“अन्ततः आधुनिक विज्ञान हाम्रो वर्तमान संसारका ती विशाल क्षेत्रहरूमा पनि प्रवेश गर्छ, जहाँ केही दशकअघि मात्र नयाँ सिद्धान्त नयाँ र शक्तिशाली समाजको आधारका रूपमा स्थापित गरिएका थिए। ती विशाल क्षेत्रहरूमा आधुनिक विज्ञानको द्वन्द्व एकातिर सैद्धान्तिक विषयमै छ- जसका जरा उन्नाइसौं शताब्दीका युरोपेली दार्शनिक विचारहरू (हेगेल र मार्क्स) मा पुग्छन्, र अर्कोतिर सम्झौताहीन विश्वासको प्रवृत्तिसँग पनि छ।”
(वर्नर हाइजेनबर्ग, ‘फिजिक्स एन्ड फिलोसफी’, १९५८, पृष्ठ २०३)
सर्वप्रथम हाइजेनबर्गका माथिका वाक्यबारे छोटो स्पष्टीकरण राखेर विषय शुरु गर्नु सान्दर्भिक हुनेछ। यहाँ हाइजेनबर्गले ‘नयाँ सिद्धान्त’ भनेर हेगेल र मार्क्सका विचारतर्फ सङ्केत गरेका हुन्। ‘विशाल क्षेत्र र शक्तिशाली समाज’ भनेर सोभियत सङ्घ, चीन लगायत कम्युनिस्ट मुलुकतर्फ सङ्केत गरेका हुन्। ‘सम्झौताहीन विश्वासको प्रवृत्ति’ भनेर हेगेल-मार्क्सका सिद्धान्तलाई कुनै जाँचबुझ नगरी विश्वास गर्ने राजनीतिक प्रवृत्तितर्फ सङ्केत गरेका हुन्।
हाइजेनबर्ग भन्छन्- ‘विज्ञानको मर्म प्रश्न गर्ने, प्रमाण खोज्ने र आवश्यक परे आफ्ना निष्कर्ष परिवर्तन गर्ने हो। तर जब कुनै राजनीतिक-दार्शनिक विचारधारालाई अन्तिम सत्यका रूपमा अन्धविश्वासपूर्वक स्वीकार गरिन्छ, तब विज्ञान र त्यस प्रकारको विचारधारा बीच द्वन्द्व उत्पन्न हुन्छ।’
थालनी
‘विज्ञानले खण्डन गरेको दर्शन बोकेर कहाँ पुग्ने कमरेड ?’ शीर्षकमा अनलाइनखबरमा यसअघि लेखकका दुई लेख प्रकाशित भएका थिए— पहिलो २०८१ जेठ २२ गते र दोस्रो असार ४ गते। त्यसयता धेरै पाठकहरूले पृष्ठपोषण तथा प्रतिक्रिया व्यक्त गर्नुभयो। यसै क्रममा २०८१ असार १८ गते अनलाइनखबरमै ‘हामी अक्षम, दोष मार्क्सवादलाई ?’ शीर्षकमा विद्वान् लेखक तुलसीदास महर्जनको समीक्षात्मक आलेख प्रकाशित भयो। यो आलेख, महर्जनको त्यही आलेखमाथिको जवाफ हो।
विज्ञान तथा दर्शनको क्षेत्रमा तुलसीदास महर्जन चिरपरिचित नाम हो। लेखक किशोरावस्थादेखि नै समीक्षक महर्जनका लेख–रचनाको पाठक हो। लेखक कुनै समय वाम आन्दोलनको कार्यकर्ता रहेको र केही वर्षयता कुनै राजनीतिक दलमा आबद्ध नभएको भन्ने समीक्षकको भनाइ सत्य हो। सर्वप्रथम मिहिनेतका साथ समीक्षा गरिदिनुभएकोमा समीक्षक महर्जनलाई लेखक हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।
लेखकका आलेखमा ‘कम्युनिस्ट पार्टीहरू वर्गीय राजनीति छोडेर वा मार्क्सवादलाई दह्रोसँग पक्रिन नसकेर असफल भएका होइनन्, बरु मार्क्सवादकै कारण असफल भएका हुन्’ भन्ने वकालत गरिएको थियो। साथै, ‘मार्क्सवादभित्र केही यस्ता विषय छन् जुन आज पनि सान्दर्भिक छन्, तर केही विषय परिस्थिति फेरिएर असान्दर्भिक भएका होइनन्, बरु मार्क्सले भनेको समयदेखि नै त्रुटिपूर्ण थिए’ भनिएको थियो।
समीक्षक महर्जनले लेखकका यी दुवै धारणाको खण्डन गर्नुभएको छ। समीक्षकको बुझाइ मुख्य रूपमा ‘मार्क्सवादी दर्शन तथा सिद्धान्त बुझ्न र व्यवहारमा लागू गर्न नसक्दा नै कम्युनिस्ट आन्दोलनले सही दिशा पक्रन नसकेको’ भन्ने छ।
थप समीक्षकको बुझाइ यस्तो छ- ‘नेपाल वा विश्वका कम्युनिस्ट पार्टीहरूमा देखिएको टुटफुट, भ्रष्टता वा विचलन भनेको संसदीय संशोधनवाद र पूँजीवादी अवसरवादसामु आत्मसमर्पण गर्नुको परिणाम हो। आजको नवउदारवादी सङ्कट, वातावरणीय विनाश र बढ्दो आर्थिक असमानताका बेला मार्क्सवाद झन् बढी सान्दर्भिक साबित भएको छ, केवल यसलाई आजको प्रविधि र परिवेश अनुसार सिर्जनात्मक रूपमा लागू गर्न आवश्यक छ।’
सुरुआतमै भनिहालौं, लेखकलाई यस्ता कुरा सुन्दा अचम्म लाग्छ। विगत तीन दशकदेखि लेखक यही र यस्तै कुरा सुन्दै आइरहेको छ। एकातिर ‘मार्क्सवादले सबै कुराको समाधान गर्ने सामर्थ्य राख्छ’ पनि भनिन्छ, अर्कोतिर मार्क्सवादलाई ‘बुझ्न मुश्किल जटिल रहस्यको पोको’ पनि बनाइन्छ। के मार्क्सवाद यस्तै दिव्य र रहस्यमय चिज हो ? के हाम्रा कम्युनिस्ट नेताले मार्क्सवाद बुझ्ने सामर्थ्य राख्दैनन् ?
