News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९५९ मा रिलिज भएको हिन्दी चलचित्र 'धुल का फूल' ले धार्मिक कट्टरता र साम्प्रदायिक भेदभाव विरुद्ध मानवताको सन्देश दिएको छ ।
- गीतकार साहिर लुधियानवीले रचेको उक्त चलचित्रको गीतले मानिसलाई कुनै पनि धर्मको घेराभन्दा माथि उठेर केवल असल 'इन्सान' बन्न आह्वान गरेको छ ।
- विश्वव्यापी अन्तरनिर्भरता र प्रविधिको युगमा कट्टरपन्थ त्याग्दै सबै खाले मानिसको योगदानलाई आत्मसात् गरी सभ्य समाज निर्माण गर्न आवश्यक छ ।
‘प्रेम धोका हो र प्रेम गर्नुभन्दा पहिले नै तिमीसँग विवाह गर्न चाहन्छु’ जस्ता फिल्मी डायलगहरूको बोलबाला भएको युग थियो त्यो । हिन्दी चलचित्र ‘धुल का फूल’ पनि मा यस्ता डायलग र सांगीतिक सन्दर्भ छन् । तर यसैमा साहिर लुधियानवीको त्यो विद्रोही वैश्विक गीत छ, जसले मान्छेलाई परम्परागत अर्थको धर्मभन्दा माथि राख्न भन्छ: तु हिन्दू बनेगा न मुसलमान बनेगा, इन्सान की औलाद है, इन्सान बनेगा (तिमी न हिन्दू बन्ने छौ, न मुसलमान। मान्छेको सन्तान भएकाले केवल मान्छे बन्ने छौ।)
आज भन्दा ६७ वर्ष पहिले सन् १९५९ मा रिलिज भएको थियो चलचित्र ‘धुल का फूल’ । लुधियानवी मुसलमान परिवारमा जन्मेका थिए ।
………
सम्भ्रान्त परिवारका युवायुवती मीना र महेशबीच कलेजमा प्रेम हुन्छ। चौर र बगैँचामा साइकल दौडाउँदै ती दुई प्रेमगीत गाउँछन्, प्रेममा झुम्छन् । अनि ‘प्रेमको नाममा पाप’ हुन्छ । गर्भवती प्रेमिका मीनालाई छाडेर युवक आफ्नो शहर फर्किन्छ । शहर छाड्दै गर्दा चिठी लेख्छु भनेका महेशले घर पुगेर कुनै ‘सम्पन्न परिवारकी छोरी’ सँग विवाह गरेर मीनासँगको बाचा तोड्छ। महेशको चिठी पर्खेर बस्छे ऊ, तर चिठी कहिल्यै आउँदैन।
काकाकाकीको ‘आश्रय’ मा बसेकी मीना धेरै अर्थमा टुहुरी हो । आज जमिन र सम्पत्तिमा महिलाको हकको कुरा बलियोसँग उठ्न थालेको छ । बाआमाको मृत्युपछि छोरीले आफ्नो बाआमाको सम्पत्तिमा दाबी गर्ने युग होइन, ‘बाउ नभए मितबाउलाई दिनू’ भन्ने समय हो त्यो ।
………..
