+
+
Shares
खण्डन–मण्डन :

मरेको मार्क्सवाद जाग्दैन, अरू नै उपाय खोजौं

सारमा मार्क्सवाद मरिसक्यो । यो बुर्जुवाहरूको आक्रमणका कारणले मरेको होइन, आफैंभित्रको रोगले मरेको हो । मार्क्सवादले साँच्चै गरिबको हित गर्ने सामर्थ्य राख्थ्यो भने त यो मर्ने नै थिएन । त्यो सामर्थ्य नभएर नै मरेको हो । त्यसैले विद्वान् समीक्षकलाई लेखकको आग्रह छ– मरेको मार्क्सवाद जाग्दैन, अरू नै उपाय खोजौं ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८३ साउन ३१ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक मोहन तिम्सिनाले कम्युनिष्ट पार्टीहरूको वर्तमान संकट वैचारिक भएको र मार्क्सवाद स्वयं त्रुटिपूर्ण रहेकाले असफल भएको तर्क प्रस्तुत गर्नुभएको छ ।
  • समीक्षकले कम्युनिष्ट आन्दोलनको असफलताको मुख्य कारण नेताहरूमा सिद्धान्त बुझ्ने क्षमताको कमी र व्यवहारमा लागू गर्न नसक्नु रहेको जिकिर गर्नुभएको छ ।
  • लेखकले जीवशास्त्र र भौतिकशास्त्रका आधुनिक खोजहरूले मार्क्सवादी दर्शनको आधारलाई खण्डन गरिसकेकाले अब मार्क्सवादभन्दा बाहिरको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

‘विज्ञानले खण्डन गरेको दर्शन बोकेर कहाँ पुग्ने कमरेड’ शीर्षकमा अनलाइनखबरमा लेखकका दुई वटा आलेख प्रकाशित भएका थिए । यी आलेखको विषयमा विद्वान् समीक्षक तुल्सीदास महर्जन र लेखक बीच बहसको शृंखला चलिरहेको छ ।

लेखकको आलेख माथि समीक्षकको पहिलो खण्डन– ‘हामी अक्षम, दोष मार्क्सवादलाई ?’ शीर्षकमा प्रकाशित भएको थियो । उक्त खण्डन माथि समीक्षकलाई जवाफ– ‘मार्क्सलाई देवता र मार्क्सवादलाई धर्मशास्त्र नबनाऔं’ शीर्षकमा लेखकको तेस्रो आलेख प्रकाशित भएको थियो ।

लेखकको यो जवाफ माथि पुन: समीक्षकको दोस्रो खण्डन– ‘मोहन तिम्सिनाजी, मार्क्सवाद देववाणी होइन, अपव्याख्या नगरौं’ शीर्षकमा प्रकाशित भएको थियो । प्रस्तुत आलेख, समीक्षकको यही दोस्रो खण्डनको जवाफ हो ।

लेखकका दुई वटा मूल आलेखमा ‘कम्युनिष्ट पार्टीहरू वर्गीय राजनीति छोडेर वा मार्क्सवादलाई दह्रोसँग पक्रिन नसकेर असफल भएका होइनन्, बरु मार्क्सवादकै कारण असफल भएका हुन्’ भन्ने वकालत गरिएको छ । साथै, ‘मार्क्सवादभित्र केही यस्ता विषय छन्, जुन आज पनि सान्दर्भिक छन्, तर मार्क्सवादको मूल गुदी परिस्थिति फेरिएर असान्दर्भिक भएको होइन, बरु मार्क्सले भनेको समयदेखि नै त्रुटिपूर्ण थियो’ भनिएको छ ।

समीक्षकको तर्क– ‘मार्क्सवादी दर्शन तथा सिद्धान्त ठिक छ, तर यसलाई ठिक ढंगले बुझ्न र व्यवहारमा लागू गर्न नसक्दा नै कम्युनिष्ट आन्दोलनले सही दिशा पक्रन नसकेको’ भन्ने छ । थप, समीक्षकको धारणा ‘कम्युनिष्ट नेताहरूले संसदीय संशोधनवाद र पूँजीवादी अवसरवाद सामु आत्मसमर्पण गर्दा उनीहरू असफल भएका हुन्’ भन्ने छ ।

समीक्षकले आफ्नो पछिल्लो खण्डनमा नयाँ वैज्ञानिक सिद्धान्तका विवरण पेश गर्नुभएको छ र तिनीहरूले मार्क्सवादलाई नै बलियो बनाएको भनी भ्रमपूर्ण कुरा गर्नुभएको छ । समीक्षकका यस्ता धारणाबारे स्पष्ट पार्नु जरुरी देखिएकाले यो लेख तयार गरिएको छ ।

बुद्धिविलास कि सार्थक संवाद ?

