News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले हिमाली पथप्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुनुपर्ने बताइन् ।
- उनले उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए पर्वतीय पर्यटन क्षेत्रमा चुनौती आउने चेतावनी दिइन् ।
- उनले २०३५ सालको पर्यटन ऐनका आधारमा चलिरहेको क्षेत्रका समस्या नयाँ पर्यटन विधेयकमा समेट्न सुझाव दिन आग्रह गरिन् ।
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हिमाली पथप्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्ण चुनौतीको सामना गर्नुपर्ने बताए ।
‘२०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र चलिरहेको छ । अहिले त्यो ऐन परिवर्तन गर्ने ठाउँमा पुगेको छु । र पर्यटन विधेयकमा भोलिमात्रै सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ । आरोहीहरूको समस्या ऐनमा कसरी समेट्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर आफ्नो सुझाव दिन समेत आग्रह गर्दछु । तपाईंहरूले आफ्नो अधिकारको लागि आफ्नो स्पष्टसँग माग राख्नुभएन भने तपाईंहरू त्यो संस्थामा बस्नुको कुनैपनि औचित्य हुनेछैन,’ उनले भने ।
उनले २०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएकोमा अहिले नयाँ ऐन बन्न लागेकोमा खुशी समेत व्यक्त गरे ।
उनले सोमबार संसदीय समितिको बैठकमा पर्यटन विधेयकमाथि सरोकारवाला निकायहरूसँग छलफल भइरहेको जानकारी दिँदै पर्वतारोहीका समस्या र अधिकार ऐनमा कसरी समेट्ने ? भन्ने विषयमा आफ्ना सुझाव राख्न समेत आग्रह गरे ।
‘कुनैपनि व्यक्तिगत स्वार्थ र राजनीतिबाट अलग रहेर पर्वतारोही क्षेत्रको अधिकार, नेपालको पर्यटन क्षेत्रको भविष्यको विषयमा आफ्नो कुरा तपाईंहरूले राख्नुभयो भने त्यसैअनुसार ऐन बन्न सहजता हुनेछ । म सधैं तपाई हाम्रो क्षेत्रमा रहेका समस्याको समाधानका लागि प्रतिबद्ध छु । प्राकृतिक रुपमा हामीसँग पर्याप्त हिमाल हुँदाहुँदै पनि हामीले पर्वतारोहीलाई रोक्न सकिरहेको अवस्था छैन,’ उनले भने, ‘त्यसकारण पर्वतारोहण क्षेत्रमा नीतिगत तहबाट सुधार गर्नुपर्छ । पर्वतरोही र पर्यटनको क्षेत्रमा तथा पर्वतारोहीलाई पलायन हुनबाट रोक्नका लागि हामी सबै एकजुट भएर अगाडि बढ्न सकेनौँ भने अझ विडम्बनापूर्ण दिनहरू आउनसक्छन् ।’
प्रतिक्रिया 4