+
+
Shares
यात्रानुभूति :

थकाली सभ्यताको शृङ्गारमा समृद्ध मुस्ताङ

माथिल्लो मुस्ताङतिर जाँदा दृश्य झन् रहस्यमय हुँदै जान्छ। हावाले कुँदिएका पहाडहरू कहिले राजदरबार जस्ता देखिन्छन्, कहिले प्राचीन मूर्ति जस्ता। लोमान्थाङका पुराना पर्खाल, गुम्बा र साँघुरा गल्लीहरूमा हिंड्दा लाग्छ, समय यतै कतै रोकेर राखिएको छ।

अनुपम रोशी अनुपम रोशी
२०८३ साउन २३ गते १६:२८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङको भौगोलिक सुन्दरता, थकाली सभ्यता र ऐतिहासिक महत्त्वलाई समेट्दै गरिएको यात्राले प्रकृति, इतिहास, संस्कृति र अध्यात्मको गहिरो अनुभव प्रदान गर्दछ।
  • लो राज्यका संस्थापक अमे पालले विद्यमान हिमाली समुदाय र बस्तीहरूलाई सङ्गठित गरी राजनीतिक संरचना निर्माण गरेको इतिहासका विभिन्न स्रोतहरूमा उल्लेख गरिएको छ।
  • जलवायु परिवर्तन, बढ्दो पर्यटन र आधुनिक शहरीकरणले मुस्ताङको नाजुक हिमाली वातावरण र मौलिक सांस्कृतिक पहिचानमा गम्भीर चुनौती थपेको छ।

यात्रा कहिलेकाहीं कुनै ठाउँसम्म पुग्नु मात्र हुँदैन, आफैंभित्रको चेतना नजिक पुगेर फर्किनु पनि हुन्छ। र, म पछिल्लो समय आफैंभित्र रहेको चेतनाको गहिराइमा पुगेर फर्किएको अनुभव गरिरहेकी छु।

मान्छेको जीवनको घेरा कति सानो छ ! एउटा घर, एउटा बाटो, केही सपना, केही सम्बन्ध। तर उसको वरिपरि फैलिएको संसार ? त्यो संसार उसको जीवनभन्दा हजारौं गुणा पुरानो, विशाल र मौन छ। त्यस क्षण मलाई प्रकृति सुन्दर मात्रै लाग्दैन, एउटा रहस्यमा परिणत हुन्छ। र मानिस, त्यो रहस्यको बीचमा बसेको एउटा सानो यात्री।

पोखराबाट उकालो लाग्दै जाँदा पहाडका रङ फेरिंदै जान्छन्। बेनी, तातोपानी, घाँसा, लेते, मार्फा हुँदै अघि बढ्दै जाँदा हरियाली विस्तारै पातलिंदै जान्छ र चट्टानहरूले आफ्नो प्राचीन अनुहार देखाउन थाल्छन्। सँगसँगै बग्ने कालीगण्डकीको अप्रतिम साथ निरन्तर आफैंसँग हुन्छ। नदी कतै गर्जन्छ, कतै शान्त शीतल हुन्छ, तर उसको प्रवाहले एउटा कुरा भने स्पष्ट भनिरहन्छ कि नदीमा बगिरहेको पानी र समयको गति कहिल्यै रोकिंदैन।

जीवनको यात्रा पनि बगिरहने नदी र समय जस्तै त हो। तर दुर्भाग्य ! एक दिन जीवनको यात्रा टक्क रोकिन्छ। समय र नदी भने फेरि पनि बगिरहने नै छन्।

मार्फाका स्याउबारीहरू देखिन थालेपछि मुस्ताङको वास्तविक अनुहार खुल्दै जान्छ। नाङ्गा पहाड, हावाले कुँदिएका चट्टान, नीलो आकाश र टाढासम्म फैलिएको शून्यताले मलाई ओजन तहको अर्कै दुनियाँमा प्रवेश गराउँछ। त्यहाँ हरियाली कम छ, तर सौन्दर्यको कुनै कमी छैन। लाग्छ, प्रकृतिले अनावश्यक सबै कुरा हटाएर केवल सार मात्र बाँकी राखेकी हुन्।