निःसन्देह हाम्रा नेताका कमजोरी छन्, तर नेताले मार्क्सवाद नबुझेका होइनन्, यो बुझ्नै नसकिने रहस्यको पोको पनि होइन र यो सबै कुराको समाधान दिने दिव्य चिज पनि होइन। मूलतः आफैंभित्रको अप्राकृतिक चरित्रका कारणले नै मार्क्सवाद व्यवहारमा लागू हुन नसकेको हो।
लेखकको यो धारणालाई समीक्षकले खण्डन गर्ने प्रयास त गर्नुभयो, तर समीक्षकको खण्डन मार्क्सवादप्रतिको अन्धसमर्थनभन्दा माथि उठ्न सकेन। त्यसैले, समीक्षकलाई यो जवाफ लेख्ने प्रयास गरेको छु।
प्रकृतिसँग सङ्घर्ष बारे
लेखकको आलेखमा ‘आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मको मार्क्सवादी परिपथले मार्क्सवादकै “सङ्घर्ष स्थायी र निरपेक्ष हो” भन्ने निष्कर्षको खण्डन गर्दछ’ भनिएको थियो। स्मरण रहोस्, मार्क्सले ‘आदिम साम्यवादमा पनि वर्गसङ्घर्ष थिएन, वैज्ञानिक साम्यवादमा पनि वर्गसङ्घर्ष हुन्न’ भनेका छन्। यसो गर्दा सङ्घर्ष बीचको अस्थायी घटना जस्तो देखियो। तब ‘सङ्घर्ष स्थायी हुन्छ’ भन्ने आफ्नो निष्कर्षको बचाउ गर्न मार्क्सले ‘त्यसपछि प्रकृतिसँग सङ्घर्ष हुन्छ’ भनेका छन्।
यहाँ लेखकले उठाएको मुख्य कुरा ‘सामाजिक नियमलाई प्रकृतिका नियमसँग मिसाउने मार्क्सको तरिका गलत छ’ भन्ने थियो। समीक्षक यो विषयमा प्रवेशै गर्नुभएन। बरु लेखकले ‘प्रकृतिसँग सङ्घर्ष’ को मार्क्सको आशय नै नबुझेको भन्नुभयो। ‘प्रकृतिसँग सङ्घर्ष’ को मार्क्सवादी धारणालाई लेखकले जङ्गल फँडानी र वातावरण विनाश गर्ने मानवीय प्रवृत्तितर्फ अर्थ लगाएको पनि भन्नुभयो।
यो विषयमा समीक्षकले जे बुझेको हो, लेखकले पनि त्यही बुझेको हो। अर्थात्, मार्क्सले ‘प्रकृतिसँग सङ्घर्ष’ भनेर बाढी, अनिकाल र महामारी जस्ता परिघटनामा मानिसले गर्ने प्रतिरक्षालाई नै सङ्केत गरेका हुन्। तर यो बुझाइले पनि मार्क्सको ‘सङ्घर्ष स्थायी हुन्छ’ भन्ने प्रस्थापना पुष्टि गर्दैन। यहाँ लेखक होइन, समीक्षक चाहिं विषयको गहिराइमा नगएको देखिन्छ।
के प्राकृतिक परिघटनामा शत्रुता–मित्रता, सम्झौता–सङ्घर्ष हुन्छ ? यथार्थमा प्राकृतिक परिघटनालाई शत्रुता–मित्रता, सम्झौता–सङ्घर्षको दृष्टिकोणले हेर्नै मिल्दैन, हेरिंदैन। जस्तो कि— सर्प र भ्यागुता, मृग र बाघ बीचको सम्बन्ध हामी मानिसको आँखामा शत्रुतापूर्ण देखिन सक्छ। तर समग्र प्रकृतिमा एउटा इकोसिस्टम छ। प्राणीहरू बीचमा आहारको चक्र छ, जसका कारण जङ्गल-संसार सङ्घर्षमा होइन, सहजीवनमा बाँचेको छ।
प्राकृतिक परिघटनामा त सङ्घर्ष छैन भने, मानिस र प्रकृति बीचको सम्बन्धमा सङ्घर्ष देख्नु सर्वथा गलत हो। मानिस र प्रकृति बीच समीक्षकले भने जस्तो विरोधाभास हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहने छैन। प्रकृतिले मानिससँग बुद्धिपरक व्यवहार नै गर्दैन।
समीक्षकले उल्लेख गरेका परिघटना (बाढी, अनिकाल, महामारी) मानव जातिप्रति प्रकृतिको रिस वा रागका कारणले पैदा हुने होइनन्। ती घटना स्वयम्मा प्राकृतिक हुन्छन् वा मानवीय गल्तीले पैदा हुन्छन्। यसकारण मानिस–प्रकृति बीचको सम्बन्धलाई द्वन्द्व र शान्ति, सम्झौता र सङ्घर्ष, शत्रुता र मित्रताको आँखाले हेर्न मिल्दैन, हेरिंदैन।
