News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराजदूत मञ्जिवसिंह पुरीले नेपालमा पुस्तान्तरणसँगै बनेको नयाँ सरकारसँग भारतको सम्बन्ध निरन्तर संवाद र उच्चस्तरीय भ्रमणमार्फत अघि बढ्नुपर्ने बताए।
- उनले प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा खुला रहेको र वर्षको अन्त्यसम्म भ्रमण हुनसक्ने आशा व्यक्त गरे।
- उनका अनुसार नेपाल, बङ्गलादेश र भारतमा देखिएको युवा असन्तोष सूचना र सञ्चार क्रान्तिले बढाएको विश्वव्यापी परिघटना हो ।
नेपालको राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसँगै सिंहदरबारको बागडोर यतिबेला नयाँ पुस्ताको हातमा छ। परम्परागत दलीय विरासत र पुरानो राजनीतिक सम्बन्धको पृष्ठभूमिबिना बनेको यो नयाँ सरकारप्रति नयाँदिल्लीको दृष्टिकोणबारे अनेक भाष्य बनिरहेका छन् ।
बदलिँदो विश्व राजनीति, पेचिलो क्षेत्रीय भूराजनीति र नेपालको सत्तामा युवा नेतृत्वले भारतसँगको कूटनीतिक सम्बन्धलाई कस्तो आकार दिँदैछ ? साथै दक्षिण एसियाभर फैलिँदो युवा असन्तोषका बहुआयामिक पाटामा केन्द्रित रहेर नेपालका लागि भारतका पूर्वराजदूतसँग मञ्जिवसिंह पुरीसँग अनलाइनखरका उमेश चौहानले गरेको सम्वादको सम्पादित अंश :
काठमाडौंमा नयाँ सरकार बन्नेबित्तिकै भारतसँगको सम्बन्ध कस्तो होला भनेर अड्कलबाजी शुरु भइहाल्छ। राजनीतिक दलको विरासतका आधारमा अनुमान गर्न केही सहज पनि हुन्छ । तर यसपटकको सरकारको भारतसँग कुनै परम्परागत राजनीतिक बोझ र विरासत छैन । यो नयाँ सरकार र भारत बीचको सम्बन्ध कसरी अघि बढेको देख्नुहुन्छ?
यो असाध्यै रोचक प्रश्नका लागि धन्यवाद। यसलाई अलि ऐतिहासिक परिप्रेक्ष्यबाट हेरौं। अहिलेसम्मका नेपालका प्रमुख नेताहरू- प्रधानमन्त्री ओली, देउवा, प्रचण्ड वा अरू सबै-आ-आफ्नो समयका उपज हुनुहु्न्थ्यो। उहाँहरू राजतन्त्र विरुद्ध प्रजातान्त्रिक अधिकारका लागि लडेका नेता हुनुहुन्थ्यो। प्रचण्डजी शायद सबैभन्दा रोचक उदाहरण हुनुहुन्छ, जसको लक्ष्य नेपालको संरचना नै बदल्नु थियो र उहाँले त्यो गर्नुभयो पनि।
तर उहाँहरू कुन पृष्ठभूमिबाट आउनुभएको थियो भनेर विचार गरौं। प्रचण्ड केही पछि आउनुभयो । उहाँबाहेक सबै आज ७५ वर्षभन्दा माथिका हुनुहुन्छ र भारतको स्वतन्त्रता अनि नेपालमा राणा शासनको अन्त्यको समयका उपज हुनुहुन्छ।
तर अहिले तपाईंहरूकहाँ साँचो अर्थमा पुस्तान्तरण भइरहेको छ। ३६ वर्षको उमेरका विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्री पाउनुभएको छ। मन्त्रिपरिषद्को औसत उमेर करिब ४० वर्ष छ र सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षका हुनुहुन्थ्यो, अहिले महावीर थपिनुभएको छ।
यो उमेरको परिवर्तन मात्र होइन। यो परिवर्तन यस्तो समयमा आएको छ, जब नेपाल विश्वव्यापीकरणसँग पूर्ण रूपमा जोडिइसकेको छ। सन् १९९० मा संवैधानिक राजतन्त्रको सुरुआतसँगै नेपाल बाँकी विश्वका लागि खुल्न थाल्यो । मानिसहरू अध्ययन र रोजगारका लागि बाहिर जान थाले। आज नेपालको ठूलो जनसङ्ख्या अमेरिका, युरोप, खाडी मुलुक, दक्षिणपूर्वी एशिया र भारतलगायत विश्वभर छ र कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको अनुपात उच्च छ। यो सबै खुलापनकै परिणाम हो।
