+
+
Shares
पन्छीशास्त्र :

नेपालमा मात्र पाइने चरा : काँडे भ्याकुर

कुनै पनि पन्छीको संरक्षणको लागि त्यसबारे बुझ्न जरुरी हुन्छ र नेपालमा मात्र पाइने यो सुन्दर प्रजातिको अवस्थाबारे जान्न यस प्रजातिमा अझै धेरै अध्ययनको जरुरी छ। र अध्ययनसँगै सरकार वा सरोकारवाला निकायले यस प्रजातिको संरक्षणमा पनि ध्यान दिनसकोस्।

अनुज घिमिरे अनुज घिमिरे
२०८३ भदौ ६ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मात्रै पाइने काँडे भ्याकुर लिओथ्रिचिडेइ परिवारको एण्डेमिक चरा हो र सन् १८३६ मा ब्रायन हुटन हज्सनले पहिलो पटक वर्णन गरेका थिए।
  • इबर्ड डेटाअनुसार काँडे भ्याकुर सबै प्रदेशमा रेकर्ड भएको छ, तर यसको सङ्ख्या ठ्याक्कै कति छ भन्ने आधिकारिक अनुमान वा अध्ययन छैन।
  • २०२० को अध्ययनले ल्वाङ घलेल क्षेत्रमा काँडे भ्याकुरको सङ्ख्या १२९ हुनसक्ने देखाएको छ, र देशभरको अनुमान १७ हजार ८१४ देखि ३५ हजार ५३७ सम्म हुन सक्छ।

लगभग २३ देखि ५३ लाख वर्ष पहिले अगाडिको कुरा हो। पृथ्वीको इतिहासमा त्यो समयलाई ‘मियोसिन इपक’ भन्ने गरिन्छ। घाँसे मैदानको विकास मियोसिन इपकमै भएको अध्ययनले देखाउँछ। ठूला ठूला जङ्गलहरू विस्तारै टुक्रिएको वन क्षेत्र, झाडी र घाँसे मैदानहरूमा परिणत हुँदैथिए। ठ्याक्कै त्यही समयमा एउटा नयाँ चराको परिवारको विकास हुँदैथियो। त्यो परिवार हो लिओथ्रिचिडेइ जसमा तोरीगाँडा, मिन्ला, नेपाल फुलबुट्टा जस्ता चराहरू पर्छन्। र यही परिवारमा पर्छ नेपालमा मात्र पाइने ‘काँडे भ्याकुर’। अंग्रेजीमा स्पाइनी ब्याब्लर !

रमाइलो कुरा त आनुवंशिक अध्ययन अनुसार काँडे भ्याकुर नेपाली ब्याब्लरहरू भन्दा अफ्रिकन ब्याब्लर प्रजातिको सिस्टर स्पिसिज भएको पाइएको छ। सिस्टर स्पिसिज भन्नाले एउटा समयमा उनीहरूको पुर्खा एउटै भएको र आजको दिनमा सबैभन्दा नजिकैको नातेदार प्रजाति भनेर बुझ्न सकिन्छ। र यही क्रममा काँडे भ्याकुरको नजिकैको प्रजातिमा अफ्रिकाको उत्तरी र पश्चिमी भेगमा पाइने कपुचिन ब्याब्लर पर्छ।

वैज्ञानिक भाषामा यसरी एउटै मात्र क्षेत्र वा ठाउँमा पाइने जीवहरूलाई ‘एण्डेमिक जीव’ भन्ने गरिन्छ। एण्डेमिजम एउटा क्षेत्र, देश वा महादेशसम्म पनि हुन सक्छ। काँडे भ्याकुरतिर जानु अगाडि पहिले कुरा गरौं एण्डेमिजम के कुराले गर्दा हुन सक्छ भन्ने बारे।

एण्डेमिजम विविधतासँग भिन्न प्रकारले जोडिएको हुन सक्छ। उदाहरणको लागि ट्याक्सोनोमिक र बायोजिओग्रफिक अवशेष लिन सकिन्छ। ट्याक्सोनोमिक अवशेष भन्नाले कुनै जमानामा विविधतापूर्ण ट्याक्सनमा रहेको तर अहिलेको समयमा खुम्चिएर एउटा मात्र परिवारमा सीमित भएको बुझिन्छ। त्यसै गरी बायोजियोग्राफिक अवशेष भन्नाले एक समयमा धेरै ठूलो वासस्थान भएका प्रजाति तर आजभोलि त्यो वासस्थान सानो क्षेत्रमा सीमित हुन गएको भनेर बुझ्न सकिन्छ।