केवल सामाजिक परिघटनालाई मात्र शत्रुता–मित्रता, न्याय–अन्यायको आँखाले हेरिन्छ, हेर्नुपर्दछ। कारण, मानिसले मानिसलाई र मानिसले प्रकृतिलाई बुद्धिपरक व्यवहार गर्दछ। यसकारण, प्रकृतिका नियम र समाजका नियमहरूको सन्दर्भ-सीमा नै अलग हुन्छ। सामाजिक नियम र प्राकृतिक नियमको आ-आफ्नो स्वायत्तताको घेरा हुन्छ। मार्क्सले भनेको ‘सङ्घर्ष’ स्पष्ट रूपमा सामाजिक परिघटना हो, यो प्रसङ्गलाई प्राकृतिक परिघटनासँग लगेर जोड्नु एकदमै असङ्गत हो।
यद्यपि, यो गल्ती त्यो बेलाको विज्ञानका कारणले पैदा भएको हो। मार्क्सको दृष्टिकोणको स्रोत डार्विनको सिद्धान्त थियो। डार्विनले उद्विकासको परिघटनालाई ‘सङ्घर्ष’ भनिदिए। ‘जीवन सङ्घर्ष हो, जसले सङ्घर्ष गर्छ ऊ बाँच्छ’ भनिदिए। यसकारण उन्नाइसौं शताब्दीको युरोपेली चिन्तन परम्परामा ‘निरपेक्ष सङ्घर्ष’ को मान्यता विकास भयो।
मानिस–मानिस सम्बन्ध (सामाजिक नियम) र मानिस–प्रकृति सम्बन्ध (प्राकृतिक नियम) मा भेद नगर्दा यो मान्यताले हर्बर्ट स्पेन्सर र माल्थस जस्ता समाजशास्त्रीलाई जन्मायो। यिनीहरूले ‘सामाजिक विभेद र अन्याय पनि प्राकृतिक र जायज हो’ सम्म भने। यस्तो मान्यतालाई ‘सामाजिक-डार्विनवाद’ भनियो।
मुखले त मार्क्सले स्पेन्सर र माल्थसको कडा खण्डन गरे, तर व्यवहारमा आफूले पनि यही बाटो पक्रिए। अर्थात्, मार्क्सले पनि मानिस–मानिस सम्बन्ध र मानिस–प्रकृति सम्बन्धमा भेद गरेनन्। यसरी प्रकारान्तरले मार्क्सले पनि ‘सामाजिक-डार्विनवाद’ कै विस्तार गरे।
मार्क्सको सन्दर्भमा यो खालको चिन्तनलाई स्वाभाविक मान्न सकिन्छ। कारण, मार्क्सको समयमा उपलब्ध सन्दर्भ सामग्री जम्माजम्मी त्यही डार्विनवाद थियो। तर विद्वान् समीक्षकका अगाडि आज उद्विकासको नयाँ सिद्धान्त छ। विज्ञानका अन्य विधामा पनि प्रशस्त सन्दर्भ सामग्री छन्। यी नयाँ सन्दर्भ सामग्रीले डार्विन–मार्क्स दृष्टिकोणमै प्रश्न उठाउँछन्।
जस्तो कि, उद्विकासको नयाँ सिद्धान्तलाई ‘सहजीवन सिद्धान्त’ (सिम्बायोसिस थ्यौरी) भनिएको छ। यसले भन्छ- यो पृथ्वीमा जति पनि प्राणी छन्, तिनीहरू सङ्घर्षद्वारा होइन, सहजीवनको प्रक्रियाबाट बाँचिरहेका छन्।
यो विषयलाई अझ गहिराइमा गएर पनि हेर्न सकिन्छ। प्रकृतिलाई ‘विपरीत तत्त्व’ मा विभाजित गर्ने र दुई ‘विपरीत’ अवयव बीचमा सङ्घर्ष देख्ने परम्परा एरिस्टोटलबाट शुरु भयो। डार्विनदेखि उन्नाइसौं शताब्दीसम्मको युरोपको सारा विज्ञान एरिस्टोटलियन ढाँचाको विस्तार हो। एरिस्टोटल भन्दथे- ‘विपरीत तत्त्व बीचमा कुनै एक असल र अर्को खराब हुन्छ; असललाई अँगाल्नु, खराबलाई निषेध गर्नुपर्दछ।’ मार्क्सले पनि यही परम्परा पक्रिए।
यथार्थमा प्रकृतिमा विपरीत तत्त्व भन्ने नै छैन। रोग र निरोग, जन्म र मृत्यु, भाव र अभाव, रात र दिन जस्ता अवयव एउटै यथार्थका दुई रूप हुन्। यिनीहरूको बीचमा सङ्घर्ष होइन, सहसम्बन्ध हुन्छ। यस्ता अवयव परिपूरक हुन्छन्।
समीक्षक महर्जनले ‘सङ्घर्षले गति पैदा गर्दछ’ भन्नुभएको छ। प्रकृतिको सन्दर्भमा यो भनाइको कुनै अर्थ छैन। गति प्रकृतिको शाश्वत नियम हो। प्रकृतिको गतिका लागि कुनै कारण जरुरी पर्दैन र प्राकृतिक गतिलाई कसैले रोकेर रोक्न सक्दैन। समीक्षकले भनेको कुरा केवल समाजको सन्दर्भमा सान्दर्भिक छ।