त्यसैले, प्रचण्डकालीन परिवर्तन बाहेक अरू अघिल्ला राजनीतिक आन्दोलनकै निरन्तरता थियो, त्यसपछि यो नै पहिलो वास्तविक र गुणात्मक परिवर्तन थियो। यो पुस्तान्तरणको स्पष्ट सन्देश हो: ‘हामीसँग लोकतन्त्र त छँदैथियो, हामीले सरकार पनि बनायौं, अब हाम्रो पालो हो।’ उनीहरू सडकमा उत्रिनुको कारण यही हो।
तपाईंले भन्नुभएको विरासतको अभाव भनेको दलीय वा व्यक्तिगत सम्बन्धको आधारमा हो, त्यो सही हो। पुराना दलका नेताहरूले भारतको राजनीतिक नेतृत्वलाई नजिकबाट चिनेका थिए। तर मानिसहरू किन सम्बन्धको विरासतबारे कुरा गर्छन्? किनभने यसको मूल आधार जनसम्बन्ध, इतिहास र सभ्यतागत सामीप्य हो।

हेर्नुहोस्, नेपालमा ठूलो बाढी आउँदा हाम्रा प्रधानमन्त्री मोदीजीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सीधै फोन गर्नुभयो। त्यो कुनै राजनीतिक स्टन्ट थिएन, त्यो त सभ्यतागत र स्वाभाविक आत्मीयता हो। त्यो स्वतःस्फूर्त रूपमा आउँछ। त्यसैले त भारतबाट सोही साँझ राहत सामग्री पुग्न सक्यो, जबकि अरू ठाउँबाट आउन एक-दुई दिन लाग्थ्यो-किनकि हामी सबैभन्दा नजिकका छिमेकी हौं।
त्यति हुँदाहुँदै पनि, काठमाडौंमा आयोजित एनडीटीभी सम्मेलनमा परराष्ट्रमन्त्री र अर्थमन्त्री दुवैले यो वर्ष सकिनुअघि नै उच्चस्तरीय द्विपक्षीय भ्रमण हुनुपर्ने धारणा राखेको सुनेर मलाई खुशी लाग्यो। त्यो सकारात्मक सङ्केत हो। विगतको विरासत नभएको नयाँ सरकारले शुरुमा आन्तरिक मामिला सुल्झाउन केही समय लिनु स्वाभाविकै हो। तर बाढीपछिको राहत र उद्धारको प्रसङ्गले नै यो सरकारलाई नेपाल विश्व प्रणालीकै एक हिस्सा हो र छिमेकीसँग निरन्तर संवाद आवश्यक छ भन्ने बोध गराइदिएको छ।
मेरो विचारमा जुनसुकै सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको निरन्तर संवाद हो। छिमेकी भएपछि सीमा हुन्छ र सीमासँगै केही समस्या वा असमझदारी आउनु स्वाभाविक हो। त्यसैले प्राविधिक, जनस्तर, व्यापार, सेना र सुरक्षा निकाय बीच तथा सबैभन्दा महत्त्वपूर्ण कुरा शीर्ष राजनीतिक तहमा निरन्तर सम्पर्क कायम राख्नुपर्छ। संवादले नै समाधानको बाटो पहिल्याउँछ। हामीले शताब्दीयौंदेखि यही गर्दै आएका छौं र अहिले पनि यसैलाई निरन्तरता दिनुपर्छ।
नयाँ सरकारप्रति पनि भारतले शुरुदेखि नै लचिलो र सकारात्मक ‘एप्रोच’ राखेको देखिन्छ। प्रधानमन्त्री मोदी स्वयंले रास्वपा नेतृत्वलाई जितका लागि बधाई दिनुभयो। तर हाम्रा प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञ वा अधिकारीहरूलाई भेट्ने सन्दर्भमा प्रोटोकल शुरु गर्नुभएको छ । भारतीय विदेश सचिव नै प्रधानमन्त्री मोदीको तर्फबाट हाम्रा प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउने तयारीमा हुनुहुन्थ्यो, तर भेटघाट निश्चित नभएकै कारण त्यो भ्रमण रोकियो भनिन्छ। खासमा, नयाँदिल्लीले यसलाई कसरी हेरिरहेको छ?
