+
+
Shares

अमेरिकाले किन गर्‍यो जमिनमुनि शक्तिशाली विस्फोट ?

अमेरिकाले बुधबार नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। यद्यपि, यसमा परमाणु बमको भने प्रयोग गरिएको थिएन। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १०:२५

१५ असोज, काठमाडौं । अमेरिकाले बुधबार नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। यद्यपि, यसमा परमाणु बमको भने प्रयोग गरिएको थिएन। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।

यदि कुनै देशले जमिनमुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास गर्‍यो भने त्यसलाई कसरी पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य थियो।

यो परीक्षण यस्तो समयमा भएको छ, जतिबेला अमेरिकाले चीनमाथि लुकेर परमाणु परीक्षण गरेको आरोप लगाउँदै आएको छ। सन् २०२० मा अमेरिकाले चीनको सिन्जियाङस्थित लोप नुर परमाणु परीक्षण केन्द्रमा यस्तो गोप्य परीक्षण गरिएको आरोप लगाएको थियो।

शीतयुद्धको समयमा अमेरिकाले सयौँ परमाणु परीक्षण गरेको नेभाडा नेसनल सेक्युरिटी साइट मै यो नयाँ प्रयोग गरिएको हो।

जमिनभन्दा करिब ९०० फिट तल परीक्षण

यो प्रयोग नेभाडा नेसनल सेक्युरिटी साइटको पी-टनेल क्षेत्रमा गरिएको थियो। यो सुरुङ जमिनभन्दा करिब ९०० फिट तल छ र लामो समयदेखि राष्ट्रिय सुरक्षासँग सम्बन्धित प्रयोगहरूका लागि प्रयोग हुँदै आएको छ।

वैज्ञानिकहरूले सुरुङभित्र रासायनिक विस्फोटक पदार्थ जडान गरेका थिए। विस्फोटका क्रममा उत्पन्न हुने कम्पन, ध्वनि र अन्य सङ्केतहरू रेकर्ड गर्न विभिन्न प्रकारका सेन्सरहरू राखिएका थिए।

यस प्रयोगबाट प्राप्त तथ्याङ्कको प्रयोग गरेर कम्प्युटर मोडल र परमाणु विस्फोट पत्ता लगाउने प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ। यसबाट अमेरिकालाई विश्वको जुनसुकै कुनामा हुन सक्ने सम्भावित परमाणु धमाकाहरू पहिचान गर्न मद्दत पुग्नेछ।

परमाणु बमको प्रयोग किन गरिएन?

अमेरिकाको उद्देश्य परमाणु विस्फोट गराउनु थिएन। जमिनभित्र विस्फोट हुँदा बाहिर कस्ता प्रकारका सङ्केतहरू आउँछन् भन्ने कुराको मात्र अध्ययन गर्नु थियो। त्यसैले वैज्ञानिकहरूले परमाणु बमको सट्टा रासायनिक विस्फोटक पदार्थ प्रयोग गरे र त्यसबाट उत्पन्न कम्पन र अन्य सङ्केतहरू रेकर्ड गरे।

लुकाएर गरिएको परमाणु धमाका पत्ता लगाउन किन गाह्रो हुन्छ?

सामान्यतया जमिनमुनि परमाणु धमाका हुँदा वरपरको जमिनमा तीव्र कम्पन उत्पन्न हुन्छ, जुन केही हदसम्म भूकम्पजस्तै हुन्छ। विश्वका विभिन्न भागमा राखिएका सेन्सरहरूले यस्ता कम्पन रेकर्ड गर्छन् र वैज्ञानिकहरूले यिनै सङ्केतहरूको अध्ययन गरेर कतै परमाणु परीक्षण त भएन भनेर पत्ता लगाउने प्रयास गर्छन्।

तर समस्या त्यतिबेला आउँछ, जब विस्फोटका सङ्केतहरूलाई जानाजान कमजोर बनाउने प्रयास गरिन्छ। यसलाई विज्ञानको भाषामा ‘डिकपलिङ’ भनिन्छ। सजिलो भाषामा बुझ्दा, विस्फोट यस्तो ठाउँमा (जस्तै: जमिनमुनिको ठूलो गुफाभित्र) गराइन्छ जहाँबाट त्यसको शक्तिको प्रभाव जमिनको सतहसम्म निकै कम मात्र पुग्छ। यसले गर्दा सेन्सरहरूले रेकर्ड गर्ने कम्पन कमजोर हुन सक्छ र परीक्षण पहिचान गर्न गाह्रो हुन्छ।

अमेरिकाको यो नयाँ प्रयोग यस्तै प्रकारका साना वा कम सङ्केत दिने विस्फोटहरू पहिचान गर्ने क्षमता बढाउनमा केन्द्रित छ।

चीनद्वारा अमेरिकी आरोप खारेज

अमेरिकाको आरोप अनुसार, चीनले २२ जुन २०२० मा सिन्जियाङको लोप नुर परमाणु परीक्षण केन्द्रमा गोप्य रूपमा भूमिगत परमाणु परीक्षण गरेको थियो। अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ २.७५ म्याग्निच्युडको भूकम्पीय धक्का रेकर्ड भएको थियो। यो सामान्य भूकम्प वा खानीमा गरिएको विस्फोट नभएको उनीहरूको दाबी थियो।

चीनले ‘डिकपलिङ’ प्रविधि अपनाउँदै जमिनभित्रको ठूलो गुफामा विस्फोट गराएको हुनाले निगरानी प्रणालीमा ठूला धक्का रेकर्ड नभएको अमेरिकाको भनाइ छ।

तर चीनले भने यी आरोपहरूलाई पूर्ण रूपमा खारेज गर्दै आएको छ। आफूले कुनै परमाणु परीक्षण नगरेको र अमेरिकाले प्रमाणविना नै आरोप लगाइरहेको चीनको भनाइ छ।

यसैबीच, व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धि सङ्गठनले आफ्नो निगरानी नेटवर्कमा त्यस दिन परमाणु परीक्षणको कुनै स्पष्ट सङ्केत नभेटिएको बताएको थियो।

दुईवटा साना भूकम्पीय धक्काहरू भने रेकर्ड भएका थिए, तर ती सामान्य भूकम्प, अन्य कुनै विस्फोट वा परमाणु परीक्षण के कारणले भएका थिए भन्ने यकिन हुन सकेको थिएन।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?