News Summary
Generated by OK AI. Editorially reviewed.- चुनावी पराजयपछि नेता घनश्याम भूसालले आफू र धेरै साथी डिप्रेसनमा गएको भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्नुभयो ।
- नेता सुरेन्द्र पाण्डेले मोबाइल डेमोक्रेसी, डाटा इकोनोमी र कृत्रिम बौद्धिकताका कारण मार्क्सवादको सान्दर्भिकता सङ्कटमा परेको विचार व्यक्त गर्नुभयो ।
- कम्युनिष्ट पार्टीहरू मार्क्सवादलाई दह्रोसँग पक्रन नसकेर नभई मार्क्सवादकै त्रुटिपूर्ण सिद्धान्तका कारण असफल भएको विश्लेषण गरिएको छ ।
फागुन २१ को चुनावी पराजयपछि नेपालका कमरेडहरू तनावमा थिए। लगत्तै भारतका केही राज्यको विधानसभा चुनावी नतिजाले उनीहरूलाई झन् निराश बनायो। चरम निराशाका बीच केही कमरेडहरू परिस्थिति बारे टीकाटिप्पणीमा उत्रिएका छन्।
घनश्याम भूसालले आफू र आफ्ना धेरै साथी डिप्रेसनमा गएको भन्दै सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरे। सुरेन्द्र पाण्डेले मोबाइल डेमोक्रेसी, डाटा इकोनोमी, कृत्रिम बौद्धिकता र नयाँ वर्गको उदयका कारण मार्क्सवादको सान्दर्भिकता सङ्कटमा परेको विचार व्यक्त गरे। झलक सुवेदीले वर्ग रहेसम्म मार्क्सवाद सान्दर्भिक हुन्छ भनेर पाण्डेको विचारको खण्डन गरे।
कमरेडहरूले जसरी सोचिरहेका छन्, यसरी पराजयका कारण खोज्न र भावी कार्यदिशाबारे एकमत धारणा बनाउन मुस्किल छ। कारण- कमरेडहरूको सोच्ने पद्धति र विज्ञान नै दोषपूर्ण छ। जबसम्म कमरेडहरूलाई यो बोध हुँदैन, तबसम्मका वैचारिक बहस अर्थहीन गनगन मात्र हुनेछन्।
लेखक कार्ल मार्क्सलाई व्यक्तिगत रूपमा सम्मान गर्दछ, तर मार्क्सवादको समर्थन वा विरोध गर्दैन। मार्क्सवादभित्र केही यस्ता विषय छन्, जुन आज पनि सान्दर्भिक छन्। केही विषय परिस्थिति फेरिएर असान्दर्भिक भएका होइनन्, बरु मार्क्सले भनेको समयदेखि नै त्रुटिपूर्ण थिए। तर त्यतिबेला ती निष्कर्ष त्रुटिपूर्ण हुन् भन्नलाई वैज्ञानिक आधार थिएन, आज नयाँ विज्ञानले यसो भन्न आधार दिएको छ। लेखकको उद्देश्य यस्ता विषयमा तथ्यपरक टिप्पणी गर्नु हो।
कम्युनिस्ट पार्टीहरूले ‘वर्गीय राजनीति छाडेर’ वा ‘मार्क्सवादलाई दह्रोसँग पक्रिन नसकेर’ असफल भएका होइनन्; बरु मार्क्सवादकै कारण असफल भएका हुन्। अर्थात्, असफलताको दोषी अमूक नेता होइनन्, मार्क्सवाद स्वयम् हो। यो आलेखमा यसबारे प्रकाश पार्ने प्रयास गरिएको छ।
मार्क्सवादको सान्दर्भिकता
