News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको चिमचिमाबाट सुरु भएको डा. चन्द्र गिरीको यात्रा अमेरिकी संघीय सरकारको उच्च तहको कर्मचारी, वैज्ञानिक र नेपाली साहित्यकारसम्म फैलिएको छ।
खोटाङको दुर्गम गाउँ चिमचिमाबाट सुरु भएको थियो डा.चन्द्र गिरीको यात्रा । आज उनको परिचय अमेरिकी संघीय सरकारको उच्च तहको कर्मचारी, वैज्ञानिक र नेपाली साहित्यका स्रष्टासम्म फैलिएको छ ।
करिब ६५ वर्षअघि सुविधाविहीन विकट गाउँमा हुर्किँदै गर्दा उसले आफ्नो भविष्यको चित्र कसरी कोरेको थियो होला ? राम्रो पढ्ने, जागिर खाने, आफ्ना बाबुआमाले बाँचे भन्दा केही सुखको जिन्दगी जिउने ।
आफ्नो बाल्यकाल र त्यसबाट यहाँसम्मको यात्रालाई सम्झिँदा उनी भावुक हुन्छन् । गिरी नर्थ क्यारोलिनास्थित ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरसमेत हुन् ।
उनी अमेरिकाको वातावरण संरक्षण निकाय– युनाइटेड स्टेट्स इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए)को अनुसन्धान तथा विकास कार्यालयसँग आवद्ध वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत छन् । यो अमेरिकाको नियमित निजामती सेवामा सबैभन्दा उच्च तह मानिन्छ ।
विश्वको म्यान्ग्रोभ नक्सामा नेपाली वैज्ञानिकको हस्ताक्षर
भूउपग्रहले पृथ्वीको सतहबाट परावर्तित प्रकाश र ऊर्जालाई कैद गर्छ । वैज्ञानिकहरू त्यही तथ्यांक विश्लेषण गरेर जंगल कहाँ छ, कति घट्यो, कति फैलियो र समयसँगै पृथ्वीको स्वरूप कसरी बदलिँदै छ भन्ने पत्ता लगाउँछन् । नेपाली मूलका अमेरिकी वैज्ञानिक गिरीले आफ्नो जीवनका साढे तीन दशक यही काममा बिताएका छन् ।
म्यान्ग्रोभ समुद्र र जमिनबीचको तटीय क्षेत्रमा हुर्कने विशेष प्रकारको वन हो । यसले समुद्री आँधी, कटान र बाढीको प्रभाव कम गर्न सहयोग गर्छ । यो जैविक विविधताको आश्रयस्थल मात्र नभई ठूलो मात्रामा कार्बन भण्डारण गर्ने महत्वपूर्ण प्राकृतिक प्रणाली पनि हो ।
तर संसारका धेरै म्यान्ग्रोभ वन शहरीकरण, कृषि विस्तार, तटीय विकास, प्रदूषण, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका कारण दबाबमा छन् । म्यान्ग्रोभ कहाँ छन्, कति क्षेत्रफलमा फैलिएका छन् र कति तीव्र गतिमा परिवर्तन भइरहेका छन् भन्ने थाहा नपाई तिनको संरक्षणका लागि प्रभावकारी नीति बनाउन कठिन हुन्छ । गिरीको अनुसन्धान यही आवश्यकता पूरा गर्ने दिशामा केन्द्रित छ ।
उनले रिमोट सेन्सिङ, ल्यान्डस्याट भूउपग्रहका तस्वीर र भौगोलिक सूचना प्रणाली प्रयोग गरेर स्थानीयदेखि विश्वव्यापी तहसम्म वन र भू–आवरणको अवस्था अध्ययन गरेका छन् ।

उनको नेतृत्व तथा सहलेखनमा तयार भएको ‘स्टाटस एन्ड डिस्ट्रिब्युसन अफ म्यान्ग्रोभ फरेस्ट्स अफ द वर्ल्ड युजिङ अर्थ अब्जर्भेसन स्याटेलाइट डेटा’ शीर्षकको अनुसन्धानपत्र सन २०११ मा प्रकाशित भएको थियो । उक्त अध्ययनमा करिब एक हजारवटा ल्यान्डस्याट दृश्य विश्लेषण गरी विश्वका म्यान्ग्रोभ वनको विस्तृत नक्सा तयार गरिएको थियो ।
