News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ अध्ययनले राति ६ देखि ८ घण्टा सुत्ने र आरईएम तथा गहिरो निद्रा पर्याप्त हुने मानिसमा दर्जनौँ गम्भीर रोगको जोखिम कम हुने देखाएको छ।
- पीएलओएस मेडिसिनमा प्रकाशित अध्ययनले ५ घण्टाभन्दा कम सुत्नेमा ३७ रोगको जोखिम उच्च हुने र निद्राको अनियमिततासँग मानसिक तथा शारीरिक समस्या जोडिने पाइएको छ।
- चीनको क्यापिटल मेडिकल युनिभर्सिटीका शोधकर्ताले युके बायोबैंकका ९५ हजार ५ सय ५९ सहभागीको तथ्याङ्क विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन्।
८ असोज, काठमाडौं । हरेक राति ६ देखि ८ घण्टाको पर्याप्त निद्राका साथै ‘आरईएम’ (आरईएम-र्यापिड आइ मुभमेन्ट) र गहिरो निद्रा लिने मानिसहरूमा दर्जनौँ गम्भीर रोगहरूको जोखिम उल्लेख्य रूपमा कम हुने एक नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिक पत्रिका ‘पीएलओएस मेडिसिन’ मा सेप्टेम्बर १७ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार दैनिक ५ घण्टाभन्दा कम सुत्ने मानिसहरूमा भने विभिन्न रोगको उच्च जोखिम रहने पाइएको छ।
चीनको क्यापिटल मेडिकल युनिभर्सिटीका शोधकर्ता शेङझी सन र उनको टोलीले गरेको यस अध्ययनले निद्राको मात्रा र गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावबारे नयाँ तथ्यहरू सार्वजनिक गरेको हो।
अध्ययनका लागि अनुसन्धानकर्ताहरूले युके बायोबैंकका ९५ हजार ५ सय ५९ जना सहभागीहरूको तथ्याङ्क विश्लेषण गरेका थिए। सहभागीहरूले लगातार सात दिन र रात हातमा ‘रिस्ट एक्सेलेरोमिटर’ नामक उपकरण प्रयोग गरेका थिए। अनुसन्धानकर्ताहरूले ‘डिप-लर्निङ एल्गोरिदम’को प्रयोग गरी निद्राका विभिन्न चरणहरू (आरईएम, गहिरो निद्रा र हल्का निद्रा), कुल निद्राको समय, निदाएपछिको ब्युँझाइ र निद्राको अनियमितताको मापन गरेका थिए। सहभागीहरूलाई सरदर ८.९ वर्षसम्म निरन्तर निगरानीमा राखिएको थियो र उनीहरूको स्वास्थ्य अभिलेखका आधारमा एक हजार भन्दा बढी रोगहरूसँग निद्राको सम्बन्ध परीक्षण गरिएको थियो।
अनुसन्धानका अनुसार आरईएम निद्राको मात्रा बढी भएका व्यक्तिहरूमा हार्ट फेल् , डिमेसिया र पार्किन्सन्स जस्ता ८३ वटा रोगको जोखिम निकै कम पाइएको छ। त्यस्तै, बढी गहिरो निद्रा लिने मानिसहरूमा टाइप-२ मधुमेह र गम्भीर डिप्रेसनसहित ७ वटा स्वास्थ्य समस्याको जोखिम कम देखिएको छ।
यसको विपरीत, निद्रामा अनियमितता र निदाएपछि बारम्बार ब्युँझिने समस्या भएका व्यक्तिहरूमा एन्जाईटी र लागूपदार्थ दुर्व्यसन जस्ता मानसिक तथा शारीरिक समस्याहरूको जोखिम बढी पाइएको छ।
अध्ययनले निद्राको समय र रोगको जोखिमबीच नन्- लिनियर सम्बन्ध रहेको देखाएको छ, जसअनुसार राति ६ देखि ८ घण्टा सुत्ने मानिसहरू सबैभन्दा कम जोखिमको क्षेत्रमा पर्छन्। २४ घण्टामा ५ घण्टाभन्दा कम सुत्ने मानिसहरूमा ३७ वटा विभिन्न रोगको जोखिम उच्च रहने र उनीहरू स्वास्थ्यका दृष्टिले सबैभन्दा बढी जोखिममा रहने अध्ययनले औँल्याएको छ।
अध्ययनका लेखकहरूले भनेका छन्, “यी निष्कर्षहरूले मध्यम उमेर र वृद्धवयका वयस्कहरूका लागि ६ देखि ८ घण्टाको निद्रा स्वास्थ्य सुरक्षाको बलियो आधार भएको थप प्रमाण प्रस्तुत गर्दछ। ६ देखि ८ घण्टाको निद्रा कायम राख्नाले धेरै रोगहरूको जोखिम प्रभावकारी रूपमा घटाउन सकिन्छ, जसले स्वास्थ्य प्रवर्द्धन र रोकथामका उपायहरूमा नयाँ दृष्टिकोण प्रदान गर्छ।”
अनुसन्धान टोलीका अनुसार ‘फेनोम-वाइड एसोसिएसन’ विश्लेषणले निद्राको ढाँचा र देखापर्ने रोगहरूबीच एक सय ५६ वटा महत्त्वपूर्ण सम्बन्धहरू पहिचान गरेको छ। साथै, ८६ वटा रोगका लक्षणहरूमा निद्राको समयको प्रत्यक्ष प्रभाव देखिएको छ । जसमध्ये सबैभन्दा बढी ६९ वटा रोगमा सबैभन्दा कम जोखिम ६ देखि ८ घण्टाको निद्रामा नै केन्द्रित रहेको पाइएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय निद्राको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको छ। सन् २०२६ को ‘चाइना स्लीप हेल्थ ह्वाइट पेपर’ अनुसार चिनियाँ नागरिकहरू औसत ६.९७ घण्टा सुत्ने भए पनि २३ प्रतिशत मानिसहरू अझै पनि राति ६ घण्टाभन्दा कम सुत्छन्। सोही प्रतिवेदनले २६ प्रतिशत मानिसहरूले मात्र नियमित निद्राको समय तालिका पालना गर्ने र समयसँगै निद्रामा अवरोध आउने समस्या बढ्दै गएको देखाएको थियो।
तथापि, यो एउटा अवलोकनमा आधारित (अब्जर्भेसनल ) अध्ययन भएकाले निद्राको ढाँचाले नै प्रत्यक्ष रूपमा रोग उत्पन्न गराउँछ वा घटाउँछ भन्ने कुरा शतप्रतिशत प्रमाणित भने भइनसकेको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4