५ मार्च, १८५२ मा मार्क्सले जोसेफ बेडमेयरलाई लेखेको पत्रमा स्पष्ट भनेका थिए- ‘समाजमा वर्ग र वर्गसङ्घर्ष हुन्छ भनेर मभन्दा अगाडिका विद्वान्ले पनि भनेका छन्। मेरो मूल जोड यो होइन। मेरो मूल जोड त यो हो कि वर्गहरूको अस्तित्व उत्पादनको ऐतिहासिक चरणसँग जोडिएको हुन्छ। वर्गसङ्घर्षले अनिवार्य रूपमा सर्वहारा अधिनायकत्वतर्फ लैजान्छ र त्यो अधिनायकत्व स्वयम् वर्गविहीन समाजतर्फको सङ्क्रमण मात्र हो।’
मार्क्सको माथिको भनाइका आधारमा भन्न सकिन्छ- मार्क्सवादी हुन वर्गसङ्घर्षवादी भएर मात्र पुग्दैन, सर्वहारा वर्गको अधिनायकत्व र वर्गविहीन समाजको पक्षधर बन्नुपर्दछ। तर यहाँ त आफूलाई चर्को मार्क्सवादी भनेर चिनाउने कमरेडहरू वर्ग र वर्गसङ्घर्ष जस्ता प्रश्नमै गलफत्ती गरिरहेका छन्।
जुन दिन पृथ्वीमा मानवताको जन्म भयो, त्यस दिनयता मानवीय प्रवृत्ति स्थिर, तर मानवीय बुद्धि गतिशील छ। प्रवृत्ति स्थिर छ भन्नुको मतलब- मानवताको जन्मसँगै तेरो–मेरो, निजी–सामूहिक, नियम–अराजकता, शासक–शासित आदि सचेतन सम्बन्ध र संरचना संयुक्त रूपमा पैदा भयो। यो सम्बन्ध आज पनि यथावत् छ र जहिल्यै यथावत् रहनेछ।
बुद्धि गतिशील छ भन्नुको मतलब— प्रविधिको क्षमता (सुरुआतमा आगो बाल्ने सीप) र अनुभवबाट मानिसले नयाँ–नयाँ काम गरिरहेको छ। यसबाट सामाजिक सम्बन्धमा परिवर्तन आइरहेको छ। यो पक्ष गतिशील छ र भइरहन्छ।
यसको निष्कर्ष के हो भने, समाजमा जतिसुकै प्राविधिक परिवर्तन भए पनि सामाजिक द्वैत कायम छ। सामाजिक द्वैत कायम हुनेबित्तिकै न्याय–अन्यायको अवस्था (वर्गसङ्घर्ष) कायम छ, केवल स्वरूप मात्र बदलिएको छ।
यति निष्कर्षका लागि लम्बेतान बहस जरूरी नै छैन र यो कुनै क्रान्तिकारी निष्कर्ष पनि होइन। यो कुरा त बुर्जुवाले पनि स्वीकार गर्छन्। यति कुरा स्वीकार गर्दैमा कम्युनिस्ट असफलताको कारण थाहा हुने वा नयाँ समाधान फेला परिहाल्ने पनि होइन।
मार्क्सको ‘अतिरिक्त मूल्यको सिद्धान्त’ उनीअघिकै बुर्जुवा अर्थशास्त्री (एडम स्मिथ र डेभिड रिकार्डो) ले भनिसकेका थिए, मार्क्सले थप व्यवस्थित गरेका मात्र हुन्। यो सिद्धान्त आज पनि सान्दर्भिक छ। मार्क्सको समयका प्रायः सबै पूँजीपति प्राकृतिक सम्पदा (सामुदायिक धन) लाई बलजफ्ती निजी धन बनाएर नै धनी भएका थिए। त्यसकारण त्यो बेलाको सन्दर्भमा ‘पूँजीपतिको धन अपवित्र हो’ भन्नु गल्ती थिएन। अनि ‘पूँजीपतिको नाफा, मजदुरकै श्रमको हिस्सा हो’ भन्नु पनि गल्ती थिएन।
आज सफ्टवेयरजडित उत्पादन, सूचना क्रान्ति र भूमण्डलीकरणले कला, खेलकुद र बौद्धिक ज्ञान पनि भूमण्डलीकृत भएका छन्। हिजोआज अमूक कलाकार, खेलाडी वा प्राविधिकले कुनै ठूलै पूँजीपतिले कमाए जस्तै ठूलो धनराशि कमाएको परिघटनामा प्रत्यक्ष कसैको श्रमको ‘अतिरिक्त मूल्य’ शोषण गरेको देखिंदैन।
