News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको गौरीशङ्कर गाउँपालिका–१, जुँगुमा अवस्थित छहरा झरना प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका कारण पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।
- वर्षायाममा थप आकर्षक देखिने यो झरनासम्म पुग्न स्थानीयस्तरबाट व्यवस्थित पैदलमार्ग निर्माण गरिएकाले पारिवारिक भ्रमणका लागि समेत सहज र सुरक्षित छ।
- छहरा सामुदायिक वनभित्र रहेको यो झरनाको सौन्दर्यलाई प्रचारप्रसार गर्न सके दोलखाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने देखिएको छ।
वर्षायाम लागेपछि झरनाहरूले नयाँ जीवन पाउँछन्। आकाशबाट झरेको पानीले साना-ठूला खोल्सा र खोलाहरू भरिएसँगै डाँडाकाँडामा अनगिन्ती झरनाहरू देखिन थाल्छन्। दोलखा त झन् झरना, छाँगा र छहराहरूको जिल्ला नै हो।
वर्षात्को मौसममा जहाँ नजर दौडाए पनि सेता पानीका धारा पहाडको काखबाट झरिरहेका देखिन्छन्। त्यसैले सुरुमा मलाई पनि जुँगुको छहरा झरना एउटा सामान्य बर्खे झरना नै होला भन्ने लागेको थियो। तर, जब म त्यसको सामुन्ने पुगेँ, मेरो त्यो सोच एकैछिनमा बदलियो।
केही दिनअघि पर्यटन अभियन्ता लीलाराम खड्का र म जिरीका लौती र झाप्रो झरनाको तस्बिर खिच्न पुगेका थियौँ। त्यही क्रममा फेसबुक म्यासेन्जरमा एउटा सन्देश आयो। प्रायः मलाई फोटो वा भिडियोहरू आइरहन्छन्।
यसपटक गौरीशङ्कर गाउँपालिका–१, जुँगुका उत्तमराज खड्काले छहरा झरनाका केही तस्बिरसँगै छोटो विवरण पठाउनुभएको रहेछ। मैले त्यसलाई त्यति गम्भीर रूपमा लिइनँ। तर, जिरीबाट फर्कने क्रममा साथी सुवास बस्नेतसँग जुँगुतिर लाग्ने योजना बनायौँ।

सिद्धथानबाट यात्रा सुरु भयो। फेदी, यबो र काफ्लेगोलाई हुँदै घुमाउरा सडक चढ्दै-ओर्लिंदै हामी झगडे पुग्यौँ। वर्षायामले गाउँलाई हरियो चोलो ओढाइदिएको थियो। बाटोभरि आँखाले भ्याएसम्म हरिया खेतहरू मुस्कुराइरहेका थिए।
कतै धान र कोदोका बोटहरू हावासँग लहराइरहेका थिए भने कतै मकैका बोटहरू वर्षाको पानीले अझै ताजा देखिन्थे। साना-साना बस्तीहरू पहाडको काखमा मोतीझैँ छरिएका थिए। ती बस्तीका छानामाथि बेला-बेला बादल ओर्लिएर फेरि बिस्तारै माथि उक्लिन्थे। गाउँको त्यो शान्त वातावरणले यात्रालाई अझ रमाइलो बनाइदिएको थियो।
यो समय दोलखामा आलु खन्ने र बेच्ने मौसम पनि रहेछ। ठाउँ-ठाउँमा किसानहरू आलु छानेर बोरा भरिरहेका देखिन्थे। सडक किनारमा ठूला-ठूला ट्रकहरू रोकिएका थिए। गाउँघरका किसानहरूले आफ्नै पसिनाले फलाएको आलु ती ट्रकमा चढाइरहेका दृश्यले ग्रामीण जीवनको मेहनत र आत्मनिर्भरताको सुन्दर चित्र कोरेको थियो। यात्राभरि ती दृश्यहरू क्यामेरामा कैद गर्न मन लागिरह्यो।

झगडे नजिक पुग्दा अर्को मनमोहक दृश्यले ध्यान तान्यो। नीलकण्ठेश्वर माध्यमिक विद्यालयको वरिपरि बादलले बेला-बेला अद्भुत आकृति बनाइरहेको थियो। कहिले विद्यालय पुरै बादलभित्र हराएझैँ देखिन्थ्यो, कहिले केही क्षणमै बादल पन्छिएर विद्यालय फेरि उज्यालोमा निस्कन्थ्यो। प्रकृतिले आफ्नै क्यानभासमा निरन्तर चित्र बनाइरहेझैँ लाग्थ्यो।
बिहानको खाना खाने समय भएकाले झगडेमा रहेको मञ्जु पौडेल खत्री दिदीको होटेलमा स्थानीय परिकारसँगै मिठो खाना खायौँ। त्यहाँबाट करिब १० मिनेट मोटरसाइकलमा यात्रा गरेपछि झरना जाने स्थानमा पुगियो। त्यसपछि करिब १५ मिनेट पैदल तेर्सो र उकालो पार गरेपछि छहरा झरनाको पहिलो दर्शन भयो।
अहिले झरनासम्म पुग्न व्यवस्थित पैदलमार्ग निर्माण गरिएको रहेछ। बाटो सहज भएकाले परिवारसहित घुम्न आउनेहरूका लागि पनि उपयुक्त लागेको महसुस भयो। झरना नजिकै रहेको छहरा कालिका महादेव मन्दिरमा दर्शन गरेपछि छहरातर्फ अघि बढेँ। झरनाको सामुन्ने पुग्नेबित्तिकै म केही क्षण निःशब्द भएँ।

परबाट सामान्य देखिएको झरना नजिक पुगेपछि भने विशाल र अत्यन्त आकर्षक लाग्यो। अग्लो भिरबाट एकै सासमा खसेको पानीको गर्जन, त्यसबाट उड्ने पानीका साना-साना कण र वरिपरि फैलिएको शीतल वातावरणले मनै लोभ्यायो।
झरनाको नजिक पुगेर तस्बिर खिच्ने रहर थियो, तर भिरको बनोट र झरनाको तीव्र बहावले त्यति सहज बनाएन। त्यसैले केही दूरीबाटै धेरै फोटो र भिडियो खिचेँ। तर, जति कैद गरे पनि मन भने अघाएन।
छहरा सामुदायिक वनभित्र अवस्थित यो झरना वर्षायाममा मात्र होइन, हिउँदमा पनि आफ्नो सौन्दर्य र आकर्षण कायम राख्ने खालको देखिन्छ। वरिपरिको घना जङ्गल, चिसो हावा र प्राकृतिक वातावरणले यसलाई अझ अनुपम बनाएको छ।
सामाजिक सञ्जालमा पछिल्लो समय यसको चर्चा बढे पनि प्रकृतिले लामो समयसम्म आफ्नै काखमा लुकाएर राखेको एउटा अनुपम उपहारजस्तै लाग्यो।
दोलखामा धेरै प्राकृतिक सम्पदाहरू अझै पनि पर्याप्त प्रचारप्रसारको पर्खाइमा छन्। जुँगुको छहरा झरना पनि त्यही सूचीमा पर्ने एउटा महत्त्वपूर्ण गन्तव्य रहेछ। एकपटक यहाँ पुग्ने जो-कोहीले प्रकृतिको अद्भुत सिर्जनासँग केही समय बिताउने अवसर पाउनेछन्। मेरा लागि यो एउटा झरनाको यात्रामात्र थिएन, प्रकृतिसँग फेरि एकपटक प्रेममा पर्ने अविस्मरणीय अनुभूति थियो।





प्रतिक्रिया 4