१३ असोज, रसुवा (धारापानी) । कालिका गाउँपालिका–३ धारापानीका हुतराज लामिछाने (८६) भोटेकोसी बाढीपछि बेचैन छन्। साथमा वा वरपर कोही होस् अथवा नहोस्, उनी एकोहोरो बोलिरहन्छन्।
‘रातभर पनि बोलिरहनुहुन्छ। त्यो घटनापछि राम्रो होसमा आउन सक्नुभएको छैन,’ हुतराजकी माइली बुहारी यमुना ढकालले भनिन्। असोज ७ गते अनलाइनखबरको टोली उनको घर पुग्दा हुतराज आँसुले भरिएका आँखा पुछ्दै सिँढीमा बसिरहेका थिए।
नौ दशक नजिकको उमेरमा हुतराजले खेप्नुपरेको बज्रपात सम्झने हो भने उनको अवस्था अस्वाभाविक लाग्दैन।
‘पाँच जना छोरी जन्मेपछि सरासरी तीन छोरा जन्माउनुभएको थियो। छोराहरू भनेपछि हुरुक्कै हुनुहुन्थ्यो,’ यमुनाले भनिन्, ‘तर धेरै माया गरेका दुई छोरालाई बाढीले एकैपटक लग्यो।’
भदौ १० गतेको बाढीमा हुतराजका छोराहरू बलराम (३८) र कृष्ण (३५) हराएका छन्। दुवै चालक थिए। जेठो बलराम काठमाडौंबाट केरुङतर्फ जाँदै थिए।
‘बेत्रावतीदेखि स्याफ्रुबेंसीतिर निस्कँदै हुनुहुन्थ्यो रे !’ यमुनाले सुनाइन्, ‘धुन्चे पुगेका अरू साथीहरू जोगिए। पछि पर्नुभएको दाजु हराउनुभयो।’

१६ वर्षदेखि गाडी चलाउन थालेका बलरामको आफ्नै ‘डिब्बा’ अर्थात् मालबाहक ठूलो गाडी थियो। धारापानीमा आफ्नै डिब्बा हुनु एक प्रकारले फरक परिचय पनि रहेछ।
भाइ कृष्ण भने केरुङ नाकाबाट गाडी वारपार गराउने काम गर्थे।
‘उताबाट चिनियाँहरूले केरुङसम्म ल्याउँछन्, रसुवाका चालकहरूले चिनियाँहरूले ल्याएको गाडी अरू नेपाली चालकसम्म पुर्याउने हो,’ स्थानीय नवराज लामिछाने भन्छन्, ‘कृष्णले पनि त्यही काम गर्थे।’

यसरी गाडीलाई नाका वारपार गराउने काममा रसुवाका युवा चालकले अवसर पाउँथे। १६ वर्षदेखि गाडी चलाउँदै आएका कृष्ण पनि पछिल्लो ६ महिनादेखि नाका वारपार गराउने चालक बनेका थिए। बाढी आउँदा उनी रसुवागढीमै थिए।
‘फोनमा कुराकानी भइरहेको थियो। काम पाइरहेको छु, अलि फुर्सद भएपछि आउँछु भन्नुभएको थियो,’ पत्नी यमुना भन्छिन्, ‘तर बाढीपछि फोन लागेको छैन, सबैले बाढीमै बग्नुभयो भन्छन्।’
कृष्णका एक छोरा र एक छोरी छन्।
‘भर्खरका नानीहरू छन्। कमाएर ल्याउने मूल मान्छे नै हराउनुभयो,’ उनी भन्छिन्, ‘खोज्न कहाँ जाने ?’
वृद्ध ससुरासँगै उनी रोएर बसेकी छन्। बलरामका तीन छोरी र एक छोरा छन्।
‘नातिनातिनीहरू सानै छन्, म बुढो भएँ,’ हुतराजले भने, ‘यिनीहरूलाई कसले हुर्काउँछ ?’