तर यही आधारमा ‘अतिरिक्त मूल्यको सिद्धान्त’ असान्दर्भिक भयो भनिन्छ भने त्यो दृष्टिभ्रम मात्र हो। प्रविधि–क्रान्ति मानव जातिको समुच्च ज्ञान सम्पदाकै योगफल हो। जसले सफ्टवेयर बनाउँछ, उसले पूर्ववर्ती ज्ञानमा टेकेर मात्र बनाउन सक्छ। त्यसैले, सफ्टवेयरजडित उत्पादनमा मानव जातिको इतिहासदेखिको ‘साझा अतिरिक्त मूल्य’ अन्तर्निहित हुन्छ। यदि सूचना क्रान्ति थिएन भने कलाकार र खेलाडीको कमाइ यति धेरै हुने नै थिएन। यसरी कलाकार र खेलाडीको कमाइमा पनि मानव जातिको ‘साझा अतिरिक्त मूल्य’ अन्तर्निहित छ। यसको सार- ‘अतिरिक्त मूल्य सिद्धान्त’ पूरै असान्दर्भिक भएको होइन, परिवेश बदलिएको मात्र हो।
तर यो तथ्य स्वीकार गर्दैमा पनि क्रान्तिकारी भइँदैन। कारण, यो तथ्यलाई हिजोआज बुर्जुवाहरूले पनि थोरबहुत स्वीकार गर्न थालेका छन्। युरोपतिरका मुलुकहरूले डिजिटल क्षेत्रका कम्पनीको नाफाको निश्चित हिस्सा ‘डिजिटल सर्भिस ट्याक्स’ का रूपमा समाजलाई फर्काउनुपर्दछ भनेर वकालत गर्न थालेका छन्। बेलायत, फ्रान्स, इटाली जस्ता देशले कानून नै बनाइसकेका छन्। यो कहीं न कहीं ‘साझा अतिरिक्त मूल्य’ अवधारणा लागू गर्ने सुरुआती कदम हो।
मार्क्सवादको त्रुटि
जे मार्क्सवादको गुदी हो, त्यही त्रुटिपूर्ण थियो। अर्थात्, ‘वर्गसङ्घर्षले अनिवार्य रूपमा सर्वहारा अधिनायकत्वतर्फ लैजान्छ र त्यो अधिनायकत्व स्वयम् वर्गविहीन समाजतर्फको सङ्क्रमण मात्र हो’ भन्ने निष्कर्ष चाहिं त्रुटिपूर्ण हो। यही निष्कर्ष व्यवहारमा लागू गर्ने प्रयत्न गर्दा कम्युनिस्ट पार्टीहरू पतन भएका हुन्।
पहिले दार्शनिक प्रस्थापनाकै चर्चा गरौं। मार्क्स एकातिर ‘सङ्घर्ष प्रधान (स्थायी र निरपेक्ष), एकता गौण (अस्थायी र सापेक्ष) हुन्छ’ पनि भन्छन्। अर्कातिर ‘साम्यवादमा वर्ग रहँदैन, यसकारण वर्गसङ्घर्ष रहँदैन’ पनि भन्दछन्। यसरी उनको प्रक्षेपण ‘आदिम साम्यवादी’ एकत्वबाट शुरु भएर ‘वैज्ञानिक साम्यवादी’ एकत्वमै पुग्दछ।
यहींनेर प्रश्न उठ्छ- साम्यवादमा वर्गसङ्घर्ष हुँदैन भने ‘सङ्घर्ष निरपेक्ष र स्थायी हुन्छ’ भन्ने अगाडिको मान्यता कसरी मिल्यो त ? मार्क्सको समाज विकासको परिपथ त ‘एकत्वदेखि एकत्व’ सम्मको देखियो। सुरुआत पनि सङ्घर्षहीन अवस्था र अन्त्य पनि सङ्घर्षहीन अवस्था! सङ्घर्ष त बीचको बिल्कुल अस्थायी घटना भयो। यदि यही कुरा ठिक हो भने ‘सङ्घर्ष निरपेक्ष (स्थायी) हुन्छ’ भन्न पाइन्छ ?
