+
+
Shares
प्रा.डा. विवेक बरालसँग वार्ता :

‘केयूलाई दक्षिण एसियामै पहिचान बनाउन सक्ने विश्वविद्यालय बनाउने योजना छ’

एउटा कुरा स्पष्ट पार्न चाहन्छु- मेरो टिम व्यक्तिको टिम हुने छैन । काठमाडौं विश्वविद्यालयको टिम हुनेछ । मेरो कार्यकाल सकिएपछि पनि संस्थाले निरन्तरता पाउन सक्ने प्रणाली र नेतृत्व संस्कार निर्माण गर्नु नै मेरो लक्ष्य हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:५४
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् ।
  • विश्वविद्यालयकै पूर्वविद्यार्थी रहेका बराल विद्यार्थी, प्राध्यापक हुँदै उपकुलपतिको जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्ति बनेका छन् ।
  • बरालले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै अनुसन्धान र प्रविधिमैत्री प्रशासनमा जोड दिने योजना सार्वजनिक गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । केयूमै पढेका बराल केयूकै उपकुलपति बन्न सफल भएका हुन् । विद्यार्थी, प्राध्यापक हुँदै उपकुलपति बनेका बरालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानी :

तपाईं काठमाडौं विश्वविद्यालयकै विद्यार्थी । सम्भवतः केयूमै पढेर उपकुलपति हुने पहिलो व्यक्ति हुनुहुन्छ । यो कसरी सम्भव भयो ?

मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि काठमाडौं विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई दिएको अवसर र संस्कारको परिणामका रूपमा लिएको छु ।

काठमाडौं विश्वविद्यालयको विद्यार्थी भएर मैले यहाँको शैक्षिक वातावरण, संस्कृति र मूल्यमान्यता नजिकबाट अनुभव गर्ने अवसर पाएको छु । यही विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर पनि पाएँ ।

विद्यार्थीका रूपमा प्रवेश गरेको संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाउनु ठूलो सम्मान र त्यत्तिकै जिम्मेवारीको बोध पनि गरेको छु । यसले विश्वविद्यालयले आफ्नै विद्यार्थी र प्राध्यापकभित्र नेतृत्व क्षमता विकास गर्न सक्छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।

तर, म यो पदलाई ‘पूर्वविद्यार्थीका लागि प्राप्त अवसर’का रूपमा मात्र हेर्दिनँ । जिम्मेवारीसँगै विश्वविद्यालयलाई अझ राम्रो बनाउने, संस्थाको प्रतिष्ठा कायम राख्ने र आगामी पुस्ताका विद्यार्थीका लागि अझ उत्कृष्ट विश्वविद्यालय निर्माण गर्ने दायित्वका रूपमा लिएको छु ।

तपाईं विद्यार्थी हुँदा र अहिले उपकुलपति हुँदा केयूमा के फरक पाउनु हुन्छ ?

मैले दुई वटा महत्वपूर्ण परिवर्तन देखेको छु । पहिलो, केयूको आकार, पहुँच र कार्यक्रमहरू उल्लेख्य रूपमा विस्तार भएका छन् । मैले विद्यार्थीका रूपमा देखेको केयूको तुलनामा आज विश्वविद्यालयको शैक्षिक कार्यक्रम, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र समाजमा प्रभाव व्यापक विस्तार भएको छ ।

तर, विस्तारसँगै चुनौती पनि थपिएका छन् । अहिले राम्रो विश्वविद्यालय भएर मात्र पुग्दैन । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने, अनुसन्धानमा प्रभाव पार्न सक्ने र देशको विकासमा प्रत्यक्ष योगदान गर्न सक्ने विश्वविद्यालय बन्नु पर्छ ।

म विद्यार्थी हुँदा विश्वविद्यालयलाई मुख्यतः विद्यार्थीको दृष्टिकोणबाट हेरेको हुन्थें । अहिले उपकुलपतिको रूपमा विद्यार्थी मात्र होइन, प्राध्यापक, कर्मचारी, अभिभावक, अनुसन्धानकर्ता, विभिन्न सरोकारवाला, सरकार र समुदाय सबैको अपेक्षा र जिम्मेवारीलाई सँगसँगै हेर्नु पर्छ ।

त्यसैले मेरो दृष्टिमा मुख्य प्रश्न ‘हामी कहाँ पुग्यौँ’ भन्ने मात्र होइन, ‘अब हामी कहाँ पुग्न चाहन्छौँ’ भन्ने हो।

कतिपयले त सरकारसँग नजिक भएको कारण उपकुलपति बन्नु भयो भनिरहेका छन् नि ?

