News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला भलिबल टोलीका धेरै सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएका छन् ।
- नेपालले ६ नयाँ खेलाडी समेटेर काभा च्याम्पियनसिप खेल्ने टोली घोषणा गरेको छ ।
- प्रशिक्षक जगदीश भट्टले नयाँ खेलाडीले पुराना खेलाडीको अभाव महशुस नहुने विश्वास व्यक्त गर्दै टिममा नयाँ र पुरानो खेलाडीको मिक्स रहेको बताए ।
६ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले घोषणा गरेको प्रारम्भिक सूचीमा परेकी पुनम चन्द अहिले अस्ट्रेलियामा छन् ।
केही दिन प्रशिक्षणमा सहभागी भएकी उनी बीचमै छाडेर पलायनको बाटो रोजिन् । महिला टोलीकै सफल कप्तान अरुणा शाही पनि केही महिनाअघि अस्ट्रेलिया हानिइन् । एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीबाट खेलेकी अरुणाले संघलाई कुनै जानकारी नदिई विदेश भासिइन् । अरुणा र पुनम मात्र होइन, धेरै नेपाली भलिबल खेलाडीको रोजाई अहिले अस्ट्रेलिया बन्न पुगेको छ ।
अरुणा, पुनमसहितका धेरै खेलाडी पलायन हुँदा भलिबल संघले टोलीमा रिफर्म गर्दै काभा च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । टोलीमा ६ जना नयाँ खेलाडीले ‘इन्ट्री’ मारेका छन् ।
दुई वर्षअघि भारतलाई इतिहासमै पहिलोपटक हराउँदा टोलीमा रहेका अरुणा, पुनम, सरस्वती चौधरी, साफिया पुन, कविता भट्ट जस्ता खेलाडीहरू विदेश भासिएका छन् । स्पाइकर प्रतिभा माली पनि अस्ट्रेलियामै छन् ।
जसको फलस्वरुप भलिबल संघ नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरविनै मैदानमा उतार्न बाध्य छ । सिनियर खेलाडीबिना कोर्ट उत्रिन थालेको टोलीमा अनुभवको कमी देखिने धेरैको आंशका छ । तर, कतिपयले भने महिला भलिबल पुस्तान्तरणको बाटोमा अघि बढेको बताउँछन् ।

सिनियर खेलाडी विदेश पलायन हुँदा युवा खेलाडीको काँधमा महिला भलिबलको जिम्मेवारी आइपुगेको छ । टोलीको नेतृत्व गर्ने निरुता ठगुन्ना २८ वर्षकी भइन् । सिनियर खेलाडीको रूपमा रहेकी सलिना श्रेष्ठ पनि निरुताकै उमेरकी हुन् । अरु सबै त्योभन्दा कम उमेरका छन् ।
राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी यसलाई निरन्तर चलिरहने प्रक्रिया मान्छिन् । ‘यस्तो प्रत्रिया चलिराख्ने हो । पुराना जान्छन् । नयाँ आउछन् । टिम राम्रै हुन्छ । नयाँ पुरानो भन्दा पनि एक ब्याच, दुई ब्याच पुरानो मात्रै छन्’ उनी भन्छिन्, ‘उनीहरू आत्मबल बलियो बनाएर खेले भनेपछि राम्रो हुन्छ । किनकि सबै नयाँ छन् । पुरानो सेटमा खेल्नेहरू थोरै मात्रै छन् ।’
आत्मबल बढाएर खेले नतिजा राम्रो आउने विनिताको विश्वास छ । उनी भन्छिन्, ‘नयाँ हुँदा आतिन्छन् कि हुटिङले असर गर्छ कि जस्तो पनि लाग्छ मलाई । तर, हुटिङमा आत्मबल बढाएर खेलेभने धेरै राम्रो पनि हुन्छ ।’
७ वर्षपछि भट्टलाई अर्काे अवसर
सन् २०१९ मा पनि प्रशिक्षक भट्टले यसपटक जस्तै नयाँ ६ खेलाडीलाई टोलीमा समेटेर मैदानमा उतारेका थिए । तत्कालीन कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ सहित अनुभवी ६ खेलाडीलाई टिमबाट बाहिर राख्दै नयाँ खेलाडीलाई अवसर दिए ।
त्यतिबेला प्रशिक्षक भट्टले आलोचना पनि खेपे । तर, उक्त टोलीे नतिजा पनि दियो । सोही वर्ष घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबल टोलीले नेपाललाई ऐतिहासिक रजत पदक जित्न सफल भयो ।
त्यसबेला कप्तानी सम्हालेकी अरुणा अहिले विदेश पलायन भएकी छन् । उक्त समयमा निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठले डेब्यु गरेका थिए । त्यसबेला नयाँ खेलाडीको रुपमा समेटिएका उनीहरू यसपटक अनुभवी खेलाडीको रुपमा मैदानमा उत्रिदैछन् । निरुताले टोलीको नेतृत्व गर्दैछिन् । सिनियर खेलाडी विदेशीदा टिमको प्रदर्शनमा असर गर्छ भन्ने प्रश्नमा अनुभवी खेलाडी सलिना श्रेष्ठले भन्छिन्, ‘उहाँको कमी नहुनका लागि बैनीहरू खेलिराखेका छन् ।’
उमेर समूह र घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडी सलिना बुढा मगर र मिना सुनार, सेटर जसना महतो तथा मिडर ब्लकरहरू बसन्ती साउद, एलिशा मानन्धर र सुनिता खत्रीले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । प्रगती नाथ, शान्तिकला तामाङ, सुमित्रा रेग्मी, रिमा कुँवरले नेपालको प्रतिनिधित्व गरिसकेको भएपनि उनीहरूसँग पर्याप्त अनुभव छैन ।