यदि वर्गविहीन साम्यवाद नै समाजको अन्तिम गन्तव्य हुन्छ भने ‘सङ्घर्ष अस्थायी हुन्छ’ भन्नुपर्यो। यदि वर्ग सधैंभरि रहिरहन्छ भने एकत्वको राजनीतिक गन्तव्य गलत हुन्छ भन्नुपर्यो। मार्क्स एकातिर वर्गविहीन साम्यवादी एकत्वको वकालत पनि गर्दछन्, अर्कातिर ‘सङ्घर्ष स्थायी हुन्छ’ पनि भन्दछन्। मार्क्सको दर्शन ठिक यहाँनेर विरोधाभासमा फसेको छ।
यो विरोधाभासलाई समाधान गर्न मार्क्सले प्रयास नगरेका भने होइनन्। उनी यो विरोधाभास समाधान गर्न प्रकृतितिर फर्कन्छन् र भन्दछन्— ‘त्यसपछि (साम्यवादमा) मानिस र प्रकृति बीच सङ्घर्ष हुन्छ र यो चाहिं सदाकाल चलिरहन्छ।’ यसो भनेर उनले आफ्नो ‘सङ्घर्ष स्थायी हुन्छ’ भन्ने मान्यताको बचाउ गर्ने प्रयास त गरेका छन्, तर उनको यो प्रयास पनि विरोधाभासमै फसेको छ।
कारण— प्रकृति–विज्ञान र समाज–विज्ञान एकापसमा समानान्तर एवम् स्वायत्त प्रवर्ग हुन्। यिनीहरू अन्तरसम्बन्धित त छन्, तर एकआपसमा जोडिंदैनन्। समानान्तर सम्बन्धसहित सक्रिय हुन्छन्।
सामाजिक नियमलाई प्राकृतिक नियममा लगेर मिसाउन वा प्राकृतिक नियमलाई सामाजिक नियममा लगेर मिसाउन मिल्दैन। हरेक सामाजिक नियम समाजबाट शुरु भएर समाजमै अन्त्य भएको हुनुपर्दछ। प्राकृतिक नियम पनि प्रकृतिबाट शुरु भएर प्रकृतिमै अन्त्य भएको हुनुपर्दछ। तर मार्क्सले आफ्ना साम्यवाद र ‘निरपेक्ष सङ्घर्ष’ सम्बन्धी मान्यतालाई सही देखाउन सामाजिक नियमलाई प्रकृतिका नियमसँग लगेर मिसाइदिए।
यसो गर्दा पनि समस्याको युक्तिसङ्गत समाधान हुने कुरै थिएन। किनकि, ‘प्रकृतिसँग सङ्घर्ष’ सम्बन्धी मार्क्सको मान्यता आफैंमा अप्राकृतिक सोच हो। प्रकृतिसँग मानिसको सम्बन्ध सङ्घर्षको होइन। मानिस स्वयम् प्रकृति हो। प्रकृतिसँग सङ्घर्ष गरेर मानिस बाँच्न सक्दैन। प्रकृतिसँग त मानिसले गहिरो सहकार्य गर्दछ। तर मार्क्स ‘प्रकृतिसँग सङ्घर्ष’ भन्दछन्। यो आफैंमा प्रकृति र जीवनविरोधी कुरा हो। यसरी मार्क्सको राजनीतिक दर्शन आफैंमा त्रुटिपूर्ण थियो।
मार्क्सको दर्शन त्रुटिपूर्ण हुनुमा उनको समयको विज्ञान नै जिम्मेवार थियो। त्यो बेलाको विज्ञान यान्त्रिक थियो र विज्ञान स्वयंले विरोधाभासी कुरा गर्दथ्यो। एकातिर त्यसले ‘हरेक यथार्थको भौतिक संरचना हुनुपर्दछ’ भन्दथ्यो। यसरी भौतिक संरचना खोज्दा त्यो द्वैत तथा बहुल रूपमा देखापर्दथ्यो। ती द्वैत/बहुल संरचनाहरू विपरीत तत्त्व जस्तो लाग्दथे। तिनीहरू बीचमा सङ्घर्ष भएको जस्तो पनि देखिन्थ्यो। यो तथ्यले मार्क्सलाई ‘समाजमा पनि सङ्घर्ष अनिवार्य नियम हो’ भन्ने ठाउँसम्म पुर्यायो।
