिका अवलोकनमा पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास छ ।
मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् ।

खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिषासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालर जस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् ।

हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तुले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्लो केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढेको छ । बडिमालिकामा पुगेका पर्यटक तथा दर्शनार्थीका लागि नेपाली सेनाले मेला लक्षित स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।

 

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?