तर हरेक समाजमा सङ्घर्षको परिपूरक भएर सम्झौता पनि सँगै उपस्थित हुन्छ। सामाजिक गतिमा सम्झौताले पनि उत्तिकै भूमिका निभाउँछ। सङ्घर्ष कहिल्यै स्थायी परिघटना बन्न सक्दैन। जुनसुकै अवस्थामा पनि सम्झौता र सङ्घर्ष अस्थायी हुन्छन्, सहजीवन वा सहकार्य मात्र स्थायी हुन्छ। यसको सार, लेखकले ‘प्रकृतिसँग सङ्घर्ष’ को मार्क्सवादी अर्थ नबुझेको होइन, समीक्षकले मार्क्सवादको अर्थहीन अन्धसमर्थन गरेको हो।
द्वन्द्वात्मक भौतिकवाद बारे
समीक्षकले ‘आधुनिक भौतिकशास्त्र, सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्तले मार्क्सका द्वन्द्ववादका नियमलाई नै पुष्टि गर्छ’ भन्नुभएको छ। निःसन्देह युरोपेली चिन्तन परम्परामा मार्क्सले क्रान्तिकारी काम गरेका थिए। तर यसको अर्थ यो होइन कि उनका द्वन्द्ववादका नियम आधुनिक विज्ञानसम्मत छन्। मार्क्सको द्वन्द्ववादका नियमलाई सापेक्षता सिद्धान्तदेखि क्वान्टम सिद्धान्तसम्म तन्काउने समीक्षकको सोच एकदमै असङ्गत छ।
मार्क्सको ‘द्वन्द्वात्मक-भौतिकवाद’ को नियम, ‘यान्त्रिक-भौतिकवाद’ को नियमभन्दा के कुरामा फरक छ ? पहिले यो हेरौं। एरिस्टोटलको चिन्तन परम्परा फ्रान्सिस बेकन, रेने डेकार्ट हुँदै न्युटनसम्म आउँदा एक ‘निर्धारणवादी दर्शन’ पैदा भयो। यसले प्रकृतिलाई यान्त्रिक बिम्बमा बुझ्ने र हरेक चिजलाई अलगथलग र विपरीत तत्त्वका रूपमा व्याख्या गर्ने परम्परा पैदा गर्यो।
मार्क्सले यो कुरा स्वीकार गरेनन्। उनले भने- ‘विपरीतहरू अलगथलग छैनन्, यिनीहरू संयुक्त हुन्छन् र यस्ता अवयव बीचमा एकता र सङ्घर्ष दुवै हुन्छ।’ आधार र उपरीसंरचना, स्वस्फूर्त विकास र सचेतन प्रयत्न जस्ता प्रवर्गको व्याख्यामा मार्क्सले यो दृष्टिकोण प्रयोग गरे र भने— यस्ता प्रवर्ग बीचमा एकोहोरो एकता वा सङ्घर्ष होइन, बरु संयुक्त सम्बन्ध हुन्छ। यसरी मार्क्सले एक किसिमको ‘परिपूरकताको सिद्धान्त’ दिए, जसलाई ‘द्वन्द्वात्मक भौतिकवाद’ भनियो।
युरोपको चिन्तन परम्परामा यति गर्नु पनि क्रान्तिकारी काम थियो। तर स्मरण रहोस्, मार्क्सको द्वन्द्वात्मक भौतिकवादमा अभिव्यक्त परिपूरकता र आधुनिक विज्ञानको परिपूरकता सम्बन्धी बुझाइ एकदमै फरक हो। अब यसलाई पनि हेरौं:
एक: मार्क्सका लागि प्रकृति र समाज अन्ततः विपरीत तत्त्व मिलेर बनेका एकाइ नै थिए। आधुनिक विज्ञानले प्रकृति वा समाजमा विपरीत तत्त्वको अस्तित्व नै मान्दैन, यसले यस्तो विषयलाई ‘एउटै यथार्थको दुई रूप’ भन्दछ।
दुई: मार्क्सको बुझाइमा विपरीतहरू बराबर हैसियतका हुँदैनन्। विपरीतहरू दुवैले एकअर्कालाई प्रभाव त पार्छन्, तर प्रभावको भार समान हुँदैन। जस्तो कि— सामान्य अवस्थामा आर्थिक आधार नै मुख्य चालक हुन्छ; असामान्य अवस्थामा मात्र राजनीतिक सत्ता निर्णायक बन्दछ। उदाहरणका लागि, राजनीतिक क्रान्तिले सम्पत्तिको स्वामित्व बदल्न सक्छ, नयाँ संविधान बनाउन सक्छ, भूमिसुधार गर्न सक्छ आदि।
