+
+
Shares

नेपालकै सर्वाधिक महंगो चिया कसरी बन्छ ?

कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको जसबीरे चिया प्रशोधन कारखानाले गोल्डेन निडल नामको चिया उत्पादन गर्दै आएको छ, जसको खुद्रा मूल्य प्रतिकेजी १५ हजार रुपैयाँबाट सुरु हुन्छ।

सोध्नै पर्दैन, तपाईंले चिया त खानुभएको छ ? यो सर्वप्रिय पेयसँगै तपाईंको दैनिकी सुरु हुन्छ । बिहान तात्तातो चिया सुरुप्प नपारेसम्म तपाईं तंग्रिनुहुँदैन ।

चिया त पिउनुभएको छ । कस्तो-कस्तो ?

चियापत्ती भुलुक्क उमालेको । थोरै चिनी मिसाएको । सुकुमेल र ल्वाङ मिसाएको । तेजपत्ता र अदुवा मिसाएको । दूध मिसाएको । आफ्नो स्वाद र सहजता अनुसार तपाईंले यसमध्ये कुनैपनि तरिकाले चिया पिउनुभयो होला ।

त्यसबाहेक अहिले ग्रीन टिको स्वाद पनि धेरैलाई बसिसेको छ । खासगरी स्वास्थ्यप्रति सचेतहरूलाई ग्रीन टिले लोभ्याएको छ । बजारमा यी चियाहरू सहजै पाइन्छन् । सस्तै पाइन्छन् । तर तपाईंले नेपालमै उत्पादन हुने सर्वाधिक महंगो चिया पिउनुभएको छ ?

त्यो चिया हो, गोल्डेन निडल । यसको खुद्रा मूल्य नै प्रतिकेजी १५ हजार रुपैयाँबाट सुरु हुन्छ । बजारमा त यो ग्रामको हिसाबले बिक्री हुन्छ । १०० ग्रामकै ३५०० रुपैयाँसम्म पर्न सक्छ ।

यति महंगो चिया कसले पिउँछ ? यससँगै आउने अर्को प्रश्न पनि छ, किन यो चिया यति महंगो हुन्छ ?

खासमा पूर्वी पहाडमा उत्पादन हुने चियामध्ये यो सर्वाधिक गुणस्तरको चिया हो । यो चियाको कलिलो मुनाबाट निकालिने सुइरोबाट बन्छ । सुइरो अर्थात निडल । यसको गुण र स्वाद विशिष्ठ किसिमको हुन्छ ।

त्यसबाहेक यसलाई टिप्न पनि निकै मेहनत चाहिन्छ । बगानमा एकदमै जतनसाथ यस्तो सुइरो टिपिन्छ । त्यसलाई डोकोमा राखिन्छ । अनि फ्याक्ट्रीमा पुर्‍याएर स्वच्छ ढंगले प्रशोधन गरिन्छ । यसलाई ओइलाउने, माड्ने र सुकाउने विधि एकदमै फरक हुन्छ । एउटा निश्चित तापमानमा ओइलाएर थप प्रक्रिया पूरा गरिन्छ ।

यस क्रममा यो चिया सुनौलो रङमा बदलिन्छ । औषधीय गुणले पनि भरिपूर्ण यो चियाको आफ्नो छुटै मिठास हुन्छ ।

यसको चियाको बोट फरक भने हुँदैन । उही बोटबाट थरीथरीको चिया बनाइन्छ, त्यसमध्ये गोल्डेन निडल पनि एक हो । यद्यपि चियाको प्रजाति, भूगोल र हावापानी अनुसार यसको गुणवत्तामा भने फरक पर्छ ।

यस्तो चिया निश्चित मात्रामा मात्र उत्पादन हुन्छ । घरेलु बजारमा यसको खासै खपत हुँदैन । चीन, अमेरिका, जर्मनीलगायतका देशमा गोल्डेन निडलको माग हुनेगर्छ ।

यसलाई टिप्न लाग्ने मेहनत, बनाउने विधि र गुणवत्ताको कारण महंगो पर्न गएको जसबीरे चिया प्रशोधन उद्योगका सञ्चालक शरद सुब्बा बताउँछन् । ‘चियाको सुइरो टिप्न धेरै जनशक्ति लाग्ने गर्छ’ सुब्बा भन्छन्, ‘यसको बनाउने विधि र गुणका कारणले महंगो पर्ने हो ।’

यस भेगमा महिलाहरू यही टिपेर आत्मनिर्भर भइरहेको पनि उनले सुनाए । ‘गोल्डेन निडल उत्पादन हुन थालेपछि यसले बढी महिलाहरूलाई आयआर्जनको मेलो दिएको छ’ शरद भन्छन्,‘उनीहरूको हात छरितो र हल्का हुने भएकाले निडल टिप्न सहज हुन्छ ।’

नेपालमा यो चिया उत्पादन हुन थालेको करिब एक दशक जति भएको सुब्बाले बताए ।

फोटो, भिडियो : दुर्गेस भट्टराई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?