News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा ६ हजारभन्दा बढी बेपत्ता भएकामध्ये १ हजार ४०३ शव फेला परेका छन्, जसको पहिचान डीएनए परीक्षण र औँठाछापबाट गरिँदै छ।
- राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १ हजार ६६० नमुना पुगेका छन्, जसमा ८३७ शव र ८२३ आफन्तका नमुना छन्, र पहिचान प्रक्रिया साढे दुई महिना लाग्न सक्ने अनुमान छ।
- प्रहरीले २९० भन्दा बढी शवको औँठाछाप सरकारी डेटाबेससँग मिलान गरिरहेको छ र फेसियल डिटेक्सन तथा विदेशी विज्ञको सहयोगमा पनि पहिचान प्रयास भइरहेको छ।
१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ६ हजारभन्दा बढी मानिस बेपत्ता छन् । फेला परेका अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
पछिल्लो तथ्यांकअनुसार १ हजार ४०३ शव फेला परेका छन् । तीमध्ये १०३ वटाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका १ हजार ३०० शव भने जमिनमुनि गाडिएका छन् ।
कतिपय बेपत्ताका परिवारले जीवित भेटिने आशा मारिसकेका छन् । उनीहरूले कुशको शव बनाएर अन्तिम संस्कारसमेत गरिसकेका छन् ।
अब पहिचान हुन नसकेका शव र बेपत्ता व्यक्तिबीच सम्बन्ध स्थापित गर्ने मुख्य आधार डीएनए परीक्षण बनेको छ ।
शवबाट संकलित नमुना खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र सामाखुशीस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण भइरहेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाले अहिलेको गतिमा काम अघि बढे शव र आफन्तका नमुना परीक्षण गरी पहिचानको प्रक्रिया टुंग्याउन करिब साढे दुई महिना लाग्न सक्ने अनलाइनखबरलाई बताए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै अहिलेसम्म १ हजार ६६० वटा नमुना प्राप्त भएका छन् । तीमध्ये ८३७ वटा मृतकका शवबाट संकलित नमुना हुन् । शवबाट मुख्यतः दाँत र हड्डीका नमुना संकलन गरिएको छ ।
बाँकी ८२३ वटा नमुना भने बेपत्ता व्यक्तिका आफन्तको रगतबाट संकलन गरिएका हुन् । यी नमुना विभिन्न जिल्लाबाट संकलन गरेर प्रयोगशालामा पठाइएका हुन् । अझै पनि आफन्तको रगतको नमुना संकलन गर्ने काम जारी छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा प्राप्त ८२३ वटा आफन्तका रगतका नमुनामध्ये ५५१ वटा नमुनाको डीएनए प्रोफाइल तयार भइसकेको छ ।
रगतबाट डीएनए निकाल्ने प्रक्रिया तुलनात्मक रूपमा सहज हुने भएकाले बाँकी नमुना परीक्षण पनि एकदेखि डेढ साताभित्र पूरा गर्न सकिने अवस्था रहेको थापाले बताए ।
तर, शवबाट संकलित हड्डी र दाँतका नमुनाको परीक्षण भने जटिल र समय लाग्ने हुन्छ । प्रयोगशालामा प्राप्त ८३७ वटा शवका नमुनामध्ये अहिलेसम्म करिब १९५ वटाको परीक्षण नतिजा प्राप्त भएको छ ।

थप करिब २०० वटा नमुना चिनियाँ टोलीले नास्टको प्रयोगशालामा परीक्षण गरिरहेको छ । बाँकी नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण भइरहेका छन् ।
