वर्षायाम विस्तारै अन्त्य हुँदैछ । पानी पर्न कम भएसँगै लामखुट्टेको गतिविधि पनि घट्दै जान सक्छ । तर वर्षापछि जमेको पानीमा लामखुट्टे हुर्किने भएकाले डेंगीजस्ता रोगको जोखिम केही समय कायमै रहन सक्छ ।
तर लामखुट्टेबारे हामीले सोचेजस्तो सबै कुरा एउटै छैनन् । सबै लामखुट्टेले टोक्दैनन्, सबैले रोग सार्दैनन् । अझ रोचक त, मानिसलाई टोक्ने लामखुट्टे पनि सबै एउटै कारणले टोक्दैनन् ।
मानिसलाई पोथी लामखुट्टेले मात्रै टोक्छ
लामखुट्टेले मानिसको रगत चुस्छ भन्ने सोचिन्छ । तर मुख्यतः पोथी लामखुट्टेले मात्र मानिस वा जनावरको रगत चुस्छन् । भाले लामखुट्टेले रगत चुस्दैनन्, उनीहरू फूल तथा वनस्पतिबाट प्राप्त रसमा निर्भर हुन्छन् ।
पोथीलाई भने अण्डा विकास गर्न आवश्यक पोषणका लागि रगत चाहिन्छ । त्यसैले, अण्डा पार्ने समयमा पोथी लामखुट्टे बढी सक्रिय हुन्छन् ।
लामखुट्टेले कसरी मानिस बसेको ठाउँ पत्ता लगाउँछ ?
अँध्यारोमा पनि लामखुट्टेले मानिसलाई कसरी भेट्छ होला ? यसले शरीरबाट निस्कने कार्बन-डाइअक्साइड, शरीरको तापक्रम, पसिना र शरीरको गन्ध जस्ता संकेत पहिचान गर्न सक्छ ।
यही क्षमताका कारण मानिस वरिपरि लामखुट्टेको गतिविधि बढ्छ । अर्थात्, हामीले देख्नुअघि नै लामखुट्टेले हामीलाई ‘पहिचान’ गरिसकेको हुन सक्छ ।
कानमा सुनिने ‘भनभन’ आवाज किन ?
राति कान नजिकै आएर लामखुट्टेले गर्ने ‘भनभन’ आवाज निकै झर्कोलाग्दो हुन्छ । तर यो लामखुट्टेको कुनै विशेष आवाज होइन । उड्दा उसका पखेटा तीव्र गतिमा फड्किने भएकाले कम्पन उत्पन्न हुन्छ र त्यहीबाट आवाज आउँछ । अझ रोचक कुरा, भाले र पोथी लामखुट्टेको भन्काइको ध्वनि फरक हुन्छ ।
एक थोपा-जति पानी पनि काफी
लामखुट्टेलाई प्रजनन गर्न ठूलो पोखरी आवश्यक पर्दैन । घर वरिपरि जम्मा भएको थोरै पानी पनि प्रजननस्थल बन्न सक्छ । पुरानो टायर, गमला, बोतल, पानी जम्ने भाँडा, कुलर वा छतमा जम्मा भएको पानीमा समेत अण्डा पार्न सक्छ ।
डेंगी सार्ने लामखुट्टे राति मात्र सक्रिय हुँदैन
डेंगी सार्ने प्रमुख लामखुट्टे एडिज एजिप्टाइ हो । यो प्रायः दिनको समयमा, विशेषगरी बिहान र साँझतिर मानिसलाई टोक्ने गर्छ । त्यसैले, राति मात्र लामखुट्टेबाट बचेर पुग्दैन । दिनमा पनि पूरा शरीर ढाक्ने कपडा लगाउने, झुल वा जाली प्रयोग गर्ने र आवश्यक सावधानी अपनाउने गर्नुपर्छ ।
लामखुट्टेले टोक्दा किन चिलाउँछ ?
लामखुट्टेले रगत चुस्ने क्रममा छालामा आफ्नो लार छोड्छ । त्यस लारमा भएका पदार्थप्रति हाम्रो प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउँदा टोकिएको ठाउँ रातो हुने, सुन्निने र चिलाउने गर्छ । अर्थात्, चिलाउने कारण लामखुट्टेको मुखले बनाएको घाउ मात्र होइन, त्यसको लारप्रति शरीरले दिएको प्रतिरक्षा प्रतिक्रिया पनि हो ।