भोटेकोसी बाढीले रसुवागढी नाकासहित घट्टेखोला, टिमुरे, स्याफ्रुबेंसी हुँदै जाने पासाङ ल्हामु राजमार्ग बगाउँदा धारापानी गाउँ पनि शोकमय छ।
‘हाम्रो लामिछाने परिवारकै सात जना ड्राइभर बाढीमा परे,’ स्थानीय नवराज लामिछाने भन्छन्, ‘धारापानी गाउँबाट २७ जना हराएका छन्।’
घरघरको पीडा
बाढीपछि अनलाइनखबरको टोली रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा स्थलगत रिपोर्टिङका क्रममा पुग्दा भेटिएका पीडितमध्ये ठूलो संख्या चालक परिवारका थिए। चीनसँग जोडिएको रसुवागढी प्रमुख नाका भएकाले पनि त्यस दिन पासाङ ल्हामु राजमार्गमा धेरै चालक थिए।
कोही साना तथा ठूला यात्रुबाहक गाडी चलाइरहेका थिए। मानसरोवर र गोसाइँकुण्डको सिजन भएकाले चालकहरूले पर्यटक बोकेका थिए। लाङटाङ पदमार्गका लागि आएका विदेशी पर्यटक पनि थिए।

केरुङ–काठमाडौं मालसामान ओसार्ने ठूला गाडी पनि चलिरहेका थिए। यी गाडीमा विभिन्न जिल्लाका चालक थिए। त्यसमध्ये रसुवाका चालकको संख्या पनि ठूलो थियो, किनकि स्थानीय हुनुको लाभ उनीहरूले नाकामा पाउँथे।
चिनियाँ पक्षबाट रसुवाका स्थानीयलाई दिइने सुविधाका कारण पनि यहाँका युवाको रोजाइमा ड्राइभिङ पेसा परेको स्थानीय बताउँछन्।
‘आकर्षक कमाइ हुने भएकाले हाम्रा दाजुभाइहरू ड्राइभर हुनुभयो। बाढीले सबैलाई बगायो,’ स्थानीय गोमादेवी घिमिरे भन्छिन्। उनका चार जना चालक दाजुभाइ बाढीमा हराएका छन्। हराएकामध्ये कुमार लामिछाने (३८) उनका सहोदर भाइ हुन्।
‘कुमार बाढीमा परेपछि घरको सपना नै हराएको छ,’ उनले भनिन्।

आठ वर्षदेखि गाडी चलाउने कुमारले भर्खरै ‘डिब्बा’ किनेका थिए। घरको बचत र ऋण गरेर डिब्बा किनेका कुमार घर धान्ने मुख्य व्यक्ति थिए।
‘तिमीहरू धेरै पिर नगर, म छु नि ! भन्नुहुन्थ्यो,’ पत्नी प्रसुनाले अनलाइनखबरसँग भनिन्।
काठमाडौं–रसुवागढी रुटमा गाडी चलाउने कुमार बाढी आउनुभन्दा एक दिनअघि, भदौ ८ गतेसम्म घरमै थिए। तर गाडी भन्सार पास हुने खबर आएपछि भदौ ९ गते रसुवागढी गएका थिए।
‘भन्सार पास पनि त्यही दिन भयो। तर राति भयो भनेर चौकीले छाडेन,’ प्रसुना भन्छिन्, ‘भोलिपल्टै ६ बजे हिँड्नुभएछ।’
त्यही बिहान कुमारले पत्नी प्रसुनालाई भिडियो कल गरे।
‘तपाईं किन यति चाँडो ? भनेर सोध्दा, छिट्टै गेट खुल्यो भन्नुभयो,’ प्रसुना सम्झिन्छिन्। त्यही क्रममा उनले पहिरो खसेकाले जाममा परेको जानकारी पनि दिएका थिए।
‘१५ मिनेटजति कुरा गरेको थिएँ,’ प्रसुना भन्छिन्, ‘एकछिनपछि बाढी आयो भन्ने सुनेपछि फोन गर्दा स्विच अफ भइसकेको थियो।’

