‘क्वान्टम सिद्धान्त पहिलोपल्ट सुन्दा जो व्यक्ति स्तब्ध हुँदैनन्, उनीहरूले क्वान्टम सिद्धान्त छर्लङ्ग बुझेका हुँदैनन्।’
– निल्स बोहर (हाइजेनबर्ग–बोहर संवाद, फिजिक्स एन्ड बियोन्ड, १९७१, पृष्ठ २१०)
गत जेठ २२ गते अनलाइनखबरमा ‘विज्ञानले खण्डन गरेको दर्शन बोकेर कहाँ पुग्ने कमरेड?’ शीर्षकमा लेखकको लेख प्रकाशित भएको थियो। त्यसयता पाठकहरूका अनेक पृष्ठपोषण र प्रतिक्रिया आएका छन्। अधिकांश कमरेडहरूलाई ‘नयाँ विज्ञानले मार्क्सवादलाई खण्डन गरेको छ’ भन्ने भनाइ विश्वास गर्न गाह्रो भयो।
‘मार्क्सवाद स्वयम् विज्ञान हो, यसको विकास हुन्छ, तर यो कहिल्यै खण्डित हुनसक्दैन’ भन्ने उनीहरूको अडान थियो। कतिपय विद्वान्को प्रतिक्रिया थियो– ‘विज्ञानले मार्क्सवादको खण्डन गर्यो भनेर सिउडो साइन्स (छद्म विज्ञान) को कुरा गर्नुभएको होला।’
नेता तथा विद्वान् कमरेडहरूबाट जे-जस्ता प्रतिक्रिया आए, ती सुन्नेबित्तिकै थाहा भइहाल्यो- कमरेडहरू विषयमा प्रवेशै गरेका छैनन्। विज्ञानको क्रान्तिले विज्ञानकै परिभाषा बदलिसकेको छ। पुरानो ‘माइन्डसेट’ बोकेर नयाँ विज्ञान बुझ्न सम्भव छैन। विज्ञानका नयाँ सिद्धान्त ‘कमनसेन्स विचार’ को विपरीत छन्। एकपल्ट स्तब्ध नभईकन र पुरानो माइन्डसेट खाली नगरीकन त नयाँ विज्ञानका सिद्धान्तमा प्रवेश गर्न पनि सकिन्न।
तर, कमरेडहरूले विषयलाई अति सरल पाराले लिए वा दलविशेषको विरोध गरेको अर्थमा बुझे। लेखकको उद्देश्य कसैको विरोध गर्नु होइन, मूलतः राजनीतिक सङ्कट समाधानको दिशामा सार्थक संवाद शुरु होस् भन्ने हो। यस आलेखमा विज्ञानले मार्क्सवादलाई कसरी खण्डन गर्यो भन्ने विषयमा थप चर्चा गरिनेछ।
सिद्धान्तका सन्दर्भ-सीमा
सामान्यतया हामी सोच्दछौं- हरेक वैज्ञानिक सिद्धान्त अकाट्य सत्य हुन्। यथार्थमा वैज्ञानिक सिद्धान्तका निश्चित सन्दर्भ-सीमा हुन्छन्। विज्ञानमा आएका कतिपय नयाँ ज्ञानले पुराना सिद्धान्तको जग नै भत्काइदिन्छन्। तैपनि खास सन्दर्भ-सीमाभित्र त्यो पुरानो सिद्धान्त काम लागिरहन्छ।
यसलाई केही पुराना उदाहरण सहित हेरौं: युक्लिडको ज्यामिति ‘पृथ्वी चेप्टो छ’ भन्ने जग (आधारभूत बुझाइ) मा उभिएको थियो। यो सिद्धान्त जमिनको मापन गर्न उपयोगी थियो, तर यसले पृथ्वीमा दिन र रात कसरी हुन्छ भन्ने प्रश्नको समाधान दिन सक्दैनथ्यो। पृथ्वी गोलो छ भन्ने थाहा भएपछि युक्लिडियन विज्ञानको जग भत्कियो। दिन र रातको रहस्य पनि थाहा भयो। तर, जमिन मापनका लागि भने आज पनि हामी त्यही युक्लिडियन ज्यामिति नै उपयोग गर्दछौं।