अर्कातिर त्यही विज्ञानले ‘हरेक यथार्थ आधारभूत एकाइको फैलावटबाट बनेको हुन्छ’ पनि भन्दथ्यो। आधारभूत एकाइ खोज्दा त्यो एकत्व स्वरूपमा देखिन्थ्यो। तब ‘हरेक चिजको सुरुआत र अन्तिम अवस्था चाहिं एकत्वयुक्त हुने रहेछ’ भन्ने बुझाइ बन्दथ्यो। मार्क्सले पनि यही तथ्यलाई पक्रिएर ‘समाजमा वर्गद्वैत मासिएर सामाजिक एकत्व (साम्यवाद) स्थापित हुने’ दाबी गरे।
यसरी मार्क्स विरोधाभासी तथ्यलाई सम्बोधन गर्ने प्रयासमा आफैं विरोधाभासमा फसे। प्रकृति र समाजलाई यान्त्रिक बिम्बमा हेर्नु नै त्रुटिपूर्ण थियो। आज भौतिक विज्ञानका आधुनिक धाराहरूले प्रकृतिको यान्त्रिक बिम्बलाई खण्डन गरिसकेका छन्। योसँगै समाजलाई हेर्ने यान्त्रिक बिम्ब पनि खण्डित भएको छ। फलतः मार्क्सका दार्शनिक नियमहरूको पनि खण्डन भइसकेको छ। यस विषयमा नयाँ दृष्टिकोण आइसकेको छ।
यथार्थमा एकता (सम्झौता) र सङ्घर्ष दुवै अस्थायी र परिपूरक हुन्। सहकार्य मात्र स्थायी वा निरपेक्ष हो। स्मरण रहोस्, सम्झौता वा सङ्घर्ष दुवै अवस्थामा सहकार्य जोडिन्छ। मित्रवत् सहकार्य नै सम्झौता हो, शत्रुवत् सहकार्य सङ्घर्ष हो। समाज विकासको इतिहास, सहकार्यको (सम्झौता–सङ्घर्षको चक्र) इतिहास हो। भविष्यमा पनि यही प्रक्रिया (सम्झौता–सङ्घर्ष) नै चलिरहन्छ।
तर मार्क्सवादले एकाङ्गी कुरा गर्दछ, अर्थात् सङ्घर्ष स्थायी हो भन्दछ। अनि भविष्यमा निजी धन विनाको साम्यवाद आउँछ भन्दछ। यही गलत मार्गदर्शनकै कारणले कम्युनिस्ट पार्टीहरू व्यावहारिक सङ्कट व्यहोर्न; फुट, विभाजन र असफलता भोग्न बाध्य भए।
व्यावहारिक परिणाम
सङ्घर्ष स्थायी र निरपेक्ष हुन्छ भन्ने निष्कर्ष मान्नेबित्तिकै त्यसले दैनिक कार्यदिशा निर्माणमा समस्या पैदा गर्यो। पार्टीहरू सङ्घर्षको चरणमा हुँदा त केही समय सफल भए जस्तो देखिए। जब सम्झौताको चरण आयो, त्यो बेला सैद्धान्तिक विवाद शुरु भइहाल्यो।
यसका निश्चित परिणाम देखिए :
१. मुख्य नेतृत्वले सिद्धान्त (वर्गसङ्घर्ष) छाड्यो भनेर पार्टी फुटाउने प्रवृत्ति।
२. सम्झौता गर्नु भनेको सिद्धान्तच्युत हुनु हो भनेर निरन्तर लड्ने र समाप्त हुने प्रवृत्ति।