थापाका अनुसार हड्डी र दाँतबाट डीएनए निकाल्ने, त्यसको प्रोफाइल तयार गर्ने र आफन्तको नमुनासँग मिलान गर्ने प्रक्रिया लामो हुन्छ । तर यसबीचमा शव तथा बेपत्ता व्यक्तिका आफन्तका थप नमुना संकलन भएर आउने क्रम जारी रहेकाले सम्पूर्ण प्रक्रिया पूरा हुन अझ बढी समय लाग्न सक्ने उनको भनाइ छ ।
‘शवबाट निकालिएको डीएनए नमुना र आफन्तको रगतबाट निकालिएको नमुनालाई तुलना गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै जैविक सम्बन्ध पत्ता लगाउन सहज हुन्छ,’ थापा भन्छन्, ‘ठ्याक्कै डीएनए म्याच हुँदैन । तर पारिवारिक (आनुवांशिक) रूपमा डीएनए एक पुस्ताबाट अर्को पुस्तामा सर्छ । त्यही अनुसारको गुण बुबा र आमाबाट छोराछोरीमा सरेको हुन्छ । यसकै आधारमा नाता पत्ता लगाइन्छ ।’
पहिले प्रोफाइल, त्यसपछि म्याचिङ
थापाका अनुसार बाढीमा भेटिएका शवबाट डीएनए प्रोफाइल तयार गर्ने काम तीव्र रूपमा भइरहेको छ । त्यसैगरी, बेपत्ता व्यक्तिका आफन्तबाट रगतको नमुना संकलन र डीएनएको काम भइरहेको छ ।
बेपत्ताको संख्या ठूलो भएकाले शव र आफन्तको डीएनएको नमुना प्रोफाइलको तयार गरिने छ । शवबाट प्राप्त अज्ञात डीएनए र आफन्तको ज्ञात नमुना तुलना गरेर जैविक सम्बन्ध पहिचान गरिने छ । त्यसपछि मात्रै म्याचिङको काम हुनेछ ।
एक शवको डीएनए प्रोफाइल र ठूलो संख्यामा एकै पटक बेपत्ता परिवारले दिएको नमुनासँग म्याचिङ गरिन्छ । ‘सामान्य घटनामा अज्ञात नमुना र सम्भावित व्यक्तिको नमुना तुलना गरे पुग्छ । शव चिन्न सक्ने अवस्थामा छैनन्,’ थापा भन्छन्, ‘त्यसलै एउटा शवको डीएनएलाई बेपत्ता व्यक्तिका आफन्तबाट संकलित सबै नमुनासँग तुलना गरेर हेर्नुपर्छ ।’

यसका लागि सफ्टवेयरको प्रयोग गरिने छ । सफ्टवेयरले एउटा अज्ञात डीएनएसँग कुन–कुन आफन्तको नमुना बढी सम्बन्धित हुनसक्छ भनेर सम्भावित क्रम निकाल्ने छ । त्यसपछि विज्ञहरूले आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीको सम्बन्धलगायतको सांख्यिकीय विश्लेषण गरेर पहिचान टुंग्याउने छन् ।
‘२० वटा नमुना परीक्षण गरेर म्याचिङ गरियो र बाँकी सयौँ नमुना दुई महिनापछि परीक्षण भयो भने पहिचान प्रक्रिया थप जटिल हुन्छ,’ थापाले भने, ‘त्यसैले ठूलो संख्यामा डीएनए प्रोफाइल तयार भएपछि सफ्टवेयरमार्फत म्याचिङ गर्छौं ।’
आफन्तको रगत तथा शवबाट प्राप्त हड्डी र दाँतबाट डीएनए निकालेर प्रोफाइल तयार गरिने छ । यो काम पूरा गर्न करिब एकदेखि डेढ महिना लाग्न सक्ने थापाले बताए ।
बाढीमा भेटिएका शव टुक्राटुक्रा छन् । एकै व्यक्तिको पनि तीन/चार वटा अवशेषसमेत भेटिएको हुनसक्ने आकलन छ । कूल शवमध्ये ५२४ वटा आंशिक अंग भेटिएको छ । यस्तो अवस्थामा हड्डी वा दाँतबाट डीएनए नमुना निकालेर प्रोफाइलिङ गर्नुपर्ने भएकाले प्रक्रिया तुलनात्मक रूपमा जटिल हुने विज्ञ बताउँछन् ।
औँठाछाप भिडाएर पनि पहिचानको प्रयास
प्रहरीले शवको डीएनए परीक्षणसँगै औँठाछाप भिडाएर पनि मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ । यसको काम प्रहरीको विधि विज्ञान प्रयोगशालामा भइरहेको छ ।
शवबाट औँठाछाप संकलन गरी सम्बन्धित व्यक्तिले विगतमा विभिन्न प्रयोजनका लागि दिएका औँठाछापसँग तुलना गर्ने काम भइरहेको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले बताए ।