पृथ्वी केन्द्रित ब्रह्माण्डको अवधारणा ‘पृथ्वी स्थिर छ र सूर्यले पृथ्वीलाई परिक्रमा गर्दछ’ भन्ने जगमा उभिएको थियो। यसले पृथ्वीमा दिन र रात कसरी हुन्छ भन्ने बताउन सक्थ्यो, तर ऋतु परिवर्तन कसरी हुन्छ भन्ने बताउन सक्दैनथ्यो। पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने थाहा भएपछि पृथ्वी केन्द्रित ब्रह्माण्डको जग भत्कियो। ऋतु परिवर्तनको रहस्य पनि थाहा भयो।
सूर्य केन्द्रित ब्रह्माण्ड (न्युटोनियन विज्ञान) को अवधारणा ‘ब्रह्माण्ड सर्वकालिक हो र ब्रह्माण्ड ठूलो बाकस जस्तो त्रि-आयामिक (लम्बाइ–चौडाइ–उचाइ) छ’ भन्ने जगमा उभिएको थियो। यसले ऋतु परिवर्तनको रहस्य बतायो। पिण्ड, बल र गतिको अन्तरसम्बन्धको स्पष्ट गणित दियो। गुरुत्वाकर्षणको नियम स्पष्ट पार्यो। यसबाट एक सुस्पष्ट दर्शन जन्मियो, जसलाई ‘वैज्ञानिक-निर्धारणवाद’ भनियो। तर, कालक्रममा ‘वैज्ञानिक-निर्धारणवादी’ दर्शन पनि भत्कियो। यद्यपि, यसका सुनिश्चित सन्दर्भ-सीमाहरू अझै छन्।
वैज्ञानिक-निर्धारणवाद
एरिस्टोटलदेखि न्युटनसम्मको विकासक्रममा न्युटोनियन एउटा निर्णायक चरण थियो। न्युटनका गति तथा गुरुत्वाकर्षणका नियमहरूले देखाए- यदि कुनै वस्तुको वर्तमान अवस्था र त्यसमा कार्यरत बलहरू थाहा भए, त्यसको भविष्यको अवस्था पनि पूर्वानुमान गर्न सकिन्छ। ब्रह्माण्ड एक विशाल यन्त्र जस्तै हो, जुन निश्चित नियमद्वारा सञ्चालित छ। कार्य-कारण सम्बन्धको विश्लेषणबाट सुनिश्चित परिणाम (ज्ञान) जान्न सकिन्छ। यही सोचलाई ‘वैज्ञानिक-निर्धारणवाद’ (Scientific Determinism) भनियो।
भौतिकशास्त्रमा विकास भएको यो सिद्धान्त त्यो समयका सबै विधामा आयात गरियो। जीवशास्त्रमा यो सिद्धान्त ‘प्रत्येक जैविक घटना- जस्तै: वृद्धि, परिवर्तन र रोगका निश्चित कारण हुन्छन् र ती कारण थाहा पाएपछि परिणामको भविष्यवाणी गर्न सकिन्छ’ भन्ने विश्वासका रूपमा प्रकट भयो।
मनोविज्ञानमा यो ‘हरेक व्यक्तिको व्यवहार, बुद्धि, स्वभाव र मानसिक अवस्थालाई आनुवंशिकता, स्नायु प्रणाली, हर्मोन तथा मस्तिष्कका संरचनाहरूले निर्धारण गर्छन्’ भन्ने दृष्टिकोणमा प्रकट भयो।
समाजशास्त्रमा निर्धारणवादका मूलतः चार धारा देखिए: १. जैविक निर्धारणवाद: मानिसको सामाजिक व्यवहार उसको वंशाणुगत वा जैविक विशेषताले निर्धारण गर्छ भन्ने दृष्टिकोण। २. भौगोलिक निर्धारणवाद: जलवायु, भूगोल र प्राकृतिक वातावरणले समाजको स्वरूप र विकासलाई निर्धारण गर्छ भन्ने दृष्टिकोण। ३. संरचनात्मक निर्धारणवाद: सामाजिक संस्था र संरचनाहरूले व्यक्तिको व्यवहारलाई निर्देशित वा सीमित गर्छन् भन्ने दृष्टिकोण। ४. आर्थिक निर्धारणवाद: उत्पादनका साधन र आर्थिक संरचनाले राजनीति, संस्कृति तथा सामाजिक सम्बन्धहरूलाई निर्धारण गर्छन् भन्ने दृष्टिकोण।