त्यतिखेर उदार प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको नेतृत्वमा थियो भारत। धर्मनिरपेक्षताको वकालत गर्दै भारतलाई धर्मनिरपेक्ष बनाउन भूमिका खेल्ने उनको पार्टी भारतीय राष्ट्रिय कंग्रेसको राजनीतिमा वर्चस्व थियो । भारत विभाजनको आलो घाउ र हिन्दू-मुसलमान दङ्गाको सम्झना मेटिएको थिएन ।
राजनीतिक रूपमा ‘नेहरूवादी धर्मनिरपेक्षता’ र ‘गंगा-जमुनी तहजीब’ (साझा संस्कृति) माथि जोड दिइए पनि समाजभित्र अविश्वास, शङ्का र भित्री दूरी भने कायम थियो । अल्पसंख्यक मुस्लिम समुदाय विभाजनपछिको हीनताबोध र भयबाट गुज्रिरहेका थिए । यही पृष्ठभूमिमा साहिर लुधियानवीजस्ता प्रगतिशील स्रष्टाहरूले गीतहरूमार्फत धर्मान्धतामाथि प्रहार गरेका थिए । तिनैमध्येको एक गीत थियो यो ।
१९५० को दशकलाई हिन्दी सिनेमाको स्वर्ण युग मानिन्छ । सामाजिक/धार्मिक रूपमा सिनेमाहरू अत्यन्तै बलशाली र उदार बन्दै थिए । साहिर लुधियानवी, क्याफी आजमी, रजा अली खानजस्ता मुस्लिम गीतकार र बी.आर. चोपडा, यश चोपडा, राज कपुरजस्ता हिन्दू निर्देशकहरूले धार्मिक कट्टरताविरुद्ध ‘सबैभन्दा पहिले मान्छे’ भन्ने सन्देश दिए ।
विचारमा जति उदार भए पनि शारीरिक खुलापनको मामिलामा भने सरकारी सेन्सर बोर्ड निकै कडा थियो । पर्दामा प्रेम दर्शाउन दुईवटा फूल वा चरा जुधाउने या बादलसहितको चट्याङ पार्ने गरिन्थ्यो । राज्यले सिनेमालाई मनोरञ्जनभन्दा पनि ‘समाज सुधार र नैतिकता’ को माध्यम मान्थ्यो।
………..
युवतीको ‘पाप’ थाहा पाएपछि काकाकाकीले मीनालाई घरबाट निकालिदिए । त्यही घरकी ‘सहयोगी काकी’ ले आफ्नो छाप्रोमा शरण दिन्छिन् ।
महेश नफर्कनुको कारण जान्न उसकै शहर पुग्छे मीना, तर महेश अर्की युवतीसँग विवाहका लागि जन्ती लिएर अघि बढेको देखेपछि विचलित भई आत्महत्या गर्न तयार हुन्छे । तर शरण दिने सहयोगी काकीले रोक्छिन् । उनकै घरमा अब ‘बाउबिनाको बच्चा’ जन्मन्छ ।
सहयोगी काकी अचानक बितेपछि मीना पूर्णतः बेसहारा बन्छे र अत्यन्त भारी मनका साथ बच्चालाई जङ्गलको बाटोमा लगेर छाडिदिन्छे ।
…………..
मीना र महेशको ‘पापको फल’ कुनै मुसलमान (अब्दुल रसिद) ले बाटोमा भेट्टाउँछ र करूणावश घर लिएर गएपछि कथाले नयाँ मोड लिन्छ । पहिले सकेसम्म अरूले नै बच्चाको संरक्षण गरे हुन्थ्यो भन्ठान्छ अब्दुल । बच्चाप्रति ओठे प्रेम देखाउँदै सारमा अन्धविश्वास/अन्धश्रद्धाका कारण बेसहारालाई घृणा गर्ने धर्मभीरूहरूको व्यवहार देखेपछि भने बच्चा आफैँ हुर्काउने प्रण गर्छ ।