टिम परिवर्तनबारे मुख्य प्रशिक्षक जगदीश भट्ट भलिबलको स्तर उकास्न खेलाडी परिवर्तन हुन आवश्यक रहेको बताउँछन् । नयाँ खेलाडीले पुराना खेलाडीको अभाव महशुस हुन नदिने भट्टको विश्वास छ ।
‘२०१८ को कुरा गर्ने हो भने धेरै खेलाडीलाई रिफर्म गरेका थियौं । त्यसपछि झण्डै ८ देखि १० वटा पदक छ । योभन्दा माथि लग्नका लागि पुरानोलाई रिप्लेस गर्नुनै छ नि’ उनी भन्छन्, ‘त्यसकारण तपाईंले यति विश्वास गर्नुपर्यो कि पुरानो खेलाडीलाई रिप्लेस गर्ने, अभाव महशुस हुन नदिने खालको ट्यालेन्ट हामीसँग छ ।’
पुरानो र नयाँ खेलाडीको समिश्रणले नतिजा राम्रो आउने भट्टको विश्वास छ । ‘पुराना खेलाडीको अनुभव र नयाँ खेलाडीको उर्जालाई फिल्डमा देखाउने हो’ उनी भन्छन्, ‘नयाँ खेलाडीको जोश, जागर र पुराना खेलाडीको जुन अनुभव छ । त्यो दुईको समिश्रण नै टिमको प्रदर्शन हो जस्तो लाग्छ ।’
‘नयाँ र पुरानोको मिक्स’
टिम नयाँ पुरानोको मिक्स भएको कप्तान निरुता ठगुन्ना बताउँछिन् । उनी भन्छिन्, ‘टिम एकदमै राम्रो छ । पुरानो र नयाँको मिक्स छ । एकदमै राम्रो नयाँ बहिनीहरू आइराख्नुभएको छ । नयाँ र पुरानो मिक्स भएर खेल्दा अझ राम्रो हुन्छ ।’
स्पाइकर उषा भण्डारी टिम पहिलाभन्दा राम्रो भएको सुनाउँछिन् । ‘हामीले हाम्रो प्रदर्शनमा प्रेसर लिइराखेको छौं । नयाँ खेलाडीले दिदीहरू छ भनेर ढुक्क बसेका छैनन् । उनीहरूले पनि जिम्मेवारी लिएर हामीले पनि गर्नुपर्छ भन्ने छ । त्यही भएर पहिला भन्दा राम्रो छ टिम’ उनी भन्छिन्, ‘अलिकति अनुभवको कमी हुन्छ होला । तर, सधैं अनुभवी भनेर मात्र हुँदैन । नयाँ पनि अवसर दिनुपर्छ ।’
नयाँ खेलाडी, छैन एक्सपोजर

जेठ ८ गतेबाट घरेलु मैदानमा सुरु हुने काभा महिला भलिबलमा च्याम्पियनसिपका लागि नेपालले ६ नयाँ खेलाडीलाई समेट्दै टोलीको घोषणा गरेको छ ।
सिनियर खेलाडी विदेशिँदा नयाँ खेलाडी समेटेको भलिबल संघले प्रतियोगिताअघि कुनै एक्प्रोजर दिन सकेन । उक्त च्याम्पियनसिपका लागि चैत ५ गतेदेखि नेपाली टोलीले प्रशिक्षण गरेको हो । यो दुई महिनाको क्याम्पमा रहेका खेलाडीहरूले विचमा छुट्टछुट्टै टिमबाट दशौं पीएम कप एनभीए भलिबल लिग खेले । तर, उनीहरूले तयारीका लागि एउटै टोलीबाट अभ्यास खेल्ने अवसर पाएनन् ।
मुख्य प्रशिक्षक भट्ट प्रशिक्षणको समयमा कम्तीमा ४ वटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने भएपनि त्यो अवसर खेलाडीहरूले नपाएको बताउँछन् । ‘यो २ महिनामा कम्तीमा ४ वटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने थियो । जसले नयाँ खेलाडीलाई उत्साह जगाउथ्यो । अरु देशका खेलाडीहरूसँग पनि प्रतिष्पर्धा गर्न सक्छौं भन्ने मनोवैज्ञानिक रुपमा तयार हुन्थ्ये । त्यो कुरा पनि भएन’ उनी भन्छिन् ।
प्रशिक्षणमा सिकेका कुराहरू खेलमा देखाउने कप्तान निरुताको विश्वास छ । ‘जे जस्तो भए पनि हामीले आफ्नो बेस्ट दिने हो । जति हामीले सिकेको कुराहरू छ । जति कोचले हामीलाई ट्रेनिङमा सिकाउनुभएको छ । हरेक कुरा सोचर म्याचमा देखाउने छौं,’ उनी भन्छिन् ।
प्रतिक्रिया 4