समीक्षकले आफ्नो आलेखको सुरुआतमै ‘बहसको उद्देश्य बुद्धिविलास होइन, व्यावहारिक समाधान हुनुपर्ने’ भन्नुभएको छ । तर संघर्ष सम्बन्धी मार्क्सवादी मान्यताको बचाउ गर्ने क्रममा समीक्षक आफैं बुद्धिविलासमा फस्नुभएको छ ।

लेखकको लेखमा ‘मार्क्सको संघर्ष सम्बन्धी मान्यता सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले त्रुटिपूर्ण देखियो’ भनिएको छ । लेखकले तत्कालिक समस्यासँग जोडेर विषयलाई उठान गरेको छ र त्यसको समाधानको विकल्प पनि प्रस्तुत गरेको छ । तर समीक्षकले ‘संघर्ष स्थायी हुन्छ’ भन्ने अडान मात्र राख्नुभएको छ, समस्या समाधानको विकल्प प्रस्तुत गर्नुभएको छैन ।

मार्क्स समाजशास्त्री हुन्, जीवशास्त्री वा मनोशास्त्री होइनन् । त्यसैले मार्क्सको संघर्ष सम्बन्धी मान्यताको सन्दर्भ–सीमा समाजशास्त्रीय हो, जीवशास्त्रीय वा मनोशास्त्रीय होइन । तर आफ्नो मान्यता आफैंमा विरोधाभासी देखिएपछि मार्क्सले समाजशास्त्रीय सीमा उल्लङ्घन गरेर जीवशास्त्रीय (प्रकृतिसँग संघर्ष) कुरा गरे । आजको दिनमा पनि मार्क्सको यस्तो तरिकालाई जायज हो भनी वकालत गर्नु तार्किक वितण्डा र बुद्धिविलास बाहेक केही होइन ।

सिद्धान्तले त समाधान दिनुपर्दछ । तर कम्युनिष्टहरूका लागि उनीहरूको सिद्धान्त नै समस्याको बीउ बनिरहेको छ । यहाँ समीक्षकलाई सोध्न चाहन्छु– संघर्ष भनेको कन्फ्लिक्ट होइन, कन्ट्राडिक्सन हो भन्दैमा र ‘निरन्तर संघर्ष’ को समाजशास्त्रीय मान्यतालाई ‘प्रकृतिसँग संघर्ष’ सम्म तन्काउँदैमा आजका कम्युनिष्ट पार्टीहरूले भोगेका समस्या हल हुन्छन् ?

जब सिद्धान्तले काम गर्दैन, जब क्रान्ति सफल हुन्छ भन्ने देखिंदैन, तब मानिसहरू तात्कालिक लाभको खोजीमा लाग्छन् । अनि अस्वस्थ गुटबन्दी, पदलोलुपता र भ्रष्टाचार शुरु हुन्छ । नेपालका कम्युनिष्ट समूहहरूमा अहिले भइरहेको यही हो । यसको सार, कम्युनिष्ट पार्टीहरूको अहिलेको संकट, नियत वा प्रतिभाको होइन, वैचारिक संकट हो ।

वास्तविक व्यवहारमा पूँजीवादी भनिएको चरणमै कम्युनिष्ट पार्टीहरू लोप हुन आँटिसके । समीक्षकसँग कम्युनिष्ट आन्दोलन बचाउने नवीन सोच केही छैन । तर अडान चाहिं समाजवाद भन्दा अगाडिको वर्गविहीन साम्यवाद र त्यतिले नपुगेर ‘प्रकृतिसँग संघर्ष’ सम्मको छ । यसरी समीक्षक तात्कालिक समस्याबाट कटिएर शास्त्रीय बुद्धिविलासमा फस्नुभएको छ ।

‘संघर्ष स्थायी हुन्छ’ भन्ने मार्क्सवादी मान्यताबाट सबैभन्दा पीडित पछिल्ला पात्र प्रचण्ड हुन् । युद्धलाई थप अगाडि बढाउन नसकिने अवस्था भएपछि बाध्य भएर उनले २०६३ मा शान्ति सम्झौता गरे । तर लगत्तै पार्टीभित्रको एउटा पक्षले ‘प्रचण्डले वर्गसंघर्ष छोड्यो’ भनेर विरोध गर्न थाले ।