म सरकारको आधिकारिक प्रवक्ता होइन । विदेश सचिवको भ्रमणबारे मिडियामा आएभन्दा बढी जानकारी मलाई छैन। त्यसैले त्यसमा टिप्पणी गर्नु उपयुक्त हुँदैन। तर यति भने भन्न चाहन्छु- सन् २००८ को प्रसङ्ग सम्झौं, हामीले स्पष्ट भनेका थियौं कि नेपालको निर्णय नेपाली जनताले नै गर्ने हो। हामी बीच अढाइ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ-त्यो कथाको एउटा पाटो हो । रोटी-बेटीको नाता पनि छ। तर आधुनिक राष्ट्र-राज्यहरूले समयअनुसार आफूलाई ढाल्दै अन्य राष्ट्रहरूसँग अन्तरक्रिया गर्नुपर्छ।
यहाँका प्रधानमन्त्रीले शुरुमा आन्तरिक प्राथमिकतामा ध्यान दिने भन्नुभएको छ, त्यो बुझ्न सकिने कुरा हो। तर अपेक्षा के हो भने, आन्तरिक तयारीपछि पुरानो सम्बन्धको गतिशीलता पुनः कायम हुनेछ। अर्को कुरा, नेपालका वर्तमान प्रधानमन्त्रीले भारतमै अध्ययन गर्नुभएको हो। त्यो केवल संयोग मात्र होइन, त्यसले सामान्य शैक्षिक अभ्यासभन्दा अझ गहिरो सांस्कृतिक सम्बन्धलाई दर्शाउँछ।
त्यसैले उहाँको भारत भ्रमण, सम्भवतः उहाँको पहिलो विदेश भ्रमण-को अपेक्षा गरिनु स्वाभाविक थियो, किनकि हामी सबै यही परम्परा र ढाँचामा हुर्किएका हौं। समयसन्दर्भले केही कुरा फेरिन्छन्; परिवर्तन नै संसारको नियम हो। तर प्रविधि र विश्वव्यापीकरणले शैली बदलेको छ भन्दैमा विगतका मूलभूत जगहरूलाई चटक्कै बिर्सिनुपर्छ भन्ने होइन। मलाई आशा छ, यो वर्षको अन्त्यसम्ममा उहाँको भारत भ्रमण हुनेछ र त्यसले एउटा सकारात्मक सन्देश दिनेछ।
मेरो बुझाइमा, नयाँ परिस्थिति भएकाले मानिसहरू अझै परिदृश्यलाई बुझ्ने कोसिस गर्दैछन्। विगतभन्दा फरक शैली देखिएकाले कतै केही अस्वाभाविक त भइरहेको छैन भन्ने शङ्का हुनु स्वाभाविकै हो। तर अन्ततः नेपालको भाग्य र भविष्यको निर्णय नेपाली जनताले नै गर्ने हो। हामी बीच सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध छँदैछ, अनि औपचारिक सरकार-सरकार बीचको सम्बन्ध पनि छ। त्यसलाई नेपाली जनताको चाहना अनुसार नै अघि बढाउने हो। मलाई लाग्छ, सम्बन्ध सही मार्गमै छ।
हाम्रा प्रधानमन्त्रीले शुरुमा सेट गरेको प्रोटोकलमा उदारतापूर्वक केही संशोधन गर्नुभएको छ । भारत र चीनका राजदूतहरूलाई भेट्नुभयो । हाम्रा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार कुमार बेनले अनौपचारिक रूपमा भारतका केही अधिकारीहरूलाई उतै गएर भेटेको रिपोर्टहरू पनि आएका छन् । हाम्रा प्रधानमन्त्री ब्रिक्स सम्मेलनमा जान उत्सुक देखिनुभएको थियो, तर औपचारिक निमन्त्रणा आएन। के यसले भारतप्रति सिंहदरबारको दृष्टिकोण केही परिवर्तन हुँदै गएको सङ्केत गर्छ?