काँडे भ्याकुर। तस्बिर : दीपक बुढाथोकी

काँडे भ्याकुरमा धेरै अध्ययन नभएकोले गर्दा ठ्याक्कै यही प्रकारको एण्डेमिजम हो भन्न त गाह्रो छ, तर नजिकैका अन्य प्रजातिसँगको सम्बन्ध हेर्दा काँडे भ्याकुरको केस निओएण्डेमिजमको केस पनि हुन सक्छ। जहाँ स्थानीय वातावरणको प्रेसरले आफ्नो पुर्ख्यौली वासस्थान क्षेत्रमै नयाँ प्रजातिको विकास हुन सक्छ।

नेपालमा आजको दिनसम्म अनुसूचित भएका ९०३ प्रजातिका चराहरूमा काँडे भ्याकुर मात्रै एउटा एण्डेमिक चरा हो। वैज्ञानिक रूपमा पहिलो पटक यो चराको वर्णन ब्रायन हुटन हज्सनले १८३६ मा गरेको पाइन्छ। नेपालमा पासो थाप्नेहरूले जम्मा गरेको चराहरूको सङ्कलनबाट उनले यो चराको वर्णन गरेका थिए।

हज्सनले वर्णन गरेपछि यो चरा लगभग १११ वर्षसम्म फेरि देखिएको वा उल्लेख गरिएको थिएन। सन् १९४७ मा बेलायती कूटनीतिज्ञको श्रीमती डिजायर प्राउडले काठमाडौंको आफ्नो बगैंचामा भेटेको उल्लेख गरेकी थिइन्।

प्राउडको १९५९ को लेखमा (Journal of the Bombay Natural History Society) काँडे भ्याकुरको बारे उनले यस्तो लेखेको पाइन्छ—

“Spiny Babbler prefers the thicker areas of scrub, which lie away from cultivation, are difficult to walk through and where the birds are difficult to see, except in the breeding season. Then the males emerge to sing on top of bushes or near the tops of isolated bushes. Ornithologists with limited time at their disposal, naturally prefer the wonderful forest areas with great variety of species”

डिलन रिप्लीद्वारा १९५२ मा प्रकाशित गरिएको पुस्तक- Search for the Spiny Babbler: A Naturalist’s Adventure in Nepal मा उनले नेपालमा काँडे भ्याकुरको खोजीमा हिंड्दाको अनुभव बारे लेखेका छन्। त्यस यात्रामा उनी काँडे भ्याकुर र सानो कालो तित्रा वा माउन्टेन क्वेलको खोजीमा निस्केको बताएका छन्। उनले माउन्टेन क्वेल भने फेला पारेनन्। यो चरा १९औं शताब्दीदेखि देखा नपरेको हुँदा शायद लोप भइसकेको हो कि भन्ने अनुमान छ।

डिलन रिप्लीको पुस्तक – Search for the Spiny Babbler: A Naturalist’s Adventure in Nepal

काँडे भ्याकुरको वैज्ञानिक नाम ‘Acanthoptila nipalensis’ (Turdoides nipalensis) हो। नेपालमा पहिलो पटक वर्णन गरिएको धेरै चराहरूको वैज्ञानिक नामको पछाडि nipalensis छ। काँडे भ्याकुर त झन् नेपालमा मात्र पाइने।

वैज्ञानिक नाममा भएको Turdoides ले काँडे भ्याकुरलाई Thrush भएको झैं बुझाउँथ्यो तर काँडे भ्याकुर वास्तविक रूपमा थ्रस नभएर ब्याब्लर वा भ्याकुर चाहिं हो। यो कुरा नेपालीमा बुझाउन साह्रै गाह्रो पर्ने रहेछ भनेर अहिले लेख्दै गर्दा बुझ्दैछु। थ्रस भन्नाले Turdidae परिवारमा पर्ने, सम्झिन र चिन्न सजिलो डाङ्ग्रे, रूपी चराको आकारका चराहरू भनेर बुझ्न सकिन्छ। धेरै जस्तो थ्रसहरूको छातीमा थोप्लै थोप्ला हुने गर्छ भने उनीहरूको गीत पनि एकदम सुमधुर र अङ्ग्रेजीमा भन्नुपर्दा मेलोडियस हुने गर्छ। त्यही भन्दै गर्दा भ्याकुर लगायत तोरिगाडाहरूको भने अलि हल्लाखल्ला धेरै हुने प्रकारको गीत/कलहरू हुन्छ भने यी चराहरू धेरैजसो झुन्डमा देखिन्छ। तर, काँडे भ्याकुर भने झुन्डमा हुने अर्थात् अङ्ग्रेजीमा ‘Gregarious’ प्रजातिमा पर्दैन। काँडे भ्याकुर एक्लै वा जोडीमा बस्न रुचाउने चरामा पर्छ। प्रजननको समय बाहेक कहिलेकाहीं स- सानो झुन्डमा भने पाइने गरेको बताइन्छ। काँडे भ्याकुरहरू बाक्लो झारपात वा झाडीमा पाइने गर्छन्। काँडे भ्याकुर नेपालमा स्थानीय र आवासीय चरामा पर्छ र अहिले १५०० मिटरदेखि २१३५ मिटरसम्म भेटिएको छ। हिउँदमा भने ५००-१८३० मिटरसम्म पाइने भएकोले गर्दा केही मात्रामा अलिअलि बसाइँसराइ गर्छ कि भन्ने अनुमान गर्न सकिन्छ।

