News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम स्वीकृति बिना कुवेत उड्न दिएका अध्यागमन अधिकृत टेकबहादुर सेजुवालमाथि विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेका छन् ।
- मनिष बिष्टलाई विमानस्थलमा ३० मिनेट कुराकानीपछि २३ हजार घुस लिएर प्रस्थान अनुमति दिएको आरोप अनुसन्धानमा खुलेको छ ।
- विभागले २०८१ कात्तिकयता विमानस्थल अध्यागमनबाट शंकास्पद गतिविधिका कारण करिब २० कर्मचारीलाई जगेडामा तानेको जनाएको छ ।
७ असोज, काठमाडौं । श्रम भिसामा विदेश जान अनिवार्य श्रम स्वीकृति चाहिन्छ । श्रमिकको रूपमा विदेशमा जाने कामदारले श्रम स्वीकृति लिएपछि मात्रै अध्यागमले सम्बन्धित देश जान स्वीकृति दिन्छ ।
तर, सोमबार (५ असोज)मा यस्तो घटना भयो– एक जना युवक बिना श्रम स्वीकृति कामदार (श्रम) भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडे ।
यसरी कुवेत पुग्ने व्यक्ति हुन् मनिष बिष्ट । उनी यसअघि पनि कुवेत गएर नेपाल फर्केका थिए । सोमबार पुन: कुवेत उड्दा भने उनको श्रम स्वीकृति नै थिएन ।
ती युवकलाई अध्यागमन अधिकृतले बिना श्रम स्वीकृति सेटिङमा ती युवकलाई कुवेत उडानको अनुमति दिएको खुलेको छ । यो विषयमा अहिले अध्यागमन विभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले अनुसन्धान अघि बढाएका छन् ।
५ असोज बिहान साढे ६ बजेतिर अध्यागमन विभागको नेपाली पोर्ट तथा क्लोज सर्किट क्यामेरा (सीसीटीभी)मा शंकास्पद गतिविधि देखिएपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यसपछि यो रहस्य बाहिर आएको हो । विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार यो विषयमा अहिले छानबिन भइरहेको छ ।
बिहान साढे ६ बजेतिर बिष्ट विमानस्थलको अध्यागमनमा प्रवेश गरेका थिए । त्यहाँ उनले आधा घण्टा कुराकानी गरेकोसमेत सीसीटीभी फुटेजमा देखिएको छ । कुवेत उड्न लागेका ती युवकले अध्यागमन अधिकृत टेकबहादुर सेजुवालसँग कुराकानी गरेका थिए ।
३० मिनेटसम्म कुराकानी गरेका बिष्टलाई ७ बजेर १० मिनेटमा अध्यागमन अधिकृतले प्रस्थान अनुमति दिएको देखिन्छ ।
जापानमा रहेका जेठानमार्फत २३ हजार घुस
श्रम स्वीकृति बिना श्रम भिसामा कुवेत जान नमिल्ने भएकाले बिष्टले प्रस्थान अनुमति पाउने अवस्था थिएन । त्यसपछि अध्यागमन अधिकृतले बिष्टलाई जापानमा रहेका आफ्ना जेठान दीपक मल्लको नम्बर दिन्छन् । उनीसँग कुराकानी गर्न भन्छन् ।
अध्यागमन अधिकृत सेजुवालले भनेअनुसार जापानमा रहेका मल्लसँग कुवेत जान लागेका बिष्टले सम्पर्क गर्छन् । उनीहरूबीच कुराकानी हुन्छ । २३ हजारमा डिल हुन्छ । ह्वाट्स एपमै मल्लले क्यूआर सेयर गर्छन् ।
अनि, श्रम स्वीकृति बिना कुवेत जान लागेका बिष्टले २३ हजार हाल्छन् । २३ हजार बुझाएपछि बिना श्रम स्वीकृति बिष्ट कुवेत प्रस्थान गर्छन् ।
अध्यागमन अधिकृत सेजुवालले नै क्युआर कोड उपलब्ध गराएको पनि अनुसन्धानमा देखिएको छ । पछि विभागले थाहा पाएको सूचना पाउनासाथ उक्त २३ हजार घुस रकम फिर्ता गरेकोसमेत भेटिएको छ ।
मोबाइलबाट खुल्यो रहस्य
शंकास्पद गतिविधि देखिएपछि अध्यागमनले मंगलबार अध्यागमन अधिकृतको मोबाइल नियन्त्रणमा लिएको थियो । मोबाइल नियन्त्रण लिएर हेर्दा माथिका सबै विवरणहरू खुलेको स्रोतले बतायो ।
उनले जापानमा भएका आफ्ना जेठानको नम्बर दिने र जेठानलाई पनि बिष्टको नम्बर दिएको भेटिएको स्रोत बताउँछ । मोबाइलसहित अध्यामगन अधिकृतलाई अख्तियारको जिम्मा लगाइएको छ ।
‘हामीले अख्तियारलाई बुझाएका छौं । बाँकी अनुसन्धान अब उतैबाट हुन्छ,’ एक अधिकृत भन्छन् ।
विमानस्थलबाट तानेर उनलाई अध्यागमन विभागको जगेडामा सरुवा गरिएको छ । अहिले सेजुवालमाथि अख्तियारले अनुसन्धान थालेको छ ।
सेटिङमा कुवेत उडेपछि बल्ल बिष्टको श्रम स्वीकृति प्रक्रिया अघि बढेको थियो । ‘वैदेशिक रोजगार विभागको श्रम स्वीकृति प्रणालीबाट प्राप्त विवरणअनुसार यात्रु उडिसकेपछि मात्रै श्रम स्वीकृतिको प्रक्रिया अघि बढाएको देखिन्छ,’ विभागका प्रवक्ता ढकालले भनेका छन् ।
विमानस्थल अध्यागमनबाट २० जना तानिए
शंकास्पद गतिविधि देखिएको आरोपमा विमानस्थलबाट तानिएका अधिकृत सेजुवाल पहिलो होइनन् । विभागका अनुसार २०८१ कात्तिकयता करिब २० जना कर्मचारीलाई विमानस्थलको अध्यागमनबाट तानिएको छ ।
शंकास्पद गतिविधि देखिएपछि विमानस्थलको अध्यागमनबाट तानेर जगेडामा राख्ने, छानबिन गर्ने काम गरिएको विभागले बताएको छ । यसअघि भिजिट भिसामा जाने यात्रुलाई बिना कारण फिर्ता गरेको भन्दै विभागले गत मंसिरमा २ अधिकृतलाई तानेको थियो ।
त्यतिबेला अध्यागमन अधिकृत हेमन्ती साउद र बबिता मरासिनीलाई विभागले तानेको थियो । उनीहरूले भिजिट भिसामा ओमान जान लागेका जितबहादुर रोकालाई अनावश्यक केरकार गरेको र प्रस्थान अनुमति नदिएको भन्दै विभागले तानेको थियो ।
प्रतिक्रिया 4