यदि साँच्चै त्यस्तो पहल भइरहेको हो भने त्यो स्वागतयोग्य कुरा हो। म यसलाई ‘सुधार’भन्दा पनि ‘सम्बन्ध विस्तारको प्रयास’ भन्न रुचाउँछु। ब्रिक्सको प्रसङ्गमा, त्यसको आन्तरिक कूटनीति बारे मलाई धेरै जानकारी छैन।

मलाई के थाहा छ भने, प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा सधैं खुला छ। औपचारिक राजकीय भ्रमणमा शिष्टाचार र कूटनीतिक महत्त्व हुन्छ। त्यसले दुई देश बीचको समान सोच र विश्वासलाई झल्काउँछ। नेताहरू बीचको व्यक्तिगत सम्बन्ध वा ‘केमिस्ट्री’ले ठूलो फरक पार्छ।
कर्मचारी तहमा सम्बन्ध राम्रो छ भन्नु एउटा कुरा हो; तर जब शीर्ष नेताहरू आमनेसामने हुन्छन्, छलफल गर्छन् र गाँठो फुकाउँछन्, तब वास्तविक अर्थमा मित्रवत् सम्बन्ध गाँसिन्छ। कूटनीतिमा राष्ट्रिय हित सर्वोपरि भए पनि व्यक्तिगत आत्मीयताले जटिल समस्या सुल्झाउन ठूलो मद्दत गर्छ। त्यो भ्रमण छिट्टै हुनेछ भन्ने आशा छ।
विगतमा भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा अनौपचारिक रूपमा पनि सहज पहुँच पाउँथे । बालुवाटारमा प्रधानमन्त्रीको बेडरूमसम्म सजिलै पुग्थे । तपाईं पनि पूर्वराजदूतको रूपमा काठमाडौं बस्नुभएकोले आफ्नो अनुभव छँदैछ । अहिले त्यो स्थिति देखिंदैन। काठमाडौंको यो फेरिएको स्वभाव र शैलीलाई कसरी हेर्नुभएको छ?
नेपालका अघिल्ला प्रधानमन्त्रीहरूसँग भारतको बेग्लै किसिमको सामीप्यता थियो । उहाँहरू धेरैजसो हाम्रै उमेर समूहका हुनुहुन्थ्यो, कहिलेकाहीं त राजदूतकै उमेरका। त्यसैले धेरै अन्तरक्रियाहरू स्वाभाविक रूपमा अनौपचारिक हुन्थे। म एउटा प्रसङ्ग सम्झन्छु- गिरिजाप्रसाद कोइरालालाई भेट्दा कुराकानी केवल औपचारिक विषयमा मात्र सीमित हुँदैनथ्यो। निजी डाइनिङ टेबलमा बसेर खानपिनका रुचिसम्मका कुरा हुन्थे किनकि हाम्रो रहनसहन र संस्कृति एउटै छ।
अहिले बालेन शाहजी धेरै कान्छो हुनुहुन्छ। उहाँ पेशाले इन्जिनियर हुनुहुन्छ, बैङ्ग्लोरमा पढ्नुभएको हो। उहाँले भारतलाई अलि भिन्न दृष्टिकोणबाट देख्नुभएको छ- मेरो पुस्ताले भन्दा फरक, प्रविधिमैत्री, आईटी र आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडिएको आधुनिक भारत। त्यसैले सम्बन्धको स्वरूप परिवर्तन हुनु स्वाभाविकै हो।
काठमाडौंमा नयाँ सरकार बनेपिच्छे धेरै समय एकअर्कालाई बुझ्न र विश्वासको वातावरण बनाउनमै बित्छ, जसले गर्दा मूलभूत विकास र द्विपक्षीय मुद्दाहरू सधैं ओझेलमा पर्छन्। यसलाई सुधारेर सम्बन्धलाई अझ स्थिर र अनुमानयोग्य कसरी बनाउन सकिएला?