यस्तो धारणा बाहिर आउनु स्वाभाविक हुन सक्छ । तर म आफ्नो नियुक्तिलाई राजनीतिक निकटतासँग जोडेर हेर्दिनँ । लामो समयदेखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापकका रूपमा अध्यापन, अनुसन्धान र संस्थागत जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । शैक्षिक तथा व्यावसायिक यात्रा नै मेरो परिचय हो ।

उपकुलपति बन्ने प्रक्रिया आफ्नो छ । निर्णय सम्बन्धित निकायले गरेको हो । मैले कसैसँगको व्यक्तिगत वा राजनीतिक सम्बन्धका आधारमा यो जिम्मेवारी पाएको होइन । मेरो अनुभव, सोच र अहिलेसम्म गरेका कामको मूल्याङ्कनबाट यो जिम्मेवारी पाएको हुँ । निकटताको आधारमा होइन ।

म कसरी उपकुलपति भएँ त्यो महत्त्वपूर्ण कुरा होइन । उपकुलपति भएपछि मैले के गरेँ भन्ने हो । सबै प्रश्नको उत्तर कामले नै दिनु पर्छ भन्ने लाग्छ । काठमाडौं विश्वविद्यालयलाई कुनै राजनीतिक धार वा समूहको होइन, संस्थागत हित, स्वायत्तता र उत्कृष्टताका आधारमा अघि बढाउन चाहन्छु ।

केयूमा तपाईंले देख्नु भएको समस्या र चुनौती के हुन् ?

केयूको चुनौती समस्या मात्र होइन, विश्वविद्यालयले प्राप्त गरेको अवसरलाई संस्थागत क्षमतामा रूपान्तरण गर्नु हो । हामीसँग सक्षम प्राध्यापक, प्रतिभाशाली विद्यार्थी, राम्रो पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध र अनुसन्धानको आधार छ । तर यी सबैलाई अझ प्रभावकारी रूपमा एकीकृत गर्नुपर्ने आवश्यकता छ ।

तर, म केही चुनौती देख्छु ।

पहिलो, शैक्षिक उत्कृष्टतालाई अझ माथि उठाउने र हाम्रा कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने ।

दोस्रो, अनुसन्धानलाई प्रकाशनमा सीमित नराखी समाज र अर्थतन्त्रमा प्रभाव पार्ने अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिने ।

तेस्रो, विश्वविद्यालयको प्रशासनलाई अझ पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउने ।

चौथो, प्रतिभाशाली शिक्षक तथा अनुसन्धानकर्तालाई विश्वविद्यालयमा आकर्षित गर्ने र टिकाइराख्ने वातावरण बनाउने ।

पाँचौँ, विश्वविद्यालयको आर्थिक दिगोपन बलियो बनाउने । राज्य वा विद्यार्थीको शुल्कमा मात्र निर्भर नभई अनुसन्धान, परामर्श, उद्योग सहकार्य, व्यावसायिक कार्यक्रम र अन्य संस्थागत स्रोतबाट पनि आम्दानी बढाउनु पर्छ भन्ने छ ।

अर्को महत्वपूर्ण कुरा, विश्वविद्यालय र समाजबीचको सम्बन्ध बलियो बनाउनु पर्छ । केयूको सफलता क्याम्पसभित्र मात्र देखिनु हुँदैन । देशको विकासमा प्रत्यक्ष प्रभाव देखिनु पर्छ ।

उच्च शिक्षामा केयूलाई अब्बल बनाउने तपाईंको योजना के छ ?

मेरो मूल दृष्टिकोण उत्कृष्ट शिक्षा, प्रभावकारी अनुसन्धान र समाजसँग प्रत्यक्ष जोडिएको विश्वविद्यालय निर्माण गर्ने हो । त्यसको लागि केही खाका बनाएको छु ।

पहिलो, शैक्षिक उत्कृष्टता

हाम्रा पाठ्यक्रम र शिक्षणलाई विद्यार्थीले के पढे भन्नेभन्दा विद्यार्थीले के सिके, के गर्न सके र त्यसलाई व्यवहारमा कसरी प्रयोग गर्न सके भन्ने आधारमा पुनर्संरचना गर्ने योजना छ ।

नतिजामा आधारित शिक्षालाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।

दोस्रो, अनुसन्धान तथा नवप्रवर्तन

अनुसन्धानमा अन्तरविषयगत सहकार्य बढाउने र उच्च प्रभावका अनुसन्धानलाई प्रोत्साहन गर्नु पर्नेछ । र, अनुसन्धानको परिणामलाई प्रविधि, नीति तथा उद्यममा रूपान्तरण गर्नु पर्ने आवश्यकता छ ।

