News Summary
Generated by OK AI. Editorially reviewed.- नवपुस्ताका लोकप्रिय गायक जोन राईले प्रेमिल भावको नयाँ गीत 'मायाले' सार्वजनिक गरेका छन्, जसलाई छोटो समयमै लाखौं स्रोताले रुचाएका छन्।
- गायक हेमन्त राणाले गाउँको रित्तोपन र परदेशको पीडा समेटिएको 'साना कुरा' गीत सार्वजनिक गरेका छन्, जसमा अर्केस्ट्राको प्रयोगले गीतलाई थप कलात्मक बनाएको छ।
- रियालिटी शो सुपरस्टार सिङ्गर २०२४ की फस्ट रनरअप लिजेल राईले 'ढुकढुकी' गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा औपचारिक डेब्यु गरेकी छिन्।
जोन राई : मायाले
अहिलेका नवपुस्ताको सर्वाधिक प्रिय गायक जोन राई हुन् भन्दा फरक पर्दैन । उनको कन्सर्टमा उस्तै भीड हुन्छ । हरेक गीत उस्तै हिट हुन्छ । यो साताको सुरुवाततिर उनले निकालेको यो गीत पनि लाखौंले सुनिसकेका छन् । यसले पनि अघिको दाबी पुष्टि गर्छ ।
गीतको मात्र कुरा गर्दा यो गीतमा एउटा बडो सुन्दर भावलाई गाइएको छ । स्विकारोक्तिको । मिलनको । आधारको । आस्थाको । समग्रमा प्रेमको । यो गीतको लय जति बलियो छ; शब्द पनि उस्तै छ । प्रेममाथि गाइएको पछिल्लो समयको यो बडो सुन्दर गीत हो ।
मायाले बोलाउँदा मायाले बोल्नू
जति टाढा गए पनि मलाई नै खोज्नू
माया लाउन जानि सकेछु
मन भित्र देखिनै
म नि सधैं तिमीलाई रोज्छु
मेरो अन्तिम स्वास सम्मै
साह्रै राम्री छौ कि तिमी
मिमीलाई के भनुँ !
हेमन्त राणा : साना कुरा
हेमन्ता राणा कम गीत गाउँछन् । तर, उनका गीत विशेष हुने गर्छन् । यस पटकको गीतमा उनले परदेश जाँदा आइपर्ने समस्यालाई उठाएका छन् । यो गीतमा उनी गाउँ रित्तो छ भनेर सुनाउँछन् । गाउँको खबर सुन्ने कोही छैन भनेर सुनाउँछन् । र, यसको कारण पनि चर्को स्वरमा सुनाउँछन् । यो गीतको प्राविधिक पाटो पनि सुन्दर छ । किनकि यो गीतमा अर्केष्ट्रा प्रयोग गरिएको छ । जुन नेपाली गीतहरूमा असाध्यै कम प्रयोग गरिन्छ । दु:खान्त गाइएको भएता पनि गीतले संगीतमार्फत एउटा ठूलो समस्या उठाएको छ ।
हिमालमा हिउँ छैन
तराईंमा बीउ छैन
पहाडको पहिरोले
गाउँले लग्यो गहिरोले
गाउँ नै लग्यो पहिरोले
विशाल गुरुङ : समय
नेपाली संगीत क्षेत्रमा विशाल गुरुङ निरन्तर कर्म गरिरहेका सर्जक हुन् । तर, उनका गीतहरूको श्रोता तुलनात्मक रूपमा कम छन् । यसअघि उनका केही ओरिजिनल गीत निस्केका छन् । उनले लामो समयपछि नयाँ गीत निकालेका छन् । यो गीतमा उनले सत्य समयले ल्याउने परिवर्तनहरूबारे गाएका छन् । समय कारण के हुँदा, केकस्ता परिणाम आउँछन्; उनले तीबारे गुनगुनाएका छन् । अकोस्टिक भर्सनमा रहेको यो गीत इन्डी, रक, सोल विधा मन पराउनेका लागि पक्कै एउटा खुराक हुन सक्छ।
समय बितिजाने होला
आज भन्दै भोलि भन्दै
भावना रित्तिजाने होला
तिम्रा मेरा बीचका सबै
प्रोजेक्ट हामी : बेरङ्ग