‘हराम’ बच्चालाई आश्रय दिएकै कारण अब्दुलका टोलका हिन्दू-मुसलमान (पञ्च भलाद्मी) हरू उसलाई स्वीकार्दैनन् । हुक्कापानी नै बन्द गरिदिन्छन् । टोलमा बच्चा च्यापेर पुग्दा उनीहरू भन्छन्, ‘तैँले अपराध गरिस् ।’ पहिचानबिनाको बच्चा टोलमा राख्नु गलत भन्ने सन्देश दिँदै बिरालो च्यापिरहेका पण्डितजी भन्छन्, ‘पञ्च नै परमेश्वर हुन् । उनीहरूको फैसला तैँले मान्नुपर्छ ।’ कुकुर च्यापिरहेका मुसलमान थप्छन्, ‘र, उनीहरूको फैसला खुदाको फैसला बराबर हुन्छ ।’
मुल्ला र पण्डितहरूलाई प्रतिउत्तर फर्काउँदै अब्दुल भन्छन्, “मलाई खेद छ त्यस्ता हिन्दू र मुसलमानप्रति, जो मान्छेको बच्चा पाल्नुलाई पाप ठान्छन् । तिमीहरू धर्मको आडमा मानवताको हत्या गरिरहेका छौ । मान्छेको रक्षा गर्नु हर मान्छेको कर्तव्य हो । आफूलाई धर्मको ठेकेदार ठान्छौ तिमीहरू, तर मानवताको एक रत्ति पनि मतलब छैन ।’
सबैतिरबाट कायल अब्दुल बच्चाको सुरक्षा र आत्मसम्मानका लागि शहरको एउटा बस्ती छाडेर अर्कोमा पुग्छ । टोल छाडेका अब्दुल अर्को मुकाम पुगेपछि आफूले हुर्काइरहेको नयाँ बालकप्रति लक्षित गर्दै, उसलाई फुल्याउँदै/खेलाउँदै यो गीतमार्फत मानवताको सन्देश गाउँछ:
तू हिन्दु बनेगा ना मुसलमान बनेगा, इन्सान की औलाद है इन्सान बनेगा (तिमी हिन्दू वा मुसलमान बन्नुपर्छ भन्ने छैन । सबैभन्दा पहिले मानिस बन्नुपर्छ । यहाँ लुधियानवीले बालकलाई सम्बोधन गर्दै नयाँ युगका मान्छेहरू धार्मिक कट्टरता छाडेर सबैको अस्तित्व मान्ने खालको बन्नुपर्ने सन्देश दिन खोजेका छन् । )
अच्छा है अभी तक तेरा कुछ नाम नहीं है, तुझको किसी मजहब से कोई काम नहीं है जिस इल्म ने इंसान को तकसीम किया है, उस इल्म का तुझ पर कोई इलज़ाम नहीं है तू बदले हुए वक्त की पहचान बनेगा, इन्सान की औलाद है इन्सान बनेगा
अर्थात
राम्रो भयो कि अहिलेसम्म तिम्रो कुनै नाम छैन, तिमीलाई धर्मसँग कुनै सरोकार छैन । त्यो ज्ञान जसले मानिसलाई विभाजित गरेको छ, त्यो ज्ञानको तिमीमाथि कुनै दोष छैन । तिमी बदलिएको समयको पहिचान बन्नेछौ, तिमी मानिसको सन्तान हौ, तिमी मानिस बन्नेछौ।
नामबाटै व्यक्तिको धर्म सालाखाला पहिचान हुने समाज हो दक्षिण एसिया । यहाँ बालकको अझसम्म नाम राखिएको छैन भन्नुको अर्थ धर्मले बालक ‘डामिएका’ छैनन् भन्ने हो ।
मालिक ने हर इंसान को इंसान बनाया, हमने उसे हिन्दू या मुसलमान बनाया कुदरत ने तो बख्शी थी हमें एक ही धरती, हमने कहीं भारत कहीं इरान बनाया जो तोड़ दे हर बंद वो तूफ़ान बनेगा, इंसान की औलाद है इंसान बनेगा