संविधानसभाको पहिलो चुनावसम्म त प्रचण्ड शब्दजाल (मुखमा चुनाव, मनमा विद्रोह) ले काम गर्‍यो । तर चुनावपछि यही विवाद (सम्झौता कि संघर्ष ?) ले माओवादी पार्टी फुट्यो । यो विवादमा जसले निरन्तर संघर्षको वकालत गरे, उनीहरू पनि यतिबेला अनेक चिरामा विभाजित भइसकेका छन् । अर्थात् जहाँ पनि निरन्तर संघर्षको मान्यताले समाधान होइन, समस्या खडा गरिरहेको छ ।

लेखक बुद्धिविलास गरिरहेको छैन, समस्याको व्यावहारिक समाधान पेश गरिरहेको छ । निरन्तर सम्झौता वा निरन्तर संघर्ष दुवै मान्यता गलत हुन् । सम्झौता र संघर्षलाई अस्थायी एवं परिपूरक र सहकार्यलाई स्थायी र निरपेक्ष परिघटना मान्नु नै सही हुन्छ । यद्यपि, समग्र चिन्तनमा ‘जैविक दृष्टिकोण’ अपनाउँदा मात्र यो धारणा औचित्यपूर्ण बन्दछ । (हे. लेखक कृति : जैविक दर्शन: वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण– २०८०)

प्रतिभाको कि वैचारिक संकट ?

समीक्षक लगातार भनिरहनुभएको छ– कम्युनिष्ट नेताहरूले मार्क्सवादलाई ठिक ढंगले बुझ्नै सकेनन् । व्यवहारमा लागू गर्न ढंग पुर्‍याएनन् । सोचिहेरौं, हाम्रा कम्युनिष्ट नेतालाई यसरी ‘तपाईंले मार्क्सवाद बुझ्न र व्यवहारमा लागू गर्न नै जान्नुभएन’ भन्नु न्यायोचित हुन्छ ?

के हामी दुई–चार अक्षर लेख्ने मान्छेले मार्क्सवाद मज्जाले बुझ्ने तर आन्दोलनको नेतृत्व गर्ने नेताले चाहिं बुझ्नै नसक्ने हुन्छ ? यथार्थ के हो भने, नेताहरूले मार्क्सवाद बुझेका छन् । मार्क्सवाद लागू गर्ने प्रयत्नमा पूरै जीवन समर्पण पनि गरेका छन् । तर सफल हुनसकेका छैनन् ।

नेताहरूको प्रतिभा कमजोर भएर उनीहरू असफल भएका होइनन् । मार्क्सवादको मूल गुदी नै अप्राकृतिक छ । यो व्यवहारमा लागू हुनै नसक्ने खालको छ, यसकारण असफल भएका हुन् ।

जुन जुन कम्युनिष्ट नेताले मार्क्सवादी सिद्धान्त संशोधनको प्रयास गरे, त्यो वास्तवमा मार्क्सवादी सैद्धान्तिक पासोबाट उम्किने प्रयास थियो । मार्क्सवाद र यसका खराबी बोध भएरै यस्तो प्रयास गरिएको थियो । भलै यो कुरा सिधा भनिएन र त्यसले ठिक दिशा पक्रिन पनि सकेन । सिधा नभन्नुको कारण, तात्कालिक सत्ता स्वार्थ थियो । ठिक दिशा नपक्रनुको कारण, त्रुटिपूर्ण (निर्धारणवादी) चिन्तन परम्परा थियो ।

त्रुटिपूर्ण चिन्तन परम्पराले नै कम्युनिष्ट नेतालाई समाधान–सूत्र सम्म पुग्न दिएन । तब उनीहरूले बाध्य भएर भित्रभित्रै आफैंसँग सम्झौता गरे । जेभन्दा सत्तारोहण सजिलो हुन्छ, त्यसै गरे । इतिहासको व्याज खाए, जीविका चलाए ।