मुस्ताङ पुगेपछि आकाश आकाश जस्तो लाग्दैन। जमिन पनि जमिनमै सीमित रहँदैन। टाढा पुगेर दुवैको सीमा हराउँछन्। मानौं, पृथ्वीको छेउमा उभिएर अर्को कुनै संसारको ढोका हेरिरहेकी छु। बादलहरू पनि बादल होइनन्, अपरिचित भूगोलका सेता संरचना जस्ता देखिन्छन्। अनि मनमा एउटा अनौठो प्रश्न उठ्छ- यति रहस्यमय संसारमा मानिसले पहिलो पटक आफ्नो बस्ती कसरी बसायो होला ?

जोमसोमको चिसो हावाले अनुहार छोइरहँदा सूर्यले हिमालको टुप्पामा सुनौलो रङ पोतिरहेको देखिन्छ। मार्फाबाट जोमसोमतिर आउँदै गर्दा म एउटा गाउँबाट अर्को गाउँमा मात्र आइरहेकी थिइनँ; कालीगण्डकीको पुरानो व्यापारिक बाटोले बनाएको थकाली संसारभित्र प्रवेश गरिरहेकी थिएँ। थकाली खाना, थकाली लिवाज, थकाली भाषासँग परिचित हुँदैथिएँ।

थकाली सभ्यताको जीवन्त स्मृति बोकेको एउटा सांस्कृतिक भूगोलले मलाई मोहित पारिरहेको थियो। यहाँका ढुङ्गाले बनेर सेतो कमेरो पोतिएका एकैनासे घर, प्रार्थना-पताका, गुम्बाहरू, चौतारा, स्याउका बगैंचा, आतिथ्यको परम्परा र पुस्तौंदेखि बाँचिरहेको जीवनशैलीले मुस्ताङलाई एउटा विशिष्ट पहिचान दिएका छन्।

प्रकृतिले मुस्ताङलाई खण्डहर भूगोल दिएको छ भने थकाली सभ्यताले त्यस भूगोलमा आत्मा भरिदिएको छ। नीलगिरि हिमाल मुस्ताङको मुकुट हो र थकाली सभ्यता त्यसको शृङ्गार।

आज यी बस्तीहरू घरपझोङ गाउँपालिकाको एउटै प्रशासनिक छातामुनि छन्, तर तिनको स्मृति भने अलग-अलग रहेछन्। मार्फाको आफ्नै इतिहास छ, टुकुचेको आफ्नै व्यापारिक वैभव छ, जोमसोमको आफ्नै प्रशासनिक र भौगोलिक महत्त्व छ, चिमाङ गाउँ, ठिनी र स्याङ गाउँले आफ्नै सांस्कृतिक जीवन बोकेका छन्।

सङ्घीय नेपालको पुनर्संरचनाले यी फरक इतिहास बोकेका बस्तीहरूलाई एउटै स्थानीय तहमा जोडेर घरपझोङ गाउँपालिका बनाएको छ। यसका गाउँहरूका इतिहास कालीगण्डकी जत्तिकै पुराना छन्।

मुस्ताङको आकाश असाधारण रूपमा विशाल देखिन्छ। त्यहाँ उभिंदा लाग्छ, मानिसका चिन्ता कति साना रहेछन् ! हामीले बोकेका धेरै पीडा, असफलता, ईर्ष्या र अहङ्कार हिमालको उचाइ अगाडि आफैं साना हुँदै जान्छन्। प्रकृतिले कुनै उपदेश दिंदैन, तर उसको उपस्थितिले नै मानिसलाई बदल्न बाध्य बनाउँछ।

मुटुको आकारमा सजिएको धुम्बा ताल पुग्दा म आफूलाई निकै हलुङ्गो र मुक्त महसुस गर्छु। लाग्छ, २८ सय ३० मिटरको उचाइमा रहेको यो सुन्दर तालको पानी मेरो प्रेमजत्तिकै पवित्र छ। र त यसको सौन्दर्य मैले मन पराएर माया गरेको मेरो प्रेमी जत्तिकै सुन्दर देखिन्छ।