मार्क्सले ‘भौगोलिक-निर्धारणवाद’ को खण्डन गरे पनि उनको वैचारिकी माथिका तीनखाले निर्धारणवादी दर्शनको जगमा खडा भएको थियो। मार्क्सले खुलेरै ‘वैज्ञानिक-निर्धारणवाद’ को वकालत गरेका थिए।
आजको नयाँ विज्ञानलाई निर्धारणवादी दृष्टिकोणका सन्दर्भ-सीमा थाहा भइसकेको छ। भौतिकशास्त्रको सन्दर्भमा यदि स्थूल पिण्डको गति र परिणामको आकलन गर्नु छ भने निर्धारणवादी विधि नै उपयोग गर्नुपर्ने हुन्छ। तर उपपरमाणु (Subatomic) तहका परिघटनामा यो विधि काम लाग्दैन।
जीवशास्त्र तथा मनोविज्ञानको सन्दर्भमा खास (जेनेटिक वा सङ्क्रामक) रोगको उपचार, सामाजिक चेतनाको विश्लेषण जस्ता कामका लागि यो नियम अझै काम लाग्छ। तर भावना, दुखाइ, चयापचय (मेटाबोलिजम), उत्परिवर्तन, जीव र वातावरणीय प्रभावको अन्तरसम्बन्ध, जन्म–मृत्यु जस्ता परिघटनाको विश्लेषणमा यो विधि काम लाग्दैन।
समाजशास्त्रमा तात्कालिक सामाजिक परिघटना वा वनावटको विश्लेषणका लागि यही विधि काम लाग्छ। सरल भाषामा भन्दा, तथ्याङ्क सङ्कलन र विश्लेषणसम्मका लागि यो विधि नै उपयोग गर्नुपर्दछ। तर, सामाजिक व्यवस्थापन र भविष्यको प्रक्षेपणका लागि यो विधि काम लाग्दैन।
मार्क्सवादी-निर्धारणवाद
मार्क्सवादी दर्शनमा निर्धारणवाद जम्मा ४ तरिकाले अभिव्यक्त भएको छ :
१. निर्धारणवादले भौतिक संसारलाई एक यान्त्रिक एकाइको रूपमा बुझ्छ। मार्क्स पनि समाजलाई यान्त्रिक एकाइ मान्दछन्। यसको अर्थ, संसार र समाजलाई गणितीय विधिबाट विश्लेषण गर्न सकिन्छ भन्ने हो। वर्गसङ्घर्षको परिणामलाई गणितीय दृष्टिले हेर्ने र वर्ग निषेधको पूर्वानुमान गर्ने मार्क्सवादी तरिका यही दृष्टिकोणमा आधारित छ।
२. निर्धारणवादले संसारका वस्तुहरू अलग–थलग र स्वतन्त्र छन्, स्वतन्त्र आधारभूत कण (परमाणु) को विस्तारबाट संसार बनेको हो भन्ने मान्दछ। परिणामतः अंश (परमाणु) को अध्ययनबाट समग्र (संसार) बारे जान्न सकिन्छ भन्ने मान्दछ। मार्क्स पनि संसार र समाज विभिन्न स्वतन्त्र अवयव मिलेर बनेको हुन्छ भन्ने मान्दछन्। सामाजिक वर्गलाई उनी समाजको आधारभूत तत्त्व मान्दछन्। वर्ग संरचनाको अध्ययनबाट समाजको चरित्र थाहा हुन्छ भन्ने मान्दछन्। मार्क्सको वर्गीय दृष्टिकोण, वर्गीय पार्टी र सत्ता अवधारणाको स्रोत यही मान्यता हो।
३. निर्धारणवादले संसारमा हरेक घटनाहरू खास स्थानमा घटित हुन्छन्, हरेक घटनाको सुनिश्चित कारण हुन्छ, कार्य-कारण सम्बन्ध विश्लेषणबाट त्यो जान्न सकिन्छ, यही विधिबाट संसारको इतिहास र भविष्यको रहस्यसम्म जान्न सकिन्छ भन्ने मान्दछ। मार्क्स पनि हरेक घटनाको कारण सम्बन्धित वस्तुमा अन्तर्निहित हुन्छ, कार्य-कारण सम्बन्धको विश्लेषणले इतिहास र भविष्यसम्मको प्रक्षेपण गर्न सकिन्छ भन्ने मान्दछन्। मार्क्सको समाज विकासको रेखीय दृष्टिकोण (आदिम साम्यवाद–दासयुग–सामन्ती युग–पूँजीवादी युग–समाजवादी युग–साम्यवादी युग) को स्रोत यही मान्यता हो।