जब सिद्धान्तले काम गर्दैन, जब क्रान्ति सफल हुन्छ भन्ने देखिंदैन, तब मानिसहरू तात्कालिक लाभको खोजीमा लाग्छन् । अनि अस्वस्थ गुटबन्दी, पदलोलुपता र भ्रष्टाचार शुरु हुन्छ । नेपालका कम्युनिष्ट समूहहरूमा अहिले भइरहेको यही हो । यसको सार, कम्युनिष्ट पार्टीहरूको अहिलेको संकट, नियत वा प्रतिभाको होइन, वैचारिक संकट हो ।

नयाँ विज्ञान र मार्क्सवाद

‘डार्विन सिद्धान्त मात्र होइन, मार्क्सवादको निर्माणमा अन्य थुप्रै वैज्ञानिक सिद्धान्तको सहारा लिइएको छ’ भन्ने समीक्षकको भनाइ सही हो । तर समीक्षकले मार्क्सवादको आधार भनेर उल्लेख गरेका अधिकांश सिद्धान्तमाथि यतिबेला प्रश्न उठेका छन् । आउनुहोस् यी सिद्धान्तबारे चर्चा गरौं :

क) जीवकोष सिद्धान्त : समीक्षकले मार्क्सवादको आधार भनेर जीवकोष सिद्धान्त (सेल थ्यौरी) को कुरा गर्नुभएको छ । जीवको शरीरमा हुने कोष (सेल) लाई मार्क्सको समयमा जीवनको ‘आधारभूत इकाई’ मानिन्थ्यो । यो पद्धतिमा जीवनको अध्ययन गर्न समग्र शरीरबाट सेल झिकिन्छ । यही पद्धति पक्रिएर मार्क्सले समाज अध्ययन गर्न समग्र समाजबाट ‘वर्ग’ झिके । यसरी ‘वर्ग दृष्टिकोण’ मार्क्सवादको आधारभूत विचार बन्यो । ‘सेल कमिटी’ कम्युनिष्ट पार्टीका ‘आधारभूत इकाइ’ भए ।

आज जेनेटिक्सदेखि इपिजेनेटिक्ससम्मको विकासले भन्छ जीवनको ‘आधारभूत इकाइ’ नै हुँदैन । सेलभित्र डी.एन.ए., आर.एन.ए., हजारौं प्रकारका प्रोटिन, क्रोमोजोम इत्यादि संरचना हुन्छन् । जीवभित्रको सेल स्वसंगठित र अन्तरसम्बन्धित जीवित प्रणाली हो, यसलाई समग्र शरीरबाट अलग गर्न सकिंदैन ।

आज जीवशास्त्र र समाजशास्त्र दुवैको ‘प्रणाली सिद्धान्त’ ले भन्छन्, ‘समग्र’ बाट ‘अंश’ झिक्ने दृष्टिकोण नै गलत छ । यसरी गरिएको अध्ययनले सतही यथार्थ मात्र देखाउँछ । ‘अंश’ ले ‘समग्र’ लाई होइन, ‘समग्र’ ले ‘अंश’ लाई निर्धारण गर्दछ । हामीले संकुचनमुखी होइन, सर्वाङ्गीण दृष्टिकोण अपनाउनुपर्दछ ।

विज्ञानको यो परिवर्तनले मार्क्सवादी अन्धविश्वासलाई निरन्तरता देऊ भनिरहेको छैन । बरु संकुचनमुखी पद्धति परित्याग गर, बहुमुखी बन भनिरहेको छ ।

ख) ऊर्जा संरक्षण र रूपान्तरण : समीक्षकले उल्लेख गर्नुभएको ‘ऊर्जा संरक्षण र रूपान्तरणको नियम’ ताप गति विज्ञानको पहिलो नियम हो । यो नियम ‘संसार सर्वकालिक हो’ भन्ने परम्परागत धारणाको जगमा विकसित भएको हो । यो नियमले ‘कुनै पनि चिज शून्यबाट प्रकट हुँदैन’ पनि भन्दछ ।

आधुनिक भौतिकशास्त्रले सर्वकालिक ब्रह्माण्डको अवधारणालाई नै खण्डन गरिसकेको छ । यसले संसार शून्यबाटै प्रकट हुन्छ र शून्यमै विलय हुन्छ पनि भन्दछ । त्यसैले ‘ऊर्जा संरक्षण र रूपान्तरणको सिद्धान्त’ लाई निश्चित सन्दर्भ–सीमा सहित बुझ्नुपर्दछ ।