म हराउँछु ऊभित्र, जसरी हराउँछु म मेरो प्रेमीको अँगालोमा। नाङ्गा पाखाहरूको बीचमा स्थिर यो पोखरीको पानी पानी मात्रै होइन, उसले त्यहाँका मान्छेको जीवनलीलासँग गरेको गहिरो संवाद हो।

यहाँका प्रत्येक ढुङ्गाले सभ्यताको कथा बोकेका छन्, प्रत्येक गुफाले इतिहासको सास फेरेका छन्, प्रत्येक हावाले स्वतन्त्रताको गीत गाएका छन्। त्यहाँ पुग्ने मानिसले हिमाल, नाङ्गा पाखाहरू मात्र देख्दैन; उसले धुम्बा तालको सौन्दर्यमा आफूभित्रको प्रेम र चेतनालाई पनि देख्न थाल्छ। त्यसैले मुस्ताङ नेपालको एउटा जिल्ला होइन, यो प्रकृति, इतिहास, संस्कृति, अध्यात्म र आत्मचिन्तनले मिलेर लेखेको एउटा अमर महाकाव्य हो।

मुक्तिनाथ पुग्दा ‘धर्मभन्दा ठूलो कुरा प्रकृति हो’ भन्ने नै अनुभूति हुन्छ। पूजाभन्दा पनि ध्यान केन्द्र हो जस्तो लाग्छ। त्यहाँ प्रार्थना गर्ने मानिसहरूको अनुहारमा धार्मिक आस्था मात्र होइन, लामो यात्रापछि प्राप्त भएको आन्तरिक शान्तिको चमक देखिन्छ। शायद त्यसैले मुक्तिनाथलाई मोक्षको भूमि भनिएको होला। मोक्ष मृत्युपछिको अवस्था हो/होइन मलाई थाहा छैन, तर आफ्नै मनको भारी केही समयका लागि विश्राम गर्ने थलो भने पक्कै हो।

साँझपख सूर्यका किरणहरूले राताम्ये पहाडलाई सुनौलो बनाउँदा लाग्छ, प्रकृतिले आफ्नै क्यानभासमा अन्तिम चित्र कोरिरहेकी छन्। त्यसबेला हावाले प्रार्थनाका झन्डा हल्लाउँछ, चराहरू आफ्ना गुँडतिर फर्कन्छन्, र यात्रुहरू केही नबोली क्षितिजतिर हेरेर बसिरहन्छन्। त्यो मौनतामा शून्यता हुँदैन; त्यसमा हजारौं वर्षको इतिहास, सभ्यता र आध्यात्मिक ऊर्जा मिसिएको भान हुन्छ।

त्यसैले मुस्ताङ एउटा गन्तव्य मात्रै होइन, यो एउटा अनुभूति हो। यो यात्रा होइन, आत्मसंवाद हो। यहाँका पहाडहरू ढुङ्गा मात्र होइनन्, ध्यानस्थ ऋषिहरू हुन्। यहाँको हावा मौसम मात्र होइन, समयको सन्देशवाहक ऊर्जा हो। र, यी जीवनलाई नयाँ आँखाले हेर्न सिकाउने सबैभन्दा गहिरा भाषा हुन्।

कालीगण्डकीको किनारमा उभिंदा सम्पूर्ण जगत्‌को सङ्गीत भरेर समय बगिरहेको जस्तो लाग्छ। करोडौं वर्ष पुराना शालिग्राम हातमा समाउँदा जीवनको क्षणभङ्गुरता महसुस हुन्छ। हामी आफूलाई ठूलो ठान्छौं, तर प्रकृतिको विशाल समयचक्रभित्र हामी क्षणभरका पाहुना मात्र रहेछौं भन्ने अनुभूति हुन्छ।