तपाईंहरूकहाँको वर्तमान सरकार एउटा विशेष ऐतिहासिक परिस्थिति र पुस्तान्तरणको लहरबाट आएको हो। उहाँहरू विगतका संरचनामा त्रुटि थियो र त्यसलाई सच्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। सरकारले भनिरहेको छ- ‘हामी शुरुका १००-१५० दिन आन्तरिक सुधारमा लगाउँछौं।’ यसको अर्थ के हो भने, सरकार पूर्णतः आन्तरिक व्यवस्थापनमा केन्द्रित हुँदा छिमेकीसँगका महत्त्वपूर्ण द्विपक्षीय व्यापार, आर्थिक सम्झौता र आयोजनाहरूमा केही सुस्तता आउन सक्छ। तर यो सङ्क्रमणकालीन अवस्था हो। चार-पाँच महिना भइसकेको छ, अब सरकार स्थिरतातर्फ जाँदैछ।
अब छिमेकीसँगको सहकार्य र कूटनीतिक सक्रियता स्वतः प्राथमिकतामा पर्दै जान्छ भन्ने मलाई लाग्छ। उच्चस्तरीय भ्रमणका सम्भावनाहरू बनेका छन्। निरन्तरको संवाद र आत्मीय सम्बन्धले नै असमझदारी हटाएर सम्बन्धलाई अझ परिपक्व र अनुमानयोग्य बनाउँछ।
सोझै भन्नुपर्दा, काठमाडौंको बुझाइमा भारत एउटा मात्र छैन, यहाँ धेरै शक्ति केन्द्रहरू मार्फत ‘धेरै भारत’ सक्रिय छन्: भाजपाको राजनीतिक भारत, आरएसएसको सांस्कृतिक भारत, कर्मचारीतन्त्रको ब्युरोक्रेटिक भारत, एजेन्सीहरूको रहस्यमय भारत, सेना र विभिन्न लबीका अरू भारतहरू । काठमाडौंको संस्थापन अक्सर कुन ‘भारत’सँग कसरी व्यवहार गर्ने भनेर अलमलमा पर्ने गर्छ। कहिलेकाहीं थाक्छन् पनि । तपाईं काठमाडौंमा यो अप्ठ्यारो देख्नुहुन्न ?
उमेशजी, तपाईंले त सबैभन्दा महत्त्वपूर्ण पक्ष नै भुल्नुभयो- क्रिकेटले जोडेको सम्बन्ध खोइ ? भारतीय सिनेमा र सङ्गीतमा काम गर्ने नेपाली कलाकारहरूको प्रसङ्ग खोइ? चलचित्र, आम नागरिक बीचको आत्मीयता, व्यापारिक सम्बन्ध- यी पनि त भारतकै अङ्ग हुन्।
मलाई लाग्दैन कि नेपाली संस्थापन पक्ष कतै अलमलमा छ। नेपाली नेताहरूले त हामीले आफैंलाई बुझेभन्दा पनि राम्रोसँग भारतलाई बुझेका छन्। किन? किनकि हाम्रा अनेकौं विविधताका बीच पनि एउटा साझा धरातल छ। ल ठिकै छ, तपाईंकै तर्क मानौं- नेपालमा धेरै ‘भारत’ सक्रिय छन् भने नेपाली राजनीतिलाई यी सबै ‘भारत’सँग कसरी सन्तुलन मिलाएर काम गर्ने भन्ने राम्रोसँग थाहा छ।

केही दिनअघि मलाई काठमाडौंमा एक वरिष्ठ नेताले भन्नुभयो- उहाँका बुबा, जो स्वयं ठूला नेता हुनुहुन्थ्यो, भन्नुहुन्थ्यो रे, ‘मेरा बुबाले इन्डिया चिन्नुहुन्थ्यो, भारत चिन्नुहुन्थ्यो र हिन्दुस्तान पनि चिन्नुहुन्थ्यो; अनि उहाँलाई यी तीनवटैसँग कसरी सम्झौता र सहकार्य गर्ने भन्ने कला थाहा थियो।’ त्यसैले तपाईंहरूले भारतलाई हामीले भन्दा धेरै गहिरो गरी बुझ्नुभएको छ।
काठमाडौंका शक्ति केन्द्रहरू यी विभिन्न निकायसँग समन्वय गर्दागर्दै थाकेका हुन् कि भन्ने लाग्नु स्वाभाविक हो। तर ठूला र विविधतायुक्त देशहरूमा यस्तै हुन्छ। के तपाईंहरू अमेरिकासँग व्यवहार गर्दा एउटै व्यक्ति वा निकायसँग मात्र गर्नुहुन्छ? पक्कै हुँदैन। भारत आफैंमा एउटा विशाल र जटिल समाज हो। यदि यो चुनौती हो भने अर्कोतर्फ अवसर पनि हो- एउटा ढोका बन्द भयो भने अरू १० ढोका खुल्छन्। साँच्चै भन्ने हो भने, बाहिरबाट हेर्नेले धेरै कुरा अझ स्पष्ट देख्छ, किनकि घरभित्र बस्ने मानिस आफ्नै परिवेशमा सीमित हुन सक्छ। म पनि नेपाललाई यसको समग्र विविधता सहित बुझ्ने प्रयास गरिरहन्छु।
लामो समयसम्म अमेरिकाले दक्षिणएशिया, खासगरी नेपालको मामिला भारतकै आँखाबाट हेर्ने वा भारतलाई नै ‘आउटसोर्स’ गरेको मानिन्थ्यो। तर अहिले त्यो गतिशीलता बदलिंदैछ । अमेरिकाले दक्षिणएशिया हेर्न छुट्टै र विशेष दूत नियुक्त गरेको छ र भारत-अमेरिका सम्बन्ध पनि पहिलेको जस्तो सहज देखिंदैन। दक्षिण एशियाली मामिलामा आउने यो बदलिंदो परिस्थितिलाई भारतले कसरी लिइरहेको छ?
