१४ असोज, काठमाडौं । विश्वभर व्यक्तिगत सम्पत्ति निरन्तर बढिरहेको भए पनि धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको छ। स्विस बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार विश्वको कुल व्यक्तिगत सम्पत्तिको झन्डै आधा हिस्सा (४८.४ प्रतिशत) मात्र १.५ प्रतिशत धनाढ्यहरूको हातमा केन्द्रित छ।
प्रतिवेदनअनुसार १० लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने यी ५ करोड ८० लाख वयस्कहरूको नियन्त्रणमा २५०.५९ ट्रिलियन डलर सम्पत्ति रहेको छ।
यसको ठीक उल्टो, विश्वका ४२.१ प्रतिशत वयस्क जनसंख्या (करिब १ अर्ब ६२ करोड मानिस) सँग १० हजार डलरभन्दा कम खुद सम्पत्ति छ, जसले समग्र सम्पत्तिको जम्मा ०.६ प्रतिशत (३.२२ ट्रिलियन डलर) मात्र हिस्सा ओगट्छ।
यसले नेपालजस्ता अतिकम विकसित तथा विकासशील देशका बहुसंख्यक नागरिकहरू अझै पनि सम्पत्ति पिरामिडको सबैभन्दा पिँधमै सङ्घर्ष गरिरहेको यथार्थ देखाउँछ ।
छिमेकी भारतमा ९ लाख ४४ हजार डलर-करोडपति
यूबीएसले यो वर्षको प्रतिवेदनमा विश्वको कुल सम्पत्तिको ९२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने ५६ वटा प्रमुख बजार (अर्थतन्त्र) हरूको मात्र विश्लेषण गरेको छ। यी ५६ देशको सूचीमा नेपाल भने समावेश छैन।
यद्यपि, दक्षिण एसियाबाट समेटिएको एकमात्र राष्ट्र भारतमा डलर-करोडपतिको संख्या ९ लाख ४४ हजार पुगेको छ। ट्र्याक गरिएका ५६ बजारमा जम्मा डलर-करोडपतिको संख्या ५ करोड ७५ लाख हाराहारी छ।
सन् २०२५ मा मात्रै विश्वभर झन्डै १० लाख नयाँ डलर-करोडपति थपिएका छन्, जसको अर्थ विश्वमा हरेक दिन औसत २,६८० जना नयाँ डलर-करोडपति बनिरहेका छन्।
दुई महाशक्तिमा सम्पत्तिको केन्द्रीकरण

प्रतिवेदनले विश्वको सम्पत्ति केही सीमित शक्ति राष्ट्रहरूमा मात्र थुप्रिएको देखाएको छ। विश्लेषण गरिएका देशहरूमध्ये अमेरिका र ग्रेटर चाइना (चीन, हङकङ, ताइवानसमेत) सँग मात्रै विश्वको आधाभन्दा बढी व्यक्तिगत सम्पत्ति रहेको छ।
कुल सम्पत्तिमध्ये ३५.७ प्रतिशत हिस्सा अमेरिकासँग छ भने १८.५ प्रतिशत हिस्सा ग्रेटर चाइनासँग छ।
यसैगरी, पश्चिमी युरोपले २१.९ प्रतिशत सम्पत्ति ओगटेको छ। प्रति वयस्क औसत सम्पत्तिका आधारमा स्विट्जरल्यान्ड ९ लाख १० हजार ३८२ डलरसहित विश्वमै पहिलो र अमेरिका ६ लाख ९६ हजार २७७ डलरसहित दोस्रो स्थानमा छन्।
उदीयमान बजारहरूको समग्र विश्वव्यापी सम्पत्तिको हिस्सा भने २६.२ प्रतिशत रहेको छ, जुन सन् २०२२ को २८.८ प्रतिशतको तुलनामा घटेको हो।
सम्पत्ति बढ्यो, तर वितरणमा ठूलो अन्तर
यूबीएसका अनुसार २०२५ मा अध्ययनमा समेटिएका बजारको कुल व्यक्तिगत सम्पत्ति १०.८ प्रतिशतले बढेको थियो। सम्पत्ति वृद्धिसँगै विभिन्न वेल्थ ब्राकेट्स् बीचको अन्तर पनि स्पष्ट देखिन्छ।
रिपोर्टको सम्पत्ति पिरामिडअनुसार १० हजार डलरभन्दा कम सम्पत्ति भएका १.६२ अर्ब वयस्कसँग ३.२२ ट्रिलियन डलर सम्पत्ति छ। १० हजारदेखि १ लाख डलरसम्म सम्पत्ति भएका १.५८ अर्ब वयस्कसँग ६३.१६ ट्रिलियन डलर छ।
१ लाखदेखि १० लाख डलरसम्म सम्पत्ति भएका ५८८ मिलियन वयस्कसँग २००.७२ ट्रिलियन डलर छ। सबैभन्दा माथिल्लो तहमा रहेका ५८ मिलियन वयस्कसँग २५०.५९ ट्रिलियन डलर सम्पत्ति छ।
वित्तीय सम्पत्ति र घरजग्गा
सम्पत्तिको संरचना हेर्दा देशअनुसार वित्तीय सम्पत्तिको हिस्सा निकै फरक देखिन्छ। स्विडेनमा कुल व्यक्तिगत सम्पत्तिमध्ये ८३.६ प्रतिशत, ताइवानमा ८०.८ प्रतिशत र अमेरिकामा करिब ७९ प्रतिशत वित्तीय सम्पत्ति रहेको यूबीएसले जनाएको छ।
तर डलर-करोडपति हुनु भनेको बैंक खातामा १० लाख डलर नगद हुनु होइन। यूबीएसका अनुसार, १ देखि ५ मिलियन डलर सम्पत्ति भएका सामान्य डलर-करोडपतिका लागि आफ्नै बसोबासको घर सबैभन्दा ठूलो सम्पत्ति हुने गरेको छ।
घरजग्गाको मूल्य बढ्दै जाँदा आम्दानी वा हातमा रहेको नगद नबढे पनि कुल सम्पत्ति बढेर व्यक्ति डलर-करोडपति बन्न सक्छ। तर घर बिक्री गरेर त्यसको रकम हातमा आएपछि मात्र त्यो सम्पत्ति नगद वा तत्काल प्रयोग गर्न सकिने सम्पत्तिमा परिणत हुन्छ।
यूबीएसले तरल सम्पत्ति भन्नाले सामान्यतः नगद, बैंकमा रहेको रकम, स्वैच्छिक पेन्सन बचत, सामूहिक लगानी योजना तथा सेयरजस्ता वित्तीय साधनमा गरिएको प्रत्यक्ष लगानीलाई बुझाएको छ। अनिवार्य पेन्सन बचत र घरजग्गालाई भने तरल सम्पत्तिमा समावेश गरिएको छैन।
यसले विश्वमा सम्पत्ति बढ्दै गए पनि सम्पत्तिको वितरण र त्यसको स्वरूपमा ठूलो अन्तर रहेको देखाएको छ ।
प्रतिक्रिया 4