माथिल्लो मुस्ताङतिर जाँदा दृश्य झन् रहस्यमय हुँदै जान्छ। हावाले कुँदिएका पहाडहरू कहिले राजदरबार जस्ता देखिन्छन्, कहिले प्राचीन मूर्ति जस्ता। लोमान्थाङका पुराना पर्खाल, गुम्बा र साँघुरा गल्लीहरूमा हिंड्दा लाग्छ, समय यतै कतै रोकेर राखिएको छ। सयौं वर्ष पुरानो सभ्यता आज पनि शान्त रूपमा बाँचिरहेको छ। इतिहास अझै पनि जीवित छ।

भनिन्छ, कुनै समय तिब्बत र नेपालको व्यापारिक केन्द्र बनेको यो भूभागमा नुन, ऊन र घोडाको व्यापारसँगै संस्कृतिको पनि यात्रा हुन्थ्यो। यहाँका गुम्बाका भित्ताहरूमा कोरिएका चित्रहरूले धर्म मात्र होइन, सयौं वर्षअघिको मानव चेतनालाई पनि दर्शाउँछन्।

भनिन्छ, मुस्ताङका आकाशे गुफाहरू आज पनि रहस्यले भरिएका छन्। ती गुफाहरूलाई देख्दा लाग्छ- मानिस किन यस्तो पहाडको छातीमा बस्थ्यो होला ? के त्यो सुरक्षा थियो, साधना थियो वा जीवनको अर्को खोज ? यस्ता रहस्यले मुस्ताङलाई अझ आकर्षक बनाउँछन्।

लोमान्थाङका साँघुरा गल्ली, प्राचीन गुम्बा, प्रार्थनाका झन्डा र पहाडमा ठोक्किएर फर्किने हावाको वेगले एउटा अनौठो ध्यानको वातावरण सिर्जना गर्छ। त्यहाँ घडीको टिकटिकभन्दा पनि मौनताको लय सुनिन्छ। मानिस होइन, एउटा विचित्रको भूगोल बोल्छ। त्यतिबेला लाग्छ, शान्ति किनेर पाइने चिज होइन, शान्ति कुनै वस्तु होइन; त्यो अनुभव हो। एउटा गहिरो अनुभव।

मुस्ताङलाई बुझ्न आजको नक्शा पर्याप्त छैन। आज हामी मुस्ताङलाई नेपालको एउटा जिल्ला भनेर चिन्छौं, तर इतिहासमा यसको सिमाना निकै फराकिलो भएको पाइन्छ। यो हिमालयका दुई संसार बीचको एउटा खुला ढोका थियो- उत्तरमा तिब्बती पठार र दक्षिणमा नेपालको पहाडी भूभाग।

कालीगण्डकीको उपत्यका हुँदै मानिस, पशु, नुन, अन्न, धर्म, भाषा, कला र विचारहरू उत्तर–दक्षिण ओहोरदोहोर गरिरहन्थे। त्यसैले मुस्ताङको इतिहास एउटा राज्यको इतिहासभन्दा धेरै ठूलो छ; यो विभिन्न हिमाली समुदाय, स्थानीय सत्ता, तिब्बती संस्कृति र दक्षिण एशियाली संसार बीचको लामो अन्तरक्रियाको इतिहास मानिन्छ।

लोमान्थाङको पर्खालभित्र उभिंदा हामीले एउटा पुरानो राज्यको राजधानी देख्छौं। तर त्यो राज्य बन्नुअघि पनि यहाँ जीवन थियो, बस्तीहरू थिए, आफ्ना मुखिया र स्थानीय नेतृत्व थिए, आफ्नै देवता र विश्वास थिए, खेती र पशुपालन थियो, र छिमेकी भूभागसँग सम्बन्ध थियो।

मुस्ताङको समाज कुनै एक दिन कसैले आएर निर्माण गरेको होइन; धेरै पुस्ताको आवागमन, सङ्घर्ष, सहकार्य र सांस्कृतिक आदानप्रदानबाट विस्तारै बनेको हो। मुस्ताङको यही पुरानो सामाजिक भूगोलमाथि चौधौं–पन्ध्रौं शताब्दीको सङ्क्रमणकालमा एउटा नयाँ राजनीतिक संरचना देखा परेको पाइन्छ- ‘लो राज्य’।