यसरी सहायक तत्त्व पनि कहिलेकाहीं निर्णायक बन्दछ। तर यो सधैं होइन, खास मौकामा मात्र। मार्क्सको बुझाइमा परिवर्तनको उत्कर्ष बिन्दुमा मात्र क्षणिक रूपले परिस्थिति उल्टिन्छ। नत्र एउटा मूल र अर्को सहायककै स्थानमा हुन्छ।
तर आधुनिक विज्ञान (भौतिकशास्त्र र समाजशास्त्र दुवै) का लागि द्वैत सम्बन्ध बराबरको सम्बन्ध हो। जस्तो कि- समाजले व्यक्तिलाई पनि निर्माण गर्छ, व्यक्तिले समाजलाई पनि। अर्थतन्त्रले राजनीतिलाई पनि प्रभाव पार्छ, राजनीतिले अर्थतन्त्रलाई पनि। प्रणाली सिद्धान्तले भन्दछ- द्वैत तत्त्वको बीच निरन्तरको पृष्ठपोषण सम्बन्ध रहन्छ, जसका कारण एउटा मात्र सधैं निर्णायक र अर्को सधैं गौण हुन्छ भन्ने नै हुँदैन। यो निरन्तरको बराबरीको र जिउँदो सम्बन्ध हो।
तीन: मार्क्सवादमा कारण–परिणाम सम्बन्ध पूर्वनिर्धारित र सुनिश्चित हुन्छ। मार्क्सवादी द्वन्द्ववादका तीन नियम (विरोधी पक्षहरूको एकता र सङ्घर्ष, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन, र निषेधको निषेध) मा परिवर्तनको एउटा स्पष्ट क्रम देखाइन्छ। जस्तो कि— अन्तरविरोध–सङ्घर्ष–उत्कर्ष–गुणात्मक फड्को–नयाँ अवस्था। यसले परिवर्तनलाई निश्चित रेखीय प्रक्रियाका रूपमा देखाउँछ। जस्तो कि— आदिम साम्यवाद–दास समाज–सामन्तवाद–पूँजीवाद–समाजवाद–साम्यवाद।
तर आधुनिक विज्ञानमा कारण–परिणाम सम्बन्ध पूर्वनिर्धारित र सुनिश्चित हुँदैन। प्रणाली सिद्धान्तले भन्छ— परिवर्तनको प्रक्रियामा धेरै कारणले एकैचोटि काम गर्छन्। यो प्रक्रियामा ‘फिडब्याक’ र ‘स्व–सङ्गठन’ जस्ता प्रणाली पनि भित्रभित्रै सक्रिय हुन्छन्; जसका कारण परिवर्तन प्रक्रियामा नापे–तौले जस्तो परिणाम आउँदैन, बरु ‘अप्रत्याशित-उद्भव’ (Emergence) पैदा हुन्छ। जस्तो कि— कहिलेकाहीं ठूला राजनीतिक कार्यक्रमले पनि समाजमा कुनै प्रभाव पार्न सक्दैनन्, कहिलेकाहीं एउटा सानो सामाजिक सञ्जाल अभियानले पनि समाजलाई गम्भीर धक्का दिएर कसैले नसोचेको परिणाम ल्याउन सक्छ।
क्वान्टम सिद्धान्तले पनि आफ्नै भाषामा यही कुरा बोल्छ। यसले भन्छ— क्वान्टम परिघटना कारण–परिणाम सम्बन्धमा बाँधिंदैन। सम्भाव्यता, सुपरपोजिसन, अनिश्चितता, मापनको भूमिका जस्ता परिघटनाका कारण एउटै प्रारम्भिक अवस्थाबाट पनि विभिन्न बहुसम्भावित परिणाम प्रकट हुन सक्छन्। यस अर्थमा संसार पूर्ण रूपमा पूर्वनिर्धारित हुँदैन।
यसको सार, मार्क्सवादी द्वन्द्ववादका नियम र आधुनिक विज्ञानका नियम एउटै होइनन्। क्वान्टम सिद्धान्तले मार्क्सवादी द्वन्द्ववादलाई पुष्टि गर्दैन, बरु मार्क्सवादी नियमको खण्डन गर्दछ। समीक्षकले यो विषयमा अति सरल टिप्पणी गर्नुभएको छ। यो यति सरल विषय होइन।
मानव स्वभावको प्रश्न
समीक्षकले भन्नुभएको छ— ‘आदिम समाजमा निजी धन नै थिएन। आज सम्पत्तिका नाममा जे भइरहेको छ, त्यो त पूँजीवादी स्वार्थ र लोभ हो, शाश्वत मानव स्वभाव होइन। लेखकले पूँजीवादी लोभलाई नै शाश्वत मानव स्वभावका रूपमा चित्रण गरे।’
समीक्षकको यो टिप्पणीले दुईवटा विषयमा व्यवस्थित धारणाको माग गर्दछ। पहिलो, सामाजिक उद्विकास र दोस्रो, मानव स्वभाव सम्बन्धी विषय। उद्विकासको नयाँ सिद्धान्तले समाजको जन्मको प्रक्रियालाई फरक ढङ्गले हेर्न प्रेरित गर्दछ। तर समीक्षक सामाजिक उद्विकासको निर्धारणवादी दृष्टिकोणकै आधारमा धारणा बनाइराख्नुभएको छ।