दिपेश न्यौपाने र स्पन्दन पौडेल सम्मिलित यो ब्यान्ड अलि नयाँ नै छ । यसले यसअघि हावा लैजाऊ नामको गीत निकालेको छ । पछिल्लो समयमा उनीहरूले निकालेको गीत बेरंग हो । यो गीतमा उनीहरूले जीवन र प्रेमका नदेखिने पाटोहरूलाई उजागर गरेका छन् । गीतको शब्द पनि काव्यिक छ । भलै यो प्रेमको गीत त हो, तर यसले एउटा प्रश्न छाड्छ ।
अक्सर चलिरहन्छ मनका आयामहरू
शिशिरको बतास तैरिए झैं
तैरिन देऊ मलाई तिम्रो मझेरीमा
तिमी बेरङ्ग हावा हौ कि
मौनताको धुन हौ कि
महसुस गर्छु माया
काठको धुन : गाह्रो भाको छ (इपी)
तपाईं रक जन्राको फ्यान हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । काठमाडौंलाई आधार बनाएर काम गरिरहेको काठको धुन ब्यान्डले ४ वटा गीत भएको इपी निकालेको छ । मनका तनाव, आकाशको छायाँ, सुनिदेउ र गाह्रो भाको छ बोल भएको गीत संलग्न यो इपीमा तपाईंले रक, अल्टरनेटिभ रकको भरपूर मज्जा लिन सक्नुहुन्छ । यी चारै गीतमा ब्यान्डले अडियोमा प्रयोग गरेको छ । फरकफरक टेम्पोमा रहेको यी गीतहरूले एउटा अनुभव तपाईंलाई पक्कै दिन्छ ।
अभया सुब्बा – ब्ल्याक एन्ड ह्वाइट (मिनि एल्बम)
अभया सुब्बाले आफ्नो विधालाई छाडेर उनी केही समय अन्य विधा एक्सप्लोर गर्न लागेकी थिइन् । जसमा उनी पूर्णत सफल भइन् । तर, त्यसले उनको ऊर्जा भने छुटाइरहेको थियो । त्यो अभाव हुन नदिन मिनि एल्बमका रूपमा उनले ब्ल्याक एन्ड ह्वाइट लिएर आएकी छिन् । फरकफरक साउन्डमा पुरापुरा रक भाइब्स दिने यो मिनि एल्बमले तपाईं भरपुर ऊर्जा दिन्छ ।
वाङदेन शेर्पा/सुशान्त घिमिरे – पागल पागल
यसअघिको कोल्याब – जून हेरी – व्यापक हिट भएको यो जोडीले पुन: सांगीतिक सहकार्य गरेका छन् । यो नयाँ गीत पागलमा पनि उनीहरूले उसैगरी गीतको भागहरू आधाआधा गाएका छन् । गीत उस्तै रोमान्टिक र जोली भाइब्सको छ । भनौं, यी दुईले आफ्नो सिङ्नेचर शैली यो गीतमा जारी राखेका छन् । गीतको म्युजिक भिडियोको पाटोलाई छाड्ने हो भने गीत सदाबहार छ । यसमा उनीहरूले मेलिना राई पनि गायनमा फिचर गरेका छन् । एकअर्थले भन्दा दोहरी शैलीमा यो गीतमा कुराहरू भनिएको छ।
सम्झे होला पर्खेँ होला
गुनगुनाउँदै मस्किएँ होला
सम्झे होला कहिलेकाहीँ
कल्पनामै पल्किएँ होला
पागल पागल….
लिजेल राई : ढुकढुकी
इन्डियाको रियालिटी शो सुपरस्टार सिङ्गर २०२४ मा फस्ट रनरअप भएकी १७ वर्षीय लिजेल राईले नेपाली म्युजिकमा डेब्यु गरेकी छिन् । उनले यो गीतमा उनले प्रेम भावलाई गुनगुनाएकी छिन् । कोही प्रेममा परेपछि उसले कस्तो महुसस गर्छ ? उसको सोच कस्तो हुन्छ ? भन्ने कुरा उनले मिहीन तरिकाले गाएकी छिन् । आधुनिक शैलीको गीत मन पराउनेका लागि यो गीत प्लेलिस्टमा थपिन सक्छ ।
यो मुटुको ढुकढुकीमा
तिम्रै नाम छ सुन
ऋतुले पनि गुनगुनाउँछ
तिम्रै नामको धुन
यी बाहेक ऋषद राईको सम्मोहित, दिलिप विश्वकर्माको नजाउन छोडी, चेयोजेनको शीतल, पलेँटीका केही श्रंखलाहरू, श्रीगोको जिहाडी म, रचना रिमाल फिचर्ड लैजा चरी, प्रशान्त कान्छाको मायाले लगायतका गीट्टहरू सुन्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4