यस राज्यका संस्थापकका रूपमा अमे पालको नाम आउँछ। इतिहासका विभिन्न स्रोत र स्थानीय परम्परामा उनका बारेमा केही भिन्न विवरण भेटिन्छन्। त्यसैले उनलाई लिएर बनेका सबै कथालाई अक्षरशः ऐतिहासिक तथ्य मान्नुभन्दा पनि उपलब्ध प्रमाण र स्थानीय स्मृतिलाई छुट्टाछुट्टै बुझ्नु उचित हुने बताइन्छ।

तर एउटा कुरा स्पष्ट छ- लो राज्यको निर्माणसँग अमे पालको नाम अभिन्न रूपमा जोडिएको छ। विद्वान् चार्ल्स र्‍याम्बलका अनुसार लो राज्यको निर्माण पन्ध्रौं शताब्दीको सुरुआती राजनीतिक इतिहाससँग सम्बन्धित छ र त्यसपछि लोले लामो समयसम्म आफ्नै राजकीय पहिचान कायम राख्यो।

अमे पालले शून्यबाट एउटा सभ्यता बनाएका होइनन्, तर उनले पहिलेदेखि अस्तित्वमा रहेका हिमाली समुदाय र बस्तीहरूको राजनीतिक भूगोललाई एउटा नयाँ राजकीय संरचनामा सङ्गठित गरेको कुरा उल्लिखित छ। यही कुरा मुस्ताङको इतिहास बुझ्ने सबैभन्दा महत्त्वपूर्ण चाबी हो पनि भन्ने गरिन्छ।

मुस्ताङका सबै बस्ती एउटै राजनीतिक वा सांस्कृतिक समुदाय थिएनन्। बाह्रगाउँ, शोयुल, लो क्षेत्र र अन्य स्थानीय समुदायहरूका आफ्नै पहिचान र संस्थाहरू थिए। उदाहरणका लागि, शोयुल पाँच बस्तीको एउटा विशिष्ट सांस्कृतिक तथा राजनीतिक समूह थियो, जुन बाह्रगाउँका अन्य समुदायभन्दा फरक सामाजिक इतिहास बोकेको थियो।

मुस्ताङको इतिहास राजाहरूको मात्र इतिहास होइन; गाउँहरूको पनि इतिहास हो। आज पनि त्यहाँका मुखियाहरूले गरेको निर्णय सबैले मान्नुपर्ने र त्यहाँका कतिपय न्यायिक कामकारबाही पनि मुखियाहरूबाटै हुने कुरा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सुनाएका थिए।

यसरी राजाको दरबारभन्दा बाहिर पनि इतिहास बनिरहेको थियो। पहाडका काखमा बस्तीहरू बसिरहेका थिए। चरनभूमिमा पशुहरू चरिरहेका थिए। किसानहरूले कठोर मौसमसँग जुधेर अन्न फलाइरहेका थिए। व्यापारीहरू कालीगण्डकीको बाटो हुँदै उत्तर र दक्षिणतिर यात्रा गरिरहेका थिए। धार्मिक गुरुहरू गुम्बा र बस्ती बीच आवतजावत गरिरहेका थिए। यही दैनिक जीवनको विशाल जालभित्रबाट राज्यको आवश्यकता र राजकीय संरचना जन्मिएको थियो।