‘२९० भन्दा बढी शवबाट औँठाछाप निकाल्न सकिएको छ । ती औँठाछाप राष्ट्रिय परिचयपत्रलगायत विभिन्न सरकारी डेटाबेसमा रहेका विवरणसँग मिलान गरेर पहिचान गर्ने प्रयास भइरहेको छ,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘यसका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ । यसबाट म्याचिङ भएको शव चाँडै आफन्तलाई दिन सकिन्छ होला ।’

उनका अनुसार औँठाछाप पहिचानका लागि सिंगापुरले एउटा उपकरण उपलब्ध गराएको छ । सिंगापुरबाट आएको टिमले फिङ्गर प्रिन्ट पहिचान गर्न सहयोग गरिरहेका छन् । त्यसबाहेक नेपाल प्रहरीसँग रहेका उपकरणको प्रयोगबाट पनि पहिचानको काम भइरहेको छ ।
शव पहिचानका लागि ‘फेसियल डिटेक्सन’ प्रविधिको समेत प्रयोग भइरहेको छ । शवका अनुहार र हराइरहेका व्यक्तिका तस्वीरलाई एआई प्रविधिमार्फत तुलना गरेर पहिचान गर्न सकिन्छ कि भन्ने विषयमा प्रहरीको टोलीले काम गरिरहेको काफ्लेले जानकारी दिए ।
‘कतिपय नमुनाको डीएनए म्याचिङ पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउँछ । नमुना संकलन गर्ने काम पनि जारी छ र संख्या अझै बढ्न सक्छ । चाँडोभन्दा चाँडो नतिजा दिने गरी काम गरिरहेका छौँ,’ काफ्लेले भने ।
डीएनए परीक्षणमा अमेरिकी सफ्टवेयरको प्रयोग
डीएनए परीक्षणको तथ्यांक विश्लेषणका लागि अत्याधुनिक सफ्टवेयर प्रयोग हुने भएको छ । यसका लागि छुट्टाछुट्टै डेटाबेस तयार गरिन्छ । एउटा डेटाबेसमा बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएका डीएनए नमुना राखिन्छ भने अर्को डेटाबेसमा शवबाट प्राप्त डीएनए नमुना राखिन्छ ।
त्यसपछि सफ्टवेयरले शवबाट प्राप्त डीएनए नमुनालाई आफन्तका नमुनासँग तुलना गरी कुन नमुना सबैभन्दा बढी मिल्ने सम्भावना छ भन्ने गणना गर्छ । त्यसका आधारमा सम्भावित पारिवारिक सम्बन्ध पहिचान गर्न सकिन्छ ।
थापाका अनुसार डीएनए म्याचिङका लागि ‘कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोग हुन्छ । यो प्रणाली अमेरिकाको एफबीआईले अपराध अनुसन्धानमा व्यक्तिको पहिचान तथा फेमिलियल सर्चिङका लागि प्रयोग गर्दै आएको छ । अहिले प्रहरी विधि विज्ञान प्रयोगशालाले बेपत्ता व्यक्तिको पहिचानमा प्रयोग गर्ने भएको छ ।

शव पहिचानको काममा सहयोग गर्न चीन, भारत, दक्षिण कोरिया र सिंगापुरबाट उपकरण तथा जनशक्ति नेपाल आएका छन् ।
काफ्लेका अनुसार नेपालमा उपलब्ध मेसिन र जनशक्तिले मात्रै ठूलो संख्यामा नमुना परीक्षण गर्न लामो समय लाग्छ । तर अहिले विदेशी विज्ञ, थप मेसिन र जनशक्तिको सहयोगमा परीक्षणको गति बढाइएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए विज्ञ पाँच, सहयोगी तीन जना छन् । भारतबाट ८ जनाको फरेन्सिक डीएनए विज्ञ आएका छन् । चीनबाट १५ जनाको विज्ञ आएका छन् । उनीहरू नास्टमा बसेर काम गरिरहेका छन् । दक्षिण कोरिया र सिंगापुरको टिम भने प्रहरी विधि विज्ञान प्रयोगशालामा बसेर काम गरिरहेको छ ।
एउटै परिवारबाट बेपत्ताको सम्बन्ध कसरी खुल्छ ?