जतिबेला प्राणीहरूमा ‘धन’ को धारणा थिएन, त्यो बेला निजी धन मात्र होइन, सामूहिक धनको धारणा पनि थिएन। बिल्कुल प्राकृतिक अवस्था थियो, जुन अवस्थालाई समाज भन्न मिल्दैन। जतिबेला धनको धारणा पैदा भयो, त्यो बेला निजी र सार्वजनिक दुवै धन संयुक्त रूपमा जन्मिए। ‘आदिम साम्यवाद’ (निजी धन नभएको समाज) संसारको कुनै पनि भागमा कहिल्यै पैदा भएन।
द्वैत सम्बन्धको नाम नै समाज हो। द्वैतको नियमले भन्छ- द्वैतताको जन्म संयुक्त र विलय हुँदा पनि संयुक्त नै हुन्छ। जस्तो कि- कण भन्नेबित्तिकै तरङ्ग सँगै हुन्छ। उकालो बाटो भनियो भने ओरालो बाटो पनि सँगै उपस्थित हुन्छ। निजी धन भन्नेबित्तिकै सामूहिक धन सँगै उपस्थित हुन्छ।
समाज पैदा हुनका लागि खास प्राणीहरूभित्र मूलतः यी पाँच तत्त्वको उपस्थिति देखिनुपर्दछ— प्रविधि (सुरुआतमा आगो बाल्ने सीप), सम्पत्तिको चेतना (सङ्ग्रह र विनिमय), भाषा, अहङ्कार (निजत्व) र संस्था (नेतृत्व–सदस्यको सचेतन सम्बन्ध)। यी पाँचमध्ये कुनै एक गुण मात्रै अनुपस्थित हुन्छ भने, त्यहाँ व्यक्ति–समाज हुँदैन, जनावर–जङ्गल मात्र हुन्छ।
यी पाँच अवयव अलगथलग हुँदैनन्। पैदा हुँदा संयुक्त, विलय हुँदा पनि संयुक्त। जस्तो कि- आगो बाल्ने सीप जान्ने प्राणीले सम्पत्तिको चेतना राख्दैन भन्ने नै हुँदैन। भाषा जान्ने प्राणीले आगो बाल्न जान्दैन भन्ने पनि हुँदैन। जनावरबाट मानिस बन्ने प्रक्रियामा उद्विकासको खास बिन्दुमा यी पाँच चिज नाटकीय ढङ्गले संयुक्त रूपमा प्रकट हुन्छन्।
यही नाटकीय क्रमभङ्गले नै जङ्गल युगबाट सामाजिक युगमा प्रवेश गराउँछ, जुन निश्चित मात्रात्मक विकासपछि देखा पर्दछ। माथि उल्लिखित ‘अप्रत्याशित-उद्भव’ को प्रसङ्गको अर्थ यही हो। यस्तो परिघटनामा मात्रात्मक विकासको विश्लेषण गर्न सकिन्छ, क्रमभङ्गको सकिन्न। तर क्रमभङ्गले परिस्थितिमा गुणात्मक अन्तर ल्याइसकेको, नयाँ चिजलाई जन्म दिइसकेको हुन्छ। डार्विनले यस्तोलाई पनि ‘स्थानीय परिघटना’ मान्दछन्; अर्थात् ‘खास स्थानीय वातावरणले खास परिणाम पैदा गरेको हो’ भन्दछन्। आधुनिक विज्ञानले यस्तो परिघटनालाई निरपेक्ष वा ‘अस्थानीय परिघटना’ भन्दछ।
मार्क्सले ‘निजी धन खराब हो’ भनेर देखाउने एउटा उपायका रूपमा कथित ‘आदिम साम्यवाद’ को अवधारणा प्रस्तुत गरेका थिए। ‘सुरुआतमा निजी धन थिएन, यो त बीचमा मानिसको मूर्खताले पैदा गरेको चिज हो, यो नभए पनि हुन्छ’ भनेर उनले व्याख्या गरेका थिए। वास्तविकतामा धनको इतिहास (निजी–सार्वजनिक दुवै) मानव जातिको इतिहास जति नै लामो छ।
निजी–सामूहिक धनले संयुक्त रूपमा जन्म लिएको परिघटना नै अर्को अर्थमा व्यक्ति–समाज जन्मको घटना हो। माथिको चर्चाबाट स्पष्ट हुन्छ, ‘आदिम साम्यवादी युगमा निजी धन थिएन’ भन्ने मार्क्सको भनाइ त्रुटिपूर्ण नै हो।
