+
+
Shares

एच-१बीसहितका कामदारको ६० दिने ग्रेस पिरियड हटाउने प्रस्ताव ह्वाइट हाउसमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते ९:४६

२४ साउन, काठमाडौं । अमेरिकामा एच-१बीसहित विभिन्न रोजगारमा आधारित अस्थायी भिसा हैसियतमा कार्यरत विदेशी कामदारले जागिर गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिने ग्रेस पिरियड हटाउने प्रस्ताव अघि बढाइएको छ।

अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको नागरिकता तथा अध्यागमन सेवा यूएससीआईएसले प्रस्तावित नियम ह्वाइट हाउसको अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटमा समीक्षाका लागि पठाएको हो।

तर, यो व्यवस्था अहिलेसम्म परिवर्तन भएको छैन। प्रस्ताव ओएमबीको समीक्षामा रहेकाले विद्यमान ६० दिने सुविधा कायमै छ। प्रस्ताव सार्वजनिक भएर आवश्यक प्रक्रिया पूरा गरी अन्तिम नियम जारी भएपछि मात्रै नयाँ व्यवस्था लागू हुन सक्छ।

सरकारी तयारी अनुसार काम भएमा अमेरिकामा विदेशी कामदारहरूको अप्ठ्यारा बढ्न सक्नेछ।

अमेरिकाले आफ्नो अध्यागमन प्रणालीलाई थप प्रभावकारी बनाउन खोजिरहेको र दीर्घकालमा यसको फाइदा सबै पक्षलाई पुग्ने प्रस्ट पार्दै आएको छ ।

यो निर्णय कार्यान्वयनमा गएमा पश्चिम एशियाका पनि लाखौं आप्रवासीहरू प्रभावित हुनेछन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका विगत केही वर्षयता ठूलो सङ्ख्यामा अवैध आप्रवासीको समस्यासँग जुधिरहेको र २ करोडभन्दा बढी मानिस गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकाले त्यही चुनौतीको सामना गर्न यी परिमार्जनहरू गरिएको स्पष्ट पार्दै आएका छन् ।

सात वर्ष बसेकालाई आवेदनको बाटो खोल्ने छुट्टै विधेयक

नयाँ अर्को नियमअनुसार अमेरिकामा बसिरहेका एच१-बी भिसावाहक लगायत लाखौँ मानिसका लागि ग्रिन कार्ड पाउने नयाँ अवसर आउन सक्छ।

अमेरिकी सिनेटमा एउटा यस्तो विधेयक पेस गरिएको छ, जसमा विगत ७ वर्षदेखि लगातार अमेरिकामा बसिरहेका मानिसहरूलाई ग्रिन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको छ।

ग्रिन कार्ड अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने आधिकारिक दस्तावेज हो। यसलाई आधिकारिक रूपमा ‘परमानेन्ट रेसिडेन्ट कार्ड’ भनिन्छ।

विद्यमान कानुनमा के छ ?

अहिलेको कानुनअनुसार यदि कुनै एच१-बी कर्मचारीको जागिर गयो भने, उसले त्यतिबेलै अमेरिका छाड्नुपर्दैन। हालको नियमअनुसार, उसले अधिकतम ६० दिनको समय पाउँछ।

यस अवधिमा उसले नयाँ जागिर खोज्न वा अमेरिकामा आफ्नो ‘स्टाटस’ कायम राख्न आवश्यक कदम चाल्न सक्छ।

यस अवधिमा कर्मचारीले अर्को कम्पनीमा जागिर खोज्न सक्छ। नयाँ कम्पनीले उसका लागि एच१-बी को निवेदन दिन सक्छ। नियमअनुसार, केही अवस्थाहरूमा कर्मचारीले निवेदन स्वीकृत हुनुअगावै नयाँ कम्पनीमा काम सुरु गर्न सक्छ।

नयाँ जागिर नभेटिए के हुन्छ ?

नयाँ जागिर खोज्नु मात्रै एक मात्र विकल्प होइन। केही अवस्थाहरूमा कर्मचारीले अर्को भिसा वा स्टाटसका लागि पनि निवेदन दिन सक्छ। जस्तै, केही सर्तहरूको अधीनमा रहेर उसले डिपेन्डेन्ट वा भिजिटर स्टाटसका लागि आवेदन दिन सक्छ। यदि ऊ पहिले नै ग्रिन कार्डका लागि योग्य छ भने त्यसका लागि पनि केही बाटोहरू हुन सक्छन्।

यदि ६० दिनभित्र कर्मचारीले नयाँ जागिर पाएन र आफ्नो स्टाटस बदल्न कुनै कदम पनि चालेन भने, उसले अमेरिका छाड्नुपर्ने हुन सक्छ। विशेषगरी त्यतिबेला, जब अमेरिकामा बस्ने उसको निर्धारित अवधि पनि सकिन्छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?