यो सिद्धान्तले संसार अस्तित्वमा आइसकेपछि भौतिक प्रक्रियाहरूमा ऊर्जा कसरी संरक्षित र रूपान्तरित हुन्छ भन्ने प्रश्नको उत्तर दिन्छ । तर स्वयं संसार कहाँबाट उत्पन्न भयो र यसको अन्तिम अवस्था के हुनेछ भन्ने प्रश्नको उत्तर दिन सक्दैन ।

ग) सहजीवन सिद्धान्त : समीक्षकले लिन मार्गुलिसको ‘सहजीवन सिद्धान्त’ को व्याख्या गर्नुभएको छ । तर केही महत्वपूर्ण कुरा छुटाउनुभएको छ, जसले मार्क्सवादी मान्यता माथि प्रश्न गर्छ । डार्विनको साझा पूर्वज (कमन डिसेन्ट) सम्बन्धी धारणा आधुनिक जीवविज्ञानमा सर्वस्वीकार्य छ । तर जीवहरूको विकासलाई प्रतिस्पर्धा, संघर्ष र वातावरणीय प्रभावबाट हुने क्रमिक परिवर्तनका रूपमा बुझ्ने डार्विन दृष्टिकोणमाथि प्रश्न उठेको छ ।

मार्गुलिसको सिद्धान्तले सहकार्य, सहजीवन र जीवहरू बीचको एकीकरणलाई उद्विकासको महत्वपूर्ण शक्ति मान्छ । लिन मार्गुलिस र जेम्स लभलकका खोजले जीवनलाई वातावरणको उपज मान्ने निर्धारणवादी दृष्टिकोणको खण्डन गर्दछन् । उनीहरूले जीवन र वातावरण बीच दोहोरो सम्बन्धमा जोड दिएका छन् । अर्थात् वातावरणको सहारामा नै जीवन बाँच्दछ, साथै जीवनले वातावरणसँग सक्रिय अन्तरक्रिया गर्दै वातावरणलाई नै परिवर्तन पनि गर्दछ ।

मार्क्स समाजशास्त्री हुन्, जीवशास्त्री वा मनोशास्त्री होइनन् । त्यसैले मार्क्सको संघर्ष सम्बन्धी मान्यताको सन्दर्भ–सीमा समाजशास्त्रीय हो, जीवशास्त्रीय वा मनोशास्त्रीय होइन । तर आफ्नो मान्यता आफैंमा विरोधाभासी देखिएपछि मार्क्सले समाजशास्त्रीय सीमा उल्लङ्घन गरेर जीवशास्त्रीय (प्रकृतिसँग संघर्ष) कुरा गरे । आजको दिनमा पनि मार्क्सको यस्तो तरिकालाई जायज हो भनी वकालत गर्नु तार्किक वितण्डा र बुद्धिविलास बाहेक केही होइन ।

प्रयोगशालामा कृत्रिम तरिकाले जीवन सृजना गर्न अहिलेसम्म सकिएको छैन । त्यसैले मार्गुलिस र लभलक भन्दछन्– जीवन वातावरणका कारणले पैदा भएको होइन । जीवनलाई अरू कसैले सृजना गर्दैन, जीवन स्वयं नै जीवनको सर्जक हो । उनीहरू यो पनि भन्दछन्– जीवको जन्म र मृत्यु हुन्छ, जीवनको जन्म वा मृत्यु हुँदैन । जीवन भन्नाले स्वसंगठन, रूपान्तरण र जीव–वातावरण अन्तरक्रियाको निरन्तर प्रक्रिया हो ।

मार्गुलिस र लभलकका यस्ता खोजले मार्क्सवादी दर्शनको प्राण (पदार्थ मूल र चेतना सहायक) लाई नै खण्डन गरेको छ । ‘संघर्ष स्थायी हुन्छ’ भन्ने मान्यताको पनि खण्डन गरेको छ ।

घ) उद्विकासको प्रक्रिया : समीक्षकले उद्विकासका आधुनिक सिद्धान्तले डार्विन सिद्धान्तलाई गलत सिद्ध गर्दैन भन्नुभएको छ । यथार्थ अलि फरक छ । उद्विकासको डार्विन सिद्धान्तले ‘क्रमिक विकास’ मा जोड गर्दछ । उद्विकासको आधुनिक सिद्धान्तले पनि क्रमिक विकासलाई स्वीकार गर्दछ । तर नयाँ जीवको जन्ममा छलाङ (क्रमभंग) हुने कुरामा जोड गर्दछ ।