३. सत्ता प्राप्त भएपछि पनि काल्पनिक शत्रु र द्वन्द्वमा राजनीतिक भविष्य खोज्ने प्रवृत्ति।
४. अनेक तर्क गरेर चुनावी राजनीतिमा डुब्ने र भ्रष्ट बन्ने प्रवृत्ति।
नेपालको माओवादी पार्टी पहिलो प्रवृत्तिको सिकार भयो। गोन्जालो नेतृत्वको पेरुको ‘साइनिङ पाथ’ दोस्रो प्रवृत्तिको सिकार भयो। चीनमा चलेको सांस्कृतिक क्रान्ति र सोभियत सङ्घमा स्टालिनले चलाएको कठोर सत्तालाई तेस्रो प्रवृत्ति भन्न सकिन्छ। पश्चिम बङ्गाललगायत भारतका चुनावी कम्युनिस्ट र नेपालको एमाले पार्टीलाई चौथो प्रवृत्ति भन्न सकिन्छ। (यो मार्क्सवाद र कम्युनिस्ट राजनीतिको समीक्षाको एउटा कोण मात्र हो। यो विषयलाई आर्थिक, राजनीतिक, समाजशास्त्रीय, मनोवैज्ञानिक र प्राविधिक कोणबाट पनि हेर्न सकिन्छ।)
नेपालका केही कम्युनिस्ट नेता विगत चार दशकदेखि ‘मार्क्सवादको विकास’ गर्ने भनिरहन्थे। तर आजसम्म उनीहरूले नयाँ संश्लेषण गरेको थाहा भएको छैन। एक नेता आहुतिले प्रयास गरेका थिए। तर उनले ‘नयाँ समाजवादी व्यवस्था’ भनेर ल्याएको धारणामा जम्माजम्मी दुई कुरामा जोड गरेको देखियो- व्यवस्थापिकामा पेशागत प्रतिनिधित्व र शक्तिपृथकीकरण। यो त बुर्जुवा विचार नै हो, कुनै नयाँ कुरा होइन।
जब आधारभूत निष्कर्ष नै गलत छ, तब त्यसमा टेकेर नयाँ सिर्जना गर्न सम्भव नै हुँदैन। अवैज्ञानिक पद्धति–विज्ञानको सहारा लिएपछि आहुति जस्ता वाचाल र तर्कशील नेता पनि रुढीग्रस्त वैचारिकीले बाँधिन्छन्। यति कुरा बुझ्न नसक्नु नै यी नेताको दुःख हो।
‘मार्क्सवादको विकास’ सम्भव छैन, जतिसुकै प्रतिभाशाली विद्वान्ले पनि गर्न सक्दैनन्। कारण, यान्त्रिक पद्धतिबाट जे जति भन्न सकिन्थ्यो, त्यो भनिसकिएको छ। अब फेरि प्रयास गर्दा कि त असम्भव हुन्छ, कि त पुरानै कुराको पुनरावृत्ति। आजको युगमा ‘विचारको विकास’ होइन, ‘विचारमा क्रान्ति’ वा ‘पाराडाइम सिफ्ट’ मात्र सम्भव छ।
व्यावहारिक जीवनमा आजसम्म कुनै कम्युनिस्ट पार्टीले मार्क्सवादअनुरूप सत्ता सञ्चालन गर्न सकेका छैनन् र सक्दैनन्। कुनै कमरेडहरू मार्क्सवादी बन्न सकेका छैनन्। सबै बुर्जुवा जस्तै निजी धन वा पदको मोह लिएरै बाँचिरहेका छन्, बाँचिरहन्छन्। तर आडम्बर विचित्र छ- अरूले, नेताले र राज्यले चाहिं खाँटी मार्क्सवादी बनिदिनुपर्ने रे !
