+
+
Shares

केजी हस्पिटलमा महिला मृत्यु घटना : शल्यक्रियामा चिकित्सकको गैरकानुनी संलग्नता

केजी हस्पिटल निजी हस्पिटल हो । डा. पाण्डेले त्यहाँ शल्यक्रियामा संलग्न भएर नेपाल सरकारले बनाएको यो व्यवस्थाको उल्लंघन गरेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ साउन २३ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीको केजी हस्पिटलमा शल्यक्रियापछि कञ्चनपुरकी ५० वर्षीया समानी चौधरीको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति र कारबाहीको माग राख्दै प्रदर्शन गरेका छन् ।
  • मृतकका आफन्त र हस्पिटल प्रशासनबीच २२ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएसँगै शव बुझिएको छ ।
  • शल्यक्रियामा संलग्न सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. अरुण पाण्डेले सरकारी नियमविपरीत निजी हस्पिटलमा काम गरेको खुलेपछि स्वास्थ्य कार्यालयले कारबाही प्रक्रिया थालेको छ ।

२३ साउन, धनगढी । धनगढीको केजी हस्पिटलमा बिहीबार मिर्गौलामा रहेको पत्थरीको शल्यक्रियापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीय समानी चौधरीको मृत्यु भएको ।

बिहीबार बिहान हस्पिटल भर्ना भएकी चौधरीको चिकित्सकको सल्लाहबमोजिम नै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि आईसीयूमा राखिएको केही घण्टामै उनको मृत्यु भएको थियो ।

त्यसपछि उनका आफन्तले क्षतिपूर्ति र संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने मागसहित शुक्रबार बिहानैदेखि हस्पिटलबाहिर विरोध प्रर्दशन गरे । पछि हस्पिटल र मृतकका आफन्तबीच २२ लाख रुपैयाँ लेनदेन गरेर विवाद टुंग्याइयो ।

मृतकका आफन्तले शव बुझेर गएका छन् । हस्पिटल स्रोतका अनुसार मृतकका छोरा सुनिल चौधरीलाई शुक्रबार दुई लाख रुपैयाँ नगद र बाँकी २० लाखका रकमका लागि प्रतिमहिना पाँच–पाँच लाख झिक्ने मिल्ने भन्दै चेक थमाइएको छ ।

चिकित्सकको बदमासी

मृतक परिवारलाई रकमका थामथुम पारिएपनि शल्यक्रियामा संलग्न चिकित्सकले भने प्रचलित नियमको ठाडो उल्लंघन गरेको पाइएको छ ।

चौधरीको शल्यक्रिया युुरोलोजिस्ट डा. अरुण पाण्डेको समूहले गरेको थियो । पाण्डे सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक हुन् ।

१७ चैत २०८१ देखि छात्रवृत्ति करार सेवामा कार्यरत उनको करार अवधि अगामी चैत १६ मा मात्र सकिँदैछ । छात्रवृत्ति करार अवधिभर विशेषज्ञ चिकित्सकले निजी स्वास्थ्य संस्थामा चिकित्सकीय सेवा दिन नपाइने प्रावधान छ ।

सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न पाइँदैन् ।

सो कार्यविधिको बुँदा १६ (१) को (ज) मा सेवा अवधिभर विशेषज्ञ चिकित्सकले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने व्यवस्था छ । त्यसो गरे १६(३) मा लाइसेन्स निलम्बन गर्नसक्ने व्यवस्था छ ।

केजी हस्पिटल निजी हस्पिटल हो । डा. पाण्डेले त्यहाँ शल्यक्रियामा संलग्न भएर नेपाल सरकारले बनाएको यो व्यवस्थाको उल्लंघन गरेका छन् । चौधरीको मृत्यु भएपछि डा. पाण्डे केजी अस्पतालमा सरकारको कानुनविपरीत काम गर्दै आएको तथ्य बाहिर आएको हो ।

डा. पाण्डेले केजी अस्पतालमा बिहीबार दिउँसो १ बजेतिर चौधरीको शल्यक्रिया गरेका थिए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेले छात्रवृत्ति करार सेवाका चिकित्सकलाई निजी चिकित्सकीय सेवाका लागि अनुमति नदिइएको बताए ।

उनले विगतमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न पाउँ भन्दै निवेदन दिएको भएपनि सरकारको व्यवस्थाले नमिल्ने भएर कसैलाई स्वीकृति नदिएको दाबी गरे ।

डा. पाण्डेले स्वीकृतीबिना निजी संस्थामा काम गरेको पुष्टि भए कारबाही गरिने उनले जानकारी दिए ।

यस विषयमा डा. अरुण पाण्डेसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।  केजी हस्पिटलका कार्यकारी निर्देशक डा. दीपक सिंहले पनि प्रतिक्रिया दिन अस्वीकार गरे ।

केजी हस्पिटल सञ्चालक समितिका अध्यक्ष चेतराज जोशीले भने डा. पाण्डेको समूहले नै मृतक चौधरीको शल्यक्रिया गरेको जानकारी दिए । तर डा. पाण्डेले कानुनी रूपमा निजी हस्पिटलमा शल्यक्रिया गर्न मिल्ने–नमिल्ने भन्नेबारे आफूलाई थाहा नभएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय कैलालीले भने यो छानबिनको विषय बन्ने जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले केजी हस्पिटलले छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकलाई काम गराएको खबर प्राप्त भएको बताउँदै कारबाही प्रक्रिया थालिने बताए ।

‘धनगढीका निजी अस्पताललाई पटक–पटक छात्रवृत्ति करार सेवाका चिकित्सकलाई काम नगराउन निर्देशन दिँदै आएका छन् । अहिले केजी हस्पिटलले त्यसको उल्लंघन गरेको कुरा आएको छ,’ उनले भने, ‘त्यसविषयमा आवश्यक कारबाही हुन्छ ।

छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकले निजी अस्पतालमा काम गरे स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल काउन्सीलले कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?