मनोविज्ञानका पछिल्ला निष्कर्षले भन्दछन्— संसारमा सबैखाले मानिसभित्र प्रेम, उदारता र सद्भाव पनि हुन्छ; काम, क्रोध, लोभ, मोह, अहङ्कार पनि हुन्छ। यही कारण मानिसको स्वभाव तरल छ। यस्तो तरलता पूँजीवादी वा कम्युनिस्ट दुवैमा हुन्छ, अर्थात् लोभ-पाप सबैखाले मानिसमा हुन्छ। तर मार्क्स त ‘मानिसको स्वभाव वर्गीय हुन्छ, राजनीति पनि वर्गीय हुनुपर्दछ’ भन्दछन्। यसकारण मार्क्सको धारणा त्रुटिपूर्ण हो। समीक्षक त झन् अगाडि बढेर ‘लोभ वृत्ति त बुर्जुवाको विशेषता हो’ भन्दै हुनुहुन्छ। यस्ता कुरा कहींकतै सङ्गतिपूर्ण छैनन्।
निजी धन खराब होइन र यो सामूहिक धनभन्दा कम महत्त्वको चिज पनि होइन। निजी र सामूहिक धनको बराबर महत्त्व छ, यी दुई बीच सन्तुलन नहुँदा मात्र खराबी पैदा हुन्छ, गतिशील सन्तुलनले हित गर्दछ। आजको हाम्रो काम निजी धनको निन्दा गर्ने होइन, उपयुक्त शासन प्रणाली र अर्थप्रणाली रचना गर्ने हो, जसका कारण मानवीय लोभले समाजमा विस्तार हुने मौका नपाओस्। लेखकको खास आशय यो हो।
पर्यावरण चेत
‘मार्क्स-एङ्गेल्सले पर्यावरण चिन्तनको क्षेत्रमा प्रशस्त लेखेका छन्’ भन्ने समीक्षकको कुरा सही हो। ‘मानिसले प्रकृति विनाश गर्यो भने प्रकृतिले पनि मानिसलाई विनाश गर्छ’ भनेर उनीहरूले स्पष्ट भनेका छन्। तर ‘साम्यवादले प्रकृतिको संरक्षण गर्दछ’ भन्ने समीक्षकको भनाइ सही होइन। उदारवाद र समाजवाद दुवै प्रकृतिविरोधी हुन्।
यसको पहिलो कारण, उदारवाद र समाजवाद दुवैले प्रकृतिलाई ‘जिउँदो र पुज्य’ मान्दैनन्, ‘निर्जीव र भोग्य’ मान्दछन्। दोस्रो, उदारवाद र समाजवाद दुवैले ‘जति धेरै धन, उति धेरै सुख’ को आदर्शमा विश्वास गर्दछन्। ‘अधिक उत्पादनले समाजवादको आधार तयार गर्दछ’ भन्ने मार्क्सको भनाइ नै छ। तेस्रो, उदारवाद र समाजवाद दुवैले भौतिक सुखप्राप्तिलाई वैयक्तिक जीवन र राजनीतिक सिद्धान्तको लक्ष्य बनाएका छन्।
यी तीन कारणले दिने परिणाम भनेको ‘धन वृद्धिको महत्त्वाकाङ्क्षा’ हो, जुन प्रकृतिमाथिको ज्यादती भएर अभिव्यक्त हुन्छ। यो तथ्य आज अमेरिका र चीन जस्ता मुलुकको व्यवहारले देखाएकै छ। स्मरण रहोस्, विश्वमा सबैभन्दा बढी कोइला पोल्ने देश चीन र दोस्रोमा भारत–अमेरिका हुन्। यिनीहरू नै विश्वको तापमान वृद्धिमा सबैभन्दा ठूलो जिम्मेवार हुन्।
अतिरिक्त मूल्य सिद्धान्त
यस विषयमा लेखकको आलेख पढ्दा समीक्षक झुक्किनुभयो जस्तो लाग्यो। लेखकको आलेखमा ‘अतिरिक्त मूल्यको सिद्धान्त असान्दर्भिक भयो भनिन्छ भने त्यो दृष्टिभ्रम मात्र हो’ भनिएको छ। यस सम्बन्धमा ‘मूल्यको सिर्जना केवल शारीरिक श्रमले मात्र गर्दैन, ‘सामाजिक रूपमा आवश्यक श्रम समय’ ले निर्धारण गर्छ’ भन्ने समीक्षकको धारणाको पूरा समर्थन गर्दछु। यद्यपि औद्योगिक र डिजिटल क्षेत्रको शोषणको तरिका एउटै भने छैन।
‘मार्क्सवादले मानिसको मिहिनेतबाट आर्जित व्यक्तिगत सम्पत्ति (जस्तै घर, कपडा, गाडी) को विरोध कहिल्यै गरेको छैन, कम्युनिज्मको विशेषता व्यक्तिगत सम्पत्तिको उन्मूलन होइन, बरु बुर्जुवा (पूँजीवादी) सम्पत्तिको उन्मूलन हो’ भन्ने समीक्षकको मान्यताको पनि समर्थन गर्दछु। यद्यपि यो अति व्यावहारिक कुरा हो, यति कुराले मार्क्सवादका चिन्तनगत गल्तीलाई सच्याउन सक्दैन। समग्र चिन्तन प्रणाली कतातिर अभिमुख छ भनेर हेर्नुपर्ने हुन्छ, व्यावहारिक अभ्यासका पछिल्ला अनुभवलाई पनि हेर्नुपर्ने हुन्छ।