४. निर्धारणवादले मानिसको चेतनाभन्दा बाहिर स्वतन्त्र संसार अस्तित्ववान छ, जुन निश्चित नियमद्वारा सञ्चालित छ, विज्ञानको उद्देश्य ती नियम वस्तुगत अवलोकनका माध्यमबाट पत्ता लगाउनु हो र यसो गर्न सकिन्छ (अर्थात् संसार बोधगम्य छ) भन्ने मान्दछ। मार्क्स पनि समाजका सबै रहस्य अवलोकनका माध्यमबाट जान्न सकिन्छ भन्दछन्। उनी स्वतन्त्र संसार, स्वतन्त्र पर्यवेक्षक र सुनिश्चित वस्तुगत ज्ञानमा विश्वास गर्दछन्।
सापेक्षताको सिद्धान्त
न्युटोनियन विज्ञान (निर्धारणवादी सोच) को जग भत्काउने पहिलो नयाँ सिद्धान्त ‘सापेक्षताको सिद्धान्त’ (Theory of Relativity) थियो। हिजोआज वाम-कम्युनिस्ट कमरेडहरू वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र उनको सापेक्षताको सिद्धान्तको खुब प्रशंसा गर्दछन्। तर व्यवहारमा उनीहरू सापेक्षता सिद्धान्तका विरोधी हुन्। स्मरण रहोस्, मार्क्सवाद निर्धारणवादी सम्प्रदायभित्रको वैचारिकी भएकाले सापेक्षता सिद्धान्तको ठिक विपरीत छ।
न्युटोनियन विज्ञानमा अनुत्तरित प्रश्न (खाली ठाउँमा बल केका माध्यमबाट प्रसार हुन्छ ?) माथि काम गर्ने क्रममा आइन्स्टाइनले जे समाधान भेट्टाए, त्यही समाधानले भौतिकशास्त्रमा न्युटोनियन विज्ञानको जग भत्कायो। ब्रह्माण्डको आदि र अन्त्य छ कि छैन ? यस प्रश्नमा न्युटोनियन विज्ञानको बुझाइ थियो- ब्रह्माण्डको आदि वा अन्त्य छैन, ब्रह्माण्ड सर्वकालिक हो।
आइन्स्टाइनको सापेक्षता सिद्धान्तले ठिक उल्टो कुरा गर्यो। यसले भन्यो- ब्रह्माण्डको आदि र अन्त्य हुन्छ र ब्रह्माण्ड त्रि-आयामिक बाकस जस्तो होइन, चार आयामिक (वक्र) छ। तर, ब्रह्माण्ड अवलोकन गर्ने हाम्रा इन्द्रियहरूको क्षमता सीमित भएका कारण हामीलाई यो बाकस जस्तो लाग्दछ।
स्मरण रहोस्, सापेक्षताको सिद्धान्तले ‘संसार सापेक्ष छ’ भन्दैन, ‘संसारलाई हेर्ने र बुझ्ने हाम्रो क्षमता चाहिं सापेक्ष छ’ भन्दछ। ठिक यो बिन्दुमा ‘संसार बोधगम्य छ’ भन्ने निर्धारणवाद खण्डित भयो अनि सापेक्ष ज्ञानको अवधारणाले आकार ग्रहण गर्यो।
अर्को रोचक कुरा, यहींबाट भौतिकशास्त्रले मनोविज्ञानको भाषा बोल्न थाल्यो। निर्धारणवादी सिद्धान्तले विज्ञानका विधाहरूलाई स्वतन्त्र मान्दथ्यो, अब विज्ञानका विधा पनि अन्तरसम्बन्धित देखिए।
