एन्थ्रोपिकले आफ्नो एआई असिस्टेन्ट ‘क्लाउड’लाई प्रभावकारी रूपमा प्रयोग गर्न र यसका विभिन्न फिचरहरू सिकाउने उद्देश्यले नि:शुल्क अनलाइन सिकाइ प्लेटफर्म ‘क्लाउड एकेडेमी’ सार्वजनिक गरेको छ ।
साधारण च्याटबटबाट एआई प्रविधि स्वायत्त एजेन्ट्सतर्फ अघि बढिरहेको बेला एन्थ्रोपिकले यो प्लेटफर्म ल्याएको हो । यो एकेडेमीमा क्लाउड एआईका आधारभूत कुराहरूदेखि प्रम्प्टिङ, क्लाउड कोड, क्लाउड ट्याग र क्लाउड प्लेटफर्मको प्रयोग गरी क्लाउड एआई चलाउन सिकाइन्छ ।
सुरुवाती प्रयोगकर्ता, डेलभलपर्स र व्यावसायिक प्रयोगकर्ताहरूलाई लक्षित गरी तयार पारिएको यो कोर्समा अंग्रेजी भाषामा उपलब्ध छन् । यसको प्रयोग गर्न अन्यमा जस्तो प्लेटफर्मभित्र साइन इन गरिहाल्नु पर्ने बाध्यता पनि छैन ।
के–के छन् कोर्समा ?
क्लाउड एकेडेमीलाई एन्थ्रोपिकको एआई इकोसिस्टमसम्बन्धी नि:शुल्क अनलाइन विद्यालयको रूपमा हेरिएको छ ।
यसमा एआईका आधारभूत कुराहरूबाट सुरु गरेर उत्पादन अनुसारका चरणहरू सिकाइन्छ । यसमा क्लाउड डट एआई, क्लाउड कोवर्क, क्लाउड कोड, क्लाउड ट्याग र क्लाउड प्लेटफर्म सम्बन्धी अलग–अलग कोर्सहरू छन् ।
सुरुवातकर्ताहरूका लागि राम्रो प्रम्प्ट लेख्ने तरिका, प्रश्न सोध्ने र प्रोजेक्टहरू व्यवस्थित गर्ने तरिका सिकाइन्छ भने, अझ उन्नत प्रयोगकर्ताहरूका लागि क्लाउड कोड र एआई एजेन्ट्ससम्बन्धी प्राविधिक ज्ञान दिइन्छ ।
यसमा इन्जिनियरिङ उपकरण ‘क्लाउड कोड’ र एपहरू विकास गर्ने सामग्रीहरू समेत समावेश छन् । केही कक्षाहरूमा प्रयोगात्मक अभ्याससमेत राखिएको छ जसले सैद्धान्तिक कुरा मात्र नभई काम गर्दै सिक्ने अवसर दिन्छ । लग–इन गर्ने प्रयोगकर्ताले भने आफ्नो सिकाइको प्रगति सुरक्षित (सेभ) गरेर राख्न सक्नेछन् । लभइन नगर्दा त्यो सुरक्षित रहँदैन ।
एन्थ्रोपिकले किन ल्यायो यो प्लेटफर्म ?
पछिल्लो समय एआई उपकरणहरू शक्तिशाली बन्दै गए पनि धेरै प्रयोगकर्ताहरू अझै पनि आफैं परीक्षण गरेर वा अनधिकृत ट्युटोरियलहरूको भर पर्न बाध्य छन् । एन्थ्रोपिकले आधिकारिक र व्यवस्थित बनाउँदै यी कुरा एकै ठाउँमा उपलब्ध गराएर यो अवरोध हटाउन खोजेको हो ।
क्लाउडलाई कुराकानी गर्ने च्याटबटमा मात्र सीमित नराखी अनुसन्धान, कार्यस्थलका कामहरू र स्वायत्त एजेन्टका रूपमा प्रयोग गर्न थालिएको छ ।
उदाहरणका लागि ‘क्लाउड ट्याग’ मार्फत टिमहरूले स्ल्याकमा क्लाउडलाई जोडेर साझा तथ्याङ्क र उपकरणहरूसँग काम गर्न सक्छन् । यसले प्रयोगकर्ताहरूलाई एआई एजेन्टलाई सुरक्षित र प्रभावकारी ढङ्गले कामको जिम्मा लगाउन सिकाउँछ ।
यो एकेडेमीले डेभलपरहरूलाई ‘क्लाउड कोड’ र एपीआई प्रयोग गर्न सिकाएर र व्यवसायहरूलाई एजेन्टमा आधारित सुविधाहरू जोड्न सहयोग गरेर कम्पनीको इकोसिस्टमलाई थप फराकिलो बनाउन मद्दत गर्ने देखिन्छ । यसको मुख्य उद्देश्य प्रयोगकर्तालाई सामान्य च्याटबटसँग प्रश्न सोध्न मात्र होइन, एआई एजेन्टलाई पूरै काम कसरी जिम्मा लगाउने भन्नेबारे दक्ष बनाउनु रहेको कम्पनीको भनाई छ ।
यद्यपि, एन्थ्रोपिक एकेडेमी मार्च २०२६ मै १३ नि:शुल्क कोर्ससहित सुरु भएको थियो, जुन स्किलजार प्लेटफर्ममा होस्ट गरिएको थियो । २१ अगस्ट यो नयाँ घोषणा भने यसैलाई थप विस्तार गरी करिब २० कोर्ससम्म पुर्याइएको हो । र, क्लाउड एकेडेमी नामबाट ल्याइएको देखिन्छ ।
यसमा पाठ्यक्रम पूरा गरेपछि प्रमाणपत्र (सर्टिफिकेट) पनि दिइने एन्थ्रोपिकले जनाएको छ । साथै, प्रोफेसर जोसेफ फेलर र रिक डाकनसँगको सहकार्यमा तयार पारिएको ‘एआई फ्लुएन्सी‘ कोर्स पनि यसमा समावेश छ, जसले प्रयोगकर्तालाई ‘फोर डी फ्रेमवर्क‘ (डेलिगेसन, डेस्क्रिप्सन, डिस्क्रिमिनेसन, डिलिजेन्स) मार्फत एआईसँग प्रभावकारी रूपमा काम गर्ने तरिका सिकाउँछ ।
प्रतिक्रिया 4