तेस्रो, अन्तर्राष्ट्रियकरण

विश्वका उत्कृष्ट विश्वविद्यालयसँग सहकार्य, संयुक्त कार्यक्रम, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र अन्तर्राष्ट्रिय अनुसन्धान सञ्जाल विस्तार गर्ने योजना छ ।

चौथो, डिजिटल रूपान्तरण

विश्वविद्यालयको प्रशासन, विद्यार्थी सेवा, परीक्षा, मानव स्रोत, वित्त र निर्णय प्रक्रियालाई क्रमशः डिजिटल तथा तथ्यमा आधारित बनाउने योजना अगाडि सारेको छु ।

पाँचौँ, उद्यमशिलता तथा उद्योगसँगको सहकार्य

विद्यार्थी र अनुसन्धानकर्ताको ज्ञानलाई उद्यम तथा उद्योगसँग जोड्नु पर्छ । विश्वविद्यालयले ज्ञान उत्पादन मात्र होइन, त्यसको उपयोग र व्यावसायीकरणमा पनि नेतृत्व लिनु पर्छ ।

छैटौँ, आर्थिक दिगोपन

विश्वविद्यालयको खर्चलाई प्रभावकारी बनाउँदै परामर्श, अनुसन्धान, व्यावसायिक कार्यक्रम, उद्योगसँगको सहकार्य र अन्य स्रोतबाट आन्तरिक आम्दानी बढाउनु पर्नेछ ।

र, विद्यार्थी विश्वविद्यालयको केन्द्रमा हुनुपर्छ । उनीहरूको सिकाइ, पेसागत विकास, उद्यमशिलता, मानसिक स्वास्थ्य र विश्वव्यापी अनुभवलाई प्राथमिकतामा राख्नु पर्नेछ ।

मेरो लक्ष्य केयूलाई नेपालमा उत्कृष्ट विश्वविद्यालयका रूपमा मात्र होइन, छिट्टै दक्षिण एसियामै पहिचान बनाउन सक्ने विश्वविद्यालयका रूपमा विकास गर्ने योजना छ ।

तर, तपाईं एक्लैले गर्न सम्भव छैन । अब तपाईंले बनाउने टिम कस्तो हुन्छ ? टिमले कहिले पूर्णता पाउँछ ?

विश्वविद्यालय एक व्यक्तिले चलाउने संस्था होइन । उपकुलपतिको भूमिका सबै काम आफैं गर्ने होइन, सक्षम मानिसलाई सही जिम्मेवारी दिने उनीहरूलाई काम गर्ने वातावरण बनाउने र सबैलाई एउटै लक्ष्यमा जोड्ने हो ।

मेरो टिमको पहिलो विशेषता क्षमता र योग्यता हुनेछ । दोस्रो, इमानदारी र संस्थाप्रतिको प्रतिबद्धता हुनेछ । तेस्रो, टिमवर्क र सहकार्यको संस्कार हुनेछ । चौथो, परिणाम दिन सक्ने क्षमता हुनेछ ।

म ‘आफ्ना मानिस’ खोज्नेभन्दा संस्थाका लागि सही मानिस खोज्ने पक्षमा छु ।

विश्वविद्यालयमा पदाधिकारीदेखि विभिन्न समितिसम्म जिम्मेवारी दिँदा योग्यता, अनुभव, समावेशिता र संस्थागत आवश्यकतालाई प्राथमिकता दिइने छ ।

आवश्यक पदहरूमा सम्बन्धित कानुनी तथा संस्थागत प्रक्रियाअनुसार छिटोभन्दा छिटो सक्षम नेतृत्व स्थापित गर्ने प्राथमिकता हुनेछ । प्रारम्भिक चरणमा नेतृत्वको मुख्य संरचना व्यवस्थित गरेर त्यसपछि आवश्यकता र कार्यसम्पादनका आधारमा टिमलाई पूर्णता दिइने छ ।

तर, एउटा कुरा स्पष्ट पार्न चाहन्छु- मेरो टिम व्यक्तिको टिम हुने छैन । काठमाडौं विश्वविद्यालयको टिम हुनेछ । मेरो कार्यकाल सकिएपछि पनि संस्थाले निरन्तरता पाउन सक्ने प्रणाली र नेतृत्व संस्कार निर्माण गर्नु नै मेरो लक्ष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?