आज भौतिकशास्त्र र जीवशास्त्र दुवै क्षेत्रमा क्रमभंग (छलाङ) सिद्धान्तले आकार ग्रहण गरेको छ । म्याक्स प्लाँकको खोजले ऊर्जा निरन्तर रूपमा नभई क्रमभंगको प्रक्रिया (क्वाण्टा) का रूपमा प्रवाह हुने देखायो । मार्गुलिसको खोजले नयाँ जीवहरूको जन्म साना–साना परिवर्तनको सञ्चयबाट होइन, विभिन्न सहजीवी बीचको एकीकरण (छलाङ) बाट हुने देखायो । यी दुवै धारणाले उद्विकासको शास्त्रीय धारणालाई चुनौती दिएका छन् ।

आज समाजशास्त्र–मानवशास्त्रमा उद्विकासका अनेक टाइमलाइन छन् । तर एउटा रोचक प्रश्न अझैसम्म अनुत्तरित छ– अमूक प्राणी क्रमिक विकासको कुन बिन्दुसम्म जनावर थियो र कुन बिन्दुबाट मानव भयो ? अर्थात् समाजशास्त्र–मानवशास्त्रलाई मानव जातिको जन्म कहिले भयो भन्ने नै थाहा छैन ।

यो समस्या, उद्विकासलाई हेर्ने दृष्टिकोणका कारणले पैदा भएको हो । मानव जाति मात्र होइन, हामी कुनै पनि जीवको जन्म विन्दु फेला पार्न सक्दैनौं । कारण, यो संसारमा हरेक प्राणी छलाङको प्रक्रियाद्वारा जन्मन्छन् । छलाङ भनेको क्रमभंग हो, क्रमभंगको विश्लेषण सम्भव हुँदैन । त्यसकारण मानिसको जन्म विन्दु पत्ता लाग्न सक्दैन ।

क्रमिक विकासमा मात्रात्मक परिवर्तन हुन्छ, त्यसकारण यो विश्लेषण योग्य हुन्छ । क्रमभंगमा गुणात्मक परिवर्तन हुन्छ, त्यसकारण यो विश्लेषण योग्य हुँदैन । नाटकीय परिघटना भनेकै यही हो । तर जब गुणात्मक परिवर्तनलाई पनि मात्रात्मक दृष्टिले हेरिन्छ तब समस्या पैदा हुन्छ । माथिको समस्या यस्तै हो । मार्क्स–एंगेल्सको व्याख्यामा पनि यो समस्या छ ।

जीवशास्त्रको नयाँ दृष्टिबोधले हामीलाई उद्विकास सम्बन्धी धारणा परिमार्जन गर भन्ने सन्देश दिइरहेको छ । अब हामीले ‘असभ्यता–बर्बरता–सभ्यता’ जस्ता रेखीय भाष्य र ‘इतिहास बोधगम्य छ’ भन्ने मान्यतामाथि नै पुनर्विचार गर्नुपर्नेछ । भौतिकशास्त्री वर्नर हाईजेनवर्गको अनिश्चितता सिद्धान्तको सन्दर्भ भौतिकशास्त्रमा सीमित छ । जीवशास्त्रका खोजले नै हामीलाई यतातिर सोच्न बाध्य पारेको छ ।

आगामी दिनमा हामीले यतातिर अभिमुख हुनुपर्नेछ – इतिहासको गति रेखीय हुँदैन, चक्रीय, अगणितीय र बहुआयामिक हुन्छ । त्यसकारण सभ्यताहरू कहिल्यै रेखीय ढङ्गले विकास हुँदैनन्, भएनन् । बरु गैररेखीय (चक्रीय) तथा बहुआयामिक ढंगले विकास हुन्छन्, भए । तर हामी इतिहासका साना चक्रबारे मात्र थोरबहुत जान्न सक्छौं । युग–महायुगका ठूला चक्रमा के के भए ? त्यो पूरापूर जान्न सक्दैनांै । कारण, एउटा युगको चक्रले नै लाखौं वर्ष लिएको हुन्छ । यो लामो अवधिमा ऐतिहासिक प्रमाण नष्ट भइसकेका हुन्छन् । यसकारण हाम्रा लागि इतिहास अबोधगम्य र रहस्यमय छ । मानवीय बुद्धिका माध्यमबाट इतिहास र भविष्यको सानो हिस्सा मात्र जान्न सकिन्छ ।

