News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानबाट नेपाल आएका राजेश अर्यालले बेलडाँगी–३ शरणार्थी शिविरमा अभाव र अनिश्चितताबीच बाल्यकाल बिताएपछि सन् २००९ मा अमेरिका पुगेका थिए ।
- अहिले उनी व्यवसायसँगै उनले नेपाली गीत–संगीतमा पनि सक्रिय रहँदै ‘औंठी छिनो’ र ‘पहिलो नम्बर’ जस्ता गीतमा योगदान दिएका छन्।
जीवनको सुरुवात नै संघर्षबाट भयो । जन्मभूमि छाड्नुपर्यो । परिवारसहित नेपाल आएर शरणार्थी शिविरको कठिन जीवन बिताउनुपर्यो । अभाव, पीडा र अनिश्चितताबीच हुर्किएका राजेश अर्यालले सायद त्यतिबेला सोचेका पनि थिएनन्– एक दिन यही संघर्षले उनलाई समुद्रपारि अमेरिकासम्म पुर्याउनेछ ।
आज उनी अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्गमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपाली गीत–संगीतमा सक्रिय छन् । गीत लेख्छन् । उनका सिर्जनाले लाखौँ दर्शकको माया पाएका छन् । नेपाली स्वाद र संस्कृतिलाई अमेरिकामा चिनाउन ‘सेकुवा कर्नर’ सञ्चालन गरिरहेका छन् । दाजुभाइ मिलेर अर्को व्यवसाय पनि चलाइरहेका छन् ।
तर आजको यो अवस्था उनको जीवनको सुरुवात होइन । यसको पछाडि लामो संघर्ष, अभाव र पीडाको कथा छ ।
भुटानबाट नेपाल, अनि शरणार्थी शिविरको जीवन
राजेशको परिवार भुटानबाट नेपाल आएपछि बेलडाँगी–३ स्थित शरणार्थी शिविरमा बसोबास गर्न पुगेको थियो । शरणार्थी शिविरको जीवन सहज थिएन । सीमित स्रोतसाधन, अभाव र भविष्यको अनिश्चितताबीच उनको बाल्यकाल बित्यो ।
उनले पाँच वर्षको उमेरमै बुबा गुमाए । आमा, पाँच दाजुभाइ तथा दुई दिदीबहिनीबीच हुर्किएका राजेशले सानै उमेरदेखि जीवनका कठिनाइ नजिकबाट देखे । आफ्नो र परिवारको भविष्य बनाउनुपर्ने बाध्यता थियो । परिस्थितिले दिएको पीडालाई बोकेर पनि उनी अघि बढिरहे ।
शरणार्थी शिविरको त्यो जीवनले उनलाई एउटा कुरा सिकायो– अवसर आफैं आउँदैन, त्यसका लागि संघर्ष गर्नुपर्छ ।
२३ वर्षको उमेरमा अमेरिका
जीवनमा नयाँ सम्भावनाको खोजी गर्दै राजेश करिब २३ वर्षको उमेरमा अमेरिका पुगे । सन् २००९ मा अमेरिका आएका उनले त्यहाँ पुग्नेबित्तिकै सहज जीवन पाएनन् ।
परदेशमा नयाँ ठाउँ, नयाँ भाषा, नयाँ वातावरण र आफ्नै खुट्टामा उभिनुपर्ने चुनौती थियो । तर नेपालमा भोगेको संघर्षले उनलाई कमजोर बनाएन । उनले मेहनतलाई निरन्तरता दिए । विभिन्न काम गर्दै जीवन अघि बढाए । बिस्तारै व्यवसायमा हात हाले । आज उनी अमेरिकाको ह्यारिसबर्गमा आफ्नै व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुगेका छन् ।

उनको यात्रालाई हेर्दा शरणार्थी शिविरबाट सुरु भएको संघर्ष अमेरिकाको व्यवसायसम्म आइपुग्दा सफलताको कथामा परिणत भएको देखिन्छ ।
अमेरिकामा नेपाली स्वादको ‘सेकुवा कर्नर’
अमेरिका पुगेपछि राजेशले आफ्नो नेपाली पहिचान भने छाडेनन् । बरु नेपाली स्वाद, संस्कृति र अपनत्वलाई व्यवसायसँग जोड्ने प्रयास गरे । ह्यारिसबर्गमा उनी अहिले ‘सेकुवा कर्नर’ सञ्चालन गरिरहेका छन् । त्यहाँ नेपाली स्वादको सेकुवा उपलब्ध हुन्छ । विशेषगरी नेपाली समुदायलाई लक्षित गर्दै उनले ५.९९ डलरमा सेकुवा उपलब्ध गराउँदै आएका छन् ।
परदेशमा नेपाली स्वाद खोजिरहेका नेपालीहरूका लागि यस्तो ठाउँ केवल खाना खाने थलो मात्र होइन, आफ्नोपन महसुस गर्ने ठाउँ पनि बन्न सक्छ । राजेशका लागि पनि यो व्यवसाय कमाइको माध्यम मात्र होइन । आफूले हुर्कंदा बोकेको नेपालीपनलाई अमेरिकामा पनि जीवित राख्ने एउटा प्रयास हो।
गीत लेख्दै, नेपाली संगीतसँग जोडिँदै
व्यवसायसँगै राजेशको अर्को परिचय हो– गीतकार ।
अमेरिकामा रहेर पनि उनले नेपाली गीत–संगीतलाई निरन्तरता दिइरहेका छन् । गीत लेखनका क्रममा उनका सिर्जनाले ठूलो दर्शकको साथ पाएका छन् । उनका विभिन्न गीत तथा सिर्जनाले युट्युबमा लाखौँदेखि करोडौँसम्म भ्युज पाएका छन् ।
चलचित्र ‘हर्कत अफ द हार्ट’ को ‘औंठी छिनो’, ‘नाङ्गो गाउँ’ को ‘पहिलो नम्बर’ लगायतका गीतसँग उनको नाम जोडिन्छ । उनका सिर्जनाहरू विभिन्न युट्युब च्यानलमार्फत दर्शकले हेर्न र सुन्न सक्छन् । व्यवसायसँगै गीत लेखनलाई पनि निरन्तरता दिँदै उनले ठूलो संख्यामा दर्शक र ग्राहक जोड्न सफल भएका छन् । यसले अमेरिका पुगेपछि पनि नेपाली संगीतप्रतिको उनको प्रेम कम नभएको देखाउँछ ।

‘दुःख देखेको मान्छेले दुःख बुझ्छ’
राजेशको जीवनलाई नजिकबाट हेर्दा उनको संघर्ष अमेरिका पुगेपछि मात्र सुरु भएको होइन । यसको जरा बेलडाँगीको शरणार्थी शिविरसम्म पुग्छ । बाल्यकालमै बुबा गुमाउनु, परिवारको संघर्ष देख्दै हुर्किनु, अभावमा जीवन बिताउनु र भविष्यको अनिश्चितताबीच अघि बढ्नु– यी सबै उनका जीवनका महत्वपूर्ण अध्याय हुन् ।
त्यसैले आज अमेरिकामा स्थापित हुँदै गर्दा पनि उनले आफ्नो विगत बिर्सिएका छैनन् । आफूले दुःख देखेका कारण अरूको दुःख बुझ्न सक्ने र सकेसम्म सहयोग गर्नुपर्ने उनको सोच छ ।
प्रतिक्रिया 4