कतिपय पूरै परिवार बेपत्ता छन् । यस्तो अवस्थामा कसरी शव पहिचान गर्न सकिन्छ भन्ने प्रश्नमा थापा भन्छन्, ‘अज्ञात नमुना (शव) लाई अर्को अज्ञात नमुनासँग पनि तुलना गरेर उनीहरूबीच जैविक सम्बन्ध भए/नभएको पत्ता लगाउन सकिन्छ ।’
उदाहरणका लागि, एउटै परिवारका हजुरबुबाको पहिचान हुँदा त्यही नमुनाबाट त्यसपछिका पुस्ताको सम्बन्ध परीक्षण गर्न सकिन्छ । त्यसपछि पहिचान भएका सन्तानको नमुनालाई आधार बनाएर नाति–नातिनासहित परिवारका अन्य सदस्यसँगको सम्बन्ध पनि परीक्षण गर्न सकिन्छ ।
यसरी अज्ञात नमुनाहरूलाई आपसमा तुलना गर्दा एउटै परिवारका वा आपसमा जैविक सम्बन्ध भएका व्यक्ति को हुन् भन्नेबारे प्रारम्भिक निष्कर्ष निकाल्न सकिन्छ ।
तर, अन्तिम पुष्टि गर्न परिवारका कुनै न कुनै सदस्यको ज्ञात नमुना आवश्यक पर्ने थापा बताउँछन् । हजुरबुबा, हजुरआमा वा परिवारका एक–दुई जना सदस्यको नमुना उपलब्ध भएमा त्यसलाई आधार बनाएर अन्य सदस्यसँगको नातासम्बन्ध पत्ता लगाउन सकिन्छ ।

डीएनए परीक्षणका लागि सबैभन्दा सहज र भरपर्दो नमुना भनेको आमा–बाबु वा छोराछोरीको हो । आमा र बाबुबाट करिब ५०–५० प्रतिशत आनुवंशिक सामग्री सन्तानमा आउने भएकाले उनीहरूबीचको सम्बन्ध परीक्षणबाट ९९.९९ प्रतिशतसम्म निश्चितताका साथ जैविक सम्बन्ध पुष्टि गर्न सकिने थापा बताउँछन् ।
आफ्नै आमाबाबु वा छोराछोरीको नमुना उपलब्ध नभए एउटै आमाबाबुबाट जन्मिएका सहोदर दाजुभाइ–दिदीबहिनीको नमुना प्रयोग गर्न सकिन्छ । त्यो पनि उपलब्ध नभए सौतेनी दाजुभाइ–दिदीबहिनी को नमुनाबाट परीक्षण गर्न सकिन्छ ।
तर, नाता जति टाढा हुँदै जान्छ, डीएनएबाट सम्बन्ध पुष्टि गर्ने क्षमता पनि घट्दै जान्छ । हजुरबुबा र नातिबीच आउँदा करिब २५ प्रतिशत अनुवांशिक समानता हुन्छ ।
‘आमा–बाबुबाट सन्तानमा करिब आधा–आधा अनुवांशिक गुण आउँछ । जसले गर्दा सम्बन्ध पुष्टि गर्न सहज हुन्छ,’ थापा भन्छन्, ‘तर हजुरबुबा–हजुरआमा, मामा, काका वा अन्य टाढाका नातेदारतर्फ जाँदा पहिचानको शक्ति घट्दै जान्छ । त्यसैले सकेसम्म धेरै परिवारका सदस्यको नमुना लिनुपर्ने हुन्छ ।’
हड्डीबाट डीएनए निकाल्नै चुनौती
थापाका अनुसार सबै नमुनाबाट पूर्ण डीएनए प्रोफाइल प्राप्त हुन्छ भन्ने हुँदैन । कतिपय नमुनाबाट आवश्यक सबै भागको डीएनए प्राप्त नभई ‘पार्सियल प्रोफाइल’ मात्रै आउन सक्छ । यस्तो अवस्थामा सम्बन्धित व्यक्तिसँग डीएनए मिल्यो वा मिलेन भन्ने निष्कर्ष निकाल्न कठिन हुने र त्यसको सांख्यिकीय विश्लेषण तथा व्याख्या गर्नसमेत समस्या हुने उनले बताए ।