रसुवागढी, घट्टेखोला, टिमुरेमा केही पनि छैन भन्ने सुनेपछि प्रसुनाले पति कुमारलाई फोन गरिन्।
‘फोन लाग्दैन, खोज्न कहाँ जाने ?’ उनी भन्छिन्, ‘सास न लास !’
कुमारसँग एउटै मेसमा खाना खाने नौ जनामध्ये सात जना चालक बेपत्ता भएको खबर उनले पाएकी छन्। पति हराएपछि प्रसुनाको काँधमा सासूससुराको स्वास्थ्य र छोराछोरीको भविष्यको जिम्मेवारी थपिएको छ।
ससुरा दिवाकर (७२) र सासू चेतकुमारी (६५) बिरामी भएकाले नियमित औषधि खुवाउनुपर्छ। १६ वर्षकी छोरी र ९ वर्षका छोरा पढ्दै छन्।
‘ऋण २० लाखभन्दा बढी छ होला,’ उनको पीडा छ, ‘सासूससुरालाई नियमित औषधि किन्नुपर्छ, छोराछोरी पढाउनुपर्छ।’
प्रसुनाकी छिमेकी सीता लामिछानेले पनि उस्तै पीडा भोगिरहेकी छन्। आउने मङ्सिरमा बिहे गराउने तयारी भइरहेको उनका छोरा सागर लामिछाने (३२) रसुवागढीबाट हराएका छन्। सागर जेठो छोरा थिए। उमेर घर्किँदै गए पनि बिहे नगरेकोमा सीतालाई चिन्ता थियो। यसपटक भने बल्ल उनी बिहे गर्न तयार भएका थिए।
‘छोराले हुन्छ भनेपछि हामी बिहेको तयारी गर्दै थियौं,’ अनलाइनखबरसँग सीताले भनिन्, ‘तर सागर बाढीमा पर्यो भन्छन्।’

सागरको बिहे गराउने सोच केही वर्ष पहिलेदेखिकै थियो। तर भाइ सन्तोष जेल परेपछि उनलाई घर ल्याउने प्रयासमा सागर लागिरहेका थिए। सन्तोष बलात्कार आरोपमा थुनामा छन्।
‘भाइलाई फसाइएको हो, म निर्दोष साबित गराउँछु भनेर सागरले दुःख गरिरहेको थियो,’ सीताले भनिन्।
सागरले बहिनीको बिहे गराइदिएका थिए। बिहेपछि बहिनी जापानमा छिन्। उनका सात महिनाका छोरा हजुरआमा सीतासँग छन्।
‘चार महिनाको नानी हुँदा छोरी जापान गएकी हुन्, एउटा छोरा जेलमा छन्,’ आमा सीताले आँसु पुछिन्।
बाढी आउनु एक साताअघि मात्र सागर घर आएका थिए। १६ वर्षदेखि गाडी चलाउँदै आएका सागर तीन दिन घर बसेर भदौ ५ गते रसुवागढीतिर हिँडेका थिए।
‘कमाउन विदेश जाँदिनँ, यहीँ कमाएर तपाईंहरूलाई हेर्छु भन्थ्यो,’ सीताले सुनाइन्।
भीमप्रसादले ल्याएको लहर
राम्चेको वडा नम्बर १ बाहेक तुलनात्मक रूपमा सुरक्षित रहेको कालिका गाउँपालिकामा ठूलो संख्यामा मानवीय क्षति हुनुको एउटा कारण यहाँका धेरै मानिस चालक हुनु रहेको स्थानीय बताउँछन्।
स्थानीय गोमादेवी घिमिरेका अनुसार कालिकाका मात्र होइन, सिङ्गो रसुवा जिल्लामै घरपिच्छे र एउटै घरका एकभन्दा बढी पुरुष चालक छन्। चालक हुनु यहाँ एक प्रकारको संस्कृतिजस्तै बनेको छ। लामिछाने बस्ती पनि त्यही संस्कृतिबाट अछुतो थिएन।
स्थानीयको सम्झनामा लामिछाने परिवारलाई चालक पेसातर्फ आकर्षित गराउने व्यक्ति थिए, भीमप्रसाद लामिछाने। २०४७ सालतिर भीमप्रसादले गाडी चलाउँदा उनको चर्चा गाउँका युवाले सुने।
‘नाका खुल्यो, गाडी चलाउनेहरूको दिन फेरिन्छ भनेर कुरा हुन थाल्यो। त्यसपछि अरू युवाहरूजस्तै मेरो दाइ र म पनि चालक बन्यौं,’ स्थानीय नवराज लामिछाने भन्छन्, ‘नाकामा स्थानीय चालकले जस्तो सुविधा पाउँथे, त्यसबाट युवा पुस्ता आकर्षित भए।’