भौतिकशास्त्रबाट पैदा भएको यो अन्तरबोध पछि अन्य विधामा पनि प्रकट भयो। जीवशास्त्रमा यो जीवको अस्तित्व, विकास, अनुकूलन र व्यवहारलाई वातावरण तथा अन्य जीवहरूसँगको सम्बन्धमा बुझ्ने दृष्टिकोणका रूपमा प्रकट भयो। मनोविज्ञानमा यो मानिसको व्यवहार, भावना, विचार र व्यक्तित्वलाई व्यक्ति, वातावरण, संस्कृति र परिस्थितिको सन्दर्भमा सापेक्ष रूपमा बुझ्ने दृष्टिकोणका रूपमा प्रकट भयो।
अर्थशास्त्रमा यो आर्थिक मूल्य, आवश्यकता, उपयोगिता, उत्पादन र वितरणलाई निश्चित वा निरपेक्ष नभई व्यक्ति, समाज, समय र परिस्थितिसापेक्ष परिवर्तनशील मान्ने दृष्टिकोणका रूपमा प्रकट भयो। समाजशास्त्रमा यो सामाजिक मूल्य, मान्यता, परम्परा, नैतिकता र व्यवहारलाई सार्वभौमिक वा निरपेक्ष नभई समाज, संस्कृति, समय र परिस्थितिसापेक्ष फरक-फरक रूपमा बुझ्ने दृष्टिकोणका रूपमा प्रकट भयो।
तर, वाम-कम्युनिस्ट कमरेडहरू आजसम्म ‘मार्क्सवादी-निर्धारणवाद’ मै अल्झिरहेका छन्, सापेक्षताको चिन्तनसम्म उठ्न सकेका छैनन्।
क्वान्टम सिद्धान्त
क्वान्टम सिद्धान्त, सापेक्षता सिद्धान्तभन्दा अगाडि गयो। क्वान्टम सिद्धान्तले महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसम्मलाई स्तब्ध बनायो। यो प्रसङ्गलाई पृष्ठभूमि सहित हेरौं।
न्युटोनियन विज्ञानको बुझाइ थियो- विज्ञानको क्षेत्र एक महल बनाए जस्तै हो। पहिले विज्ञानको जग तयार गरिन्छ। त्यसमा क्रमशः वैज्ञानिकहरूले सिद्धान्तका इँटा थप्दै जान्छन्। वैज्ञानिक सिद्धान्तको विकास ‘सरलबाट जटिलतिर’ हुँदै अघि बढ्छ। पुरानो सिद्धान्तलाई नयाँ सिद्धान्तले प्रतिस्थापन गर्छ। विज्ञानको जग स्थायी हुन्छ, सिद्धान्तका इँटा मात्र थपिन्छन्। यो प्रक्रिया अनन्तकालसम्म चलिरहन्छ।
सापेक्षता सिद्धान्तले न्युटनको ब्रह्माण्डको अवधारणालाई त भत्कायो, तर ‘ज्ञानको महल’ बिम्बलाई भत्काएको थिएन। आइन्स्टाइन यो विश्वास गर्दथे- प्रकृतिमा मानव अवलोकनबाट स्वतन्त्र, निश्चित वस्तुगत यथार्थ हुन्छ। विज्ञानको उद्देश्य ती वस्तुगत यथार्थका नियमहरू पत्ता लगाएर एक सुसङ्गत र एकीकृत ज्ञान-प्रणाली निर्माण गर्नु हो। यसरी आइन्स्टाइनले ‘ज्ञानको महल’ बिम्बको समर्थन गरेका थिए।
तर, क्वान्टम वैज्ञानिक निल्स बोहर आइन्स्टाइनको यो धारणासँग सहमत भएनन्। बोहरले भने- मानव अवलोकनबाट स्वतन्त्र ‘वस्तुगत यथार्थ’ भन्ने नै हुँदैन। उपपरमाणु तहबाट हेर्दा द्रष्टा र दृश्य नै आपसमा जोडिएका हुन्छन्। यसकारण स्वतन्त्र वस्तुगत यथार्थ र स्वतन्त्र पर्यवेक्षक दुवै अस्तित्वमा हुँदैनन्। विज्ञानमा सुनिश्चित ज्ञान भन्ने पनि हुँदैन। हामीले जति जान्दछौं, त्यो हाम्रा इन्द्रियहरूको प्रक्षेपण मात्र हो, अन्तिम यथार्थ होइन।
