+
+
Shares

सरकारको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्छु : मन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा परिष्कृत गर्न सबै सरोकारवालाको सुझाव समेटिने प्रतिवद्धता व्यक्त गरे ।
  • उनले शिक्षामा कुल बजेटको करिव ११ प्रतिशत मात्र छुट्याइएको भन्दै कम्तीमा २० प्रतिशत विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताए ।
  • उहाँले २०२८ सालपछि पहिलोपटक नयाँ ऊर्जासाथ विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो ।

७ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सुझावलाई समेटिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा बोल्दै उनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई स्वीकार गर्दै समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् ।

मन्त्री पोखरेलले शिक्षामा लगानीको प्रसङ्ग उठाउँदै कुल बजेटको कम्तीमा २० प्रतिशत हिस्सा शिक्षामा विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा हाल करिव ११ प्रतिशत मात्र बजेट रहेको जानकारी दिए ।

प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिकका विषयमा स्पष्ट पार्दै मन्त्री पोखरेलले संघीय सरकारले पठाउने रकम ‘सशर्त अनुदान’ मात्र भएको उल्लेख गरे ।

‘हामीले शिक्षामा बजेट बढाउँदै लैजानुपर्छ । अहिले विनियोजित बजेटको पनि करिव ७० प्रतिशत रकम स्थानीय तहमा अनुदानका रूपमा जाने गर्दछ । त्यसैले शिक्षा सुधारमा अधिकारसँगै स्थानीय सरकारको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ,’ मन्त्री पोखरेलले भने ।

काठमाडौं महानगरपालिकाको उदाहरण प्रश्तुत गर्दै उहाँले संघीय सरकारबाट न्युन अनुदान प्राप्त हुँदा पनि स्थानीय तहले आफ्नो स्रोत परिचालन गरी कर्मचारीको पारिश्रमिक वृद्धि गर्नसक्ने बताए । शिक्षा प्रणालीमा रहेका कमजोरीहरूलाई आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

२०२८ सालपछि पहिलोपटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढेको भन्दै उनले यसलाई दीर्घकालीन दस्तावेजका रूपमा विकास गरिने बताए ।

‘कुनै नि समस्या समाधानको पहिलो खुड्किलो भनेकै समस्यालाई स्वीकार गर्नु हो । म संघीय सरकार र मन्त्रालयको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्छु । सबै सरोकारवालाहरूले पनि आ–आफ्नो ठाउँबाट कमजोरी स्वीकार गरेर सामूहिक रूपमा समाधान खोज्न आवश्यक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?