+
+
Shares

गुप्तचर सल्लाहकारलाई ‘एआई जार’ बनाउन सकिने ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक्सियोस’ सँग कुरा गर्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनलाई प्रशासनको नयाँ ‘एआई जार’ बनाउन सकिने सङ्केत गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:५८

१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक्सियोस’ सँग कुरा गर्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनलाई प्रशासनको नयाँ ‘एआई जार’ बनाउन सकिने सङ्केत गरेका छन्। एआईका क्षेत्रमा सरकारी नियन्त्रण र नियमनको माग बढिरहेका बेला ट्रम्पले यस पदका लागि उपयुक्त पात्रको खोजी गरिरहेका हुन्।

एआई सम्बन्धी नेतृत्व कसलाई दिने भन्ने प्रश्नमा ट्रम्पले ‘मेरो दिमागमा एक जना व्यक्ति हुनुहुन्छ’ भन्दै क्लेटनतर्फ सङ्केत गरे। उनले भने, ‘क्लेटन असल व्यक्ति हुन्, उनी यहाँ उपलब्ध छन् र यो एउटा राम्रो विचार हो।’

ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले आगामी ३ देखि ४ दिनभित्र यस पदका लागि नाम घोषणा गर्ने इच्छा व्यक्त गरेका छन्।  ‘एआई जार’ को स्पष्ट जिम्मेवारी अझै तोक्न बाँकी रहे पनि ट्रम्पले यसअघि ‘एआई फोर्स’ नामक नयाँ सरकारी निकाय स्थापना गर्ने योजना रहेको बताएका थिए।

१८ वटा गुप्तचर निकायहरूको नेतृत्व सम्हालिरहेका क्लेटन राष्ट्रपति ट्रम्पका मुख्य गुप्तचर सल्लाहकार हुन्। गत जुलाईमा भएको आफ्नो संसदीय सुनुवाइका क्रममा क्लेटनले अर्थमन्त्री स्कट बेसेन्टको धारणासँग सहमति जनाउँदै गुप्तचर समुदायका लागि “एआई अवसर मात्र नभएर ठूलो खतरा पनि भएको” बताएका थिए।

ट्रम्प, प्रतिनिधि सभाका सभामुख माइक जोन्सन र एआई कम्पनीका उच्च अधिकारीहरूबीच एआई नवप्रवर्तन र सुरक्षाबीच सन्तुलन कायम गर्नेबारे छलफल भएको छ। बैठकमा कम्पनीहरूलाई आफैँ र एक-अर्काको नियमन गर्न प्रोत्साहन गर्ने विषयमा कुराकानी भएको थियो।

यसअघि सिलिकन भ्यालीका लगानीकर्ता डेविड स्याक्सले ‘एआई जार’ को भूमिका निर्वाह गरिरहेका थिए। गत मार्चमा उनको विशेष सरकारी कर्मचारीको पदावधि सकिएपछि उनले त्यो पद छाडेका थिए, यद्यपि उनले बाहिरै बसेर सल्लाहकारको रूपमा प्रभाव पारिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?