आइन्स्टाइन र बोहर बीच चलेको यो प्रसिद्ध बहसको पृष्ठभूमि बुझ्न जरुरी छ। त्यो बेला उपपरमाणु तहका खोजले केही नयाँ तथ्य स्पष्ट पारेका थिए। जस्तो कि- संसारमा आधारभूत वा स्वतन्त्र कण नै छैन। संसारमा कुनै पनि चिज अलग-थलग छैनन्, सबै अन्तरसम्बन्धित तरङ्गका रूपमा आपसमा जोडिएका छन्। घटनाविशेषलाई ब्रह्माण्डबाट अलग गरेर कार्य-कारण सम्बन्ध विश्लेषण गर्न सम्भव हुँदैन। क्वान्टम तहमा कुनै अलग ‘स्थानीय घटना’ वा अलग कारण भन्ने नै हुँदैन। सबै घटना ब्रह्माण्डीय हुन्छन्, कार्य र कारण संयुक्त भएका हुन्छन्। द्रष्टा र दृश्य आपसमा जोडिएका कारण स्वतन्त्र पर्यवेक्षण पनि सम्भव हुँदैन। यसको सार, संसारलाई निर्धारणवादी दृष्टिकोणबाट हेर्नु उचित छैन।
क्वान्टम विज्ञानका यी नयाँ धारणा आइन्स्टाइनका लागि स्वीकार्य भएनन्। क्वान्टम सिद्धान्तका कमजोरी देखाउन उनले विभिन्न ‘विचार-प्रयोग’ गरे, तर सफल भएनन्। यी प्रयोगमध्ये ई.पी.आर. (EPR) प्रयोगमा उनले आफ्नो प्रकाशको गतिको सिद्धान्तद्वारा क्वान्टम सिद्धान्तको खण्डन गर्ने प्रयास गरे। प्रकाश सम्बन्धी उनको सिद्धान्तले भन्दथ्यो- संसारमा प्रकाशभन्दा छिटो हिंड्ने कुनै चिज छैन।
त्यसैले उनले प्रश्न गरे- यदि क्वान्टम सिद्धान्त सही हो भने धेरै टाढा रहेका दुई कण बीच तत्क्षण (Instantaneous) सम्बन्ध देखिनुपर्दछ। यस्तो सम्बन्ध प्रकाशको गतिभन्दा छिटो देखिनुपर्दछ। यदि यसो भयो भने सापेक्षताको सिद्धान्त खण्डित हुन्छ। आइन्स्टाइनले तर्क गरे- सापेक्षताको सिद्धान्तको खण्डन हुन सम्भव छैन, त्यसैले क्वान्टम सिद्धान्त अपूर्ण हुनुपर्छ।
रोचक कुरा, आइन्स्टाइनकै ई.पी.आर. खोजले क्वान्टम तहमा प्रकाशको गतिभन्दा छिटो दौडने परिघटना (Superluminal speed) यथार्थ हो भन्ने देखायो, जसलाई ‘क्वान्टम-इन्टेङ्गलमेन्ट’ (Quantum entanglement) भनियो। यसको अर्थ कुनै वस्तुलाई दुई टुक्रा पारेर एउटालाई अर्बौं प्रकाशवर्षको दूरीमा फालियो भने पनि एउटा कणको मापन गर्दा तत्क्षण अर्को कण प्रभावित हुन्छ। आज भौतिकशास्त्रीहरू यो तथ्य प्रयोगशाला परीक्षणबाट पनि प्रमाणित भएको मान्दछन्।
तर, आइन्स्टाइनले आफ्नै प्रयोगबाट फेला परेको यो नयाँ तथ्य स्वीकार गरेनन्। यसको अर्को पाटो पनि थियो- क्वान्टम इन्टेङ्गलमेन्टको अर्थ हाम्रा व्यावहारिक सूचना वा सन्देश नै प्रकाशको गतिभन्दा छिटो पठाउन सकिन्छ भन्ने होइन। उपपरमाणुहरू जतिसुकै टाढा भए पनि आपसमा जोडिएका छन् भन्ने मात्र हो। यो जानकारीले सापेक्षताको सिद्धान्तलाई खण्डित गरेन, बरु सापेक्षता र क्वान्टम सिद्धान्त दुवैलाई आआफ्नो सन्दर्भ-सीमामा सुरक्षित बनायो।
