१४ असोज, सिड्नी । अस्ट्रेलियामा डेबिट वा क्रेडिट कार्डमार्फत सामान खरिद तथा भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क आगामी अक्टोबरदेखि पूर्ण रूपमा हट्ने भएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले कार्ड प्रयोग गरेकै कारण उपभोक्ताले थप शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गरिने घोषणा गरेका हुन्। यो नियम सन् २०२६ को अक्टोबर १ देखि लागू हुनेछ।
नयाँ व्यवस्थाअनुसार पसल, क्याफे वा रेस्टुरेन्टमा सामानको जति मूल्य तोकिएको छ, कार्डबाट भुक्तानी गर्दा पनि त्यति नै रकम मात्र काटिनेछ। प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्ड सरचार्जकै कारण तपाईंले किनेको कफीको मूल्य त्यसको वास्तविक मूल्यभन्दा बढी हुनु हुँदैन।’
सरकारका अनुसार अक्टोबरदेखि भिसा, मास्टरकार्ड र एफ्टपोस नेटवर्कबाट हुने सबै कार्ड भुक्तानीमा सरचार्ज लिन प्रतिबन्ध लगाइनेछ।
यो नियम लागू भएपछि अस्ट्रेलियाका उपभोक्ताले वार्षिक करिब १.६ अर्ब डलर सरचार्ज तिर्नबाट जोगिने सरकारी अनुमान छ। यसैगरी, साना व्यवसायहरूको सञ्चालन लागतमा पनि वार्षिक करिब ९१ करोड डलरले कमी आउने अपेक्षा गरिएको छ।
पछिल्लो समय दैनिक जीविकोपार्जनको लागत बढिरहेका बेला सर्वसाधारणलाई आर्थिक दबाबबाट केही राहत दिने उद्देश्यले सरकारले यो नीति ल्याएको जनाएको छ।
प्रतिक्रिया 4