+
+
Shares

मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

पछिल्लो ५ वर्षमा २१ हजार ९८९ दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । १० हजार ८६६ जना गम्भीर घाइते र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा भएका २१ हजार ९८९ सडक दुर्घटनामा २ हजार ७४८ जनाको मृत्यु भएको छ ।
  • पाँच वर्षको अवधिमा धनुषामा सबैभन्दा बढी र पर्सामा सबैभन्दा कम सडक दुर्घटना भएको तथ्याङ्कले देखाएको छ ।
  • मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले बजेट र नीति निर्माणमा ट्राफिक प्रहरीलाई प्राथमिकता दिनुपर्ने बताए ।

४ असार, जनकपुरधाम । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार कुल २१ हजार ९८९ सडक दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन परेका छन् ।

दुर्घटनाम २७४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यस्तै दुर्गममा परेर १० हजार ८६६ जना गम्भीर घाइते र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएका छन् । धनुषामा पाँच वर्षको अवधिमा ४८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ भने २ हजार ९४३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ । बारामा ४ हजार ४ सय ६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु तथा ७८१ जना गम्भीर घाइते भएका छन् । त्यस्तै सर्लाहीमा ४ हजार ७२ दुर्घटना, ३३६ जनाको मृत्यु र २ हजार १३२ गम्भीर घाइते भएका छन् ।

सिरहामा ३ हजार ५२६ दुर्घटना हुँदा ३७९ जनाको मृत्यु र एक हजार ७७८ जना गम्भीर घाइते भएका छन् । सप्तरीमा तीन हजार ७२० दुर्घटना हुँदा ३८३ जनाको मृत्यु र १ हजार २०८ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै रौतहटमा तीन हजार ४०३ दुर्घटना हुँदा तीन सय जनाको मृत्यु र ७६९ जना गम्भीर घाइते भएका छन् । महोत्तरीमा तीन हजार ९१ दुर्घटना हुँदा २९८ जनाको मृत्यु र ८९० जना गम्भीर घाइते भएका छन् ।

यो अवधिमा सबैभन्दा कम दुर्घटना पर्सा जिल्लामा भएको देखिएको छ । त्यहाँ २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु र ३६५ जना गम्भीर घाइते भएका छन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेश जनसंख्या ठूलो प्रदेश भएकाले र सवारीसाधन र सडक पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताए ।

ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर सचेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकाले त्यसमा राज्यले विचार गरिदिनु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?