+
+
Shares

मनसुनमा हरियाली कालिञ्चोक

जहाँ चौंरी गोठहरूले जीवनको कथा भन्छन्

कालिञ्चोक हिउँ पर्ने बेलामा मात्र होइन, मनसुनमा पनि उस्तै मनमोहक हुन्छ। हरियाली खर्क, चरिरहेका चौंरीका बथान र बादलको लुकामारीले कालिञ्चोकलाई प्रकृतिको सुन्दर चित्रजस्तै बनाइदिन्छ।

जीवन लामा जीवन लामा
२०८३ भदौ ६ गते १३:५३
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिञ्चोक अहिले हरेक मौसममा घुमन्तेको रोजाइ बन्न थालेको छ, जहाँ हिउँ, हरियाली, बादल र चौंरीका बथानले दृश्य बदलिरहन्छन्।
  • कुरी आसपास लालबहादुर थामी, गुम्बा थामी र कालिञ्चोक याक चिज फर्मका सञ्चालकहरूले चौंरीको दूधबाट चिज उत्पादन गरिरहेका छन्।
  • फोन र इन्टरनेटको सुविधा नहुँदा पनि कालिञ्चोकका युवाहरू चौंरीपालनमार्फत आफ्नै ठाउँमा आम्दानी र सम्भावना खोजिरहेका छन्।

कालिञ्चोक सबैका लागि सधैं आकर्षणको केन्द्र बन्ने गर्छ। पहिले–पहिले हिउँ परेका बेला मात्रै पुगिने कालिञ्चोक अहिले हरेक मौसममा घुमन्तेको रोजाइ बन्न थालेको छ। मौसम फेरिँदा कालिञ्चोकको रूप पनि फेरिन्छ।

हिउँले सेताम्मे बनेको कालिञ्चोक होस् वा वर्षायाममा हरियालीले ढाकिएको खर्क, हरेक मौसमको आफ्नै सौन्दर्य छ। घुमन्तेहरूले फरक–फरक समयमा कैद गरेका तस्बिर र भिडियोले पनि कालिञ्चोकको यही बदलिँदो सौन्दर्यलाई चिनाइरहेका छन्।

पछिल्लो समय मलाई पनि कालिञ्चोकका हरेक मौसमले तान्न थालेको छ। चरिकोटबाट नजिकको गन्तव्य भएर मात्र होइन, ‘कालिञ्चोक’ शब्दले नै मनमा छुट्टै उत्साह जगाउँछ। कालिञ्चोक जाने मन लागेपछि कुरीमा अवस्थित होटल सुनपातीका सञ्चालक हरि ओलीसँग प्रस्ताव राखेपछि यात्रा झनै सहज हुने गर्छ।

यस वर्षको कालिञ्चोकतर्फको यो पहिलो यात्रा थियो। हरियाली मौसममा कालिञ्चोक पुग्दा चौंरीसँगको भेटले यात्रालाई झनै रमाइलो बनायो। कुरी क्षेत्रमा भदौ महिनाभरिजसो चौंरीका गोठहरू रहन्छन्।

हरियाली खर्कमा चरिरहेका चौंरीका बथान, वरिपरि फैलिएको खुला मैदान, माथिबाट बिस्तारै ओर्लिरहेका बादल र बादलले आधा ढाकेको जङ्गल- दृश्य आफैंमा कुनै चित्रकारले बनाएको चित्रजस्तो लाग्थ्यो।

हरियो मैदानमा चौंरीहरू आ–आफ्नै तालमा चरिरहेका थिए। कोही घाँस टिपिरहेका थिए, कोही उभिएर वरिपरि नियालिरहेका थिए त कोही एकअर्कासँग खेलिरहेका। टाढाबाट हेर्दा हरियो खर्कमाथि छरिएका सेता–काला चौंरीका बथानले प्रकृतिको सुन्दर चित्रमा जीवन थपिदिएजस्तो लाग्थ्यो। बादलले कहिले जङ्गल ढाक्थ्यो, कहिले खुला मैदानमा घामको उज्यालो पोखिन्थ्यो। केही क्षणमै फेरिने त्यो दृश्यलाई क्यामेरामा कैद गरिरहन मन लाग्थ्यो।

चौंरीको तातो दूध, छुर्पी र चिजको स्वादको आफ्नै लोभ छ। यही लोभले पनि होला, चौंरीको गोठ देख्नेबित्तिकै कुनै न कुनै बहाना बनाएर गोठतिर पुगिहाल्छु। चौंरीसँग नजिकिनु, गोठमा केही समय बिताउनु र चौंरीधनीसँग कुराकानी गर्नु मेरो यात्राको एउटा अभिन्न हिस्साजस्तै बनेको छ।

कुरी बजारनजिकै लापिलाङका लालबहादुर थामीको चौंरीगोठ रहेछ। उहाँसँग मेरो चिनजान पुरानै हो। गोठमा पुग्दा दुई दिनअघिको दूध तताएर दिनुभयो। चिसो मौसममा चौंरीको तातो दूध पिउँदा शरीर मात्र होइन, मन पनि न्यानो भयो। हरियाली कालिञ्चोकको वातावरणले मन तानिरह्यो। सयौं तस्बिर खिचिए; कहिले बादललाई, कहिले जङ्गललाई, कहिले खर्कलाई त कहिले चौंरीका बथानलाई।