मार्क्सवादले गरिब वा धनी कसैको हित गर्दैन। यसले समाजलाई द्वन्द्वको अनन्त दुश्चक्रमा फसाउँछ। बुर्जुवा राजनीतिको अन्तिम परिणाम- यसले समाजलाई ‘ठूला साहुजी’ को जिम्मा लगाउँछ। कम्युनिस्ट राजनीतिको अन्तिम परिणाम- यसले समाजलाई ‘राजनीतिक ठेकेदार’ को जिम्मा लगाउँछ। परिणाम उस्तै हुन्छ- समाजमा धन सङ्ग्रहको होडबाजी चल्छ। आम मानिस ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ मा पर्दछन्। आज चीन र अमेरिकाले गरिरहेको यही हो।
व्यावहारिक परिणाममा मार्क्सवाद विभाजनमुखी विचारधारा हो। यसले जहिल्यै समाजमा शत्रु खोज्न भन्छ। तर समाज शत्रुतामा होइन, सहकार्यमा चल्छ। मित्रवत् सहकार्य (सम्झौता) र शत्रुवत् सहकार्य (सङ्घर्ष) लाई प्राकृतिक सहकार्यमा उठाउन सक्ने नै उन्नत राजनीति हो।
विज्ञानले आफ्नो प्रगतिका लागि समाजका सबैभन्दा उत्कृष्ट प्रतिभाको माग गर्दछ। तर राजनीति उन्नत हुनका लागि समाजका सबैभन्दा कमजोर व्यक्ति तथा समूहलाई ख्याल गरेको हुनुपर्दछ। समाजलाई शत्रु र मित्रमा विभाजन गर्ने होइन, व्यक्ति तथा समूहको अवस्था र आवश्यकता अनुसार राज्यको सेवा–सुविधामा प्राथमिकताक्रम निर्धारण गर्ने हो। सङ्घर्ष जरूरी भएको बेला सङ्घर्ष र सम्झौता जरूरी भएको बेला सम्झौता नै गर्ने हो।
अतिरिक्त मूल्यको सिद्धान्त
यो सिद्धान्त मनोविज्ञान सम्बन्धी दृष्टिले विवादास्पद छ। गुणवत्ताका हिसाबले मानिसहरू भिन्न (सार्वभौम) हुने, त्यसकारण व्यक्तिपिच्छे उत्प्रेरणा र कार्यसम्पादन स्तरमा तल–माथि हुन सक्ने र त्यसका कारण उत्पादन प्रक्रियामा हरेक श्रमिकको योगदान समान हुन नसक्ने तथ्यलाई मार्क्सले नकारेका त थिएनन्; तर उनको आर्थिक विश्लेषणमा श्रमिकलाई एक ‘सोलोडोलो’ सामूहिक एकाइ मानिएको छ। जसका कारण समाजमा हरेक व्यक्तिका भूमिका भिन्न–भिन्न (सार्वभौम) हुन्छन् भन्ने तथ्य ओझेलमा परेको छ।
मार्क्सले ‘अतिरिक्त मूल्यको सिद्धान्त’ को नाममा जे व्याख्या गरेका छन्, त्यो ‘व्यक्तिगत सम्पत्ति अपवित्र हुन्छ’ भन्ने उनको आधारभूत प्रस्थापनाबाट शुरु हुन्छ। यदि हामी व्यक्तिलाई सार्वभौम प्राणी मान्दछौं भने सार्वभौम प्राणीले आफ्नो श्रमद्वारा आर्जित चिज आफ्नो बनाउनु एकदमै स्वाभाविक हो। यसको अर्थ सबै व्यक्तिगत सम्पत्ति अपवित्र हुँदैन। केवल श्रम नपरेको सम्पत्ति आफ्नो बनाउँदा मात्र अपवित्र हुन्छ। प्राकृतिक सम्पदालाई व्यक्तिगत सम्पत्ति बनाउँदा मात्र अपवित्र हुन्छ।
अन्त्यमा; आजको राजनीतिक सङ्कटबाट पार पाउन सर्वप्रथम कमरेडहरूले आफूलाई ‘गरिब मुक्तिको स्वघोषित ठेकेदार’ ठान्ने चिन्तनबाट बाहिर आउनुपर्दछ। मार्क्सवादी बन्दैमा ‘गरिबवादी’ भइहालिन्न। यो एकखालको भ्रम र अहङ्कार मात्र हो।
वास्तवमा मार्क्सवादी हुन सम्भव नै छैन, यो मानव स्वभाव विपरीतको परिकल्पना हो। त्यसैले, मार्क्सवादी तरिकाबाट ‘गरिबको कल्याण’ हुँदैन, अरू नै उपाय सोच्न जरूरी छ। कमरेडहरूले अहिले जस्तो जीवन बाँचिरहनुभएको छ, यो ठिक छ। तर निजी धन मास्नुपर्छ भन्ने मार्क्सवाद चाहिं गलत छ।
निजता र सामूहिकताको गतिशील सन्तुलनमै हामीले भविष्य खोज्नुपर्नेछ। अबको पहिलो काम मार्क्सवादी मायाजालबाट मुक्त हुने हो। सँगै नयाँ खोज र संश्लेषण गर्ने हो। यसो गर्न सक्दा मात्र आजको राजनीतिक अनिश्चयलाई सम्बोधन गर्न सकिन्छ।
प्रतिक्रिया 4