३१ साउन, सल्यान । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग करिब ५ घण्टापछि सञ्चालनमा आएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका-४ अरिङ्गाले फेदीमा आइतबार बिहान करिब ५ बजे सडकमाथिबाट पहिरो खसेपछि राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो खसेपछि दाङबाट सल्यान तथा रुकुमतर्फ जाने र सल्यान तथा रुकुमबाट दाङ, नेपालगञ्ज, काठमाडौंलगायतका स्थानतर्फ जाने दर्जनौँ सवारीसाधन सडकमा रोकिएका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दीपक पातलीका अनुसार एक्स्काभेटरको प्रयोग गरी पहिरो हटाएर करिब ५ घण्टा पछि यातायात सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालन भएपछि लामो समयदेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। वर्षा भइरहेकाले उक्त सडकखण्डमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रतिक्रिया 4