(प्रकृति/रचनाकारले सबै मानिसलाई समान बनाए, तर हामीले मान्छेलाई हिन्दू, मुसलमान र अन्य धर्ममा बाँड्यौँ । ईश्वर/प्रकृतिले हामीलाई एउटा बस्नलायक धर्ती दिए, तर त्यसलाई अनेक देश र सीमामा हामी मान्छेले विभाजन गर्यौँ। कुरीति, कट्टरता र विभेदका बन्धनहरू तोड्ने शक्तिशाली आँधी-तूफान बन्नू तिमी।)
नफ़रत जो सिखाए वो धरम तेरा नहीं है, इंसाँ को जो रौंदे वो क़दम तेरा नहीं है कुरान न हो जिसमे वो मन्दिर नहीं तेरा, गीता न हो जिसमे वो हरम तेरा नहीं है तू अम्न का और सुलह का अरमान बनेगा, तू अम्न का और सुल्ह का अरमान बनेगा।
(जसले मानिस-मानिसबीच घृणा गर्न सिकाउँछ, त्यस्तो धर्म तिम्रो हुन सक्दैन; अनि मानवता/मान्छेलाई नै कुल्चिने कदम तिम्रो हुनेछैन । कुरानप्रति सम्मान नभएको मन्दिर र गीताप्रति सद्भाव नभएको मस्जिद तिम्रो होइन । अन्य आस्थाको सम्मान नहुने ठाउँ तिम्रो तीर्थस्थल हुन सक्दैन । तिमी शान्ति, सद्भाव र प्रेमको प्रतिनिधि बन्नू। )
ये दीन के ताजिर ये वतन बेचने वाले, इंसानों की लाशों के कफ़न बेचने वाले ये महलों में बैठे हुए ये कातिल ये लुटेरे, काँटों के एवज़ रूह-ए-चमन बेचने वाले तू इनके लिये मौत का ऐलान बनेगा, इन्सान की औलाद है इन्सान बनेगा
(धर्मका ठेकेदार, देश बेच्नेहरू र मानिसका लासका लागि कात्रो बेच्नेहरू, महलमा बसेका हत्यारा/लुटेरा र काँडा लिएर फूलबारीको आत्मा बेच्नेहरूसँग भने सचेत रहनू । यिनीहरू/यस्तो प्रवृत्तिको अन्त्यको घोषणा बन्नू तिमी, किनकि मान्छेको बच्चा हौ तिमी । यहाँ गीतकारले हिंसा/युद्ध फैलाएर त्यसबाट नाम र दाम कमाउन चाहनेहरूप्रति खरो लेखेका छन् ।)
तू हिन्दु बनेगा ना मुसलमान बनेगा, इन्सान की औलाद है इन्सान बनेगा (तिमी हिन्दू वा मुसलमान बन्नुपर्छ भन्ने छैन। सबैभन्दा पहिले तिमी मानिस बन्नुपर्छ।)
……………….
झन्डै ७ दशकअघिको यो प्रगतिशील मानवतावादी ऐलान हजुरआमा/हजुरबा पुस्ताको हो । लुधियानवी बाँचिरहेका हुन्थे भने आज उनी १०५ वर्षका हुन्थे । यसको अर्थ उनी आजको नवपुस्ताको कुप्राबाउ हुन् । कुप्राबाउ पुस्ताको त्यो चेतना अहिले भारत/पाकिस्तान र नेपाललगायत सिङ्गो दक्षिण एशियामा कुन रूपमा विकसित छ या मुर्झाएको छ ? आजको गम्भीर प्रश्न हो यो ।
मानवताको महान सन्देश बोकेको यो गीत मुसलमान मोहम्मद रफीले गाए। हिन्दू यश चोपडाले फिल्मको निर्देशन गरे । हिन्दू/क्रिश्चियन नेपाली मूलका बाआमाबाट जन्मेर, बंगाली समाजमा हुर्केकी कलाकार माला सिन्हा फिल्मको लिड रोलमा रहिन् । अब्दुलको भूमिकामा हिन्दू मनमोहन कृष्ण देखिए ।
………………..
