+

दसैंमा घुमघाम : कम खर्चमा घुम्न सकिने ७ देश

थाइल्यान्डको फुकेट

दसैंमा समुद्रको आनन्द लिन चाहनुहुन्छ ? थाइल्यान्डको फुकेटमा पाटोङ बिच, फि–फि आइल्यान्ड र जेम्स बोन्ड आइल्यान्ड घुम्न सकिन्छ । ओल्ड टाउनका गल्लीमा रमाउँदै स्थानीय परिकारको स्वाद लिन पनि सकिन्छ । साँझपछि पाटोङको बाङ्ला रोडतिर भने फुकेटको रात्रिकालीन जीवनको अर्कै रंग देखिन्छ । उज्याला बत्ती, संगीत, बार र रेस्टुरेन्टले रात अबेरसम्म चहलपहल बनाइरहेका हुन्छन् ।

इन्डोनेसियाको बाली

समुद्र, हरियाली र संस्कृतिको संगम हो बाली । यहाँ उबुदका धानबारी, कुटा समुद्रकिनार र उलुवातु मन्दिर घुम्न सकिन्छ । सूर्यास्तसँगै केकाक नृत्य हेर्नु र स्थानीय परिकार चाख्नु यात्राका विशेष अनुभव बन्न सक्छन् ।

Advertisement

मलेसिया हुँदै सिंगापुर

एउटै यात्रामा दुई देश घुम्न चाहानेका लागि मलेसिया हुँदै सिंगापुरको यात्रा निकै राम्रो विकल्प हुन सक्छ । क्वालालम्पुरमा पेट्रोनास ट्विन टावर र बातु गुफा घुमेपछि बसबाट सिंगापुरको मरिना बे, गार्डेन्स बाइ द बे र सेन्टोसा नियाल्न सकिन्छ । सिंगापुरको अर्चर्ड रोड विश्वप्रसिद्ध किनमेल क्षेत्र हो, जहाँ अन्तर्राष्ट्रिय ब्रान्डदेखि विभिन्न प्रकारका कपडा, जुत्ता, सौन्दर्य सामग्री र विद्युतीय सामानसम्म किन्न सकिन्छ ।

भियतनामको हनोई

भियतनामको हनोईमा होआन किम ताल, ओल्ड क्वार्टर र ऐतिहासिक सम्पदा घुम्न सकिन्छ । सडकछेउका पसलमा फो, बुन चा र एग कफीको स्वाद लिनु पनि विशेष अनुभव हो । समय मिल्यो भने निन बिन्ह र हा लङ बे पुग्न सकिन्छ ।

चीनको ग्रेटवाल

इतिहास र विश्वप्रसिद्ध संरचना हेर्न चीनको ग्रेटवाल पुग्न सकिन्छ । बेइजिङबाट मुतियान्यु वा बादालिङ खण्ड घुम्नुका साथै निषिद्ध शहर र तियानआनमेन स्क्वायर नियाल्न सकिन्छ । पेकिङ डकजस्ता स्थानीय परिकार चाख्न पनि नबिर्सनुहोस् ।

माल्दिभ्स

निलो समुद्र र सेतो बालुवामा रमाउन माल्दिभ्स पुग्न सकिन्छ । खर्च घटाउन निजी रिसोर्टको सट्टा स्थानीय टापुका होटल वा गेस्टहाउस रोज्न सकिन्छ । स्नोर्कलिङ, डुंगा यात्रा र सूर्यास्तको आनन्द लिन सकिन्छ ।

अजरबैजानको बाकु

अजरबैजानको राजधानी बाकुमा पुरानो सहर इचेरिशेहर, मेडेन टावर र शिरभानशाह दरबार घुम्न सकिन्छ । फ्लेम टावरबाट सहर नियाल्दै क्यास्पियन सागर किनारमा साँझ बिताउन सकिन्छ । स्थानीय परिकारको स्वाद पनि लिन सकिन्छ ।

यसबारे विस्तृत जानकारीका लागि दिइएको लिंक थिच्नुहोस् https://www.onlinekhabar.com/2026/09/2021281/dashain-tour-7-countries-you-can-visit-on-a-budget