मेरो दृढ विश्वास छ कि भारत-नेपाल सम्बन्ध ‘सुई जेनेरिस’ अर्थात् विशिष्ट र अद्वितीय प्रकृतिको छ। जहाँसम्म ‘अन्तर्राष्ट्रिय मामिलाको आउटसोर्सिङ’को कुरा छ, त्यस्तो होइन। विश्वव्यापीकरणको यो युगमा नेपालले विश्वका सम्पूर्ण साना-ठूला राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्नु स्वाभाविक हो, चाहे त्यो दक्षिणपूर्वी एशिया होस्, जापान, अस्ट्रेलिया वा अमेरिका। तपाईंको सीमा विश्वको उदाउँदो महाशक्ति चीनसँग जोडिएको छ, त्यसैले नेपाल अन्तर्राष्ट्रिय समुदायका लागि चासोको केन्द्र हुनु स्वाभाविकै हो।
हामी हरेक सम्बन्धलाई पारस्परिक हितका आधारमा हेर्छौं। हामी छिमेकी हौं, तर सार्वभौम राष्ट्र-राज्य पनि हौं, जसका आफ्नै राष्ट्रिय र सुरक्षा सरोकारहरू छन्। जस्तै- सीमा व्यवस्थापन, सीमापार अपराध र कट्टरपन्थ विरुद्धको लडाइँ। जहाँ हाम्रा हितहरू मिल्छन्, त्यहाँ सहकार्य अझ प्रगाढ हुन्छ।
हामी विशाल देश हौं, चीन पनि उत्तिकै ठूलो छ, अनि अमेरिका र युरोप प्रमुख विश्वव्यापी खेलाडी हुन्। यस्तो स्थितिमा सन्तुलन मिलाउन उच्च कूटनीतिक कौशल चाहिन्छ। जब भारत, चीन र नेपाल सबै विकासको प्रारम्भिक चरणमा थिए, त्यो बेलाको भन्दा अहिले धेरै परिपक्वता र खुलापन आवश्यक छ। यो आधुनिक युगमा लचकता र चतुर्याइँ त चाहिन्छ नै, साथसाथै गम्भीर परिपक्वता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। नेपालले आर्थिक र जनसाङ्ख्यिक क्षेत्रमा गरेको प्रगति तथा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भइरहेको सन्दर्भमा, आफ्नो भूराजनीतिक अवस्थाबाट उत्पन्न चुनौतीलाई बुद्धिमत्तापूर्वक सामना गर्न सक्षम हुनेछ भन्नेमा म विश्वस्त छु।
नेपालका पाँच पटकका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा गत वर्षको आन्दोलनका क्रममा प्रदर्शनकारीको हमलामा पर्नुभयो र करिब एक वर्ष काठमाडौं छाडेर हङकङमा बस्नुपर्यो। उहाँहरू हङकङ जानुपर्यो किनकि उहाँहरूले पुराना मित्रहरूबाटै उपेक्षित हुनुभयो । यस सन्दर्भलाई कसरी हेर्नुहुन्छ?