यो गीत गाएलगत्तै, एउटा छुट्टै चेतना र सन्देश फैलाउनका लागि बालक आफूले पाएको ठान्दै उसको नाम रोशन राखे अब्दुलले, फिल्ममा।
रोशनलाई हुर्काउने क्रममा अब्दुलले धेरै हण्डर बेहोर्छ । रोशनमाथि स्कुलका विद्यार्थीहरूले गरेको ‘बुलिङ’ बाट छुटाउन अर्को स्कुल सार्छ । स्कुलमा भर्ना गराउने क्रममा प्रिन्सिपललाई रोशनको थर लेख्ने सन्दर्भमा भन्छ, ‘रोशन अली या रोशन लाल जेसुकै लेखिदिए पनि हुन्छ । धर्मको महलमा हिन्दू या मुसलमान जे लेखिदिए पनि हुन्छ। म हुनलाई मुसलमान हुँ, तर यो बाबुलाई भने हिन्दू/मुसलमानका रूपमा होइन, मान्छेका रूपमा हुर्काउन चाहन्छु ।’
बाउआमाको ठेगान नभएको ‘हराम’ बच्चा बन्दै रोशनको जतासुकै दोहोलो काढिन्छ। अर्को श्रीमतीबाट जन्मिएको आफ्नो बच्चा स्कुल भर्ना गराउन आएको महेश, अब्दुल र रोशनबीच स्कुलमा जम्काभेट हुँदा बच्चालाई बेसहारा बनाएर छाड्ने बाउआमाहरूलाई त्यही महेश निन्दा गर्छ, जबकि उसकै अगाडि, उसकै कारण जन्मिएर जङ्गलमा फ्याँकिएको बच्चा यतिखेर हुर्केर उभिरहेको हुन्छ । फिल्ममा वर्गीय, लैंगिक र धार्मिक ढोँग छरपस्ट देखिन्छ।
फिल्ममा मान्छेहरू रोशनको पहिचानलाई लिएर बारम्बार तिरस्कार गर्छन् । तर अब्दुल काका भनिरहन्छ, ‘उनीहरूलाई धर्म र तथाकथित इमान प्यारो छ भने मलाई यो बच्चा प्यारो छ । यो फूलभन्दा प्यारो बच्चा मेरो अपराध हुन सक्दैन ।’
….. फिल्मको कथा अझै सकिएको छैन । फिल्मले धार्मिकतासँगै समाजका अन्य जड पक्ष पनि उजागर गरेको छ । तर फिल्मको कथाको सारभन्दा बढी गुरूत्व यसमा समेटिएको ‘तुम हिन्दू बनेगा न’ गीतमै छ । यस्तो लाग्छ– यही गीतबाट प्रभावित भएर जोन लेननले सन् १९७१ मा ‘इम्याजिन’ बोलको त्यो कालजयी र विश्वव्यापी गीत रचेर गाए । जसमा देश, धर्म र स्वर्गको संकुचन नभएको मानव समुदायको कामना गरिएको छ । एउटा विश्वपरिवारको सन्देश छ त्यसमा।
इभोल्युसनरी बायोलोजिस्ट रिचर्ड डकिन्सले भन्ने गरेको ‘वि आर अल अफ्रिकन’ (हामी मानव जाति अफ्रिकाबाट संसारभर फैलिएका हौँ, अतः हामी सबैको मूल एउटै हो । एउटै परिवार हौँ हामी सबै मान्छे) सन्देशको सार पनि हो लुधियानवीको गीत ।
………………
मानव विकासको पुरानो कालखण्डमा मान्छेलाई संगठित गर्न, विशाल नहर र खेल मैदान बनाउन, कठोर प्रकृतिसँग भिड्दै मानव सभ्यता अघि बढाउन हामीलाई अनेक धर्म र कठोर नियमहरू आवश्यक भए होलान् । भाषा र ज्ञान अत्यन्त सुस्त गतिमा अघि बढिरहेको त्यस समय मानव अस्तित्वका लागि समेत धर्मका कठोर र ‘शुद्धता’ का नियम/दण्डहरू जायज थिए होलान् भनेर तर्क गर्न सकियो । तर हामी मानव विकासको त्यस दोबाटोमा आइपुगेका छौँ, जहाँ केही वर्ष या दशकभित्र अब भाषाको सबै अवरोध हट्नेछ भनेर अनुमान गर्न सकिन्छ । यातायात र सूचना प्रविधिका कारण भौगोलिक रूपमा एउटा गाउँ बनिसकेको छ विश्व।