ङ) निजी धनबारे : समीक्षकले वर्ग संरचनालाई मानव निर्मित भन्नुभएको छ । वर्ग समाजको जन्म १२ हजार वर्ष अगाडि कृषि युगमा भएको हो पनि भन्नुभएको छ । यस विषयमा पनि यथार्थ फरक छ ।

समाज भन्ने बित्तिकै वर्गविहीन भन्ने नै हुँदैन । पशुजगत आवश्यकता र गुणवत्ता दुवै हिसाबले समान हुन्छ । तर मानव जाति आवश्यकताका हिसाबले मात्र समान छन्, गुणवत्ताका हिसाबले भिन्न (सार्वभौम) छन् । यसकारण समाज भन्नु नै विविधताको थलो हो ।

मानिसले वर्ग बनाएको होइन, वर्गले मानिस बनाएको पनि होइन, उद्विकासमा आएको गुणात्मक छलाङले वर्ग–समाज बनाएको हो । वर्ग र मानिस संयुक्त पैदा भएका हुन् । दुवै संयुक्त पैदा भइसकेपछि चाहिं वर्ग र मानिस बीच दोहोरो सम्बन्ध चलिरहेको छ ।

द्वैतहरू संयुक्त छन् भन्ने नियम सबै विधामा लागू हुन्छ । यदि सामूहिक धनको चेतना छैन भने निजी धनको चेतना पनि जागृत हुँदैन । निजी धनको चेतना छैन भने सामूहिक धनको चेतना पनि जागृत हुँदैन । धनको चेतना लगायत अरू चार खालका गुणवत्ताले नै खास प्राणी पशु जगतबाट अलग भएको हो । यी पाँच गुणवत्ता (प्रविधि, संस्था, सम्पत्ति, भाषा र निजत्व) आपसमा संयुक्त छन् ।

लेखकको यो व्याख्या उद्विकासको नयाँ सिद्धान्तमा आधारित हो । समीक्षकले उद्विकासको शास्त्रीय भाष्यमा टेकेर टिप्पणी गर्नुभएको हो । तर समीक्षकका विश्वासलाई पछिल्ला पुरातात्विक खोजले खण्डन गरिसकेका छन् ।

पुरातात्विक उत्खननका पछिल्ला खोजले भन्दछन्, १५ हजार वर्ष अघि पनि श्रम विभाजनमा आधारित नगर सभ्यता थिए । मानिसहरू वंश वा गोत्रका आधारमा होइन, नागरिकको हैसियतमा संगठित भएका थिए । पुरातात्विक खोजले यो पनि भन्दछन्– प्राचीन समाज (राज्य) आदिम साम्यवादी (इगालीटेरियन) थिएनन् । आजको जस्तो जटिल र ‘आधुनिक’ पनि थिएनन् ।

पछिल्ला पुरातात्विक खोजले हाम्रो इतिहास, उद्विकास र विचारधाराका भाष्य र दृष्टिकोण दुवै परिवर्तनको माग गरिरहेका छन् । यसको अर्थ हामीले सामाजिक डार्विनवादी हुन जरुरी छैन, हुनुहुँदैन । समाजमा तीनखाले परिघटना र सम्बन्ध चलिरहेका हुन्छन्– अनिवार्य, अर्धअनिवार्य र सांयोगिक । घटना वा सम्बन्धको चरित्र अनुसार हामीले तीन खालकै व्यवहार गर्नुपर्दछ ।

पहिलो, जुन घटना सुनिश्चित छ र त्यसलाई मानव प्रयत्नबाट बदल्न सकिंदैन त्यो ‘अनिवार्य’ हो । जस्तो कि प्रकृतिमा दिन र रात हुनु, समाज विविधतायुक्त हुनु । यस्ता घटना र सम्बन्धलाई हामीले स्वीकार गर्नुपर्दछ ।

दोस्रो, जुन घटनाको सम्भावना आधा–आधा छ र त्यस्तो घटनालाई मानिसको सचेतन प्रयत्नबाट बदल्न सकिन्छ, त्यो ‘अर्धअनिवार्य’ हो । जस्तो कि प्रकृतिमा हैजा फैलनु र समाजमा सामाजिक द्वन्द्व पैदा हुनु । यस्ता विषयलाई हामीले सचेतन प्रयत्नद्वारा बदल्ने प्रयास गर्नुपर्दछ ।