काँडे भ्याकुरको माथिल्लो भाग गाढा खैरो हुने गर्छ। घाँटी र गाला सेतो हुन्छ भने छातीतिर तिखो धर्का हुन्छ। काँडे भ्याकुरको आँखा नीलो र आँखाको नानी कालो हुने गर्छ। चुच्चो वा ठोंड लामो र तलतिर घुम्रिएको हुन्छ। काँडे भ्याकुरको गीत भने एकदम स्पष्ट र मधुर ईल-ईल-ईल-ईल भने झैं सुनिने हुन्छ।

नेपालमा काँडे भ्याकुरको रेन्ज।स्रोत: बर्डलाइफ इन्टरन्यासनल र कर्नेल ल्याब अफ अर्निथोलोजी

काँडे भ्याकुरले धेरैजसो समय भुईंमा वा स-सानो झारपातमा बसेर कीरा–फट्याङ्ग्रा खोज्ने र क्याटरपिलरहरू अलि बढी रुचाउने गर्छ। यिनीहरूले फलफूल र फूलको रस पनि खाने गरेको अध्ययनले देखाउँछ। लामो समयसम्म गरेको एउटा अध्ययनले काँडे भ्याकुरको खानेकुरामा ८६ प्रतिशत कीरा फट्याङ्ग्रा र १४ प्रतिशत फल वा बीउहरू हुने देखाएको छ।

नेपालको एउटै मात्र एण्डेमिक चरा भएतापनि अनुसन्धानको कुरामा भने यो प्रजाति धेरै पछाडि परेको चरामा पर्छ। यो चराको आनीबानी, व्यवहार लगायत यसको विकासमा धेरै कम सूचना पाइन्छ। गएको केही दशकयता यो चराको वितरण र रेन्ज बारे जान्न इबर्ड नामको डेटाबेसले एकदम सहयोग गरेको छ। इबर्ड एउटा सिटीजन साइन्स याप हो जसमा आफूले देखेको चराहरू हाल्न मिल्छ र संसारभरिको मान्छेले त्यो डेटा र चराबारे इन्फर्मेसन लिन सक्छन्। त्यसैले गर्दा चरा वैज्ञानिक मात्र नभएर चरा हेर्न रुचाउने सबै जनाले यो चराको डेटा सङ्कलनमा मद्दत गरेका छन्। आजसम्म इबर्डमा हालिएको काँडे भ्याकुरको डाटा प्रयोग गरेर मैले केही तथ्याङ्कहरू यहाँ राखेको छु।

इबर्डमा काँडे भ्याकुरको पहिलो रेकर्ड १९७९ नोभेम्बर २७ को रहेछ। इङ्गल्यान्डका क्रेग रबिन्सनले काठमाडौंको टोखामा त्यो चरा रिपोर्ट गरेको इबर्ड डेटाले देखाउँछ। १९८२ मा दोस्रो रेकर्ड फेवाताल क्षेत्रमा देखिन्छ। त्यहाँबाट विस्तारै बढ्दै गएको इबर्ड साइटिंगहरू मार्फत आजको दिनसम्म आउँदा काँडे भ्याकुर नेपालको सबै प्रदेशमा रेकर्ड भएको छ। यही सालको जेठ महिनामा चराविज्ञ हथान चौधरी र सुरज बरालले मधेशमा पनि यो चरा रेकर्ड गरेपछि सबै प्रदेशमा अनुसूचित भएको हो। तर आजको दिनसम्म पनि यो चराको सङ्ख्या ठ्याक्कै कति छ भनेर कतै पनि अनुमान वा अनुसन्धानको रिपोर्ट भने देखेको छैन।

इबर्ड डेटा अनुसार नेपालमा काँडे भ्याकुर अवलोकन गरिएको रेकर्ड अनुसार बनाइएको ग्राफ। नेपालमा इबर्डको सङ्ख्या बढेदेखि यो चराको अवलोकन पनि बढ्दै गएको इबर्डले देखाउँछ। ग्राफ स्रोत: अनुज घिमिरे। डेटा स्रोत : इबर्ड

