+
+
Shares

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछौं : मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १७:४४

१४ असोज, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधिसभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८२ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले प्रयोगशालालाई गुणस्तरीय बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।

हालसम्म गठन आदेशको भरमा र भाडाको भवनमा सञ्चालन भइरहेका कारण प्रयोगशालाको क्षमता विस्तार हुन नसकेको र अवस्था निकै नाजुक रहेको उनले स्वीकार गरे।

त्रिशूलीमा आएको बाढीका क्रममा शव पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्दा देखिएको कठिनाइले प्रयोगशालाको दयनीय अवस्था छताछुल्ल भएको मन्त्री पुनले स्मरण गरे।

‘हामीसँग पर्याप्त प्रविधि नहुँदा छिमेकी मुलुकको विशेषज्ञ टोली र उपकरणको सहारा लिनुपर्‍यो,’ उनले भने, ‘यस संस्थालाई राजनीतिक प्रभावबाट टाढा राख्ने जिम्मा पनि हामी जनप्रतिनिधिहरुकै काँधमा छ। प्रस्तावित ऐनले यसलाई पूर्ण स्वतन्त्र निकायका रूपमा परिभाषित गरेको छ।’

मन्त्री पुनले आगामी दिनमा प्रयोगशालालाई भौतिक संरचना र अत्याधुनिक उपकरणसहित सातवटै प्रदेशमा विस्तार गरिने कार्ययोजना संसद्‌मा प्रस्तुत गरेका छन्। यसका लागि मन्त्रालयले २० करोड रुपैयाँ थप बजेट व्यवस्था गरी नयाँ प्रयोगशाला भवनको डिजाइन कार्यसमेत सुरु गरिसकेको जानकारी उनले दिए।

सांसदहरूले उठाएका राजनीतिक हस्तक्षेपका प्रश्नको जवाफ दिँदै उनले कानुनतः नै स्वायत्त संस्था बनाइने भएकाले त्यस्तो हस्तक्षेप नहुने दाबी गरे।

साथै, अनुसन्धान कार्यमा प्रयोग हुँदै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशालाको क्षमता बढाएर विधि विज्ञानको कामलाई थप छिटो र भरपर्दो बनाउने प्रयास भइरहेको मन्त्री पुनले स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?