News Summary
Generated by OK AI. Editorially reviewed.- पठन संस्कृतिको विकास र पाठक–प्रकाशकबीचको सम्बन्ध सुदृढ गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी–२०८३ शुरू भएको छ।
- उपकुलपति अविनाश श्रेष्ठले कमलादीस्थित प्रतिष्ठान परिसरमा प्रदर्शनी उद्घाटन गर्दै ‘समाजको विकास र ज्ञान उत्पादनमा पुस्तकको अस्तित्व अझै जीवित छ’ भन्नुभयो।
- प्रदर्शनी असोज १८ सम्म चल्नेछ र नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक ४० प्रतिशतसम्म सहुलियतमा बिक्री गरिनेछ।
पठन संस्कृतिको विकास र पाठक–प्रकाशकबीचको सम्बन्ध सुदृढ गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी–२०८३ सुरु भएको छ।
कमलादीस्थित प्रतिष्ठान परिसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले पुस्तक प्रदर्शनीको उद्घाटन गरे। ‘समाजको विकास र ज्ञान उत्पादनमा पुस्तकको अस्तित्व अझै जीवित छ,’ श्रेष्ठले भने, ‘प्रज्ञाको यस पुस्तक प्रदर्शनीले ज्ञानको प्रसार गर्न सघाउँछ।’
पुस्तक प्रदर्शनी आगामी असोज १८ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन र ज्ञान–विज्ञानसम्बन्धी पुस्तक ४० प्रतिशतसम्मको सहुलियत मूल्यमा बिक्री गरिने प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाले पनि कक्ष राखेर आफ्ना पुस्तक प्रदर्शन तथा बिक्री–वितरण गरिरहेका छन्। साझा प्रकाशन, राष्ट्रिय अभिलेखालय, ललितकला, नेपालय, इन्डिगो इन्कलगायत ख्यातिप्राप्त प्रकाशन गृहको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनी कक्षमा भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तक प्राथमिकताका साथ राखिएको छ। सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराएको छ।
प्रतिक्रिया 4