यो प्रसङ्गको सार के हो भने, संसारलाई कार्य र कारणमा विभाजित गर्ने र सुनिश्चित परिणाममा विश्वास गर्ने चिन्तन प्रणाली प्रकृतिको स्थूल तहमा मात्र सान्दर्भिक छ। उपपरमाणु तहमा कार्य र कारण, द्रष्टा र दृश्य जस्ता अवयव परिपूरक हुन्छन्। प्रकृति अलग-थलग होइन, अन्तरसम्बन्धित सञ्जालका रूपमा अस्तित्ववान छ। प्रकृतिको स्वभाव गणितीय छैन, बरु अगणितीय, बहुसम्भाव्य र बहुआयामिक छ।
अर्को भाषामा भन्दा संसार बोधगम्य छैन। विज्ञानको महल (जग र छाना) हुँदैन, बरु सिद्धान्तहरूको सञ्जाल हुन्छ। यस्तो सञ्जालभित्र युक्लिडको ज्यामितिदेखि क्वान्टम सिद्धान्तसम्म अटाउँछन्। तैपनि यस्ता सिद्धान्तहरू आपसमा विरोधी हुँदैनन्, बरु हरेक सिद्धान्तको आ-आफ्नै सन्दर्भ-सीमा हुन्छ।
आजसम्म आउँदा जीवशास्त्र र मनोविज्ञानमा पनि यस्ता स्तब्धकारी अन्तरबोध प्रकट भएका छन्, जसले निर्धारणवादी चिन्तन ढाँचालाई खण्डन गर्दछन्।
मार्क्स जिउँदै भएका भए…
मार्क्सवादको समीक्षाका लागि जीवशास्त्र र मनोविज्ञानलाई पनि जोड्नु जरुरी हुन्छ। यद्यपि, यो छोटो लेखमा सम्भव भएन। यी विषयमा आगामी शृङ्खलामा अलग चर्चा गरिनेछ। तलको समीक्षा मूलतः भौतिकशास्त्रीय कोणमा सीमित छ।
माथि उल्लिखित चर्चालाई आधार मानेर अब एउटा कल्पना गरौं- मार्क्स आजसम्म जिउँदै भएका भए आफ्ना सिद्धान्तको समीक्षा कसरी गर्थे होला ?
मार्क्स जस्ता क्रान्तिकारी पात्रले नहिच्किचाई मार्क्सवादकै मृत्युको घोषणा गर्दथे। मार्क्सले भन्थे होला- ‘कमरेडहरू ! विज्ञानका नयाँ सिद्धान्त सुनेर म आफैं स्तब्ध छु। विज्ञानले त अर्कै सङ्केत गरिसकेछ। मेरो जमानामा त रेडियो पनि थिएन। त्यो बेला विज्ञानका नाममा जे भेट्टाएँ, त्यही आधारमा केही संश्लेषण गरेको थिएँ। अहिले बुझ्दा मेरो जमानाको विज्ञानको महल नै भत्किसकेको रहेछ। परिणामतः मेरा सिद्धान्तको महल पनि भत्किसकेछ।’
‘कमरेडहरू ! समाज सुनिश्चित गतिमा चल्ने यन्त्र होइन रहेछ, बरु बहु-सम्भावनाको प्रणाली रहेछ। सामाजिक कारकहरू अलग-थलग हुँदा रहेनछन्, यिनीहरू अन्तरसम्बन्धित रहेछन् र एकैचोटि काम गर्दा रहेछन्। यसकारण द्वन्द्ववादका तीन नियम भनेर मैले जे भनेको थिएँ, ती नियम त प्रकृतिको स्थूल तहमा मात्र सान्दर्भिक रहेछन्। सूक्ष्म प्रकृति र समाजमा यी नियमले काम गर्दा रहेनछन्। त्यसैले साम्यवादी सिद्धान्त गलत रहेछ।’
‘कमरेडहरू ! मानिसको स्वभाव वर्गीय हुन्छ भन्ने धारणा नै भ्रम रहेछ। वर्ग भन्ने अवयव त स्वतन्त्र हुँदैन रहेछ। वर्गसँग त वंश, निजत्व, स्थानीय भूगोल र सामाजिक वातावरण पनि जोडिंदो रहेछ। त्यसैले, वर्गीय चिन्तन, वर्गीय पार्टी र वर्गीय सत्ता जस्ता अवधारणा पनि भ्रम रहेछन्। यस्तो सोचले त ढोंगी र बौलठ्ठीपूर्ण राजनीतिक ठेकेदारहरूको डफ्फा पो जन्माउँदो रहेछ!’