माथि चर्चा भइसकेको छ, मार्क्सवाद एरिस्टोटलियन चिन्तनकै विस्तार हो। यस चिन्तन ढाँचाभित्र विपरीतमध्ये कुनै एकलाई मूल र अर्कोलाई सहायक मानिन्छ। त्यसैले मार्क्सवाद, निजी र सामूहिक धन बीच सन्तुलन बनाउनेतिर होइन, निजी धनलाई अति सानो घेरामा राख्ने र सामूहिक धनलाई निर्णायक बनाउनेतिर अभिमुख हुन्छ।
अनुभवहरूले भन्दछन्— सामूहिक धनको घेरा अनावश्यक बढाउँदा राज्यमा नोकरशाही शक्ति बलियो हुन्छ, राजनीतिक ठेकेदार हावी हुन्छन्। उद्यमशीलता विकासका लागि त निजी धन र सामूहिक धन बीच सन्तुलन नै जरुरी हुन्छ। यो पाठ साम्यवादी मुलुकका अभ्यासबाटै आएको हो। त्यसैले, यस मामिलामा पनि मार्क्सवादको अभिमुखीकरण त्रुटिपूर्ण नै हो।
अन्त्यमा
ठाउँ-ठाउँमा केही मित्रहरूले भनेको सुन्छु- ‘वर्ग रहेसम्म मार्क्सवादको सान्दर्भिकता रहिरहन्छ।’ यो त उल्टो कुरा हो। वर्ग रहिरह्यो भने त मार्क्सवादमाथि प्रश्न उठ्छ। वर्ग मासियो भने मात्र मार्क्सवादको सान्दर्भिकता पुष्टि हुन्छ। कारण, मार्क्सवादले त ‘कुनै दिन वर्गविहीन साम्यवाद आउँछ’ भनेको छ।
सिद्धान्त के हो ? यथार्थको भाषिक अभिव्यक्ति नै सिद्धान्त हो। सिद्धान्तमा ‘यथार्थ के हो ? किन ? र कसरी ?’ जस्ता प्रश्नको समाधान गरिएको हुन्छ। त्यसैले, सिद्धान्त यदि सही छ भने त्यो ‘व्यवहारमा लागू हुँदैन वा भएन’ भन्ने प्रसङ्ग नै आउँदैन। ठिक सिद्धान्त आफैं र स्वतः व्यवहार बनिरहेको हुन्छ।
मार्क्सको ‘वर्ग सङ्घर्षको सिद्धान्त’ र ‘अतिरिक्त मूल्यको सिद्धान्त’ यसको उदाहरण हो। कसैले मिहिनेत नगरे पनि यी धारणा हाम्रो समाजको यथार्थ बनिरहेका छन्, दैनिक जीवनमा दोहोरिरहेका छन्। जस्तो कि- मानिसहरू बीचमा विभिन्न निहुँमा द्वन्द्व चलिरहेकै छ, मालिकले श्रमिकलाई ज्यालामा ठगिरहेकै छ। तर ‘सर्वहारावर्गको अधिनायकत्व’ सम्बन्धी मार्क्सवादी धारणा मिहिनेत गर्दा पनि लागू हुनसकेको छैन। किन ? किनकि मार्क्सको यो धारणा सिद्धान्त होइन, परिकल्पना मात्र हो।
जब कुनै राजनीतिक-दार्शनिक विचारधारालाई अन्तिम सत्यका रूपमा प्रस्तुत गरिन्छ, तब विचार ‘धर्मशास्त्र’ बन्दछ, विचारक ‘देवता’ र सङ्गठन ‘सम्प्रदाय’ मा रूपान्तरण हुन्छ। यसबाट वैज्ञानिक हाइजेनबर्गले भने जस्तै विज्ञान र विचारधारा बीच द्वन्द्व हुने अवस्था सिर्जना हुन्छ। समीक्षकका विचारले यस्तै द्वन्द्वलाई बल दिन्छन्।
विद्वान् समीक्षकलाई लेखकको आग्रह छ- विचारधारामा टेकेर विज्ञानसँग द्वन्द्व नगरौं। बरु विज्ञानमा टेकेर विचारधारा सच्याऔं। मार्क्सलाई देवता र मार्क्सवादलाई धर्मशास्त्र नबनाऔं। बरु नयाँ वैचारिक क्रान्तिको पहल गरौं।
प्रश्न मार्क्सवादमाथि मात्र उठेको होइन, सिङ्गो युरोपेली चिन्तन परम्परामाथि उठेको हो। प्रश्न उठाउने राजनीतिशास्त्री होइनन्, वैज्ञानिकहरू हुन्। यी वैज्ञानिकहरूले सामान्य वैचारिक परिमार्जनका कुरा गरिरहेका छैनन्, ‘पाराडाइम सिफ्ट’ को कुरा गर्दैछन्। समीक्षक जस्तो व्यक्तित्वले यस्तो विषयलाई अति सरलीकृत गर्न मिल्दैन। आजको हाम्रो अभिभारा मार्क्सवादको अन्धसमर्थन गर्नु होइन, नयाँ विज्ञानलाई पक्रिएर नयाँ दृष्टिकोणको निर्माण गर्नु हो।
प्रतिक्रिया 4