News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाको मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन विद्यालय परिसरमै ऐतिहासिक संग्रहालय स्थापना गरेको छ ।
- संग्रहालयमा पुराना कृषि औजार, घरायसी सामग्री र ऐतिहासिक मुद्रा संकलन गरी नयाँ पुस्तालाई इतिहास र प्रविधिको विकासक्रम बुझाइँदैछ ।
- विद्यालयका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले भने, ‘हाम्रा विद्यार्थीले विगतका पुस्ताको जीवनशैली, प्रविधिको विकासक्रम र सामाजिक परिवर्तनलाई नजिकबाट बुझ्न सकून् भन्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको हो ।’
३० साउन, धनकुटा । विद्यालयलाई सामान्यतया अक्षर ज्ञान, विषयगत अध्ययन र सीप सिकाउने थलोका रुपमा चिन्ने गरिएको छ । तर, केही विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, सांस्कृतिक र ऐतिहासिक अनुभवसँग जोड्ने प्रयास गरिरहेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९, तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयको पनि परिचय फरक रहेको छ । विद्यार्थीले कक्षाकोठामा पाठ पढ्नुका साथै विद्यालय परिसरमै स्थापना गरिएको संग्रहालयमार्फत विगतको जीवनशैली, संस्कृति र प्रविधिको विकासक्रमलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाएका छन् ।
विश्वकै सबैभन्दा होचो अरुण उपत्यकामा रहेको तुम्लिङटार समुद्री सतहबाट करिब ४ सय ५७ मिटर उचाइमा रहेको छ । ऐतिहासिक र भौगोलिक महत्व बोकेको स्थानमा रहेको विद्यालयले शैक्षिक गुणस्तरलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले संग्रहालय स्थापना गरेको हो । वि.सं. २०१६ सालमा स्थापना भएको विद्यालयले स्थानीय समाजमा प्रयोग हुँदै आएका पुराना सामग्री, कृषि औजार, घरायसी सामान तथा ऐतिहासिक महत्वका वस्तु संकलन गरी एउटा कोठालाई संग्रहालयका रुपमा विकास गरेको छ । संग्रहालयको उद्देश्य विद्यार्थीलाई पुस्तकमा मात्र सीमित नराखी विगतको समाज, संस्कृति, प्रविधि र जीवनशैलीबारे प्रत्यक्ष ज्ञान दिलाउनु रहेको विद्यालयका प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले जानकारी दिए ।

संग्रहालयमा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित दाँदे, हलो, फाली, फ्याउरी, कोदाली, जुवा, हल्लुड, जुवा लगायतका कृषि औजार सुरक्षित रुपमा राखिएका छन् । यसले आधुनिक कृषि प्रविधिसँगै परम्परागत खेती प्रणाली कस्तो थियो भन्ने कुरा नयाँ पुस्तालाई बुझ्न मद्दत पुर्याएको प्रधानाध्यापक भेटुवालले बताए । त्यस्तै घरायसी जीवनसँग जोडिएका तान, गुप्ते, ठेकी, मदानी, नेती, पोरा, ऊनी झोला, लालटिन, पेट्रोलम्याक्स, आइरन, ओदान, डालो, कुपी, पत्रे ठेकी, चुलेसी, काठको पिरा, ढाकर, छाता, घुम, भुने, महला, तोक्मा लगायत सामग्री पनि संग्रहालयमा राखिएका छन् । कतिपय सामग्री अहिले विद्यार्थीका लागि केवल किताबमा पढ्ने विषय मात्र बनेका बेला संग्रहालयले ती वस्तु प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरेको छ ।

संग्रहालयमा पुराना सिक्का, तामाका पैसा, डोली पैसा, विभिन्न समयका चलनचल्तीका मुद्रा, पुराना डिजिटल क्यामेरा, टेलिभिजन, क्यासेट, घडी, ग्रामोफोन, रेडियो, टेलिफोन तथा माटो र काठबाट बनेका भाँडाकुँडा समेत सुरक्षित राखिएका छन् । यस्ता सामग्रीले समाजमा प्रविधिको विकास कसरी भयो भन्ने कुरालाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् । विद्यार्थीले संग्रहालयबाट केवल वस्तु हेर्ने मात्र होइन, ती वस्तुको प्रयोग, ऐतिहासिक महत्व र समाजमा तिनले खेलेको भूमिकाबारे पनि जानकारी प्राप्त गर्ने गरेको प्रधानाध्यापक भेटुवालले बताए । ‘हाम्रा विद्यार्थीले विगतका पुस्ताको जीवनशैली, प्रविधिको विकासक्रम र सामाजिक परिवर्तनलाई नजिकबाट बुझ्न सकून् भन्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको हो’, उनले भने ।

विद्यालयको बनाएको संग्रहालय खाँदबारी नगरपालिका सहित संखुवासभाका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी मात्र होइन, छिमेकी जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थी र शिक्षकहरू पनि संग्रहालय अवलोकन गर्न पुग्ने गरेका छन् । विद्यालय पुग्ने अधिकांश आगन्तुकले संग्रहालय अवलोकन नगरी नफर्केको विद्यालयले जनाएको छ । संग्रहालयले विद्यार्थीमा अनुसन्धान गर्ने बानी, जिज्ञासा र स्थानीय इतिहासप्रतिको चासो बढाउने गरेको छ । पाठ्यपुस्तकमा उल्लेख भएका विषयलाई प्रत्यक्ष वस्तुसँग तुलना गरेर बुझ्दा सिकाइ अझ प्रभावकारी हुने गरेको छ ।जसले गर्दा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने गरेको छ ।

मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । २०७३ सालदेखि विद्यालयले माध्यमिक तहमा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल नर्सरीदेखि कक्षा १२ सम्म एक हजार ४ सय ४२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । चुस्त व्यवस्थापन, सिर्जनात्मक शैक्षिक गतिविधि, प्रभावकारी शिक्षण पद्धति, व्यवहारिक सिकाइ र उत्कृष्ट शैक्षिक नतिजाका कारण विद्यालय प्रदेशकै नमुना विद्यालयका रुपमा परिचित भएको छ भने नमुना विद्यालयको पाउने सेवाहरू पाउँदे आएको छ । संग्रहालयजस्ता नवीन अभ्यासले विद्यालयलाई अझ विशिष्ट बनाएको छ ।
पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै पुराना सामग्री क्रमश: हराउँदै गएका छन् । तर, पुराना सामग्रीको संरक्षण गर्दै नयाँ पुस्तासम्म ज्ञान हस्तान्तरणका लागि विद्यालयले थालेको संग्रहालय अभियान समाजको इतिहास र संस्कृतिको अभिलेख बन्दै गएको छ । जसले विद्यार्थीलाई विगतलाई बुझ्दै आधुनिक शिक्षा सहित भविष्य निर्माण गर्ने प्रेरणा दिइरहेको प्रधानाध्यापक भेटुवालको भनाइ छ ।

प्रतिक्रिया 4