हड्डीबाट डीएनए निकाल्दा सामान्यतया ७० देखि ८० प्रतिशत नमुनाबाट राम्रो प्रोफाइल प्राप्त हुन्छ । बाँकी करिब २० प्रतिशत नमुनामा प्रयोग गर्न मिल्ने स्तरको डीएनए प्राप्त नहुन सक्ने भएकाले ‘नो प्रोफाइल अटेन’ वा ‘पार्सियल प्रोफाइल अटेन’को अवस्था आउन सक्ने उनको भनाइ छ ।
कतिपय शवको डीएनए स्पष्ट नआएपछि पुनः अर्को विधिबाट परीक्षण गर्नुपर्ने भएकाले समय थपिने थापाले बताए ।
उनका अनुसार अहिलेको अनुमानमा सबै परीक्षण पूरा गर्न दुईदेखि साढे दुई महिनासम्म लाग्न सक्छ । थप उपकरण कति उपलब्ध हुन्छन् र तिनले परीक्षणको गति कति बढाउँछन् भन्नेमा पनि समय निर्भर रहने उनले बताए ।

अहिले प्रयोग भइरहेका उपरकण एड्भान्स खालका छन् । ‘अहिलेको चुनौती भनेको शवबाट डीएनए प्रोफाइल निकाल्नै हो । दाँत र हड्डीको केसमा एक पटक गर्दैमा रिजल्ट आउँछ भन्ने छैन । हड्डीमा डीएनएको मात्रा कम हुन्छ,’ थापाले भने, ‘हामीले १०० वटाको गर्यौँ भने ४० वटाको जति पहिलो चरणमा रिजल्ट आउँछ । बाँकी फेरि अर्को मेथडबाट गर्नुपर्ने हुन्छ । दोहोर्याइ–तेहर्याइ गर्दा समय लाग्छ ।’
रगतबाट गर्दा भने एकैपटक र कम समयमा नतिजा निकाल्न सकिने उनी बताउँछन् ।
थापाका अनुसार अहिले प्रयोग भइरहेको डीएनए प्रविधिमा नेपाल र विदेशी विज्ञ टोलीबीच ठूलो अन्तर देखिएको छैन । विपत्तिपछि नेपालमा आएका भारतीय र चिनियाँ विज्ञसँगै काम गर्दा उनीहरूले प्रयोग गर्ने प्रविधि र नेपालमा प्रयोग भइरहेको प्रविधि लगभग उस्तै रहेको पाइएको उनले बताए ।
दिल्लीस्थित केन्द्रीय फोरेन्सिक विज्ञान प्रयोगशालाका सहायक निर्देशक डा. कमल चौहान डीएनए परीक्षणका लागि नेपालको प्रविधि र सेटअप भारतको जस्तै रहेको बताउँछन् । यहाँ उपकरण अत्याधुनिक छ । भारतमा जस्तो मेसिन छ, त्यही अनुसारकै छ,’ चौहानले भने, ‘यहाँको समस्या सञ्चालन क्षमताको छ । थोरै मेसिन हुँदा कम मात्रामा नमुना परीक्षण भइरहेको छ ।’
थापाका अनुसार अहिलेको मुख्य चुनौती प्रविधिभन्दा पनि ठूलो संख्यामा आएका नमुनालाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नु हो । उनी भन्छन्, ‘अहिलेको समस्या प्रविधिमा होइन, ठूलो संख्यामा आएका नमुनालाई कसरी व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भन्नेमा हो ।’
फोटो : आर्यन धिमाल
प्रतिक्रिया 4