‘संसारमा दुईखाले मानिस हुँदा रहेछन्- ‘भोजनहीन’ र ‘भोकहीन’। दुवै दुःखी नै रहेछन्। हामीले एकाङ्गी होइन, सर्वाङ्गीण हुनुपर्ने रहेछ। शत्रु र मित्र खोज्ने विभाजनमुखी सोच होइन, ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को मान्यता राख्नुपर्ने रहेछ। सम्झौता र सङ्घर्षको बीचमा सन्तुलन बनाउने सहकार्यमुखी सोच जरुरी रहेछ। अधिनायकत्व होइन, समुदायको आवश्यकताका आधारमा सेवा-सुविधालाई प्राथमिकीकरण गर्ने रणनीति पो जरुरी रहेछ।’
‘कमरेडहरू ! ऐतिहासिक भौतिकवाद भनेर मैले जे व्याख्या गरें, समाज त्यसरी चल्दो रहेनछ। आर्थिक आधारले अधिरचना निर्माण गर्दछ भन्ने मेरो भनाइ त अत्यन्तै साँघुरो सोच रहेछ। समाज रेलको डिब्बा जस्तो रेखीय परिपथमा गतिशील हुन्छ भन्ने मेरो बुझाइ पनि गलत रहेछ। असभ्यता–बर्बरता–सभ्यता भनेर गरेको इतिहासको विभाजन पनि गलत रहेछ।’
‘सामाजिक कारकमा प्रधान र गौण भन्ने नै नहुँदोरहेछ। सबै कारकहरू बराबर हैसियतका हुँदा रहेछन्। अनि समाजको गति त रेखीय होइन, अगणितीय र बहुआयामिक हुँदोरहेछ। यसकारण ‘सर्वहारा वर्ग जति सङ्गठित हुँदै जान्छ, सोही अनुपातमा पूँजीपतिको शक्ति घट्छ र अन्ततः वर्ग नै मासिन्छ’ भन्ने मेरो गणितीय आकलन ठिक होइन रहेछ। स्वतःस्फूर्त विकास र सचेतन प्रयत्न पनि परिपूरक रहेछन्। यसकारण, सामाजिक परिणामहरू निश्चित होइन, सम्भावनात्मक हुँदा रहेछन्। त्यसैले सर्वहारा अधिनायकत्वको सोच नै गलत रहेछ।’
‘कमरेडहरू ! ज्ञानको महल नहुँदोरहेछ। त्यसैले ‘मार्क्सवादको विकास’ सम्भव नहुने रहेछ। मैले भनेका कुरा त युक्लिडको ज्यामिति जस्तै सीमित दायरामा मात्र सान्दर्भिक रहेछन्। राज्य भनेको आर्थिक-राजनीतिक सङ्गठन मात्र होइन रहेछ, हरेक राज्यको आफ्नो मौलिक अस्तित्व हुँदोरहेछ। त्यो मौलिक अस्तित्वको सापेक्षतामा सामाजिक व्यवस्थापनमा धेरै कुराको सन्तुलन मिलाउनुपर्ने रहेछ। राजनीति गर्नेले सबैभन्दा पहिले आफ्नो समाजको मौलिकता चिनेको हुनुपर्ने रहेछ।’
यस प्रकार अन्तिममा मार्क्सले भन्थे होला, ‘कमरेडहरू ! नढाँटी भन्छु, मार्क्सवादको मृत्यु भइसक्यो, अब यो ब्युँतिन्छ भन्ने नसोच्नुस्। यतिबेला तपाईंहरू प्रविधि विकासको चरम अवस्थामा हुनुहुन्छ। जस्तोसुकै ज्ञान अब तपाईंको पहुँचमा छ। यो बेला मेरो विनम्र आग्रह छ- अब मार्क्सवादी नबन्नुस्। नयाँ संश्लेषणमा लाग्नुस्।’
अन्त्यमा, लेखकको पनि विद्वान् कमरेडहरूलाई यही आग्रह छ। हाम्रा नेताका थुप्रै कमजोरी छन्। तर नेताले सिद्धान्त बिगारेको होइन, सिद्धान्तले नेता बिगारेको हो। आजको जमानामा मार्क्सवादी बनेर कहीं पुगिंदैन। मार्क्सवादी हुनु भनेको ‘वैज्ञानिक-रूढिवादी’ हुनु हो। तपाईंहरू वामपन्थी वा मार्क्सवादी नबन्नुहोस्, नयाँ संश्लेषणमा लाग्नुहोस्।
प्रतिक्रिया 4