+
+
Shares

पोखरा घर : सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, प्रज्ञा प्रतिष्ठानको साझा थलो

महानगरले पृथ्वीचोकमा ‘पोखरा घर’ निर्माण गरेर सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, प्रज्ञा प्रतिष्ठानलगायतलाई एउटै छानामुनि ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको ‘पोखरा घर’ को उद्घाटन गर्दै कला, साहित्य र सूचना केन्द्रहरूलाई एउटै छानामुनि ल्याएको छ ।
  • मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको छ भने पोखरा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले सोही स्थानबाट पदभार ग्रहण गरेका छन् ।
  • पाँच करोड १२ लाखभन्दा बढी लागतमा निर्मित यो आधुनिक भवनमा पुस्तकालय, आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र र प्रज्ञा प्रतिष्ठानको कार्यालय समावेश गरिएको छ ।

३१ साउन, पोखरा । २०७९ भदौ २३ गते महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी रहेका संरचनामा महानगरपालिकाले डोजर लगायो । भवनहरु पुरानो र जोखिमयुक्त रहेको भन्दै महानगरले पुस्तकालय र आर्ट ग्यालरीमा डोजर लगाउँदा कला, साहित्यप्रेमीहरुको एउटै गुनासो थियो, ‘महानगरले विनाविकल्प हचुवाको भरमा डोजर चलायो ।’

अघिल्ला मेयर मानबहादुर जिसीकै पालामा यी संरचना भत्काउने निर्णय भए पनि २०७९ वैशाख ३० गते भएको चुनावबाट विजयी भएर आएका धनराज आचार्यले डोजर लगाइदिए । हुन पनि महेन्द्रपुलजस्तो व्यस्त चोकमा पुस्तकालय र आर्ट ग्यालरी रहेका संरचनाकै कारण जोखिमसमेत थियो । तर, महानगरले पुस्तकालय र आर्ट ग्यालरीको विकल्प नदिइ हटाएको भन्दै कला, साहित्यप्रेमी र पाठकहरुले त्यसको विरोध गरे ।

पोखरा महानगरले सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी हटाएर पोखरा–९ क्षेत्री समाजको भवनमा लगेर राख्यो । महेन्द्रपुलमा जहाँ पुस्तकालय थियो, त्यहाँ महानगरले पार्क बनायो भने आर्ट ग्यालरी भएको ठाउँमा शौचालय र फल्चा बनायो । जोखिम भएको भन्दै संरचना हटाउने र फेरि त्यहाँ खाली चौर वा आकर्षक पार्क बनाउनुको साटो झण्डापार्क र शौचालय बनाइएको भन्दै विरोधसमेत भयो ।

त्यसको चार वर्षपछि महानगरले यी सबै साहित्य, कलाका क्षेत्रलाई एउटै थलोमा ल्याउने काम गरेको छ । महानगरले पृथ्वीचोकमा ‘पोखरा घर’ निर्माण गरेर सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठानलगायतलाई एउटै छानामुनि ल्याएको छ ।

पोखरा घरलाई कला, साहित्य, संस्कृतिको गतिविधि, प्रदर्शन, छलफल विमर्श, पठन र सूचना केन्द्रलाई एउटै थलोमा ल्याउँदै शुक्रबार मेयर धनराज, उपमेयर मञ्जुदेवीलगायतले उद्घाटन गरेका छन् । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षालगायतका पदाधिकारीले पनि नयाँ भवनमै स्थापना गरिएको कार्यालयमा सपथसँगै पदस्थापना गरेका छन् ।

पोखरा प्रज्ञा प्रतिष्ठानको ऐनलाई संशोधन गर्दै अझ प्रभावकारी र अधिकारसम्पन्न बनाउँदै कुलपतिमा सरस्वतीलाई नियुक्त गरिएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानले काम गर्न नसकेको गुनासो थियो । यसअघि सदस्य सचिव कर्मचारी रहने प्रावधान थियो भने कतिपय अधिकार पनि उनैलाई दिइएको थियो । ऐन संशोधन गर्दै सदस्य सचिव सम्बन्धित क्षेत्रबाटै नियुक्त हुने बनाइएको छ ।

कुलपति सरस्वती, उपकुलपति तिलक पुन पुर्जा र सदस्य सचिव जीवन दाहालले पारिश्रमिक र सुविधा पाउने छन् । कुलपतिलाई राजपत्र अनंकित आठौं तहको अधिकृतले प्राप्त गर्ने सुरु स्केलको पारिश्रमिक उपलब्ध गराउने ऐनमा उल्लेख छ भने उपकुलपति र सदस्य सचिवले छैटौं तहको सुरुस्केलको सुविधा प्राप्त गर्ने गरी ऐन संशोधन गरिएको छ ।

अपांगमैत्री ‘पोखरा घर’

 

कूल ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपैयाँ को लागतमा निर्माण भएको यो आधुनिक, अपांगमैत्री र भूकम्पीय प्रतिरोधात्मक भवनमा परम्परागत वास्तुकलासँगै आधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

पहिलो तलामा पोखरा सार्वजनिक पुस्तकालय छ । २०४९ मा स्थापना भएको पुस्तकालयमा १२ हजारभन्दा बढी विभिन्न विधाका पुस्तकहरू छन् । महानगरले पुस्तकालयका लागि नयाँ फर्निचर तथा आवश्यक सामग्री उपलब्ध गराएको छ ।

दोस्रो तलामा आर्ट ग्यालरी (पोखरा कला प्रदर्शनी केन्द्र) छ । महेन्द्रपुलमा ग्यालरी विस्थापित भएपछि छरिएका चित्रकार र मूर्तिकारहरूका लागि यहाँ ८ वटा विशेष ग्यालरी बनाइएको छ ।

उपल्लो तलामा पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय छ । पोखराको भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवर्धनका लागि प्रतिष्ठानको कार्यालय पनि यही भवनमा रहनेछ ।

भुइँतलामा कोसेली घर र एकीकृत सूचना केन्द्र छन् । पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्थानीय हस्तकला र घरेलु उत्पादित मौलिक सामग्री बिक्री–प्रदर्शनका लागि ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । साथै, पर्यटकका लागि सूचना केन्द्र पनि राखिएको छ ।

सोही भवनमा सार्वजनिक स्नानघर र शौचालय पनि छन् । भुइँतलामा एकैपटक ७ जनाले स्नान गर्न सक्ने सशुल्क स्नानघर र ११ जनाले प्रयोग गर्न सक्ने शौचालय निर्माण गरिएको छ ।

भवनको माथिल्लो भागमा दुई वटा आकर्षक घन्टाघर र भूमिगत तलामा पार्किङको सुविधा छ । भवनमा विद्युतीय भर्‍याङको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?