News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभाग र सीआईबीको सहयोगमा जगत गुरुङलाई अध्यागमनमा सेटिङ गर्नुपर्छ भन्दै विदेश जाने व्यक्तिबाट प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाएको आरोपमा पक्राउ गरिएको छ।
- सोलुखुम्बुका मिङ्मार दोर्जे शेर्पा र उनकी श्रीमतीलाई डी–८ भिसा प्रक्रियामा सेटिङको नाममा रकम मागिएको र २ लाख २० हजार रुपैयाँ बुझाइएको पुष्टि भएको छ।
- महानिर्देशक रामचन्द्र तिवारीले कागजात पूरा भएका व्यक्तिलाई रोक्ने हुँदैन र यस्तो रकम उठाउनेहरूविरुद्ध सूचना दिन आग्रह गर्नुभएको छ।
१२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
उनले अध्यागमनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै विदेश जाने व्यक्तिबाट रकम उठाउने गरेको सूचना आएपछि विभागले बुधबार अपरेशन गरेको थियो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाउन लागिएको छ । विदेश जाने व्यक्तिबाट एक लाख बुझ्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
सोलुखुम्बुका दुधकूण्ड गाउँपालिका–२ स्थायी घर भएका मिङ्मार दोर्जे शेर्पा (४३)का बहिनी दक्षिण कोरियामा व्यवसाय गर्दै आएकी थिइन् । दक्षिण कोरियामै विवाह गरेर व्यवसाय गरेकाले डी–८ (लगानीकर्ता) भिसामा कोरियामा रहेकी बहिनीले दाजुभाउजु मिङ्मार र उनकी श्रीमती दावा जाङ्मु लामा (४१)लाई कोरिया लैजाने प्रक्रिया अघि बढाएकी थिइन् ।
डी–८ भिसाका लागि मिङ्मार र उनकी श्रीमती दावा रविभवनस्थित दक्षिण कोरियाको दूतावासमा २६ फ्रेबुअरी (१४ फागुन)मा पुगेका थिए । भिसा आवेदनका लागि चाहिने आवश्यक कागजात डकुमेन्टेशन गर्ने क्रममा दूतावास अगाडि डकुमेन्टेशनको काम गर्ने नवीन नामका व्यक्तिसँग मिङ्मारको सम्पर्क भएको थियो ।
त्यसपछि उनै नवीन नाम गरेका व्यक्तिले डी–८ भिसा दक्षिण कोरिया जाँदा अध्यागमनले रोक्ने भन्दै अहिले पक्राउ परेका जगतलाई सम्पर्क गर्न लगाएको मिङ्मारले बताएका छन् ।
‘डकुमेन्टेशन गरेपछि नै नवीन नाम गरेका व्यक्तिमार्फत म अहिले पक्राउ परेका जगतको सम्पर्कमा पुगेको हुँ । त्यसपछि अध्यागमनको सेटिङ मिलाउनुपर्छ भन्दै मसँग रकम माग्न थालियो,’ मिङ्मारले अनलाइनखबरसँग भनेका छन् ।
यसको १४ दिनपछि १० मार्चमा मिङ्मार दम्पत्तिको कोरियाको भिसा आयो । त्यसपछि भने तारन्तार जगतले सम्पर्क गर्दै अध्यागमन सेटिङ नमिलाई कोरिया जान नसक्ने भन्दै डर देखाएको उनले बताएका छन् ।
भिसा आएपछि गाउँ सोलुखुम्बु जाँदा समेत फोन गरेर छिटो भेट्न भनेको पीडित मिङ्मारको भनाइ छ ।
काठमाडौं आएपछि सम्पर्क गर्दा भने यो भिसामा वर्क परमिट नहुने, अध्यागनमने रोक्ने, फिर्ता गराउने, टिकटको पैसा गुम्ने, भिसा नै क्यान्सिल हुने जस्तो डर देखाएर रकम माग गरिएको मिङ्मारको भनाइ छ ।
भोलि अर्थात १३ चैतका लागि मिङ्मार दम्पतीले थाइ एअरको टिकट समेत काटिसकेका थिए । एक लाख १० हजार रुपैयाँको दरले दुई जनाको २ लाख २० हजार दिए अध्यागमनको सेटिङ मिलाएर उडाइदिने नत्र अध्यागमनले फर्काउने सम्मको डर जगतले देखाएको मिङ्मार बताउँछन् ।

‘भोलिको फ्लाइट छ, पैसा नदिए अध्यागनबाटै फिर्ता गरिदिन्छ भनेपछि म निकै तनावमा भएँ । त्यसपछि एक जना चिनेकै कर्मचारीलाई यसबारे जानकारी गराएपछि अध्यागमन जान सुझाव दिए । आज बिहानै अध्यागमन आएर घटनाबारे बताएपछि अध्यागमनको नाम लिएर ठग्न खोजेको रहेछ भन्ने खुल्यो,’ मिङ्मार भन्छन् ।
रकम माग गरेपछि मिङ्मार आज अध्यागनको विभाग पुगेका थिए । विभागका महानिर्देशक तिवारीले घटनाबारे सूचना पाउने बित्तिकै सीआईबीसँग समन्वय गरेर रकम माग्ने जगतलाई पक्राउ गर्न लगाएका थिए ।
१ लाख अहिले दिने र बाँकी रकम भोलि दिने भन्दै १ लाख रुपैयाँ बुझिसकेको अवस्थामा लाजिम्पाटबाट जगतलाई सीआईबीको समन्वयमा पक्राउ गरेर अध्यागमन ल्याइएको हो ।
अध्यागनको नाम लिएर यसरी खुलेआम रकम उठाउनेहरूविरुद्ध सजग रहेन महानिर्देशक तिवारीले आग्रह गरेका छन् ।
‘कागजात पूरा भएका मान्छेलाई विदेश जाँदा अध्यागमनले रोक्ने भन्ने हुँदैन । अध्यागमनले रोक्छ, सेटिङ गर्नुपर्छ भन्दै रकम माग्ने गरेका पाइएमा सूचना दिन म आग्रह गर्दछु,’ तिवारी भन्छन् ।
प्रतिक्रिया 4