रक्षा ठकुरीद्वारा गरिएको २०२० को अध्ययनले ल्वाङ घलेल क्षेत्रमा काँडे भ्याकुरको सङ्ख्या १२९ हुनसक्ने अनुमान गरेको देखाएको थियो। जसमध्ये ३७ प्रतिशत काँडे भ्याकुर १४०० देखि १६०० मिटरको उचाइमा भेटिएको थियो। उनको अध्ययन अनुसार काँडे भ्याकुरको सङ्ख्या करिब ६.३८ वर्ग किलोमिटर हुने देखाउँछ। इबर्डमा रेकर्ड भएका चराहरूको कुल क्षेत्रफललाई लिने हो भने तल्लो तहको अनुमान अनुसार करिब १७ हजार ८१४ वटा काँडे भ्याकुर नेपालमा भएको अनुमान गर्न सकिन्छ र ठकुरीको अध्ययनमा देखाइएको घनत्व र इबर्डमा रेकर्ड भएका क्षेत्रफल प्रयोग गरेर अनुमान गर्ने हो भने करिब ३५ हजार ५३७ वटा काँडे भ्याकुर नेपालमा हुन सक्छन्। तर, यो कुरा एउटै मात्र अध्ययन र इबर्डमा भएको डेटामा गरिएको सांख्यिकीय विश्लेषणद्वारा निकालिएको सङ्ख्या र केवल मोडेल प्रोजेक्ट हो। त्यसैले यो सङ्ख्या ठिक हो भन्न पक्कै मिल्दैन। शायद काँडे भ्याकुरको सङ्ख्या योभन्दा धेरै कम पनि हुन सक्छ। वा यसकै हाराहारीमा पनि हुन सक्छ। अझै राम्रो अनुमानको लागि अन्य ठाउँमा पनि घनत्वको अध्ययन गर्न जरुरी हुन्छ। र अर्को प्रश्न के उठ्छ भने, के चरा हेर्नेहरूको सङ्ख्या बढ्दै जाँदा यो चरा धेरै देखिंदै वा इबर्डमा अवलोकन हुँदै जाँदा यसको सङ्ख्या पनि धेरै भएको देखाएको हो त? चरा हेर्नेहरूको प्रयास अर्थात् बढ्दै गएका इबर्डस् र अवलोकन गरिएको स्थानलाई नियन्त्रित वा कन्ट्रोल गरेर हेर्दा भने १९७९ देखियता काँडे भ्याकुरको सङ्ख्या स्थिर रहेको देखिन्छ। र फेरि पनि, त्यो सङ्ख्या ठ्याक्कै कति हो वा हाराहारी कति हो भनेर जान्नको लागि भने विभिन्न क्षेत्रको घनत्व अध्ययन गर्न जरुरी हुन्छ। यहाँ देखाइएको सङ्ख्याहरू एउटा अध्ययनमा पाइएको घनत्वको आधार र इबर्ड डेटा अनुसार मोडल गरिएको सङ्ख्याहरू हुन्।

इबर्ड डेटा अनुसार नेपालमा काँडे भ्याकुर २५९ छुट्टाछुट्टै स्थानहरूमा रेकर्ड गरिएको छ। ग्राफ स्रोत: अनुज घिमिरे। डेटा स्रोत: इबर्ड

नेपालमा मात्र पाइने यो युनिक चराको बारे अन्य कुरा थाहा पाउन त यस प्रजातिको अध्ययनमा जोड दिनुपर्ने हुन्छ। र त्यसको लागि आर्थिक सहयोगको जरुरत छ। आशा गरौं आउने दिनहरूमा सरकार लगायत अन्य निकायहरूको ध्यान यो प्रजातिमा पनि जान्छ र हामीले यो चराको बारे अझै धेरै कुरा जान्नेछौं। कुनै पनि पन्छीको संरक्षणको लागि त्यसबारे बुझ्न जरुरी हुन्छ र नेपालमा मात्र पाइने यो सुन्दर प्रजातिको अवस्थाबारे जान्न यस प्रजातिमा अझै धेरै अध्ययनको जरुरी छ। र अध्ययनसँगै सरकार वा सरोकारवाला निकायले यस प्रजातिको संरक्षणमा पनि ध्यान दिनसकोस्।

महिना अनुसार काँडे भ्याकुर देखिने आवृत्ति। ग्राफ स्रोत: अनुज घिमिरे। डेटा स्रोत: इबर्ड
लेखक
अनुज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?