तेस्रो, जुन घटना प्रकट हुने वा नहुने अनिश्चित छ, त्यो ‘सांयोगिक’ हो । जस्तो कि प्रकृतिमा खास दिन खास समयमा पानी पर्नु । समाजमा खास व्यक्ति खास समयमा कुनै पदमा पुग्नु । यस्ता घटनालाई हामीले तटस्थ भावले हेर्ने वा होसियार हुने गर्नुपर्दछ । अवस्था र आवश्यकता अनुसार व्यवहार गर्नुपर्दछ ।

च) विपरित तत्वको सिद्धान्त : एरिस्टोटल पूर्वको ग्रीक समाजमा पनि विपरित तत्व, गतिशीलता र संघर्षको चिन्तन थियो भन्ने समीक्षकको भनाइ सही हो । यद्यपि एरिस्टोटल उनीहरूभन्दा केही फरक थिए । यहाँ लेखकको आशय युरोपको यान्त्रिक तथा निर्धारणवादी चिन्तन परम्पराको जरा खोज्दा एरिस्टोटलले तयार गरेको संघर्षको दर्शन र कार्य–कारण सम्बन्ध विश्लेषणको ढाँचासम्म पुगिन्छ भन्ने हो ।

विज्ञान कि विचारधारा ?

समीक्षकले मार्क्सवादलाई विज्ञान भन्नुभएको छ । लेखकको विचारमा मार्क्सवाद मूलत: विचारधारा हो । ‘मुख्य कुरा बदल्नु हो’ भन्ने मार्क्सको भनाइले नै मार्क्सवादलाई विचारधारा बनाएको छ ।

विज्ञानले ‘के हो ? वा कस्तो छ ?’ भन्ने प्रश्नमा र विचारधाराले ‘कस्तो हुनुपर्दछ ?’ भन्ने प्रश्नमा काम गर्दछ । ‘के हो वा कस्तो छ’ भन्ने प्रश्नमा सही खोज भए मात्र ‘कस्तो हुनुपर्दछ’ (बदल्ने प्रक्रिया) मा ठिक गर्न सकिन्छ । यसकारण मार्क्सले विज्ञानमा टेकेर विचारधारा निर्माण गर्ने प्रयास गरेका हुन् ।

जीवशास्त्रको नयाँ दृष्टिबोधले हामीलाई उद्विकास सम्बन्धी धारणा परिमार्जन गर भन्ने सन्देश दिइरहेको छ । अब हामीले ‘असभ्यता–बर्बरता–सभ्यता’ जस्ता रेखीय भाष्य र ‘इतिहास बोधगम्य छ’ भन्ने मान्यतामाथि नै पुनर्विचार गर्नुपर्नेछ ।

गर्नुपर्ने त यस्तै नै हो, तर मार्क्सको समयको विज्ञान आफैंमा प्रारम्भिक अवस्थामा थियो । एक सार्थक चिन्तन प्रणाली निर्माण गर्ने तहसम्म यो विकास भएको थिएन । यसकारण मार्क्सवाद लगायत उक्त समयका अन्य विचारधाराले एकांकी र निर्धारणवादी चरित्र ग्रहण गरे ।

वर्ग दृष्टिकोणको प्रयोजन समाज विश्लेषणका लागि ठिक छ । यद्यपि यो धेरै वटा हेराइमध्ये एक हो । सामाजिक व्यवस्थापनमा दुईकित्ते दृष्टिकोणले काम गर्दैन । समाजमा विविधताका अनेक आयाम हुन्छन्, सबैको सन्तुलन मिलाउनुपर्ने हुन्छ । योभन्दा मूल कुरा हरेक समाजको आफ्नो मौलिक पहिचान र मूल्यमान्यता हुन्छ । राजनीतिकर्मीले आफ्नो समाजको मौलिक पहिचानलाई चिनेको र सोही अनुसार व्यवहार गरेको हुनुपर्दछ ।

माथिको चर्चाको सार, मार्क्सवाद मरिसक्यो । यो बुर्जुवाहरूको आक्रमणका कारणले मरेको होइन, आफैंभित्रको रोगले मरेको हो । मार्क्सवादले साँच्चै गरिबको हित गर्ने सामर्थ्य राख्थ्यो भने त यो मर्ने नै थिएन । त्यो सामर्थ्य नभएर नै मरेको हो । त्यसैले विद्वान् समीक्षकलाई लेखकको आग्रह छ– मरेको मार्क्सवाद जाग्दैन, अरू नै उपाय खोजौं ।

लेखक
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?