कुरीनजिकै घ्याङडाँडामा पुग्दा फेरि चौंरीको ठूलो बथान देखियो। यसै पनि हरियाली खर्क रमाइलो थियो, त्यसमाथि चौंरीको बथानले सुनमा सुगन्ध थपेझैं लाग्यो। फोटो खिच्न छाडेर चौंरीकै नजिक पुगेँ। तिनको चाल, हिँडाइ र शान्त स्वभाव नियाल्दै घण्टौं बितेछ। त्यहाँ पुगेपछि समय बितेको पत्तै भएन। लाग्यो, दिनभरि यही चौंरीसँगै बसेर हरियाली खर्क नियालिरहुँ।

टुटुवान खर्कतिर पुग्दा गुम्बा थामीले आलु उसिनेर दिनुभयो। चिसो खर्कमा तातो आलुको स्वाद पनि गज्जबको हुँदो रहेछ। कुराकानी गर्दै जाँदा उहाँ १० वर्ष भारतमा काम गरेर फर्किएपछि चौंरीपालनमा लाग्नुभएको रहेछ भन्ने थाहा भयो।

गुम्बा थामीले सुनाउनुभएका जीवनका कथा सुन्दा लाग्यो— उहाँको जीवन आफैंमा एउटा फिल्म हो। परदेशको रोजगारीदेखि चौंरीगोठसम्मको यात्रा, दुःख–सुखका अनुभव र आफ्नै ठाउँमा केही गर्ने अठोटका कथा सुन्दा अझ धेरै समय उहाँसँगै बस्न मन लाग्यो। तर समय कम थियो, उहाँको जीवनकथा सुन्दै हामी अगाडि बढ्यौं।

त्यसपछि पदम थामी, नीरबहादुर थामी र रमेश थामीले सञ्चालन गरेको कालिञ्चोक याक चिज फर्म पुग्यौं। त्यहाँ पुगेपछि त झनै अर्कै संसारमा पुगेजस्तो लाग्यो। न मोबाइलमा फोन लाग्छ, न इन्टरनेटको सुविधा छ; तर आधुनिक संसारसँगको त्यो दूरीले त्यहाँको जीवनलाई रोकेको थिएन। चार जना मानिस आ–आफ्नो काममा व्यस्त थिए। बाहिर चिसो हावा चलिरहेको थियो। भित्र तातो अगेनामा दूध उम्लिरहेको थियो। ठूलो भाँडोमा चिज बनाउने तयारी भइरहेको थियो। वरिपरि हेर्दा मिहिनेत, पसिना र आत्मनिर्भरताको एउटा छुट्टै संसार देखिन्थ्यो।

फर्ममा प्रशस्तै चिज स्टोर गरेर राखिएको रहेछ। हामीलाई पनि कोसेलीका रूपमा चिज खुवाउनुभयो। चिजको स्वादसँगै उहाँहरूको मिहिनेतको स्वाद पनि महसुस भयो। त्यहाँबाट फर्किँदा मनमा एउटा प्रश्न खेलिरह्यो— बेरोजगारीको समस्या भन्दै दैनिक सयौं युवा विदेशिने गर्छन्; कोही खाडी पुग्छन्, कोही भारत, कोही युरोप र अमेरिकाको सपना बोकेर हिँड्छन्।

तर यही कालिञ्चोकको चौंरी खर्कमा यी युवाहरूले आफ्नै ठाउँमा आफ्नो संसार खोजिरहेका छन्। न फोनको सुविधा छ, न इन्टरनेटको सहज पहुँच। सहरको सुविधाबाट टाढा रहेर पनि उनीहरू चौंरीको दूधलाई चिजमा बदलिरहेका छन्, आफ्नो श्रमलाई आम्दानीमा र खर्कलाई सम्भावनामा बदलिरहेका छन्।

कालिञ्चोकको हरियाली खर्कमा चरिरहेका चौंरीका बथान हेर्दा प्रकृतिको सौन्दर्य मात्र देखिँदैन, त्यहाँको जीवन पनि देखिन्छ। बादलले ढाकेको जङ्गल, खुला मैदानमा फैलिएको हरियो घाँस, टाढा–टाढासम्म छरिएका चौंरीका बथान र चिसो हावासँगै उठेको गोठको धुवाँ— यी सबै दृश्यले कालिञ्चोकलाई केवल पर्यटकीय गन्तव्यभन्दा माथि उठाएर जीवन र सम्भावनाको एउटा सुन्दर कथा बनाइदिन्छन्।

सायद त्यसैले मलाई कालिञ्चोकले बारम्बार बोलाइरहन्छ— हरेक पटक नयाँ दृश्य देखाउन, नयाँ मान्छे भेटाउन र नयाँ कथा सुनाउन।

लेखक
जीवन लामा

जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?