विज्ञानमा उनको योगदान भूगोल र वनको नक्सांकनमा मात्र सीमित छैन । भू–उपयोग परिवर्तन, विश्वव्यापी भूमि आवरण, जैविक विविधता, तटीय कार्बन, वन संरक्षण र वातावरणीय नीति निर्माणसँग जोडिएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानमा उनी सहभागी भएका छन् ।
गिरीका अनुसार नेपालजस्तो भौगोलिक र जैविक विविधता भएको मुलुकमा वन, पानी, कृषि, हिमाली पारिस्थितिक प्रणाली, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन र सहरीकरणबारे स्वदेशी आवश्यकतामा आधारित अनुसन्धान हुनुपर्छ ।
मन्त्रालय वा संस्था स्थापना गर्नु सकारात्मक सुरुवात भए पनि दक्ष जनशक्ति, स्थिर लगानी, वैज्ञानिक स्वतन्त्रता र अनुसन्धानको परिणामलाई नीतिमा प्रयोग गर्ने संयन्त्र अपरिहार्य हुने उनी बताउँछन् ।
अंग्रेजीमा विज्ञान, नेपालीमा भावना
गिरीको परिचय वैज्ञानिकमा मात्र सीमित छैन, साहित्य लेखनमा पनि छ । गिरीले वैज्ञानिक जीवनमा अंग्रेजी भाषामा धेरै अनुसन्धानात्मक लेख लेखे । वैज्ञानिक अनुसन्धानको भाषा तथ्यांक, प्रमाण, विधि, विश्लेषण र निष्कर्षमा आधारित हुन्छ । तर मानिसको अन्तर्मनमा रहेका अनुभूति, स्मृति, सम्बन्ध र पीडालाई त्यही भाषामा पूर्ण रूपमा अभिव्यक्त गर्न नसकेको अनुभूति उनलाई भइरह्यो ।
नेपालीमा लेख्दा आफूभित्र रहेको मानिस, गाउँ, परिवार, बाल्यकाल र संवेदनासँग पुनः भेट हुने अनुभव उनी सुनाउँछन् । ‘अंग्रेजीमा डाटा र सैद्धान्तिक कुरा लेख्दा चित्त बुझ्छ’ उनी भन्छन, ‘तर भावनाका कुरा नेपालीमा लेख्दा बढी आनन्द आउँछ ।’ त्यही अनुभूतिले उनलाई आत्मकथा, यात्रा संस्मरण, उपन्यास, कविता र गीत लेखनतर्फ ल्यायो ।
उनका ‘मैले नदेखेको सपना, ‘डङ्की’ सपनाको कालबाटो, ‘संसारको सेरोफेरो जस्ता साहित्यिक कृति प्रकाशित छन् । उनका धेरै नियात्रा र लेखहरू नेपालका विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् । अंग्रेजी अनुसन्धानका विषयमा १२५ भन्दा बढी अनुसन्धानपत्र र चार वटा सम्पादित पुस्तक प्रकाशन गरे । रिमोट सेन्सिङ्ग अफ ल्याण्ड युज एण्ड ल्याण्ड कभर रिमोट सेन्सिङ्ग इन म्याङ्ग्रोभ्स भाग एक, दुइ, र तीन उनले लेखेका अंग्रेजी पुस्तक हुन् ।

गिरीको साहित्यिक यात्राको सबै भन्दा पछिल्लो कृति उपन्यास ‘डङ्की’ सपनाको कालबाटो हो । उपन्यास अवैध बाटो हुँदै अमेरिका पुग्ने प्रयास गर्ने एक नेपाली युवकको कथामा आधारित छ । यो सुरक्षित र सुन्दर भविष्यको सपना बोकेर ज्यान जोखिममा राख्दै सीमा, जंगल, नदी, समुद्र, हिरासत र मानव तस्करको सञ्जाल पार गर्ने विश्वभरिका आप्रवासीहरूको प्रतिनिधिमूलक कथा हो । ‘धेरै सााहित्यकार सुनेर लेख्न हुन्छन्, तर उहाँले देखेर लेखेको पुस्तक हो ‘डङ्की’ साहित्यकार कृष्ण धारावासी भन्छन्, ‘सुनेर लेख्नु र देखेर लेख्नुमा धेरै फकर छ, एउटा उहाँको लेखन धेरै राम्रो देखिन्छ ।’
उनको आत्मकथा ‘मैले नदेखेको सपना’ खोटाङको दुर्गम गाउँमा जन्मिएको बालकले अभाव, शिक्षा, संघर्ष र अवसरका अनेक चरण पार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा बनाएको पहिचानको कथा हो । यसको अंग्रेजी संस्करण ‘अनइम्याजिन्ड ड्रिम’ मा पनि नेपालको पहाडी भूगोलबाट विश्वमञ्चसम्म पुगेको उनको जीवनयात्रालाई संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ ।