कुनै धार्मिक सम्प्रदायमा जन्मिए पनि मान्छेको दैनिक जीवन हजारौँ/लाखौँ अरू मान्छेको गठजोड र योगदानले सफल भइरहेको छ । हामीले बिहान उठेर खाने पाउरोटीको गहुँ उब्जाउने किसान मुस्लिम हुन सक्छ । त्यो गहुँ पिस्ने मिल चलाउने हिन्दू हुन सक्छ । त्यसको गाडी हाँक्ने व्यक्ति इसाई हुन सक्छ, र पाउरोटी बनाउने ओभनको प्रविधि बौद्ध वा यहुदी वैज्ञानिकले निर्माण गरेको हुन सक्छ।
संसारका हजारौँ-लाखौँ फरक पहिचानका मानिसको ज्ञान, श्रम र आविष्कारको साझा सङ्गम नै आजको हाम्रो आधुनिक जीवन हो । कल्पना गरौँ त, मध्यपूर्व (पश्चिम एशिया) र मलेसियाजस्ता फरक धार्मिक/सांस्कृतिक पहिचानका देशहरूमा पुगेर नेपालीले श्रम गर्नै नपाउने हो भने आज नै हाम्रो आर्थिक अवस्था कस्तो हुँदो हो ? अन्तरनिर्भरता आजको विश्वको सबैभन्दा ठूलो चरित्र हो । अतः संकुचित राष्ट्रवाद र सबै खाले कट्टरपन्थ त्याज्य छन् ।
आज हामी यति धेरै सूचना प्रविधिका साधन दैनिक व्यवहारमा प्रयोग गरिरहेका छौँ । कम्प्युटरको सानो चिप होस् या मोबाइलको ब्याट्री—हामीले दैनिक प्रयोग गर्ने प्रविधिको पछाडि कुनै एउटा धर्म, जात वा देशको मात्र हात छैन । ट्रान्जिस्टर (इलेक्ट्रोनिक चिप/कम्पोनेन्ट)को जग बसाल्ने विलियम शक्ले आफूलाई नास्तिक मान्थे । बेलायतमा जन्मेर अमेरिकामा हुर्केका उनले त्यसै आविष्कारका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जिते ।
अत्याधुनिक चिप्स बनाइने ताइवानमा बौद्ध, ताओसँगै प्रकृति धर्म मानिन्छ । चिप्स डिजाइन गर्ने इन्जिनियरहरू मूल रूपमा हिन्दू, सिख, यहुदी र पूर्वी एशियाली/कन्फ्युसियस प्रभाव भएका मुलुकका छन् । ब्याट्रीको प्रविधि विकास गर्ने वैज्ञानिकहरू क्रिश्चियन र जापानी सांस्कृतिक पृष्ठभूमिका धेरै छन् । खानीबाट कच्चा पदार्थ निकाल्ने अफ्रिका र दक्षिण अमेरिकाका मजदुरहरू प्रायः मुसलमान, क्रिश्चियन र स्थानीय धर्म मान्नेहरू छन् । संसारभरका मानिसहरूको पसिना र प्रतिभा सूचना प्रविधिमा जोडिएको छ ।
…………..
अनि हिन्दू र मुसलमान गर्न थालेर हामी कहाँ पुग्छौँ ? अन्तर्घुलित आजको विश्वमा हामी थप दयालु र नरम पो बन्नुपर्छ । जडता र रूढता छाडेर सबैभन्दा पहिले असल मानिस पो बन्नुपर्छ ।
प्रतिक्रिया 4