शेरबहादुरजी र आरजुजीका ती अप्रिय तस्बिरहरू देख्दा मलाई निकै दुःख लाग्यो । कसैलाई पनि त्यस्तो दृश्यले सहज बनाउँदैन। तर तीव्र राजनीतिक फेरबदलका बेला यस्ता दुःखद् घटनाहरू संसारका धेरै ठाउँमा हुने गर्छन्।
तर नेपालको हकमा एउटा सुन्दर पक्ष के छ भने, तपाईंहरूले ठूला-ठूला राजनीतिक परिवर्तनहरू धेरै हिंसा विना नै व्यवस्थापन गर्दै आउनुभएको छ। यसपटक केही अराजकता र भौतिक क्षति भयो, केही अपमानजनक व्यवहार पनि भए। तीव्र आक्रोशका बीच उहाँहरू निशानामा पर्नुभयो र केही समयका लागि टाढा जानु उचित ठान्नुभयो होला।

अहिले शेरबहादुरजी स्वदेश फर्किसक्नुभएको छ र राजनीतिमा पुनः सक्रिय हुनुहुन्छ। मेरो विचारमा यो नेपाली समाजकै एउटा ठूलो सामर्थ्य र सहिष्णुताको प्रतीक हो । तपाईंहरू तीव्र असहमति व्यक्त गर्न सक्नुहुन्छ, विरोध गर्न सक्नुहुन्छ, तर परिवर्तनपछि फेरि सबैलाई समाज र राजनीतिमा रचनात्मक भूमिका खेल्ने ठाउँ दिनुहुन्छ। यो नेपाली समाजको प्रशंसनीय विशेषता हो। त्यसमा बाहिरी शक्तिको खास भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । यो नेपाली समाजले नै तय गरेको हो ।
अहिले काठमाडौंमा दुई जना ‘हिन्दू’का आवाज टड्कारो सुनिएका छन्- ‘ह्वाई आई एम अ हिन्दू’ पुस्तकका लेखक शशि थरूर र अर्का शेरबहादुर देउवा । थरुरको पुस्तक नेपालीमा आएको छ र देउवाले हालैको एक सार्वजनिक सभामा आफ्नो हिन्दू पहिचानलाई निकै अडानका साथ प्रस्तुत गर्नुभएको छ । उहाँको यो ध्वनि सीमापारि भारतसम्म पुगेको छ कि छैन? के यसले भारतलाई कुनै किसिमले प्रभावित गर्न सक्छ ?
मेरो बुझाइमा दुवै जना हिन्दू हुनुहुन्छ र आ-आफ्नो दृष्टिकोण राखिरहनुभएको छ। शशि थरूरको पुस्तक बौद्धिक विमर्शका लागि हो। शेरबहादुरजीले जुन सन्दर्भमा त्यसो भन्नुभयो, त्यो उहाँकै राजनीतिक रणनीति हुन सक्छ।
मूल कुरा के हो भने, नेपाल हिन्दू बहुसङ्ख्यक मुलुक हो । यो यसको ऐतिहासिक पहिचान हो। भारतमा पनि जनसङ्ख्याको ठूलो हिस्सा हिन्दू धर्म मान्ने नै छ। यो साझा सांस्कृतिक र धार्मिक आस्थाले हाम्रा दुई देशका नागरिकलाई मजबुत रूपमा जोडेको छ । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय श्रद्धालु हुन् या काशी, गङ्गासागर र तिरुपति जाने नेपाली भक्तजन, यी हाम्रा जीवन्त यथार्थ हुन्।
यस्ता भावना र मुद्दाहरूलाई राजनीतिले उपयोग गर्ने कोसिस गर्छ। कतिपय मानिस राजनीति भनेको अक्सफोर्ड युनियनको जस्तो शुद्ध वैचारिक बहस मात्र हो भन्ने ठान्छन्, तर व्यवहारमा राजनीति अलि फरक ढङ्गले चल्छ। डोनाल्ड ट्रम्पकै उदाहरण हेरौं- उहाँले अर्थशास्त्रका जटिल सिद्धान्तभन्दा आम नागरिकका भावनाका विषय उठाउनुभयो र जनताले दोस्रोपटक चुनाव जिताए। युरोपका विकसित प्रजातन्त्रहरूमा पनि यही भइरहेको छ। कुनै सन्देशले कति प्रभाव पार्छ भन्ने कुराको अन्तिम निर्णय जनताले नै गर्ने हुन् ।
अब अलि फरक प्रसङ्ग, भारत-बङ्गलादेश सम्बन्धको कुरा गरौं। विगत दशकमा दुई देश बीचको सम्बन्ध निकै प्रगाढ मानिन्थ्यो, तर हालैको युवा विद्रोहपछि बङ्गलादेशको राजनीति पूर्णतः बदलिएको छ। अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिनुभएको छ, जसका कारण बङ्गलादेशी नागरिकमा भारतप्रति आक्रोश देखिन्छ। भारतले यो नयाँ परिस्थितिलाई कसरी व्यवस्थापन गर्दैछ?