ती सबलाई जोडेर अमे पालले एउटा यस्तो केन्द्र निर्माण गरे, जहाँबाट वरपरका भूभागसँग राजनीतिक सम्बन्ध कायम गर्न सकियो। त्यसको केन्द्र बन्यो- लोमान्थाङ। भनिन्छ, ऊबेला लोमान्थाङ त्यहाँको राजधानी मात्र थिएन, त्यो हिमालयको एउटा रणनीतिक केन्द्र थियो। उत्तरतिर तिब्बत जाने बाटा, दक्षिणतिर कालीगण्डकी हुँदै नेपालतर्फ झर्ने बाटाहरू र वरपरका हिमाली बस्तीहरूलाई जोड्ने भौगोलिक अवस्थिति यसलाई राजनीतिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण बनाउँथ्यो।
मुस्ताङको सबैभन्दा ठूलो सम्पत्ति यी पहाड होइनन्, यहाँ बाँचिरहेका मानिसहरू हुन्। कठोर मौसमका बीच पनि उनीहरूको ओठमा फक्रिने मुस्कानको न्यानो आतिथ्यता हो। कम स्रोत र साधनमा पनि सन्तुष्ट भएर बाँच्ने उनीहरूको जीवनकला हो।

‘यहाँ भोकमरी लागेर कहिल्यै मान्छे मर्दैन। कुनै वर्ष केही उत्पादन भएन भने पनि हामी केही वर्ष सजिलै पालिन सक्छौं। र, यहाँ मातृसत्तात्मक समाज छ। तालाचाबी महिलाहरूको हातमा हुन्छ। महिलाहरूले घर कसरी धान्ने, जीवन कसरी चलाउने, त्यो जानेका हुन्छन्।’

त्यहाँकी स्थानीय तथा गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सुनाएकी थिइन्। यसले स्पष्ट पार्छ कि जहाँ महिलाहरूको शासन हुन्छ, त्यहाँ समृद्धि हुन्छ। र त आज अरू हिमाली क्षेत्रको तुलनामा मुस्ताङ समृद्ध छ।

मुस्ताङ आफैं एउटा मिश्रित हिमाली सभ्यता हो। यहाँ तिब्बत थियो, तर पूरै तिब्बत थिएन। यहाँ नेपाल पनि थियो। यहाँ बौद्ध धर्म थियो, तर हिन्दु देवताको पनि पूजा हुन्थ्यो। यहाँ राजदरबार थियो, तर गाउँको सामुदायिक शक्ति पनि थियो, छ। यहाँ व्यापारको इतिहास थियो र तीर्थयात्राको इतिहास पनि छ।

यहाँ कालीगण्डकीको भौगोलिक शक्ति छ र मानिसले त्यसलाई दिएको धार्मिक आस्थाको अनुहार पनि छ। र, यी सबै तहहरू एकअर्कामाथि चढ्दै, मिसिंदै, कहिले सङ्घर्ष गर्दै र कहिले सहकार्य गर्दै बनेको सभ्यता नै थकालीहरूको सभ्यता हो। एउटा समृद्ध मुस्ताङ हो।

तर बढ्दो शहरीकरण, आधुनिक सडक, बढ्दो पर्यटन र जलवायु परिवर्तनले यसका पुराना लयहरू बदलिरहेका छन्। हिमालका हिउँ पग्लिरहेका छन्, पानीका स्रोतहरू फेरिंदैछन् र पुस्तौंदेखि जोगिंदै आएको संस्कृति नयाँ चुनौतीसँग जुधिरहेको छ।

फलतः सधैं खण्डहर भइरहने पाखामा हरियाली बढ्दै गएका छन्। पानी नपर्ने ठाउँमा अत्यधिक पानी परिरहेको छ। पर्यटनको विस्तारसँगै बढेको प्लास्टिक र अन्य फोहोरले मुक्तिनाथ क्षेत्र वरपरदेखि नदी किनारसम्म आँखा बिझाउन थालेका छन्।

हिमाली क्षेत्रको नाजुक वातावरणमा यस्तो फोहोर दशकौंसम्म रहन सक्छ। कालीगण्डकीको स्वच्छतामा प्रदूषण बग्न सक्छ। विकास आवश्यक छ, तर विकासले त्यस ठाउँको पहिचान नखाओस् भन्ने जिम्मेवारी हाम्रो पनि हुनु अत्यन्तै जरुरी छ।

लेखक
अनुपम रोशी

लेखकका ‘कालो छाया’ ‘कुमारी आमा’ लगायत उपन्यास र केही कथा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?