उनको अर्को महत्वपूर्ण कृति ‘संसारको सेरोफेरो’ यात्रा संस्मरण हो । व्यावसायिक तथा व्यक्तिगत यात्राका क्रममा उनी विश्वका १२६ भन्दा बढी देश पुगेको बताउँछन् । विभिन्न समाज, संस्कृति, प्राकृतिक सम्पदा, राजनीतिक व्यवस्था र मानिसका जीवनशैलीलाई उनले पर्यटकको आँखाले मात्र हेरेनन्, वैज्ञानिकको सूक्ष्म अवलोकन र साहित्यकारको संवेदनशीलताले तिनलाई नियात्रामा रूपान्तरण गरे ।
गिरी गीतकारसमेत हुन् । उनको गीत ‘आऊ तिमी अँगालोमा’ सार्वजनिक भएपछि युट्युब र टिकटकमा लोकप्रिय बने । यो गीत १ करोड २ लाख पटक हेरियो । असख्य टिकटक बने । उनका दुई दर्जन हाराहारी गीत रेकर्ड भइसकेका छन् ।
अनुसन्धानपत्रमा प्रमाण खोज्ने वैज्ञानिक गीतमा भावना खोज्छन् । भूउपग्रहको तस्वीरमा वनको परिवर्तन पढ्ने उनका आँखा साहित्यमा मानिसको मनोविज्ञान र सपनाको परिवर्तन पढ्छन् ।
खोटाङमा बनेको शिक्षाको जग
गिरीको जन्म १३ मे १९६१ मा तल्कालीन पाथेका गाविसको चिमचिमा गाउँमा भएको हो । जुन ठाउँ पुग्न दिक्तेलबाट पैदल हिँडेर ३ घण्टा लाग्छ । सडक, सञ्चार र स्कुलको सहज पहुँच थिएन । उनले बाल्यकालदेखि नै अभाव र कठिनाइबीच शिक्षाको बाटो पहिल्याए ।

आफूले पढ्न पाउनुको ठूलो श्रेय उनी आफ्ना हजुरबा प्रताप गिरीलाई दिन्छन् । ‘परिवारको आर्थिक तथा भौगोलिक कठिनाइका बीच हजुरबाले शिक्षाप्रति जगाएको चेतना नै मेरो जीवनको आधार थियो’ उनी भन्छन् ।
प्रारम्भिक शिक्षा खोटाङमा पूरा गरेपछि थप ध्ययनका लागि झापा पुगे । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत धरानबाट विज्ञान विषयमा प्रमाणपत्र तह र विराटनगरबाट स्नातक अध्ययन गरे । पोखरास्थित वन विज्ञान अध्ययन संस्थानबाट वन विज्ञानमा स्नातकोत्तर पास गरे ।
त्यही वन विज्ञानको अध्ययनले उनलाई जंगल, वातावरण र पृथ्वीको भू–आवरणप्रति गहिरो रुचि जगायो । पछि उनी थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बाट सन १९९३ मा रिमोट सेन्सिङ तथा भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर र १९९७ मा विद्यावारिधि उपाधि हासिल गरे ।
चन्द्रले नेपालको सरकारी सेवाबाट आफ्नो जागिरे जीवन सुरु गरेका थिए । नेपालमै काम गर्ने इच्छा हुँदाहुँदै पनि उनले परिरस्थितिले बाहिरी संसारतर्फ डोर्यायो । ‘मलाई नेपालमै केही गर्न मन थियो’ उनी भन्छन, ‘तर त्यो समय अमेरिका जाने लहर थियो । त्यही लहर र नयाँ अवसरको खोजीमा अमेरिका पुगेँ ।’
नेपालबाट सुरु भएको उनको व्यावसायिक यात्रा थाइल्यान्ड, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, अमेरिकी विश्वविद्यालय र अनुसन्धान संस्थासम्म फैलियो । उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, ड्युक विश्वविद्यालय, नर्थ क्यारोलिना स्टेट विश्वविद्यालय, साउथसंयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम, कोलम्बिया विश्वविद्यालय, साउथ डाकोटा स्टेट विश्वविद्यालय, युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे तथा अन्य शैक्षिक र अनुसन्धान संस्थासँग काम तथा सहकार्य गरे ।

प्रतिक्रिया 4