उनका अनुसार चीनबाट नेपालतर्फ गाडी पार गर्दा चालकले ७५ सय रुपैयाँसम्म पाउँछन्। यस्तो कमाइ हुने भएपछि रसुवाका युवामा चालक बन्ने होड चलेको उनी बताउँछन्। रसुवाका अरू गाउँजस्तै धारापानीका युवाहरू पनि गाडी लाइन मा जोडिँदै गए।
‘हरेकजसो घरमा ड्राइभर, दाजुभाइ र बाबुछोरा नै ड्राइभर बन्ने संस्कृति भयो,’ नवराज भन्छन्, ‘आज त्यही लहरले सबैलाई एकैपटक बगायो।’
नवराजले पनि पाँच वर्षअघिसम्म यही रुटमा गाडी चलाउँथे। २०७५ फागुन २३ गते केरुङ नाका वारपार गर्ने गाडी चलाउने क्रममा उनका दाजुको मृत्यु भयो।
‘हिउँमा गाडी फस्यो, गाडी निकाल्ने क्रममा चिसो पस्यो र दाजु बित्नुभयो,’ नवराज भन्छन्, ‘त्यसपछि मैले त्यो रुटमा गाडी चलाउन छाडें।’
स्थानीय रुटमा अटो चलाउने नवराजलाई दाजुको मृत्युपछि बदलेको निर्णयले बचायो।
‘म त जोगिएँ। तर मेरा साथीहरू, दाजु र काकाहरू सबै बग्नुभयो,’ उनी भन्छन्, ‘म पनि पर्थें होला, यही बाढीमा !’
कसले गरिदिने ड्राइभरका कुरा ?
भोटेकोसी बाढीले तहसनहस बनाएको क्षेत्रका प्रभावित परिवारमध्ये चालक परिवार पनि ठूलो संख्यामा छन्। रसुवा भौगोलिक रूपमा विकट हिमाली जिल्ला भएकाले पनि ड्राइभिङ यहाँ रोजाइको पेसा बनेको स्थानीय बताउँछन्। तर बाढीपछि चालकहरूको उद्धार, खोजी र तिनका परिवारको चिन्ता प्राथमिकतामा नपरेको पीडितहरूको गुनासो छ।
‘हाइड्रोपावरले आफ्ना कर्मचारी र कामदारहरूको कुरा गरिरहेको सुनिन्छ,’ भाइ गुमाएकी गोमादेवी घिमिरे भन्छिन्, ‘सेना, प्रहरी र सशस्त्रको पीडा र परिवारको कुरा सुनिन्छ। तर ड्राइभरहरूको पनि परिवार छ भन्ने कसैले गरेको सुनिँदैन।’
ड्राइभरले पनि सडकको कर तिरेर गाडी चलाउने गरेको राज्यले बिर्सिएको उनको गुनासो छ।
‘रुटको पैसा राज्यलाई तिरेर ड्राइभरहरूले गाडी चलाउँछन्, तर उनीहरू हराउँदा राज्यले प्राथमिकता दिएन,’ उनी भन्छिन्।

अर्का स्थानीय नवराज लामिछाने पनि चालकहरू राज्यको प्राथमिकतामा नपरेको तर्क गर्छन्।
‘ड्राइभरहरूको पनि जीवन थियो, परिवार छ भन्ने बिर्सन हुँदैन,’ उनी भन्छन्, ‘जसको युनियन छैन, कतिपयको लाइसेन्स नहोला। उनीहरूका बारेमा कसले बोलिदिन्छ, कसले गर्छ ड्राइभरहरूको कुरा ?’
सरकारी निकायले अहिलेसम्म बाढीमा कति चालक हराए भन्ने तथ्याङ्कसमेत सङ्कलन गर्न नसकेको पीडितहरूको भनाइ छ। अनौपचारिक क्षेत्रबाट गरिएको प्रारम्भिक अनुमानअनुसार ५ सयभन्दा बढी चालक बाढीमा बेपत्ता छन्। त्यसमध्ये ३ सयभन्दा बढीले पासाङ ल्हामु राजमार्गमा मालबाहक गाडी चलाउने गरेको बताइएको छ।
प्रतिक्रिया 4