तत्कालीन परिस्थितिमा शेख हसिनाको ज्यान जोखिममा थियो; उहाँ भारत आउनुभयो र हाल सुरक्षित हुनुहुन्छ। ‘समग्र बङ्गलादेशी जनता’ भारतको विपक्षमा छन् भन्ने कुरा म मान्दिनँ-केही समूह वा तत्त्वहरूले त्यस्तो वातावरण बनाउन खोजेका हुन सक्छन्। मलाई विश्वास छ, परिस्थितिसँगै राजनीति लयमा फर्किनेछ।
भारत स्वतन्त्रतादेखि नै निरन्तर लोकतान्त्रिक मुलुक रहँदै आएको छ। हाम्रो छिमेकमा सङ्कट पर्दा विभिन्न देशका राजनीतिक नेताहरूले भारतमा शरण पाएका छन् । नेपालकै इतिहासका शीर्ष नेताहरूदेखि दलाई लामासम्मका उदाहरण हामीसामु छन्। अन्तर्राष्ट्रिय शरणार्थी महासन्धिका कतिपय प्राविधिक पक्षमा हस्ताक्षरकर्ता नभए पनि भारतले मानवीय संवेदना र संरक्षणलाई सधैं प्राथमिकता दिंदै आएको छ।
पक्कै पनि असमझदारीहरू सुल्झाउन दुवैतर्फबाट गम्भीर संवादको आवश्यकता छ। परराष्ट्र नीति आन्तरिक आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति दुवैबाट निर्देशित हुन्छ। भावनात्मक राजनीति एकातिर होला, तर अन्ततः जनताको जीविकोपार्जन, व्यापार र आर्थिक सहकार्य नै सम्बन्धका वास्तविक आधार हुन्। छिमेकी बदलिन सक्दैनन्, त्यसैले व्यावहारिक भएर अघि बढ्नुको विकल्प हुँदैन।
अब अन्तिममा, दक्षिणएशिया सहित विश्वभर देखिएको जेनजी आन्दोलन र युवा असन्तोषलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? नेपाल, बङ्गलादेश र भारतमै पनि युवाहरू सडकमा उत्रिएका उदाहरण छन्। सरकारहरूले युवा पुस्ताका तीव्र आकाङ्क्षालाई कसरी सम्बोधन गर्नुपर्छ?
हामीले एउटा कुरा मनन् गर्नुपर्छ- सूचना र सञ्चार क्रान्तिका कारण आधुनिक विश्वका युवाहरू विश्वभरका घटनाक्रमसँग तुरुन्तै जोडिन्छन्। यसले उनीहरूमा उच्च आकाङ्क्षा पैदा गरेको छ। यो केवल नेपालको मात्र होइन, विश्वव्यापी परिघटना हो।

राज्य वा सरकारका साधन-स्रोत र क्षमताका आफ्नै सीमा हुन्छन्। भारतको प्रसङ्गमा, जब युवा असन्तोषका आवाजहरू उठे, राज्यले समयमै संवाद गरी उनीहरूका माग सम्बोधन गर्यो। परिपक्व लोकतन्त्रहरूले सडकको आवाज र जनताको असन्तोषलाई समयमै सुन्नु र सम्बोधन गर्नुपर्छ।
नेपालमा अहिले इतिहासकै सबैभन्दा कान्छो र युवा नेतृत्वको सरकार छ। एक हिसाबले सडकको आक्रोश र आकाङ्क्षाकै प्रतिनिधित्व गर्दै यो नेतृत्व सत्तामा पुगेको हो। तर नयाँ पुस्ताले के बिर्सिनुहुँदैन भने आधुनिक प्रविधि र नयाँ सोच ल्याउनु उत्तम हो, तर विगतका संस्था र परम्पराहरूका पछाडि पनि आफ्नै ऐतिहासिक कारण र अनुभवहरू थिए। त्यसैले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा बीच सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ नि- ‘डन्ट थ्रो द बेबी आउट विथ द बाथवाटर ।’ परिवर्तन गर्दा जग नै भत्किने गरी होस गुमाउनुहुँदैन ।
प्रतिक्रिया 4